![](https://arthasarokar.com/wp-content/uploads/2016/03/prabhuheadlines.jpg)
काठमाण्डौ । फाइनान्स कम्पनीबाट सुरु भएको प्रभू बैंकले पैसा र शक्तिको आडमा थुप्रै अनियमितता र घोटालाहरु गरेको छ । पछिल्लो पटक चाहि ग्राण्ड बैंकसँग मर्जर गर्ने क्रममा राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल र कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई पैसा खर्च गरी आफ्नो बसमा पारेर प्रभूका संचालक तथा सीइओले ठूला शेयरहोल्डर मालामाल हुने प्रपञ्च रचेका पाइएको छ । यसका लागि उनीहरुले करोडौं रुपैयाँ खर्च गरेका समेत स्रोतको दाबी छ । दुई वर्षअघि तत्कालीन गभर्नर डा. युवराज खतिवडाको कार्यकालभित्रै ग्राण्ड बैंकलाई अक्वाएर गर्ने प्रभू बैंकको योजना त्यतिबेला तुहियो, जतिबेला गत वर्ष २०७१ चैतमा चिरञ्जिवी नेपाल गभर्नर भएर नेपाल राष्ट्रबैंकमा आए । पैसाको लीला अपरम्पार रहेको कुरा बुझेका प्रभूका अध्यक्ष देवीप्रकाश भट्टचन र सीइओ शेरचनले अनेक प्रपञ्च बनाएर अहिले चाहि तिनै नेपालको पूर्ण साथ पाई ग्राण्ड बैंकलाई आफूले भने जसरी अक्वाएर गर्ने खेलमा सफलता प्राप्त गरेका छन् ।
पूर्व गभर्नर खतिवडाको पालामा सुरु भएको अक्वाएरको प्रक्रिया उनै खतिवडाले पाँच वर्षसम्म आफूलाई पेलेको भन्दै राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले रीसै रीसमा तुहाइदिएका थिए । नेपाल राष्ट्रबैंक स्रोतका अनुसार पाण्डेले गभर्नर नेपाललाई पद बहाली लगत्तै पूर्व गभर्नर खतिवडाले प्रभू बैंकसँग ठूलो आर्थिक चलखेल गरेर ग्राण्ड बैंकको विशेष निरीक्षण पश्चात्को प्रतिवेदनको आधारमा मात्र प्रारम्भ गरिनुपर्ने अक्वाएरको प्रक्रियालाई नियम मिचेर धेरै वर्ष अगाडिको प्रतिवेदनको आधारमा गरेको भनेर चुक्ली लगाइदिएका थिए । स्रोत भन्छ–‘कार्यकारी निर्देशक पाण्डेको चुक्लीको निश्कर्ष थियो, त्यतिबेला ग्राण्ड बैंकको विशेष निरीक्षण गरिएको थियो भने अक्वाएरको लागि उपयुक्त वित्तीय सूचकांक नै प्राप्त हुँदैन थियो । त्यसैले तत्कालीन गभर्नरले प्रभूको मोटो नजरानाप्रति मन थाम्न नसकेर अक्वाएरको गलत फाइल अगाडि बढाइदिएका हुन् ।’
पाण्डेको उक्त अफवाहकै कारण लामो समयसम्म नेपाल राष्ट्रबैंकमा गभर्नर नेपाल र उनको किचेन क्याबिनेटले पनि प्रभू बैंकको नाम समेत लिन चाहेन । तर, प्रभू बैंकका खेलाडी देवीप्रकाश भट्टचन, अशोक शेरचन लगायत ठूला कर्मचारी र पदाधिकारीले २०७२ बैशाखको भूकम्पपछि नेपाल राष्ट्र बैंकलाई ठूलो घर भाडामा चाहिएको सूइँको थाहा पाएपछि आफ्नोे लैनचोरस्थित भवन खाली रहेको प्रस्ताव लिएर बैंक नेतृत्वसमक्ष पुगे र सम्बन्ध विस्तार गरे । आफ्ना सबै भवन भत्केर बिजोग भएका गभर्नर नेपाल र उनको मण्डली पनि प्रभूको घर भाडामा लिने निश्कर्षमा पुग्यो र अन्ततः नियम कानून मिचेर भए पनि प्रभूको लैनचौरस्थित भवनमा आफ्ना केही विभागलाई राखियो । कानूनतः केन्द्रीय बैंकले आफू मातहतको वाणिज्य बैंकको भवनमा भाडा तिरेर बस्न नमिल्ने केन्द्रीय बैंकका जानकारहरु बताउँछन ।
यता, पूर्व गभर्नर युवराज खतिवडा पनि गभर्नरबाट अवकास पाउनुअघिसम्म संविधान जारी भएपछि बन्ने एमाले नेतृत्वको सरकारमा अर्थमन्त्री हुनेमा लगभग ढुक्क थिए । तर नयाँ संविधानमा मन्त्री बन्नका लागि संसद सदस्य हुनैपर्ने अनिवार्य व्यवस्थाका कारण उनी उक्त अवसरबाट बञ्चित भए । मन्त्री हुनकै लागि भनेर खतिवडाले गभर्नर पदमा छँदै त्यही अक्वाएरको अप्ठ्यारोमा गाँठो फुकाउन भन्दै प्रभू बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनबाट मोटो रकम लिएको गाईगुइँलाई बजारमा फैलाइएको थियो । अन्यथा, दुनियाँमा कोही कसैलाई सक्षम नदेख्ने युवराज खतिवडाले प्रभू बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई भने राम्रो मान्दै आएका थिए । जब कि बजारमा अहिलेका अन्य चल्तापूर्जा र उच्च कोटीको सीइओहरुमध्ये कतिपय दशकअघि नै बैंकको सीइओ वा वरिष्ठ अधिकृत भइसक्दा प्रभू बैंकका हालका सीइओ अशोक शेरचन चाहि तत्कालीन समयमा नेपाल बंगलादेश बैंकको काउण्टरमा टेलर थिए ।
‘प्रभूको अगाडि महादेवको पनि तीन नेत्र’ भने झै गत जेठमा घरभाडाको नाममा गभर्नर चिरञ्जिवी नेपालसँग विशेष सम्बन्ध बनाएका प्रभू बैंकका उच्च अधिकारीहरुले हालै मात्र आफू अनुकूलको अक्वाएरको खेललाई स्वीकृति गराएर ग्राण्डसँग एकीकृत कारोबार समेत थालिसकेका छन् । विगतमा खतिवडाले पदीय दुरुपयोग गरेको भन्दै हिँडेका तिनै कार्यकारी निर्देशक शिवनाथ पाण्डेको सिफारिसमा नेपाल राष्ट्रबैंक संचालक समितिले प्रभू बैंकलाई एकाएक ग्राण्ड बैंक अक्वाएर गर्ने स्वीकृति दिएको हो । ग्राण्डलाई प्रभूले एक्वाएर गर्ने खेलमा यूटर्न गर्ने प्रमुख तत्व नै पैसा रहेको स्रोतको दाबी छ । नेपाल राष्ट्रबैंक स्रोतका अनुसार राष्ट्रबैंकले प्रभूलाई ग्राण्ड बैंकमा मर्ज गर्न १२१ः६५ रुपैयाँको स्वाप रेसियो(शेयर अनुपात)को अनुमति दिएको छ । अहिले गभर्नर चिरञ्जिवी नेपाल र कार्यकारी निर्देशक पाण्डेको समूहले यही अनुपातको सिद्धान्तमा टेकेर करोडौं कुम्ल्याएका स्वयम् बैंकका संचालकहरु दाबी गर्छन ।
यता, कनिष्ठ कार्यकारी निर्देशक हुँदाहुँदै पनि डेपुटी गभर्नरको प्रतिस्पर्धामा सबैलाई उछिन्ने गरी चर्को दौडमा हिँडेका पाण्डेले राजनीतिक शक्तिकेन्द्रहरुमा आकर्षक थैली भेट गर्न यही अक्वाएरको नयाँ सिद्धान्तलाई हतियार बनाएका आरोप पनि छ । स्रोतका अनुसार बैंकका अरु कार्यकारी निर्देशक भन्दा आफूलाई अब्बल दर्जाको चार्टर्ड एकाउण्टेण्ट ठान्ने पाण्डेले के कुराको जवाफ दिन सकेका छैनन् भने, प्रभू बैंकको रु १ सयको शेयरको भाउलाई ग्राण्ड बैंकसँग मर्ज गर्ने बाहानामा मात्र कसरी १ सय २१ रुपैयाँ बनाइयो ? यही खेलमा अहिले गभर्नर नेपाल र कार्यकारी निर्देशक शिवनाथ पाण्डेले प्रभू बैंकका मालिकहरुसँग घाँटी जोडेर दुनियाँको आँखामा छारो हाल्दै ग्राण्ड बैंक मर्ज गरेको मौकामा स्वतः प्रभू बैंकको पूँजीको अनुपातको रकम बढाइदिएका हुन् । ग्राण्ड बैंक प्रभू बैंकमा मर्ज हुँदा उसको १ सय रुपैयाँको सेयरको भाउ ६५ रुपैयाँ कायम हुने, तर प्रभूको चाहि त्यही बेलामा उसको रु. १ सयको सेयरको भाउ चाहि कसरी रु. १ सय २१ हुन्छ ? बैंकरहरु भन्छन्–‘कानून र नियमको कुरा गर्ने हो भने प्रभू बैंकको सेयरको भाउ १ सय रुपैयाँ हुँदा ग्राण्ड बैंकको ५२ रुपैयाँ हुनसक्ला, तर ग्राण्ड बैंकको रु. ६५ कायम गरिँदा प्रभू बैंकको कसरी १ सय २१ रुपैयाँ तोक्न मिल्छ ?’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलको सेयरको यो जोड घटाउको विषयमा गम्भीर छानबिन गर्नुपर्ने सर्वसाधारण शेयरधनीहरुको माग छ ।
बैंक एक्वाएरको नाममा यहीँनेर अहिले नेपाल राष्ट्रबैंकका ठूलाबडा पदाधिकारी सबैजसोले जनही रु. १ करोड रुपैयाँ भन्दा बढी घूस कुम्ल्याएका प्रभू बैंकका अधिकारी नै दरबारमार्गतिरका होटलमा भेट्दा कानेखुशी गर्न थालेका स्रोत बताउँछ । प्रभू र ग्राण्ड बैंकको मर्जरको बाहानामा प्रभूको शेयर पूँजीको दरलाई १ सय २१ रुपैयाँ बनाएर उसको पूँजी बढाइदिने कानून विपरीतको प्रस्ताव तयार पार्ने विशेष गरी नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे, अहिले प्रभू बैंकको देवीप्रकाश भट्टचन र अशोक शेरचन मात्र होइन, सबैजसो ठूला शेयरहोल्डरको निम्ति भगवान नै भएका छन् । किनकि दुईवटा बैंक मर्ज हुँदा प्रभूको सेयर पूँजीको अनुपातलाई रु. १ सयमा सीमित गरिदिएको भए उसको पूँजी स्वतः कम हुन्थ्यो । तर रु. १ सय २१ रुपैयाँ बनाइदिंदा अहिले प्रभूका ठूलो सेयर होल्डर मालामाल बनेका छन् ।
बिजशाला डटकम अगाडी लेख्छ, प्रभू बैंकको पछिल्लो लीलामा रमाउँदै नेपाल राष्ट्रबैंकले उक्त बैंकलाई थप सुविधा समेत दिएको छ । ग्राण्ड बैंकसँग मर्जपछि एकीकृत कारोबार प्रारम्भ गरिसकेको अवस्थामा केन्द्रीय बैंकको नियमन विभागको विशेष पहलमा उक्त बैंकलाई हकप्रद सेयरमा विशेष सुविधा दिइएको छ । बैकिङ क्षेत्रका विज्ञहरुका अनुसार जुन कानूनतः मिल्दैन । २०७२ माघको अन्तमा एकीकृत कारोबार थालिसकेपछि प्रभू बैंकले प्रकाशित गरेको सूचनामा उसको ग्राण्डसँग मर्ज हुनुअघिका सेयर होल्डरहरुलाई मात्र आकर्षित हुने गरी राइट सेयर(हकप्रद सेयर)को सूचना जारी गरेको छ । दुवै संस्था मर्ज भएपछि कसरी पुरानो बैंकको हकमा मात्र लागू हुनेगरी हकप्रद सेयरको सूचना जारी गर्न मिल्छ ? यसको जवाफ गभर्नर नेपाल, कार्यकारी निर्देशक शिवनाथ पाण्डे, प्रभूका अध्यक्ष देवी भट्टचन र सीइओ अशोक शेरचनबाट आउला कि नआउला ? ग्राण्ड बैंकका अभागी शेयरहोल्डरहरुले अहिले यही प्रश्न गरिरहेका छन् ।