काठमाडौँ – टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ । यही सन्दर्भमा दीपेन्द्र सापकोटाले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको शैक्षिक योग्यता खोतलेका छन् ।
पिएचडी गरेका एक्ला मन्त्री – डा. गोपाल दहित
५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् ।
डबल डिग्री गरेका दुईजना
मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् ।
प्रधानमन्त्री एमए पास
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् ।
भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् ।
खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित)मा स्नातकोत्तर गरेका छन् ।
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् ।
भर्खरै राप्रपा (प्रजातान्त्रिक)को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् ।
भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् ।
शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् ।
वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् ।
अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् ।
युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् ।
महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् ।
स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बिए गरेका मन्त्रीहरु
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् ।
उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् ।
विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् ।
सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् ।
कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् ।
सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् ।
वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् ।
कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास)मा स्नातक गरेकी छिन् ।
खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् ।
श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् ।
भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् ।
ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् ।
उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।
आइए पढेका मन्त्रीहरु
आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् ।
पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् ।
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् ।
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् ।
पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् ।
एसएलसी मात्र गरेका
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् ।
कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् ।
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ ।
आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ ।
सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् ।
अन्डर एसएलसीवाला/स्वअध्ययनवाला
गोरखा क्षेत्र नं.–३ बाट माओवादी केन्द्रबाट निर्वाचित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् ।
कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।
यी हुन् विदेश पढेका नेता
शेरबहादुर देउवा : हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । ०४५/४६ सालमा अध्ययनका लागि उनी बेलायतको लन्डन गएका थिए । कांग्रेसका एक नेताका अनुसार उनी पार्टीको सिफारिसमा त्यहाँ गएका हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । पोस्ट ग्य्राजुएट गर्न गएका उनी पढ्न नसकेर फर्किएको स्रोतको दाबी छ । विदेशी कलेजमा असफल भए पनि देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् ।
डा. रामशरण महत : पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य महत त्यसकारण अर्थशास्त्रका ज्ञाता मानिन्छन् । उनी पनि पार्टीले मिलाएको छात्रवृत्तिमा अमेरिका पढ्न गएका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले पढ्न पठाएका थिए ।
डा. प्रकाशशरण महत : पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनलाई प्रधानमन्त्री देउवाले स्कलरसिप मिलाएका थिए ।
महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् ।
डा. मीनेन्द्र रिजाल : कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे ।
रामबहादुर थापा : माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ ।
पशुपतिशमशेर राणा : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् ।
डा. प्रकाशचन्द्र लोहनी : राप्रपा (राष्ट्रवादी)का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए ।
डा. आरजु राणा देउवा : प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् ।
डा. नारायण खड्का : कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो । सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ । तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् । उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् ।
भारतमा पढ्ने धेरै
नेपालकै पहिलो कलेजका रूपमा वि.सं. १९७५ मा त्रि–चन्द्र कलेज स्थापना भएको थियो । त्यसभन्दाअघिको पुस्ताका सबै नेता भारतमा पढेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, डा. केशरजंग रायमाझीजस्ता नाम कहलिएका नेताले भारतमा अध्ययन गरेका हुन् । डा. बाबुराम भट्टराई, खुमबहादुर खड्कादेखि डा. शशांक र डा. शेखर कोइरालासम्म पनि भारतका विभिन्न स्थानमा पढेका नेतामा पर्छन् । त्यस्तै एमालेका सांसद राजन भट्टराईले पनि भारतमा पढेका हन् । कुनै समय भारतमा पढ्ने नेताहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षमा छात्रवृत्तिमा चीनमा पढ्न जाने नेताहरू पनि बढ्दै गएका छन् । नेपालमा आफ्नो प्रभाव बढाउन दुवै छिमेकी देशले नेताहरूलाई छात्रवृत्तिमा पढाउने गर्दछन् ।
के भन्छन् कम पढेका मन्त्री ?
अमरसिंह पुन, राज्यमन्त्री, सिँचाइ : म रोल्पाको विकट ठाउँमा (सदरमुकामदेखि २६–२७ कोस टाढा) जन्मिएको मान्छे हुँ । त्यतिवेला स्कुल जान चार–पाँच घन्टाको बाटो हिँड्नुपथ्र्यो । जसका कारण मैले स्कुल लेभलसम्म मात्र बल्लतल्ल पढेँ । त्यसो त त्यतिवेला हाम्रोतिर पढ्नैपर्छ भन्ने सामाजिक मान्यता पनि विकास भइसकेको थिएन । औपचारिक शिक्षा धेरै नलिए पनि मलाई मन्त्रालय चलाउन गाह्रो भएको छैन । मैले राजनीतिशास्त्र र समाजशास्त्रको स्वअध्ययन गरेको छु ।
मेरो विचारमा नेताले पढेको छ या छैन भन्दा पनि उसले जनताको पक्षमा काम गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेता पढेको होस् या नहोस्, तर ऊ विषयवस्तुको भने ज्ञाता हुनुपर्छ । उसले जनताको पक्षमा काम गर्नुपर्छ । कोही नेता विदेशमा पढेको, डिग्री हासिल गरेका होलान्, तर ऊ कर्णाली र मुस्ताङसँग परिचित हुन पाएको छैन भने त्यसको औचित्य हुँदैन । तसर्थ, नेता पढेकोभन्दा पनि नेपाली समाजलाई बुझेको हुनुपर्यो ।
पढाइ नै निर्णायक होइन
नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन्
डा. सुरेन्द्र केसी : राजनीतिज्ञले औपचारिक शिक्षा उच्चस्तरको लिनैपर्छ भन्ने छैन । तर, उनीहरूका लागि शिक्षा गहना भने हो । गहना लगाएर मात्र सुन्दर देखिन्छ भन्ने पनि छैन । त्यो लगाउने तरिकामा भर पर्छ । नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् । तर, हाम्रोमा त्यस्तो कल्चर छैन । कतिपय नेताहरूको आफ्नो पनि पढाइ–लेखाइ हुँदैन । विज्ञहरूलाई पनि प्रयोग गर्दैनन् । यसले गर्दा काम बिग्रिराखेको हुन्छ ।
विदेशी नेताको कुरा गर्दा त्यहाँ विश्वस्तरका युनिभर्सिटीमा पढ्नुपर्छ भन्ने मान्यता छ । समाजवादी भनिएको चीनका नेता पनि फ्रान्स गएर पढेका छन् । तर, त्यो कति इफेक्टिभ भएको छ, भन्ने पनि खोजी हुनुपर्छ । धेरै देशमा बाहिर पढेका नेताले राम्ररी देश चलाएका उदाहरण पनि छन् । कतिपय अवस्थामा पढाइभन्दा क्षमता ठूलो कुरा हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले एसएलसी मात्र गरेका थिए । तर, उनको क्षमतालाई हामीजस्ता पिएचडी गरेकाले माथ गर्न सक्दैनौँ । तसर्थ, निष्कर्षमा भन्दा, ‘पढाइ सुनमा सुगन्ध मात्रै हो, निर्णायक होइन ।’ – नयाँ पत्रिका