काठमाडौं – आफ्नो घरआँगनमा पेट्रोल खानी भेट्टिएको हल्ला चलेका बेला बाहुनी गाउँका कपिलमनि रिजाल २७ वर्षका थिए । यो हल्लासँगै त्यही खानी क्षेत्रको रुँगुवा–जागिर खान थालेका रिजाल अहिले ६५ वर्षका भइसके । ‘खोइ, आउँछ–आउँछ भन्छन्, यो सेरोफेरो रुँगेरै जिन्दगी बितिसक्यो,’ बाहुनी गाविस ८ मा क्षेत्र ओगटेर राखिएको ‘पेट्रोल खानी’ मा भेटिएका चौकीदार रिजालले भने, ‘तैपनि आस मरिगएको छैन ।’
सरकारले २०४४ मा सुरु गरेको पेट्रोलियम अन्वेषण अभियानमध्ये मोरङको बाहुनीमा ‘सबभन्दा सम्भावना रहेको’ भन्दै त्यसमा थप अन्वेषण गरिएको थियो । अन्वेषणको सुरुवाती दिनदेखि स्थानीयवासी रिजाल र परशुराम गौतमलाई खानी तथा भूगर्भ विभागले चौकीदारका रूपमा मासिक तलब दिएर खटाएको हो ।
खानी क्षेत्रको झन्डै ४ बिघा जमिन अधिग्रहण गरेर विभागले आफ्नो स्वामित्वमा लिएकाले यहाँ खेतीपाती गर्नसमेत दिइएको छैन । पूर्वपश्चिम लोकमार्गमा कानेपोखरी खण्ड अगाडिबाट ‘पेट्रोल खानी जाने बाटो’ भनेर बोर्ड राखिएकै कारण यो क्षेत्रको अवलोकन भ्रमणमा आइजाई गर्ने उत्तिकै भेटिए पनि खानीमा पेट्रोल–कुवा धेरै पहिले सुकिसकेको अन्वेषण रिपोर्टबारे भने स्थानीयवासीसमेत अझै अनभिज्ञ छन् ।
खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले नेपालभरका विभिन्न १० स्थानमा पेट्रोलियम सम्भावनाको अध्ययन पहिल्याएपछि त्यसमा विस्तृत अन्वेषणका लागि अन्तर्राष्ट्रिय ‘बिडिङ’ गरिएको थियो । मोरङको बाहुनी ७ ९ब्लक–१०० मा भने प्रतिष्ठित अमेरिकी तेल कम्पनी ‘सेल’ ले झन्डै ८० लाख अमेरिकी डलर खर्चेर ‘ड्रिलिङ’ सहितको भण्डारण अन्वेषण गरेको थियो ।
त्यसबेला पेट्रोलियम सम्भावना देखिएका नेपालगन्ज, चितवन, धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरमा समेत विभिन्न विदेशी कम्पनीले पेट्रोलियम अन्वेषणको काम गर्न लाइसेन्स लिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।