×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमानस्थलका महाप्रबन्धक उपाध्यायको संलग्नतामा श्रमिकको तलब रोकियो

PRIME CA

विमानस्थलका महाप्रबन्धक उपाध्यायको संलग्नतामा श्रमिकको तलब रोकियो

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाण्डौ – त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय र विमानस्थल सरसफाइको लागि ठेक्का लिएका कम्पनीहरुबीच मिलेमतो हुँदा काम गर्ने श्रमिकहरुले करिब ६ महिनादेखि तलब सुविधा पाएका छैनन् । विमानस्थल सरसफाइको लागि ठेक्का लिएका कम्पनीहरु स्वनिग सर्भिसेज प्रालि, उमा एण्ड कम्पनी / कुम्भकर्ण जेभी, सीके जनशक्ति एण्ड सरसफाइले ६ महिनादेखि तलब सुविधा उपाध्यायको आग्रहमा रोकेको पाइएको हो । 
ठेकेदार कम्पनीले महाप्रबन्धकलाई केही रकम दिएर श्रमिकहरुको सेवा सुविधामा मनोमानी गरेको श्रमिकहरुले आरोप लगाएका छन् । साउन महिनादेखि तलब सुविधा बढाउने निर्णय भए पनि बढेको तलब नपाएको उनीहरुले बताएका छन् । पुस महिनासम्म साबिकको तलब सुविधा पाए पनि त्यसपछि सबै तलब सुविधा रोक भएको उनीहरुले गुनासो गरेका छन् ।
श्रमिकहरुलाई तलब सुविधा नदिइनुमा उपाध्यायको प्रमुख हात रहेको जानकारवालाहरुले बताएका छन् । ठेकेदार कम्पनीहरुलाई श्रमिकको तलब सुविधा बढाउनुको सट्टा आफूलाई पैसा दिए ठेक्का सम्झौता बढाउने आश्वासन दिए पनि कम्पनीहरुले श्रमिकको तलब रोकेको स्रोतले बताएको छ । उपाध्यायले कम्पनीहरुसँग पैसा समेत लिइसकेका छन् ।
स्वनिगका सञ्चालक सुवास श्रेष्ठले महाप्रबन्धक उपाध्यायलाई पैसा दिएको र उनको कम्पनीले पुसदेखि सबै मजदुरको पैसा रोकिएको देखिएको हो । स्वनिगसँग तलब माग्दा कामबाट निकालिदिने धम्की दिने गरेको श्रमिकहरुले बताएका छन् । कम्पनीले स्थानीय गुण्डा लगाएर लखेट्ने लखेट्नसक्ने बताउँदै आएको श्रमिकहरुको भनाइ छ । उक्त समस्याबारे विमानस्थलका प्रमुख उपाध्याय जानकारी गराउँदा समेत कुनै प्रतिक्रिया नदिने गरेको पाइएको हो ।
विमानस्थालको व्यवस्थापनको जिम्मा लिएर बसेका उपाध्यायले कम्पनीसँग पैसा लिएर लामो समयदेखि तलब रोकिदिँदा जीवनयापन गर्न नै मुस्किल परेको श्रमिकहरुको गुनासो छ । करिब एक महिनाअघि श्रमिकहरुले आन्दोलन गर्ने निर्णय गरे पनि तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवन बहादुर शाहीले आन्दोलनले अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत हुने बताएपछि श्रमिकहरु चुप लागेका थिए ।
मन्त्री शाहीले समस्या समाधानको लागि पहल गर्ने बताएपछि आन्दोलन रोकिएको थियो । उनले एक साताभित्र समस्या समाधान गराउने आश्वासन दिएका थिए । चैत ४ गते एक सूचना जारी गर्दै मजदुर एयरपोर्ट इलाका कमिटीले तलब सुविधा नपाए काम ठप्प पार्ने निर्णय गरेको छ । कमिटीले सबै मजदुर हड्तालमा बस्ने समेत निर्णय गरेको हो ।
त्यस्तै महाप्रबन्धक उपाध्यायले विमानस्थलमा राखिने हरियो नम्बर प्लेटका ट्याक्सीमा पनि आर्थिक चलखेल गरेको आरोप लागेको छ । उनले विमानस्थलमा राखिने ट्याक्सीको संख्या बढाउनलाई पैसा लेनदेन गरेको आरोप लागेको हो । विमानस्थलमा एक सय ४० को हाराहारीमा ट्याक्सी रहन पाउने व्यवस्था भए पनि अहिले एक सय ६८ वटा ट्याक्सी सञ्चालन हँुदै आइरहेका छन् । उसलाई होटलवालाहरु तथा सिन्डिकेटका एजेण्टहरुले पैसा खुवाएर ट्याक्सी संख्या बढाउन लगाएको स्रोतले जानकारी दिएको छ ।
एयरपोर्टमा सञ्चालन हुने ट्याक्सीहरुले उक्त भाडा लिने गरेको आरोप लागिरहेको भए पनि व्यवस्थापनको जिम्मा लिएका प्रमुख व्यक्तिले नै त्यसमा बेवास्ता गर्दै आएका छन् । उनले पैसा पाए हरेक कार्यलाई छुट्कारा दिने नीति लिएको देखिएको हो । उनीमाथि विभिन्न आर्थिक अनियमितताको आरोप लाग्नथाले पनि हाल आफ्नो कार्यकक्षलाई रिमोट कन्ट्रोल कक्ष बनाएका छन् । आफूले चाहेको व्यक्तिलाई मात्रै भेट्न पाउने गरी रिमोटबाट चल्ने ढोका भर्खरै निर्माण गरेका हुन् । यो समाचार आर्थिक दैनिकबाट साभार गरिइको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: