
सेयर बजारमा तीव्र सुधार प्रयास गरिरहेको धितोपत्र बोर्ड अहिले एक्लिएजस्तो देखिएको छ । खासगरी सम्पत्ति शुद्धीकरणविरुद्धका पहल, सेयर कारोबारको अभौतिकीकरण र सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच स्थापित गर्न बोर्डले चालेका कदमविरुद्ध ब्रोकर र वेलाबखत नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को उच्च व्यवस्थापनले समेत विरोध र असहयोग गर्ने गरेको बोर्ड अधिकारीले बताउँदै आएका छन् । नेप्से र बोर्डबीचको विवाद सतहमै पनि देखिएको छ । तर, बोर्डले बजार सुधारका अनेकौँ कदम चालिरहेको छ । बजार सुधारका लागि भइरहेका काम बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले यसरी बताए :
तीन दायित्व
पुँजी बजारको नियामक निकायका रूपमा बोर्डले मूलतः तीनवटा जिम्मेवारी निर्वाह गर्नुपर्छ । पहिलो, लगानीकर्ताको हित सुरक्षित गर्ने, दोस्रो, बजार विकास गर्ने र तेस्रोमा नियामकीय भूमिकालाई प्रभावकारी बनाउने हो । यसमध्ये हामीले हालका दिनमा दोस्रो कामलाई बढी प्राथमिकता दिइरहेका छौँ । किनभने, हाम्रो बजार अहिले पनि विश्वभरका सेयर बजारको तुलनामा प्रविधि र पहुँचका हिसाबले पछाडि नै छ । त्यसकारण हामीले सेयर बजारको आधुनिकीकरणमा ध्यानकेन्द्र्रित गरेका छौँ ।
स्वचालित प्रणाली सुरु
हामीले ०७२ माघदेखि नेप्सेको कारोबार प्रणाली र राफसाफ प्रणालीलाई पूर्ण रूपमा स्वचालित प्रणालीमा पु¥याउन सफल भयौँ । यो हाम्रो सेयर बजारका लागि ठूलो संरचनागत परिवर्तन हो । यसले हाम्रो बजारलाई पूर्वाधारको हिसाबमा दक्षिण एसियाको पाँचौँ राम्रो बजारका रूपमा स्थापित गराएको छ । अहिले पनि पूर्वाधारका रूपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका धितोपत्र बजार हामीभन्दा व्यवस्थित र आधुनिक छन् । हामी उनीहरूसँग प्रतिस्पर्धा गर्ने सोचमा अघि बढिरहेका छौँ ।
लगानीकर्ताको हित
नियमन भूमिका पनि हामीले बढाउँदै लगेका छौँ । नेपालमा ब्रोकर कमिसन अत्यन्तै धेरै भएकाले दक्षिण एसियामै नेपालको सेयर कारोबार लागत अत्यन्तै उच्च थियो । यसलाई घटाउन हामीले पहल ग¥यौँ र ४० प्रतिशत कमिसन घटायौँ । ओटिसी (ओभर द काउन्टर) बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न हामीले यस्तो बजारको कारोबार लागत ८० देखि ९० प्रतिशतसम्म घटायौँ ।
यसले लगानीकर्तालाई लाभ पुगेको छ । लगानीकर्ताले धेरै समस्या व्यहोरिरहेको वेलामा हामीले नगद लाभांश र बोनस सेयर तथा हकप्रद सेयरसमेत सम्बन्धित लगानीकर्ताको बैंक खाता र डिम्याट खातामा जम्मा हुने व्यवस्था गर्यौँ । यसले लगानीकर्ताको समय र लागत दुवै कम भएको छ । लगानीकर्ताले आफूले पाउनुपर्ने लाभांश लामो समयसम्म नपाउने अवस्था पनि अन्त्य भएको छ । प्राथमिक सेयरमा लगानी गर्ने लगानीकर्ताले आइपिओमा आवेदन दिएपछि उनीहरूको खाताबाट पैसा तान्न नपर्ने व्यवस्था ग¥यौँ । सेयर बाँडफाँड भएपछि जति रकमको सेयर पर्छ, त्यति मात्रै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसले लगानीकर्तालाई ब्याज आम्दानी प्राप्त गर्न सहयोग गर्छ । यस्तो ‘आस्वा’ प्रणालीले सेयर बजारमा अर्को महत्वपूर्ण संरचनागत परिवर्तन गरेको छ । पहिले आइपिओमा आवेदन गर्नेदेखि सेयर बाँडफाँड भएर लगानीकर्ताले नामसारी पाउन पनि ६ महिनासम्म समय लाग्ने गरेको थियो । त्यो अवधि अहिले ४५ देखि ५० दिनमा घटेको छ । आस्वा लागू भएपछि हामी १० दिनमा बाँडिसक्ने व्यवस्था गर्छौं ।
यसले लगानीकर्तालाई ठूलो लाभ प्राप्त भएको छ । यस्ता सुधारका काम गरिएकाले हामीले धितोपत्र बजारको नियमन निकायको अन्तर्राष्ट्रिय संस्था ‘आइओएससिओ’को एसोसिएट सदस्यतासमेत प्राप्त गरेका छौं । यसको मतलब हाम्रो नियमन कार्य अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार्य भएको छ ।
एफपिओको विकृति नियन्त्रण
कम्पनीले थप सेयर निष्कासन (एफपिओ) को मूल्य निर्धारण कार्यलाई व्यवस्थित गर्ने प्रयास गरेको छ । यसका लागि पुँजीकृत भएको आम्दानी, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, १ सय ८० दिनको औसत सेयर मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको मूल्यजस्ता चार आधारमा एफपिओको प्रिमियम मूल्य निर्धारण हुने व्यवस्था गरिएको छ । यसले कम्पनीअनुसार मूल्य तोक्ने प्रवृत्ति अन्त्य भएको छ भने लगानीकर्ताले पारदर्शी र वास्तविक मूल्यमा सेयर किन्न पाउने अवस्था बनेको छ । प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत् र उत्पादनमूलक क्षेत्रका कम्पनीको हकप्रद सेयर निष्कासनका सन्दर्भमा विभिन्न विकृति थिए । त्यसलाई पनि व्यवस्थित गर्न हामीले कदम चालिसकेका छौँ । अब आउने नयाँ धितोपत्र कारोबारसम्बन्धी नयाँ निर्देशिकाले त्यस्तो व्यवस्था सम्बोधन गर्नेछ ।
उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन
प्रायः विदेशी बजारमा पहिले उत्पादनमूलक क्षेत्रका कम्पनी सेयर बजारमा सूचीकृत हुन्छन् र पछि मात्रै वित्तीय मध्यस्थता गर्ने बैंक, वित्तीय संस्था, बिमा कम्पनी सूचीकृत हुने गर्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो परिस्थिति बन्यो ।
त्यसकारण उत्पादनमूलक क्षेत्रका कम्पनीलाई सेयर बजारमा ल्याउन हामीले विशेष प्याकेज ल्याएका छौँ । यसलाई वित्तीय नीति, मौद्रिक नीति र धितोपत्रसम्बन्धी कानुनले एकसाथ प्रोत्साहन गर्ने काम भएको छ । त्यस्ता संस्थालाई बजारमा भिœयाउन प्रिमियम मूल्यमा सेयर बेच्न सक्ने र कर छुटलगायत सुविधा पनि दिने नीति लिइएको छ । अहिले वास्तविक क्षेत्रका कम्पनी आउन इच्छुक देखिएका छन् ।
अन्तर्राष्ट्रिय लगानी
अन्तर्राष्ट्रिय वित्तीय संस्थाले नेपाली बजारमा स्वदेशी मुद्रामै ऋणपत्र जारी गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न हामीले कानुनी व्यवस्था गरेका छौँ । यसले धितोपत्र बजारको विकास मात्र होइन, मुद्रास्फीति नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । नयाँ कार्यविधिले सेयर बजारमा देखिएको स्वार्थको द्वन्द्व (कन्फ्क्टि अफ इन्टेरेस्ट)लाई नियन्त्रण गर्ने व्यवस्था गर्नेछ । यसले थप बजार सुधार र प्रभावकारी नियमनमा सहयोग पुग्नेछ ।
बोर्डको क्षमता अभिवृद्धि
सुधारका प्रयासले एकातिर बजार सुधार गर्न सघाउ पुर्याएको छ भने हामीले आफ्नै क्षमता अभिवृद्धिमा पनि काम गरेका छौँ । धेरै संस्था नियमन गर्नुपर्ने, तर जनशक्ति कम भएकाले हामीले पहिलोपटक ठूलो मात्रामा जनशक्ति भित्राएका छौँ । उनीहरूलाई भारतीय धितोपत्र बोर्ड (सेबी)का प्राविधिक बोलाएर तालिम दिएका छौँ । यसले जनशक्तिको वित्तीय विकासमा सहयोग पुगेको छ ।
अब हामी प्रभावकारी नियमन गर्न अझ सक्षम भएका छौँ । अहिलेको अवस्थामा नेप्से सरकारी स्वामित्वमा रहेकाले हामीलाई तीव्रतर सुधार गर्न अझै असहज देखिएको छ । विश्वका धेरै सेयर बजारको आधुनिकीकरण र विकासमा थुप्रै काम भएका छन् । तर, नेपालमा त्यसरी काम हुन सकेको छैन ।
नियमन भूमिका
हामीले सुपरिवेक्षणसम्बन्धी म्यानुअल पनि बनाउँदै छौँ । ब्रोकरका लागि छुट्टै र सूचीकृत कम्पनीका लागि छुट्टै सुपरिवेक्षण म्यानुअल बनेपछि हामीले नियमन भूमिकालाई अझ प्रभावकारी बनाउन सक्छौँ । यसका लागि एउटा प्राविधिक समिति बनाएर काम गरिरहेका छौँ । काम लगभग अन्तिम चरणमा पुगेको छ । इलेक्ट्रोनिक सर्भिलियन्सका लागि पनि हामीले प्रक्रिया थालेका छौँ । सम्पत्ति शुद्धीकरणविरुद्धको व्यवस्थाअन्तर्गत हामीले थुप्रै काम गर्न सक्ने अवस्था छ । त्यसकारण हामीले यी सबै पक्षलाई एकसाथ अघि बढाउने सोचेका छौँ । यसका लागि हाम्रो सञ्चालन क्षमता पनि बढाउँदै लानुपर्ने आवश्यकता छ । हामी यो काममा पनि लागेका छौँ।
अनलाइन कारोबार
नेप्सेको प्रणाली पाँच वर्षका लागि ल्याइएको थियो । त्यसलाई परिवर्तन गर्ने, सेयरको अनलाइन कारोबार गराउने, ब्रोकर र नेप्सेले लगानीकर्तालाई दिन सक्ने सुविधाको बढावा गर्ने, सेयरको अभौतिक राफसाफ गर्नेजस्ता काम गरेपछि सेयर बजारमा लगानीकर्ताको पहुँच पनि सुधार हुन्छ । योसँगै वित्तीय सचेतना फैलाउने र सेयर बजारप्रति लगानीकर्ताको ध्यानाकर्षित गर्ने विषयमा पनि हामीले काम गरिरहेका छौँ । अहिले हामीले ब्रोकरले ब्याक अफिस सिस्टममा लगानीकर्तालाई खाता खोलिदिएर कारोबार गर्ने व्यवस्था गर्न निर्देशन दिएका छौँ । यसले लगानीकर्तालाई जहाँसुकै भए पनि सेयर कारोबारका लागि आदेश दिन सजिलो पर्छ । विद्युतीय अभिलेखका लागि पनि यो काम गर्नु आवश्यक छ । भोलिका दिनमा हामीले अनलाइन कारोबार खुला गर्नुको विकल्प छैन । त्यसको पूर्वाभ्यासका रूपमा पनि अहिले यस्तो व्यवस्था गर्नु आवश्यक छ ।
एनआरएनको लगानी
एनआरएन (गैरआवासीय नेपालीको संस्था)लाई सेयर बजारमा लगानी गर्ने कार्यविधि बनाउन हामीले समिति नै गठन गरेर काम गरिरहेका छौँ । यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसमा त्यस्ता गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा अधिकतम कतिसम्म लगानी गर्न खुला गर्ने, उनीहरूले लाभांश वा पुँजीगत लाभबाट आर्जित सम्पत्ति कसरी फिर्ता लान सक्छन् र एकपटकमा कतिसम्म लाभांश लान सक्नेजस्ता केही विषय टुंग्याउन बाँकी छ । त्यसपछि गैरआवासीय नेपालीको लगानी पनि भित्रिन थाल्छ । यो हाम्रो बजारका लागि आवश्यक छ । तर, यसका लागि हामीले लेखा प्रणालीदेखि अरू थुप्रै कुरा सुधार्नुपर्ने आवश्यकता भने छँदै छ ।
संस्थागत सुशासन
संस्थागत सुशासनको सवालमा सेयर बजारमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । यसले धितोपत्र बोर्डको नियामकीय भूमिकामाथि पनि वेलाबखत प्रश्न उठ्ने अवस्था बन्दै आएको छ । यसलाई नियन्त्रण गर्न हामीले संस्थागत सुशासनसम्बन्धी कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छौँ । यसपछि बजारका आधा–आधी समस्या आफैँ सुधार हुन्छन् । हामीलाई कारबाही चलाउन पनि त्यसले ठूलो राहत मिल्नेछ । बोर्डले अहिले पनि बजारको सूक्ष्म अध्ययन र घटनाक्रम विश्लेषण गरिरहेको छ । पर्याप्त कानुनी आधार तयार गरेर हामी कारबाही चलाउने अवस्थामा जान्छौँ । त्यसपछि बजार अहिलेभन्दा धेरैगुणा पारदर्शी र स्वस्थ हुनेछ ।
संस्थागत लगानीकर्ता
सेयर बजारमा वेला–वेला देखिने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न ठूलो संस्थागत लगानीकर्ताको व्यवस्था गर्ने प्रयास लामो समयदेखि गर्दै आएको हो । यो प्रयास साकार हुने अवस्थामा पुगेको छ । हामीले नागरिक लगानी कोषलाई सेयर बजारको डिलरसिप गर्ने जिम्मेवारी लिन भनेका छौँ । यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ । नयाँ पत्रिकामा लेखिएको छ, ‘अर्थ मन्त्रालयले यसको कार्यविधिलाई स्वीकृत गर्न मात्र बाँकी छ । यसअघि हामीले बजार निर्माताको भूमिकामा कोषलाई ल्याउन खोजेका थियौँ । तर, त्यो व्यवस्था पुरातन किसिमको भएकाले डिलरसिपको अवधारणामा जान लागेका हौँ । त्यसो भएपछि अहिलेजस्तो बजारको उतारचढावलाई कम गर्न सघाउ पुग्नेछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्