Skip to content
LAXMI SUNRISE BANK

जसले संविधान विधेयकमाथि बोल्न दिइएको ५ मिनेटमा कविता सुनाए (कविता सहित )

अर्थ सरोकार

काठमाडाैं- संविधान सभामा बिहीबारदेखि सुरु भएको संविधानको विधेयकमाथिको दफावार छलफलमा बोल्ने पालो कांग्रेस सभासद धनराज गुरुङको आयो।

हलमा सभासदहरुको राम्रै उपस्थिति थियो। उनले रोष्ट्रममा पुगेर आफ्नो डायरी पल्टाए।

अन्य सभासदहरु उनले के भन्लान् भनेर सुनिरहेका थिए। उनले आफ्नो भाषणको भूमिका नै नबाँधी सोझै कविता वाचान सुरु गरे। विधेयकमाथि बोल्न दिइएको ५ मिनेटको समय कविता भनेरै बिताए।

उनले कविता भनिरहँदा सभासदहरुले बीचबीचमा ताली बजाएर समर्थन गरेका थिए। संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पालो दिन सभाध्यक्षता गरिरहेका मानबहादुर विश्वकर्मा पनि गुरुङको कविता सुनेर मुसुमुसु हाँसे। अरु सभासद बोल्दा निदाउने सभासदहरु गुरुङको कविता सुनेर खासखुस गरिरहेका देखिन्थे।

रोष्ट्रमबाट फर्किने बित्तिकै एमाले सभासद राजेन्द्र पाण्डेले उनलाई कविता राम्रो भएको भन्दै प्रशंसा गरे।

कांग्रेसकै सभासदहरु अर्जुन जोशी, अनिता देवकोटा लगायतले प्रसंसा गर्दैै हात मिलाए। उनी संविधान सभा हलबाट बाहिरिने क्रममा मोबाइलमा भन्दैथिए, ‘ए सुन्नभयो तपाइँले ?’ टेलिभिजनहरुमार्फत् भइरहेको संविधानसभा बैठकको प्रत्यक्ष प्रसारणमा कविता सुन्नेहरुले उनलाई फोनमार्फत् प्रतिक्रिया दिइरहेका थिए।

मोवाइलमा कुरा सकिन नपाउँदै नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवालले उनको डायरी नै मागेर कविता पढे।

स्याङ्जाका नेपाली कांग्रेसका सभासद् गुरुङले संविधानसभामा कविता सुनाएको यो पहिलो भने थिएन। अघिल्लो संविधानसभामा पनि उनले कवितामार्फतै आफ्नो कुरा राखेका थिए। ‘११ वटै विषयगत समितिका छलफलमा मैले कवितामार्फत् कुरा राखेको थिएँ’ उनले नागरिकन्युजसँग भने ।

स्याङ्जाको दहथुङ माविमा पढ्दादेखि नै कविता लेख्न थालेका गुरुङ राजनीतिक र समाजिक विषयमा बेला मौकामा कबिता लेखिरहन्छन्।

विहीबार संविधानसभामासुनाएको कवितामा उनले राजनीतिक दलका नेतृत्व, सभासद, संविधानसभाको कार्यशैली र सभासदलाई ह्विप लगाएको विषयमा समेत व्यंग्य छेडेका थिए।

पढ्नुस् उनको कविता

ल्याप्चे सभासद हुँ म

कांग्रेस सभासद धनराज गुरुङ

संविधान लेखनको ऐतिहासिक मोडमा
पुगेको बेलामा,
संधिवान लेख्ने कलम
खोसिएको सभासद हुँ म !

ल्याप्चे लगाउन लामबद्ध भएर
उभिएको छु म,
त्यसैले,
ल्याप्चे सभासद् हुँ म,
नयाँ संविधान जारी गर्न,
ल्याप्चे लगाउन हतारिएको छु म !
म धारा, धारामा
पस्न चाहन्न,
पानीको धारा छोए बात लाग्दैन,
परिमार्जित विधेयकको धारा छोए पनि
बात लग्दैन,
तर
विधेयकको धारा छुदा
मात लाग्न सक्छ !

हामी पहाडेको कोखबाट जन्मियौं
त्यसैले
पहाडे भयौं,
हामी मधेसीको कोखबाट जन्मियौं
त्यसैले
मेधसी भयौं,
तर
पहाडेको कोखबाट जन्मे पनि,
मधेसीको कोखबाट जन्मे पनि
हामी नेपाली भूमिमा जन्मियौं
त्यसैले
पहाडे र मधेसी भन्दा पनि माथि
हामी नेपाली भयौं !
म सानै छदा
मेरो बुबाले कालो बाकस खोतल्दै
कुन्नी !

के खोज्दै हुनुहुन्थ्यो,
बाले एउटा कागज हेर्दै भन्नुभयो
‘ए यो त घरको लालपुर्जा पो रहेछ’
मैले प्वाक्क सोधे–
‘बारीको लालपुर्जा नि बा’ ?
‘यही छ’ बाले भन्नुभयो,
मेरो बाल जिज्ञासा बढ्यो
मैले बासँग फेरी सोधे–
‘देशको लालपुर्जा कोसँग छ नि बा ?’
‘राजाको घरमा छ’ बाले भन्नुभयो,
गणतान्त्रिक नेपालमा
मेरो देशको लालपुर्जा
नेताहरुको खल्ती–खल्तीमा छ,
त्यसैले
नेताहरु !
आ–आफ्नो खल्तीबाट
मेरो देशको लालपुर्जा झिकेर
कित्ताकाट गरिरहेका छन् !
कम्जोर विद्यार्थीले होमवर्क गर्दा
केरमेट गरेझैं

नेताहरु !
मेरो देशको लालपुर्जामा
लेख्छन्,
केर्छन्
फेरि
लेख्छन्
अनि
फेरि केर्छन्
लाग्छ
हाम्रा नेताहरु भएका छन्
कवि भूपी शेरचन !
मेरो देशको लालपुर्जामा
जति पटक लेखेपनि,
मेरो देशको लालपुर्जामा
जातिपटक केरे पनि,
मेरो नेताहरुसँग एउटा विन्ती छ–
‘गुरुङ्गको छोरा हुँ म’
तर
मलाई गुरुङ्गको राज्य होइन
मलाई नेपालीको राज्य चाहिन्छ,
एकसय पच्चिसै जातजातीको
समृद्धि चाहिन्छ ।
विचरा !
पत्रकार कलमको निभ
दोव्रिएको बेलामा,
आशाको नजरले टुलुटुलु
हामीतिरै हेर्दैै होलान्
तर
पत्रकार मित्र !
तपाईको त कलमको निभ मात्रै
दोव्रिएको छ,
मेरो त संविधान लेख्ने
कलम नै खोसिएको छ,
तैपनि
एक थान संविधान
चाहिएको छ मलाई
त्यसैले
‘ल्याप्चे’ लाउन
कुनै लाज छैन मलाई,
नयाँ संविधान !
जातीय,
क्षेत्रीय
अनि
धार्मिक
हिंसा भड्काउने
निम्तो पत्र नबनोस्
नयाँ संविधान !
गृह युद्धको
बीज पनि नबनोस्,
नयाँ संविधान !
स्थिरता,
शान्ति
अनि
समृद्धि
लिएर आउन सकोस्
सबैको जय होस्
जय नेपाल !

***
गुरुङजस्तै बिहिबारको संविधानसभा बैठकमा एमाले सभासद् भानुभक्त ढकालले स्यालको कथा सुनाए। चोर्न गाउँ पसेको स्याल रंग पोतिएर जंगल फर्किँदा राजा भए पनि स्यालकै आवाज निकालेकाले बाघहरुले पहिचान गरेको कथा सुनाउँदै उनले दलहरुभित्र पनि रंग फेरेका सभासद्हरुको पहिचान हुनुपर्ने बताए।

कांग्रेसका सभासद् खड्गबहादुर बस्यालले खाना गिलो भयो भन्ने श्रीमानको प्रतिक्रियामा श्रीमतीले गिलो भए खान झन् सजिलो हुन्छ भनेजस्तै आफूरुले मस्यौदामा चित्त नबुझेपनि प्रमुख सचेतकका बीचमा राम्रो छ भन्नुपर्ने बाध्यता रहेको बताए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK