काठमाडौँ – दुई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।
करिडोरले अब ठूला अर्थतन्त्र भएका चीन र भारतलाई जोडेको छ । चीनसँग जोडिएको कोरला नाकाबाट गाडी चढेर भारतसँगको सुनौली नाका पुग्न सकिन्छ । ट्र्याक खुलेपछि नेपाली सेनाका प्रधानसेनापति प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री र सांसद प्रकाश शर्मा पौडेलले मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै करिडोरमा सवारी साधन सञ्चालन सुरु गरेका हुन् ।
बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण भएपछि सवारी गुडाउन सुरु गरिएको हो । अब कोरलादेखि सुनौलीसम्मको तीन सय ४५ किलोमिटर सडकमा सजिलै सवारी गुड्छन् ।
भारतसँग जोडिएको सुनौली नाकाबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै चीनसँग जोडिएको कोरला पुग्न सकिन्छ । करिडोर आर्थिक विकासको मेरुदण्ड भएको सांसद पौडेलले बताए । ‘निर्माण व्यवसायीले गर्न नसकेको काम सेनाले गरेको छ,’ पौडेलले भने, ‘आर्थिक समृद्धि भएका दुई मुलुकसँगबाट हामीले फाइदा लिनुपर्छ ।’ यो करिडोरलाई स्तरोन्नति गर्दै १० मिटर चौडा बनाउन बागलुङ खण्डको लागि ३५ करोड र गुल्मी खण्डको लागि २५ करोड रुपैयाँ प्रस्ताव गरिएको पौडेलले बताए ।
ठूला भीर–पहरा भए पनि जोखिम मोलेर ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलका सहायक रथी उद्धब विष्टले बताए । ‘सरकारले दिएको जिम्मेवारी निर्धारित समयमा पूरा गरेका छौं,’ विष्टले भने, ‘थप बजेट उपलब्ध गराए स्तरोन्नतिको काम पनि अघि बढाउछौं ।’
बागलुङ खण्डमा सवारी गुडेपछि बागलुङबाट पोखरा हुँदै बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको जैमिनी नगरपालिका मेयर इन्द्रराज पौडेलले बताए । ‘करिडोरले दुई देशको व्यापारिक सम्बन्ध विस्तारमा टेवा पुग्नेछ,’ पौडेलले भने, ‘बागलुङबाट बुटवल पुग्ने आठ घन्टाको बाटो चार घन्टामै छोटिएको छ ।’
भूपरिवेष्ठित मुलुकका लागि दुई मुलुक जोड्ने सडकले व्यापारका साथै पारवहनमा धेरै महŒव राख्छ । गत वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा चीन जोड्ने यस्ता सडक सञ्जाल नभएकै कारण सर्वसाधारणले निकै सास्ती पाएका थिए । पूर्वप्रधानमन्त्री केपी ओलीका पालामा चीनसँग पारवहनको दृष्टिकोणले महŒव राख्ने विभिन्न सम्झौता भएका थिए । त्यसपछिका सरकार ती सम्झौता कार्यान्वयन गर्ने तयारीमा लागे ।
नेपाली सेनाको निर्माण कार्यदलका अनुसार यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्र्याक खोलिएको हो । सेनाले करिडोरका विभिन्न ठाउँमा बेलिब्रिज पनि बनाएको छ । करिडोरको गुल्मीमा गौदी खोला, गुल्मी र बागलुङको सीमा पालुङ खोला, बागलुङको छिस्ती, जैदीमा पर्ने बेलबगरको चौरी खोला, जैमुनीघाट लगायत स्थानमा बेलिब्रिज निर्माण गरेको छ । १२ करोडको लागतमा पुल निर्माण गरिएको हो । जैदीको लोहाखोलामा पनि पुल जडान गर्ने सेनाले जनाएको छ । करिडोरको गुल्मी–बागलुङ खण्डमा निर्मित बेलिब्रिज २४ टन भारबहन क्षमताका भएको सेनाले जनाएको छ । बागलुङ– गुल्मीमा थप सातवटा पक्की पुल निर्माण गर्नुपर्नेछ ।
ट्र्याक खोले पनि रिटेनिङ वाल, ग्राभेल लगायत काम अघि बढाउने सेनाले जनाएको छ । करिडोरले बागलुङका दुर्गम जैदी, छिस्ती सडक सञ्जालबाट जोडिएपछि त्यहाँका स्थानीय उत्साहित छन् । बागलुङको मालढुंगाबाट नारायणस्थान टाकुरी, जैमुनीघाट, बिनामारे, अर्जेवा, जैदी हुँदै छिस्तीबाट गुल्मीको पालुङ खोला जोडिएको छ । गुल्मी खण्डमा सेनाले गत वर्ष नै ट्र्याक खोलेपछि सुनौली, पाल्पा, गुल्मी हुँदै बागलुङको छिस्तीसम्म गाडी गुडिरहेका थिए ।
बागलुङबाट गुल्मी, पाल्पाको राम्दी पुलबाट बुटवल हुँदै भैरहवा सुनौली नाका पुगिन्छ । पहिले–पहिले तिब्बतबाट नुन ल्याउने र भारतमा व्यापार गर्ने सिल्करोड अब ‘ट्रान्जिट रोड’ बनेको छ ।
करिडोरले भारतका हिन्दु अब शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारै–किनार मुक्तिनाथ मन्दिरको दर्शन गर्न जान सक्नेछन् । चीनका बौद्ध धर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्न सजिलो हुन्छ । कालीगण्डकी नदीको पश्चिममा करिडोर निर्माण भएको छ । करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दी लगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिक रुपमा पनि महत्वपूर्ण छ । यो सडक बनेपछि करिडोर आसपास १० लाख जनसंख्या बसोबास रहेको क्षेत्रमा बसाइँसराइ कम हुने विश्वास लिइएको छ ।
सोही करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पुल निर्माणसँगै स्तरोन्नतिको काम भइरहेको छ । कोरलासम्म तिब्बतबाट पनि गाडी आइपुग्छन् । दुईतर्फबाट सीमासम्म सडक पुगे पनि चिनियाँ पक्षको कारण नाका बन्द छ । चीनले सुरक्षा संवेदनशीलता देखाउँदै बन्द गरेको सो नाका खोल्न पहल भए पनि खुल्न सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री बेन जियाबाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन । सरकारले करिडोरसहित चीनसँग व्यापारिक सम्बन्ध बिस्तार गर्न १३ नाकामा सडक पु¥याउने तयारी गरेको छ । – नागरिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्