×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिकको छातीमा क्यामेरा : यसरी फस्छन् नियम मिच्ने ड्राइभर

LAXMI SUNRISE BANK

ट्राफिकको छातीमा क्यामेरा : यसरी फस्छन् नियम मिच्ने ड्राइभर

१० आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं : हिजोआज काठमाडौंको सडकमा ट्राफिक प्रहरीको छातीमा बाँधिएको बेल्टमा सानो मेसिन देख्नुभएको छ? काठमाडौंका ब्यस्त सडकमा खटिएका ट्राफिक प्रहरीको छातीमा यस्तै मेसिन फिट गरिएको छ।   
तपाईं सवारी चालक हुनुहुन्छ र ट्राफिकको आँखा कान छलेर नियम उलंघन गर्न माहिर हुनुहुन्छ भने सचेत हुनुस् है! ट्राफिक प्रहरीको छातीमा राखिएको त्यो मेसिन क्यामेरा हो। यसले सडकको सबै भाग र टाढासम्म चालकले गरेको गल्तीको भिडियो खिचिरहेको हुन्छ।
ट्राफिक नियम उलंघन गरेको हो वा होइन भन्ने विषयमा चालक र ट्राफिक प्रहरीबीच हुने वादविवाद समाधान गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको छातीमा क्यामेरा फिट गरिदिएको हो। महाशाखाका प्रमुख डिआईजी प्रकाश अर्याल चालक र ट्राफिक प्रहरीबीचको झगडा रोक्न र निर्दोष चालकहरु कारबाहीमा नपरुन् भनेर क्यामेरा सहितका ट्राफिक प्रहरी राखिएको बताउँछन्।
 अर्याल महाशाखामा आएपछि उनले धेरै पटक आफैले चालक र ट्राफिकबीच वादविवाद भएको देखे। ‘सडकमा धेरैपटक ट्राफिक र ड्राइभरबीचमा नियम पालना गरेको हो कि होइन भन्नेमा झगडा परेको देखेँ’, उनले भने ‘विदेशतिर क्यामरा प्रयोग भएको देखेँ, हामीले पनि नर्मल क्यामरा प्रयोग गर्‍यौं, सफल भयो।’ सुरुमा ट्राफिक प्रहरीले सडकमा तीनवटा सामान्य क्यामेरा प्रयोग गरेर यो विधिको परीक्षण गरेको हो। 
परीक्षण सफल भएपनि सडकका सबै दृश्य देख्न सामान्य क्यामेराबाट मात्र सम्भव नहुने भएकाले गोप्रो र बडी वर्न क्यामेरा ल्याएको हो। २०७२ चैत १२ गतेदेखि ट्राफिक प्रहरीले २४ वटा गोप्रो र ६ वटा बडी वर्न क्यामराबाट सडकको निगरानी गरिरहेको छ। अहिले महाशाखाले काठमाडौंको बढी सवारी चाप रहेको १३ ठाउँहरुमा क्यामरा प्रयोगमा ल्याएको छ।  
क्यामेराबाट निगरानी बढाएपछि लेन अनुशासन पालना नगर्ने चालकहरु बढी कारबाहीमा परेका छन्। क्यामेरा मार्फत निगरानी गरेर ट्राफिक प्रहरीले एकै दिनमा छ सय भन्दा बढी चालकलाई कारबाही पनि गरेको छ। क्यामेरा प्रयोग गरेपछि ट्राफिक प्रहरीलाई के सजिलो भएको छ भने गल्ती स्वीकार नगर्ने चालकलाई भिडियो देखाउन पाएको छ। गल्ती गरेको छैन भनेर विवाद गर्ने चालकलाई भिडियो देखाएर कारबाही गरिने डिआइजी अर्यालले जानकारी दिए। ‘चालकले पहिला गल्ती गर्छन् अनि कहाँ, मैले गल्ती गरेको छु भन्दै विवाद गर्छन्’, उनले भने  ‘तर क्यामेराले खिचेको भिडियो देखाएपछि लज्जित हुँदै कारबाही भोग्छन्।’ 
छातीमा क्यामेरा फिट गरेपछि ट्राफिक प्रहरीको बोलीचाली, ब्यबहार र क्रियाकलाप पनि मर्यादित भएको छ। महाशाखाका एसएसपी मिलन बस्नेत ट्राफिक प्रहरीले पैसा खान्छ भन्ने आम बुझाईलाई परिवर्तन गर्न क्यामेरा सहयोगी भएको बताए। ‘ट्राफिक प्रहरीको व्यवहार, बोली र क्रियाकलाप क्यामरामा कैद भएपछि उसले पनि बदमासी गर्न पाउदैन’ उनले भने। ट्राफिक प्रहरीले सवारी नियम धेरै उलंघन हुने ठाउँ (लेन अनुशासन र युटर्न गर्ने ठाउँहरु) मा क्यामेराको प्रयोग गरेको छ। के हो गोप्रो क्यामेरा ?
 साहसिक गतिविधि खिच्नको लागि धेरै प्रयोग हुने गोप्रो क्यामेरा अहिले चालकलाई ट्राफिक नियम पालना गराउन सजिलो माध्यम भएको छ। साहसिक पर्यटकहरुले बेल्टको सहयोगमा सजिलै शरीरमा राखेर साहसिक गतिविधि खिच्न यो क्यामेरा प्रयोग हुन्छन्। गोप्रो क्यामरा एचडी क्वालिटीको हुनुका साथै वाटरप्रुफ पनि हुन्छ। सानो हुने भएकोले पनि यसको प्रयोग पछिल्लो समयमा निक्कै बढेको छ। तीन वटा फरक फरक भर्सनमा आएको गोप्रो क्यामराले एक सेकेण्डमा ३० वटा फ्रेमको भिडियो खिच्न सक्छ। गोप्रोको अपरेटिङ सिस्टम सजिलो र ‘लाइभ एक्टिभिटी’ कभर गर्ने प्रयोजनका लागि भएकाले ट्राफिकमा यसको प्रयोग उपयोगी भएको एसएसपी बस्नेतले जानकारी दिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी