
आठौँ पटक आमरण अनशनमा बसेका छन्, एउटा क्रान्तिकारी र मानवतावादी चिकित्सक डा. गोविन्द केसी। एक्लै सत्यको लडाइँ लडिरहेका छन्। गरिब नेपाली जनताले एउटा ट्याब्लेट नपाएर ज्यान गुमाउन नपरोस् भन्ने अत्यन्त चोखो ध्येयले आफ्नो ज्यान पटक–पटक दाउमा राखिरहेका छन् ।
जसको व्यक्तिगत नामको कुनै अभीष्ट छैन। जसको जिन्दगीको शब्दकोशमा लालच, लालसा, लिप्सा, लोभजस्ता अश्लील शब्दहरू छैनन्। जुनसुकै दृष्टिकोण, जुनसुकै वाद, जुनसुकै सिद्धान्तले परिभाषा गरे पनि जो ‘असल व्यक्ति’ बाहेक अर्काे हुनै सक्दैन। त्यही असल व्यक्ति अहिले आठौँ पटक आमरण अनशनमा छन्। र, ठीक यतिखेर यो देशको हरेक असल मान्छे सवालको कठघरामा छ– के उसले यसरी चुपचाप बसेर डा. केसीलाई मर्न दिन पाउँछ? असल मान्छेहरूको मौनता सबैभन्दा घातक हुन्छ भन्थे, आइरिस राजनीतिज्ञ एडमन्ड बर्क। उनी भन्थे, ‘दुष्टहरूको विजयका निम्ति एउटै चिज आवश्यक हुन्छ– असल मान्छेहरूले केही पनि नगरिदिनु।’
राज्य डा. केसीलाई मार्न उद्यत छ। नत्र उनको यति निर्मम ढंगले उपेक्षा गरिने थिएन। राज्य यसै पनि हिंस्रक हुन्छ। अझ हरेक क्रान्तिकारी, विद्रोही र असल मान्छेको हत्या उसका निम्ति एउटा वनभोज हो, ऊ तृप्तिको एउटा डकार छोड्छ।
डा. केसी मरे भने (भनिरहनु नपर्ला) त्यो उनको स्वाभाविक मृत्यु हुने छैन, हत्या हुनेछ। तर, हत्याको जिम्मेवार राज्य मात्र हुने छैन, यो देशका असल मान्छेहरू पनि उनको हत्याका भागी हुनेछन्।
स्वास्थ्य क्षेत्रका यावत् बेथितिविरुद्ध ‘वान म्यान आर्मी’ शैलीमा लडिरहेका डा. केसीको भोग खान खोजिरहेका छन् उनीहरू। मदारी माफियातन्त्रको बाँदर भएको छ देश, जो भनिरहेछ– ‘चल जमुरे दिखा तमाशा लोकतन्त्र का।’ परिवर्तन, लोकतन्त्र र गणतन्त्र चाहने छातीहरू ताकी–ताकी गोली दाग्नेहरू लोकतान्त्रिक गणतन्त्र नेपालका हर्ताकर्ता भएका छन्। मानौँ, दुशासनको हातमा समयले सुम्पिदिएको छ द्रौपदीको सारी। र, हाम्रो हुर्मत लिन कुनै कसर बाँकी राखेका छैनन् उनीहरूले। डा. केसीको लडाइँ उनीहरूविरुद्ध हो ।
यो हाम्रो पनि लडाइँ हुनुपर्थ्याे। हामी असल मान्छेहरू आफ्नो हिस्साको लडाइँ किन लडिरहेका छैनौँ? अझ हामी युवाले किन लडिरहेका छैनौँ? माओ भन्थे– ‘अन्याय देख्दा आँखामा आगो नउब्जाउने युवा युवा नै होइन।’ हामी सामाजिक सञ्जालमा ‘आई एम विद डा. केसी’ भनिरहेका छौँ। हाम्रो ऊर्जा, हाम्रो बलिष्ठता केवल यत्ति हो त?
डा. केसी मरे भने (यो अत्यन्त अप्रिय सम्भावनाबारे सोच्नुपर्दा मलाई खेद छ) के हुनेछ? एउटा विद्रोह मर्नेछ, निमुखाहरूका पक्षमा उठ्ने एउटा आवाज मर्नेछ। गरिब आमाबाउका सन्तानको डाक्टर हुने सपना मर्नेछ। नेपाली जनताको सुलभ र सहज उपचार पाउने हक मर्नेछ। अनि, असल मान्छेहरूको लज्जा पनि मर्नेछ। डा. केसी मरे भने मेडिकल माफियाहरूको विजय हुनेछ। हाम्रो स्वास्थ्यको हक उनीहरूको दयाको पात्र हुनेछ।
हामीले यथाशीघ्र केही गरेनौँ भने अनिष्ट हुन सक्छ। हामी के पर्खिरहेका छौँ? डा. केसी मर्लान् र उनलाई पहिलो मेडिकल शहीद घोषणा गरौँला भनेर पर्खिरहेका छौँ? सरकारविरोधी र्याली निकालौँला भनेर प्रतीक्षा गरिरहेका छौँ? शोकसभा गरौँला भनेर कुरिरहेका छौँ? कि के?
संसदीय प्रजातन्त्रको विशेषता नै मानिने सरकार परिवर्तनको खेल चलिरहेको छ। यसले जनताको जीवनमा कुनै ताŒिवक भिन्नता ल्याउने छैन। यो सिजनको खेलले बरु डा. केसीको अनशनलाई ओझेलमा पारिदिएको छ। र, असल मान्छेहरू सडकमा ओर्लिएका छैनन्। डरलाग्दो कुरो यही छ।
दुई वर्षअघि यतिखेरै प्यालेस्टाइनमाथि इजरायले हमला गरेको थियो। त्यतिबेला गाजाका एक दुःखी र आक्रोशित नागरिकले भनेका थिए, ‘आज राति म मरेँ भने मेरा एक–एक अंग आवश्यक परेका व्यक्तिहरूलाई दान दिनू। मेरो माझी औँला चाहिँ अरब संसारका नेताहरूलाई दिनू।’ ठडिएको माझी औँला अभद्रता, अशिष्टता, मैथुन, अपमान आदिको प्रतीक हो। पहिलो शताब्दीतिर मेडिटरानियन संसारमा यो दुष्टको खराब नजरलाई अन्तै मोड्न प्रयोग गरिने संकेत थियो। डा. केसीको शालीन व्यक्तित्व ती गाजाका नागरिकको भन्दा सर्वथा भिन्न छ। तर, डा. केसी मरे भने यो देशका असल मान्छेहरू जिन्दगीभर आफ्नै माझी औँलाले आफैँलाई भद्दा संकेत गरिरहन बाध्य हुनेछन्।
अब असल मान्छेहरूले डा. केसीलाई उनीहरूविरुद्ध एक्लै लड्न दिनु हुँदैन। उनीहरूसँग सबैथोक छ, सबैथोक उनीहरूकै हो। सत्ता उनीहरूकै हो, संसद् उनीहरूकै हो, प्रहरी उनीहरूकै हो, मिलिटरी उनीहरूकै हो, खानी, खनिज, वन पैदावर, अनि स्वामित्वका हरेक चिज उनीहरूकै हुन्। हरामखोरीका हरेक चिज उनीहरूकै हुन्। यो देशै उनीहरूको हो। तर, यो देशका पीडाहरू चाहिँ हाम्रा हुन्। वेदनाहरू चाहिँ हाम्रा हुन्। डा. केसी हाम्रा तिनै पीडा र वेदनाका खातिर यो लडाइँ लडिरहेका हुन्।
उनी मरे भने ‘हामीले के गर्न सक्थ्यौँ र? हामीसँग के थियो र?’ भनेर आफ्नै कायरतामाथि थुकिरहँदा सायद हामी झल्यास्स हुनेछौँ– हामीसँग सडक त थियो नि ।
- अन्नपूर्ण पोष्ट बाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्