×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तराई ‘ध्वस्त’, काठमाडौं ‘मस्त’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तराई ‘ध्वस्त’, काठमाडौं ‘मस्त’

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

‘आज तराईमा कति मान्छे मारिए ?’ आजभोलि हरेक दिन यस्तो प्रश्न धेरै गरिन्छ । संविधन निर्माण प्रक्रिया र सीमांकनको विरोधमा तराईमा भइरहेका प्रदर्शनहरुमा हालसम्म तीन दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । यो मृत्युको श्रृंखला जारी छ । कतिबेला कहा झडप हुन्छ र मान्छे मान्छिन् भन्न गाह्रो छ ।

सुदूरपश्चिम कैलालीबाट सल्किएको आगो पूर्व विराटनगरसम्म पुगेको छ । वीरगन्ज, पर्सा, जनकपुर, महोत्तरी, सिराहा, भैरहवामा आगो सल्केको छ । तराईका कतिपय जिल्लामा भुसको आगो जस्तो भएका खबर आइरहेका छन् । पूर्वी पहाडी जिल्ला पनि शान्त हुन सकेका छैनन् । हाल मधेशी आन्दोलनले ओझेल परेको मात्र हो ।

यता काठमाडौंलाई तराईको आगोको रापतापले खासै छोएको देखिँदैन । सिंहदरबार, बानेश्वर र बालुवाटारलाई थोरबहुत छोए पनि त्यो आगोले पोल्ने गरी छोएको छैन । एक झिल्कोले सारा देश जलाउन सक्छ भन्ने नेताले नबुझेको होइन । तराई करिब एक महिनादेखि बन्द छ । दैनिक जीवन बडो मुश्किलले चलिरहेको छ । अस्पतालमा औषधिको अभाव हुन थालेको छ । यता काठमाडौं मस्त देखिन्छ । राज्यको सबै शक्ति लगाएर काठमाडौंमा अभाव हुन दिइएको छैन । तराईमा यो अवस्था जारी रहे काठमाडौं कति दिन मस्त रहन सक्छ ?

तराईमा रातमा मात्र होइन, दिउसो नै एेंठन परेको छ । ऐंठनमा मान्छेहरु छटपटिरहेका दृश्य हामी दैनिक देखिरहेका छौं । यो एेंठनको कुनै सीमा छैन । जबसम्म ऐंठन कायम रहन्छ, तबसम्म मान्छेले सजिलै सास फेर्न मुश्किल पर्छ । खुकुलो हुने तत्काल संभावना देखिएको छ्रैन । त्यसको असर काठमाडौंलाई खासै परेको छैन । सुरक्षाकर्मीको स्कर्टिङमा दैनिक उपभोग्य सामान रातारात भित्रिएको छ । एक हिसाबले काठमाडौबासी तराईको ‘रमिते’ बन्न बाध्य छन् ।

कांग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताहरु मात्र होइन, खाटी मधेशी दलका नेताहरु समेत दैनिक तराईमा बढ्दै गइरहेको मृत्युको हिसाबकिताब निकालेर राजनीतिक दाउपेचमा व्यस्त छन् । महोत्तरीमा शुक्रबार मारिएका सशस्त्र प्रहरका असई पहिलो पटकको आक्रमणबाट मुश्किलले जोगिएर उपचारका लागि एम्बुलेन्समा उपचार गर्न जाने क्रममा विभत्स ढंगले मारिए । जलेश्वमा बुधबार झडपमा मारिएका नाती रोहनको काजक्रिया गर्न सामान किन्न गएको बेला ७५ बर्षिय गणेश चौधरी मारिए । उनी रेडक्रसकर्मी पनि थिए । यी दुई फरक प्रकृतिका घटनाले जो कोहीलाई स्तब्ध बनाउछ । तर, प्रमुख तीन दल र मधेशी नेताहरुले यी दुवै घटनालाई कसरी लिएका होलान् ? दुवै पक्षले यी घटनालाई आफ्नो अनुकूल व्याख्या गरिरहेका छन् ।

‘जनता’ को मृत्युलाई बलिदान देख्ने सोचका कारण तराईमा मृत्यको संख्या अझै बढ्ने देखिन्छ । जनताको मृत्यलाई बलिदान ठानेर राजनीतिक उद्देश्य प्राप्त गर्ने निहीत स्वार्थका कारण संविधान निर्माण प्रक्रिया विवादमा परेको छ । प्रमुख दलले वार्ताका लागि संविधान निर्माण प्रक्रिया दुई दिन स्थगित गरेका छन् । यसलाई दुवै पक्षलाई ‘विन विन’ हुने आवसरका रुपमा लिन सक्नुपर्छ । मृत्युलाई राजनीतिक भर्‍याङको रुपमा कसैले पनि लिुन हुँदैन ।

विगतमा एउटै राजनीतिक उद्देश्यका लागि निरंकुश राजतन्त्रसँग लडेका शक्तिहरु यतिबेला आपसमा भिड्नु प्राप्त उपलब्धि धरापमा पार्नुबाहेक केही होइन । प्रमुख तीन दलले सकेसम्म धेरै राजनीतिक सहमतिका आधारमा संविधान जारी गर्नुपर्छ, त्यसका लागि आइतबारसम्म अधिकत प्रयास गर्नैपर्छ । आन्दोनलमा उत्रिएका मधेशी, जनजाति दलले पनि वार्ताको माध्यमबाट माग पुरा गर्ने कोशिश गर्नैपर्छ ।

मेधशी, थारुका मुद्दालाई समेटेर संविधान जारी गर्ने प्रयास हुनुपर्छ, केही माग छुटे भने फेरि पनि संविधान संशोधनको बाटो खुलै रहन्छ । तत्काल सबै विषयमा सहमति हुन नसके बाँकी विषय आगामि दिनमा सम्बोधन गर्ने गरी संविधान जारी गर्नु उत्तम विकल्प हुनेछ । बल प्रमुख तीन दल र मधेशी दलको कोर्टमा छ । यस्तै अवस्था कायम रहे, बल अरुकै कोर्टमा जाने र गोल प्रतिगामीले हान्ने खतरा हुन्छ ।

मधेशी दलले वार्ता छोडेर आन्दोलन मात्रै भने भने त्यो प्रतिउत्पादक हुन सक्छ । मधेशमा जारी आन्दोलनमा मधेशी दलले अपेक्षित जनसहभागिता हुन सकेको छैन । थोरै मानिसको उपस्थितिले लामो समय आन्दोलन चलाउन खोज्दा त्यो हिंसात्मक बन्ने खतरा रहन्छ । कैलालीमा धेरै थारु युवाले गाउँ छाडेका छन्, तराईका जिल्लामा पनि आन्दोलन हिंसात्मक हुने डरले पलायन हुने क्रम बढेको त्यहाँबाट प्राप्त खबरमा उल्लेख छ ।

यसैले अग्रगमनलाई जोगाउने जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलकै हो । तराईलाई ‘ध्वस्त’ गराएर काठमाडौ ‘मस्त’ हुने खेल सबैले त्याग्नै पर्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: