×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खोलाभित्रै स्काभेटर,प्रशासन मौन

LAXMI SUNRISE BANK

खोलाभित्रै स्काभेटर,प्रशासन मौन

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – झापा खुदुनाबारीको सिस्ने र बुधबारेको जयपुर बीचबाट बग्ने बिरिङ खोला जता फर्केर हेर्दा पनि ट्रिपर र ट्रयाक्टर मात्रै। ट्रिपर र ट्रयाक्टरमा ढुङ्गा, गिट्टी र बालुवा उठाउँदैछन्, सयौँ मजदुर। बिहान उज्यालो नहुँदै उनीहरु खोलामा पुग्छन्। 
उनीहरुको काम राति अबेरसम्मै खोलाको गिट्टी, बालुवा र ढुङ्गा निकाल्नु हो। मजदुरको सङ्ख्या कम भएको भन्दै स्काभेटर नै खोलामा पुर्‍याइएको छ। खोलामा पानी बगिरहेको छ। त्यही खोलाको बीचमा छन् ट्रिपर, ट्याक्टर, स्काभेटर अनि सयौँ कामदार। असोजसम्म खोलाबाट ढुङ्गा, गिट्टी तथा बालुवा निकाल्न जिविसले प्रतिबन्ध लगाएको छ। यहाँ त्यो कुरा लागु हुँदैन।
अहिले यहाँ निर्ममतापूर्वक खोलाजन्य पदार्थ निकालिँदैछ। स्थानीयले पटक पटक यसको विरोध गरिरहेका छन्। खोलाभित्र स्काभेटर पसेर ५र६ मिटरसम्म खनेपछि ‘हात्ती डुब्ने’ खाडल परिसकेको उनीहरुको गुनासो छ। यहाँबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने ठेक्का लिएका छन्, प्रगतिशील निर्माण सेवा जयपुरका चन्द्र गौतमले। 
खोलाको बालुवा चालेर हातमुख जोर्ने सर्वसाधारणलाई लखेट्ने प्रहरी स्काभेटरले खोला खनेको भने टुलुटुलु हेरिरहेको छ। ‘हामी बालुवा चालेर बेच्छौँ, त्यही पैसाले भात खान्छौँ,’ खोलामै भेटिएकी एक मजदुरले भनिन्, ‘हामीले चालेको बालुवा चाहिँ चौकीमा लगेर छरिदिन्छ पुलिसले, ट्रिपरलाई चाहिँ केही गर्दैन।’ खेती गरिएको जमिनभन्दा १० फिट तलबाट बग्छ बिरिङ। १ ट्रक खोलाजन्य सामाग्रीबाट २० हजारसम्म नाफा हुने भएकाले ठेकेदार गौतमले स्काभेटर नै लगाएर खोलो उदिन्न थालेको स्थानीयले बताए। एक मिटरभन्दा गहिरो खन्न नपाइने भएपनि यहाँ ५र६ मिटर गहिरा खाडल छन्। 
पीडित स्थानीयले शुक्रबार उत्खनन भइरहेको स्थलमै पत्रकार सम्मेलन गरे। त्यहाँ उनीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेल र स्थानीय विकास अधिकारी खेमराज ओझालाई समेत बोलाएका थिए। तर, उनीहरु आएनन्। जिविसबाट एकजना प्रतिनिधि मात्र पठाए। ‘एलडीओ र सिडिओ खोईरु तपाई मात्र किन आउनुहुन्छ हामीले बोलाउँदा  स्थानीयले जिविसका प्रतिनिधि जय तिम्सिनालाई प्रश्न सोधे। 
स्थानीय अगुवा नवीनकुमार ओलीले खोलातिर देखाउँदै भने, ‘किसानका खेत सुकिसके, खोलामा हालेको स्काभेटरका कारण गाउँ मरुभूमि बन्दैछ, साधुटारको खानेपानी ट्याङ्की सुकिसक्यो।’ अर्का एकजना जुरुक्क उठेर भने, ‘खेतमा पानी चढ्दैन, धारोमा पानी आउँदैन, खुदुनाबारी र शनिअर्जुनको खानेपानीमा लोडसेडिङ भइसक्यो। १० हजार मानिसले गिट्टी चालेर भात खान्थे, त्यो दिइँदैन, ट्रिपर र स्काभेटरलाई चाहिँ जे पनि छुट सामाजिक अगुवा ओलीले भने। 
प्रभावित क्षेत्रका राजेश जवेगुको अध्यक्षतामा गठित समितिले उत्खनन नरोके आन्दोलन गर्ने चेतावनी दिएको छ। राप्रपा नेपालका विशाल खड्काले खोलाधारका बासिन्दा विस्थापित हुनेगरी गरिएको उत्खनन तत्काल रोक्नुपर्ने बताए। माओवादी केन्द्रका देवीप्रसाद खातीले खोला गहिरो बनाएकै कारण खेती गर्न नपाइएको गुनासो गरे। उनीहरुले जिविस झापाले उत्खनन गर्ने काम नरोके आइपर्ने परिस्थितिको सामना गर्न तयार रहन चेतावनी दिए। केही ठेकेदारसँगको मिलेमतोमा यो वर्ष जिविस झापाले चरम रुपमा चुरे क्षेत्रको दोहन गरिरहेको छ।

किसानको खेतको सतहभन्दा १० फुट गहिरो स्थानमा भीमकाय खाल्डा बनाएर खोलाजन्य सामग्री उत्खनन गरेपनि जिविसले नदेखेझैँ गरिरहेको आरोप स्थानीय सेवन्त ढकालले लगाए। काङ्ग्रेस नेता देउमान थेबेले स्थानीयको पीडाले आफू चिन्तित बनेको बताए। छिटो निकास दिलाउन आफूले सक्दो प्रयास गर्ने उनको कथन छ। जिविस प्रतिनिधि तिम्सिनाले प्रारम्भिक अध्ययनपछि मात्र ठेक्का लगाइएको दावी गरे। 

अबदेखि १ जना वातावरण अधिकृत खटाउने उनले प्रतिबद्धता व्यक्त गरे। खोलाभित्र स्काभेटर पस्न नदिने विषयमा भने उनी बोल्न सकेनन्। उनले भने, ‘यस विषयमा चाहिँ जिविसमै छलफल गरिन्छ।’ गत वर्ष बिरिङमा आएको बाढी मानव बस्तीमा पसेर खुदुनाबारी ३, ४ र ५ नम्बर वडालाई असर गरेको थियो। स्थानीयले गत माघमा खोला उत्खनन गर्दा पर्न सक्ने दुरगामी असरसहितको राय सुझाव जिल्ला विकास समितिमा पेश गरेका थिए। उनीहरुको सुझावको बेवास्ता गर्दै जिविसले खोला खन्न ठेक्का लगाएको हो।

खोला खन्ने काम तत्काल नरोके यहाँ सञ्चालित खुदुनाबारी–अर्जुनधारा खानेपानी आयोजनाको मुहान सुक्दै जाने र २ हजारभन्दा बढी घरधुरी खानेपानीबाट बञ्चित हुने स्थानीय बताउँछन्। खोला खन्ने क्रम तीब्र भएसँगै डिलमा रोपिएका बोटबिरुवा सुक्न थालेका छन्। उत्खननबाट खोलाको सतह गहिरिँदै गएपछि हाल स्थानीय चिन्तित छन्। एकभन्दा बढी स्काभेटर खोलामै राखेर मान्छे नै हराउने गहिरो बनाएर ढुङ्गा, गिट्टी र बालुवा निकालिँदैछ। 

बर्षेनी बाढी गाउँमा पसेर ठूलो क्षति भइरहे पनि खोला खनेको विषयमा प्रशासन मौन छ। गत चैत ६ गते स्थानीय सरोकारवाला संघसंस्था, राजनीतिक दल, बुद्धिजिवीको एक भेलाले खेला खन्ने काम तत्काल रोक लगाउने निर्णय गरेको थियो। तर, जिविसले यस निर्णयप्रति कुनै चासो दिएन। यो वर्ष दमकको साञ्चुहाङ निर्माण सेवाले बिरिङ खोलाको खोलाजन्य सामग्री निकासी ठेक्का पाएको छ। 
ट्याक्टरलाई उपलब्ध हुने रसिदमा स्क्वाएर फुट लेख्ने स्थान खाली छोडिएको छ। अचम्मको कुरा त के छ भने सबै बिलमा जिविसको सरकारी छाप हानिएको छ। यसबाट पनि जिविसका कर्मचारीले निकासीवापत बढी रकम सङ्कलन गर्न ठेकेदार कम्पनीलाई प्रश्रय दिइरहेको प्रष्ट हुन्छ।
यो वर्ष खोला ठेक्का पाएको निर्माण सेवाका सञ्चालक राजकुमार थापाले ट्याक्टर व्यवसायीसँग बढी रकम असुलेको अस्वीकार गरे। उनले आफू दमकमा भएका कारण कुनै कर्मचारीले त्यसरी फटाइँ गरेको भए अध्ययन गरेर कारवाही गर्ने बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी