×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब महेन्द्र र बीपीबीच दरबारमा चर्काचर्की भयो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जब महेन्द्र र बीपीबीच दरबारमा चर्काचर्की भयो…

Artha Sarokar

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – बीपी कोइराला अब धेरै दिन बाँच्न सक्दैनन् भनेर डा. मृगेन्द्रराज पाण्डेले तत्कालीन राजा वीरेन्द्रलाई भनेपछि उपचारका लागि अमेरिका पठाउने निधो भयो । जेलमा रहेका बीपीलाई राजाले बोलाउन पठाएपछि राजा र बीपीबीच भेट भयो ।

बीपी राजासँग राजनीतिक कुरा गर्न चाहन्थे । राजाले उपचार गरेर आऊ त्यसपछि अरू कुरा गरौँला भनेछन् । बीपीले राजनीतिक कुरा उठाएपछि राजा वीरेन्द्र जुरूक्क उठेर ‘मेरो कुरा नसुन्ने म यो देशको राजा हुँ’ भनेछन् ।
बीपी पनि जुरुक्क उठेर ‘म पनि यो देशको जनताको नेता हुँ’ भनेपछि बल्ल राजाले बीपीको कुरा सुन्न तयार भएछन् । यसरी बीपीमा राजासँग सिधै टक्कर लिने क्षमता थियो,’ यी भनाइ हुन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठका ।
नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्य क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालाबाट परिचित बीपीको शुक्रबार १०२ औँ जन्म जयन्ती, नेपाली काँग्रेस तथा नेपाली साहित्यकारहरूले देश विदेशमा विभिन्न कार्यक्रमसाथ उनलाई सम्झँदैछन् ।

पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा आजीवन काराबास सजाय पाएर १० वर्षसम्म बन्दी जीवन बिताएका प्रजातन्त्र सेनानी श्रेष्ठ भन्छन्, ‘बीपी राणा प्रधानमन्त्रीद्वय पद्मशमशेर र मोहनशमशेरका पालामा दुईपटक जेल परे ।

त्यसैगरी, २०१७ सालमा बीपी प्रधानमन्त्री नै हुँदा पुनः जेल परे, त्यसबेला उनले नौवटा माग राखेका थिए, उनको एउटा माग पत्रपत्रिका पढ्न पाउनुपर्ने रहेछ । म पनि जेलमा थिएँ, पछि थाहा भयो बीपीको कारण हामीले पनि ‘गोरखापत्र’ पढ्न पायौँ ।’
विसं १९७१ साल भदौ २४ गते जन्मिएका बीपीको असाधारण अभिव्यक्ति कला, लेख्य क्षमता, भाषिक ज्ञान र समर्पणभाव अनि दुःखदायी जीवनी पढ्दा जोकोही पनि भावुक हुन्छन् । राणाशासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्न राजनीतिक आन्दोलनमा होमिएका सर्वाधिक लोकप्रिय नेताहरूमा बीपीको नाम अग्रपङ्क्तिमा आउँछ । बीपी नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र नभएर कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि थिए ।
२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मत आर्जन गरी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको राजासँग टकरावकै कारण २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण भयो र उनीलगायत नेताहरू पनि जेल परे । आठ वर्ष निरन्तरको जेलजीवनपछि उनी भारत निर्वासित भए ।
राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि बीपीको त्यत्तिकै ठूलो योगदान छ । साहित्यकार भुवन ढुङ्गाना भन्छन्, ‘बीपी कोइराला गतिशील नेता हुनुन्थ्यो, उहाँले राजनीति गर्नेलाई जत्तिकै साहित्यकारलाई पनि माया गर्नुहुन्थ्यो । उहाँ स्रष्टा र द्रष्टा दुवै हुनुहुन्थ्यो । नेपाली साहित्य क्षेत्रमा बीपीको योगदानलाई नेपाली साहित्यकारहरूले कहिल्यै भुल्न सक्दैनन् । जेलमा बसेर उहाँले नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभयो ।’
‘चन्द्रवदन’ विश्वेश्वरप्रसाद कोइरालाको पहिलो नेपाली भाषाको कथा हो । ‘कथा कुसुम’, ‘दोषी चस्मा’ ‘श्वेत भैरवी’ कोइरालाका कथा सङ्ग्रहहरू हुन् । ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु आमा र छोरा’ कोइरालाका उपन्यास हुन् भने कथा र उपन्यासका साथै कविता, निबन्ध, आत्मवृत्तान्त प्रकाशित छन् । कोइरालाका केही निबन्ध र आत्मवृत्तान्त निधनपछि मात्रै प्रकाशित भएका हुन् ।
राष्ट्रपुकारका सम्पादक एवम् पूर्वमन्त्री होमनाथ दाहालका अनुसार, बीपी एकदमै विरोधी खेमाका पत्रकारलाई पनि उत्तिकै सम्मान गर्थे र आफ्ना भनाइ राख्थे । कल्पना, ज्वालाजस्ता पत्रिकामा उनका विचार आइरहन्थे । बीपी पत्रकारका लागि सुगम व्यक्तित्व थिए ।
देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन पञ्चहरूको जोखिम स्वीकार गर्दै उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्किए ।

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका पक्षमा जीवन समर्पित गरेका बीपी नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहे । साथै उनी अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता थिए ।
जीवनभर जनताका अधिकारका लागि लडेका कोइरालाले क्यान्सरसँग पनि लड्नुपर्योा र त्यही रोगबाट उनको २०३९ साउन ६ गते निधन भयो ।

  • गोरखापत्र दैनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी