राजनीति भनेको उद्योग होइन । म राजनीतिमा आएको आम्दानीका लागि होइन । मैले अहिले आम्दानीका लागि काम गरिरहेको पनि छैन । सामाजिक काममै केन्द्रित हुने भएकाले पनि हामीसँग उल्लेखनीय पैसा हुँदैन । मेरो परिवार काठमाडौंमै भएकाले पनि खर्चको विषयमा सजिलो भएको छ ।
त्यसैले अहिलेसम्म मलाई घरव्यवहारको झन्झट छैन । खर्चपर्चको चिन्ता बुवाले नै लिनुहुन्छ, उहाँले नै सबै हेर्नुहुन्छ । आर्थिक रुपमा मेरो ‘ब्याकअप’ भनेको अमेरिकामा रहनुभएका दाइ किरण पौडेल हो । उहाँले दुई÷तीन महिनाको अन्तरालमा दुई÷तीन सय डलर सहयोग गर्नुहुन्छ । त्यही रकमले पकेट खर्च चलाउने गर्छु।
मसँग अलि बढी पैसा हुने भनेको उहाँले पठाइदिएका वेला नै हो । हामी पार्टीका विभिन्न कार्यक्रममा जिल्लातिर गइरहेका हुन्छौँ । वर्कसप र सेमिनारमा ट्रेनिङ दिन पुगिरहेका हुन्छौँ । त्यतिवेला पार्टी र संघसंस्थाले पनि सहयोग गरिरहेका हुन्छन् ।
जिल्लामा जाँदा सम्बन्धित आयोजक तथा साथीभाइको सहयोग रहन्छ । देशभरिकै साथीहरूसँग राम्रो चिनजान भएकाले पनि जिल्लामा जाँदा उहाँहरूले नै व्यवस्था गर्नुहुन्छ । एक रुपैयाँ नभइकन पनि मेची महाकालीसम्म घुम्न सक्छु । कहिलेकाहीँ यस्तै पनि भएको छ । आज (शनिबार) मेरो गोजीमा ७ सय रुपैयाँ छ । तर, सधैँ पैसा हुन्छ भन्ने हुँदैन ।
रित्तै गोजी भएका उदाहरण पनि कैयौँ छन् । कहिलेकाहीँ गोजीमा पैसा नभएर साथीहरूलाई मोटरसाइकल, गाडीमा बाटोसम्म लिन पनि बोलाउने गरिन्छ । अरू नजिकका केही साथी पनि हुनुहुन्छ, अप्ठ्यारो पर्दा उहाँहरूले सहयोग गरिरहनुहुन्छ । आजभोलि साथीहरूसँग अफिसमा भेट हुँदैन । सामान्यतया चिया पसल, रेस्टुरेन्टमै उहाँहरूसँग भेट हुने गर्दछ । सामान्यतया चिया पसलमा बस्दा चिया, खाजा त खानुपर्यो । त्यसैले, चियामा मेरो सबैभन्दा बढी खर्च हुने गर्छ ।
कतिपय समयमा त साथीभाइले पनि सहयोग गर्नुहुन्छ । सधैँ त्यस्तो हुँदैन । तर, कहिलेकाहीँ यस्तो पनि भइदिन्छ कि, गोजीमा भएको एक हजार रुपैयाँ एक हप्तासम्म पनि रहिरहन्छ । कलेजमा विद्यार्थी राजनीति गर्दा भने पैसाको अभाव थुप्रै भोगियो । खाजा खाने त परको कुरा, गाडीभाडा पनि गोजीमा हुने थिएन । नेविसंघको कार्यालयमा गइरहन्थ्यौँ, फर्किंदा ट्यापो चढ्नेसम्म पैसा नभएर हिडेँरै घर आइपुग्थ्यौँ । नयाँ पत्रिकाबाट साभार गरिएको हो ।