- दियो पोष्ट
सुप्रिम कमाण्डर कमरेड, प्रचण्ड
बानेश्वरको एक खाली घरबाट मध्यरातमा तपाईंलाई यो पत्र लेख्दैछु । यो पत्र कोर्दै गर्दा मेरा विगतहरु तछाडमछाड गर्दै मस्तिस्कमा उद्धेलित भइरहेछन् । त्यही हुकुम खड्का हुँ । जसले ‘बुर्जुवा’ शिक्षा भन्दै आफूले पढ्दै आएको किताब खोलामा हुत्याएर तपाईंले सञ्चालन गरेको महान जनयुद्धमा होमियो । जनयुद्ध नामको त्यो महान विश्व विद्यालयमा मैले आफ्ना योग्यताहरु देखाएँ । थुप्रै फौजी कारबाहीहरुमा सामेल भएँ । त्यो क्रममा म घाइते भएँ । त्यो परिक्षामा मेरो नतिजा के आयो ? अहिले सम्मे उत्तर पाएको छैन । तर, मेरो परिचय भने थपिएको छ, ‘जनयुद्धको घाइते योद्धा’ ।
२०५२ साल फाल्गुन १ गतेदेखि हजुरको नेतृत्वमा ने.क.पा. (माओवादी) ले महान जनयुद्धकोे यात्रा सुरु ग¥यो । त्यतिबेला म मेरो उमेरको कारणले सहयोग मात्र गर्न सक्दथे । तर, २०५४/५/२३ गते देखि महान जनयुद्धको पूर्णकालिन कार्यकर्ता बनेँ ।
२०५५ साल फाल्गुण १ गतेको कुरा हो रुकुम जिल्ला छिवाङ्ग गाविसमा गाउँ कमिटीको मिटिङ्ग थियो । त्योबेला मेरो प्रश्न थियो,‘गरिवका छोरा छोरीलाई माक्र्सवाद–लेनिनवाद–माओवाद को सिद्धान्त बोकाएर, संघर्षमा होमीने नेताहरु कतै भोलि गरिबलाई नै शोषण त गर्दैनन् ?’ गरिबहरुलाई शोषण गर्ने फेरी अर्को वर्ग जन्मने खतरा त छैन ? यो प्रश्नमा कयौं कमरेडहरुले ममाथि आक्रोशको प्रश्न गर्नुभएको थियो ।
हिजो हामीले जग्गा जोत्नेको हुन्छ भनेको थियौं । घर पोत्नेहरुको हुन्छ भनेका थियौं । तिनै नाराको आधारमा मसाल जुलुश निस्किएका थिए । र, भनेका थियौं,‘महान जनयुद्ध जिन्दावाद !’
आज मलाई ती घर पोत्नेहरुको सपनाको याद आइरहेछ । के ती सपनाहरु कहाँ पुगे ? जोत्नेहरुले आफूले जोतेको खेत पाएकी पाएनन् ? पोत्नेहरुले आफूले पोतेको घर पाएकी पाएनन् । की ती सपनाहरु सबै खरानी बनिसके ?
तपाईंलाई यो पत्र लेख्दै गर्दा म आफैँ भोको छु । मलाई पुराना सपनाहरुको भोक जागेर आएको छ । रुकुमका संघर्षशील सोझा कर्तव्यनिष्ठ जनता, ती बुढि आमा, बुढा बुबा, दाजु, भाई, दिदी, बहिनी मारिएका दिनहरु याद आउँछन् । नेपाली आमाका काख रित्तिएका दिनहरु दिमागमा छचल्किन्छन् । कयौँ नेपाली नारीका सिउँदोको सिन्दुर पुछिएको याद आउँछ । त्यो युद्धमा हजाराैँका बालबच्चा टुहुरा भए, हजारौं नेपाली घरवार विहिन भए, वलिदानी गरे, योद्धा वेपत्ता भए । कयौँ हजारले अंग प्रतिअंग गुमाए आज आएर हजारौं घाईते योद्धा जीवन मरनको दोसाँधमा छन् । औषधी नपाएर छट्टपटाईरहेका छन् । योद्धाहरुको घरपरिवार अस्तव्यस्त छ । तर, २०५२ भन्दा आज हाम्रो समाजमा भने अत्याचार, शोषण दमन चौगुणा बढी रहेकोछ । गरिव सर्वहारा पिल्सि रहेका छन् ।
हिजो हाम्रो आधार ईलाकामा प्रेम गरेकै कारण मान्छेलाई भौतिक कार्वाही गरिएका थिए । तर, आज हाम्रै नेताका छोराले बहु विवाहा गरेका छन् । सुप्रिम कमान्डर कमरेड हाम्रो विगतको महानता प्रति यो ठूलो खिल्ली के हुनसक्छ ?
यो हाम्रा सपनाहरुमाथि हाम्रै नेतृत्वबाट भएको बलात्कारले आँखाबाट आँशु आउँदो रहेछ । केहीदिन अघि हाम्रा श्रमजिवी सर्वहारा जनताको वस्तिमा कम्युनिष्ट सरकारले प्रहरी र डोजर चलायो । सुकुम्बासी बस्तिहरुमा डोजर चलाइएको छ । कमरेड, साँच्चै ‘जमिन जोत्नेहरुको र घर पोत्नेहरुको’ भन्ने हाम्रा नाराहरुले हामीलाई कति गिज्याइरहेको होला ?
सुप्रिम कमान्डर कमरेड,
स्मरण रहोस । त्यो समय जतिबेला तपाई भारतमा बसेर दस्ताबेज लेख्नुहुन्थ्यो । तपाईंको तस्बिरको आधारमा हजारौं हजार नेपाली श्रमजिवी सर्वहारा जनताका छोराछोरीले आफ्नो ज्यान तिलाञ्जली दिए । हजारौं घाइते अपाङ्ग, बेपत्ता भए । तर, अहिले सोही बेपत्ता पार्नेहरुसँग तपाईंको ‘गठजोठ’ छ । साँच्चै शहिदहुनेहरुको सपना यो थियो की प्रचण्डले शेरबहादुर देउवाहरुसँग चेयर्स गरुन् । र, सत्तासँग सम्भोग गरुन् ।’
कमाण्डर कमरेड जनयुद्धलाई सत्ता सम्भोगको साधन बनाउने अधिकार कसैलाइ छैन ।
स्मरण यो पनि गर्न जरुरी छ की भारतीय विस्तारवादले सिमा अतिक्रमण गर्दा हामीले त्यसका विरुद्धमा मार्चपास गरेका थियौँ । हजारौं नेपाली जनतालाई मार्चपास गराउनु भएको थियो । दार्चुला देखि झापासम्मका डाँडा पाखा खाल्डा अनि दुला खनेर (सुरुङ्ग युद्ध) लडाईको तयारी गरेको हजुरलाई याद होला । तपाइंलाई याद नभएपनि ती सुरुङका अवशेषहरु इतिहाँसमा कहिल्यै मेटिने छैनन् । आसन्न तपाईंको भारत भ्रमणमा हामीले गरेका मार्चपासका एजेन्डाहरु सुनाइयोस् ।
तपाईं मुलुकको दोस्रो पटक प्रधानमन्त्री हुनभएको छ । यहाँले त थावाङ्ग, जलजला, सिस्ने, सैपाल, अरुण तमर सगरमाथालाई विर्सनुभयो होला । तर, ती ठाउँहरुले तपाईंलाई कहिल्यै विर्सने छैनन् । जनयुद्धको पहिलो सहिद दिल व. रम्तेललाई यो थाहा थिएन की तपाईं यो मुलुकको प्रधानमन्त्री बन्नु हुनेछ त्यसको लागि मैले बलिदान गर्नुपर्नेछ । कालिकोट कोटवडाकी ती घाँस दाउरा गर्ने साहसी आमा जसले आफ्नो वर्गको लागि शासक वर्गको हतियार खोसिन उनको लक्ष तपाईं प्रधानमन्त्री बन्नु थिएन । तपाईंले जनाको पक्षमा के गर्नुहुन्छ त्यही सपना थियो । अनि जनताको पक्षमा कलम चलाउने कृष्णसेन इच्छुक जनताका रक्षक क. सुनिल, क. जित, जनताको आवाज वोल्ने क. वासु, जनताका कलाकार क. शारदा श्रेष्ठहरु सपना यो मुलुकमा समता मुलक समाज निर्माण गर्ने थियो ।
उनीहरु सबैको सपना थियो, ‘मुलुकका अधिकार नपाएकाहरुले अधिकार पाउँन, भूमिहिनहरुले भूमि पाउँन, हेपिएका जाती समुदायले राज्यमा अग्राधिकार पाउन अर्थात हुँदा खानेहरुको सत्ता आओस् ।’ तर, ती सपनाहरु कतै अपहरण भए जस्तो लाग्न थालेको छ । आज हाम्रा सपनामा आहुती दिनेहरुले सोध्लान, ‘खै हाम्रो भूमि ? खै हाम्रा अधिकार ? खै हाम्रा राज्य ?’
यस्तोमा हामीसँग एउटै उत्तर रहनेछ, ‘हाम्रा सुप्रिम कमाण्डर आज संसदीय भासमा भासिनु भएको छ ।’ यो हाम्रो बाध्यता हो । चाहाना यो थियो की हामीले हाम्रै हुँदा खानेहरुको सपनाको भारी बोकाएर हिडाउँ ।
तर, कमरेड बागलुङ्गका पदम कुँवरले हजुरको त्यो महंगो चश्मा भुईमा झर्ने गरि गालामा थप्पड हान्नु पर्ने अवस्था कसरी आयो ? मलाई त्यो देख्दा छाङ्गाबाट झरेको जस्तो अनुभूती भयो । के हामी हाम्रै सपनाहरुको हत्या त गर्दै छैनौं ?
खोइ हाम्रा डिग्रीका सर्टिफिकेट ? खै जनसभा, जनअदालत, जनसेना, जनगणतन्त्र, भूमि, पानी, खानी ? यो फूच्चे हुकुम खड्काले ‘ठूलो कुरा गर्यो’ भन्नु होला । तर, कुरा ठूलो सानो हुँदैन । किन भने समानताको आवाज उठाउँन तपाईंले नै सिकाउनु भएको हो । तर, आज हाम्रा योग्यताहरु काम नलाग्ने भएका छन् । सर्टिफीकेटहरु बचिएका छन् । हजारौँ साथीहरु आफ्ना योग्यताहरु यहाँ काम नलाग्ने भएपछि खाडी भाँसिएका छन् ।
केही दिन अघि म वेपत्ता योद्धाको घरमा जाँदा उहाँको छोराले सोधेका थिए ‘खै अंकल हाम्रो बाबा कुन ठाउँमा हुनुहुन्छ ? उनीहरु चाहान्छन् की हजुरलाई भेटौं र आफ्नो बाबाको हाल खबर जानौँ । तर, यो समयमा यहाँलाई फुर्सद नहोला । यदि मिलेसम्म ३० मिनेट समय दिनुभयो भने म उहाँहरुलाई लिएर आउँनेछु । मेरो जीवनको अन्तिम चाहाना यो पनि छ की तपाईंलाई बधाई दिउँ ।
हस्ते
उही घाइते योद्धा हुकुम खड्का