
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एनएमबी बैंकको विज्ञापन राखेवापत बिलिङ गर्ने बेलामा बैंककै अधिकारीहरुले बिलिङ एजेन्सीका नाममा गर्नु भनेपछि काठमाडौँबाट संचालित केहि अनलाइनहरुले भी-चित्रका नाममा बिलिङ गरे । जेठ महिनामा राखिएको विज्ञापन वापत २०७४ असार ११ गते उक्त कम्पनीमा भ्याट इन्भोइस पठाइयो । एजेन्सीमा काटिएको उक्त बिल बराबरको भ्याट रकम एजेन्सीबाट उठाएर आन्तरिक राजश्व कार्यालयमा साउन २५ गतेसम्म बुझाइसक्नुपर्ने हो, तर करिव आधा दर्जन पटक कम्पनीमा बुझ्दा पनि पैसा कहिले आउने हो केहि अत्तोपत्तो छैन ।
भीचित्र नामक उक्त कम्पनीले न पैसा यति समयपछी आउँछ भन्ने जानकारी दियो, न त पैसा ढिलो हुनुको कारण बतायो । आधा दर्जन बढी पटक फलोअप गर्दा पनि पैसा नआएपछी उक्त अनलाइनका प्रतिनिधिहरु एनएमबी बैंकमा पुगे । अचम्म त त्यो बेला भयो, जुन बेला उक्त अनलाइनको पेमेन्ट एजेन्सीलाई धेरै अघि भइसकेको जानकारी बैंकबाट भयो । बजारमा निकै नै चर्चित रहेको यो विज्ञापन एजेन्सीलाई थुप्रै पटक प्रायोजित रुपमा अवार्ड जितेको आरोप समेत लाग्ने गरेको छ भने कर छली को शंकामा आन्तरिक राजश्व विभागले समेत केहि समय अगाडी कागजात जफत गरी अनुसन्धान गरेको थियो ।
विज्ञापन एजेन्सीका नाममा मीटर ब्याजको खेल !
आखिर कहाँ अड्कियो त पैसा ? बैंकले नै पेमेन्ट नगरेको भए एउटा कुरा तर बैंकले मिडियालाई दिनु भनेर एजेन्सीलाई दिइसकेको पैसा आखीर कहाँ गयो ? हामीले यसरी मिडियाको पैसा ‘होल्ड’ गरेर भीचित्रले के गर्दो रहेछ भन्ने अनुसन्धान गर्यौं । कुरा बुझ्ने क्रममा उक्त एजेन्सीमै काम गर्ने एक कर्मचारीले यसरी होल्ड गरिएको पैसा मीटर ब्याजमा लगानी हुने गरेको पोल खोले । ‘कहिलेकाहीं त क्लाइन्टले नै पैसा दिंदैनन् । कति क्लाइन्टले विज्ञापन एजेन्सीलाई ठगेका पनि छन् । कोहि भागेका पनि छन् । तर क्लाइन्टले पैसा दिएपनि मिडियालाई २-३ महिना अल्झाउने काम सामान्य हो । अझ टेलिभिजनहरुमा त ३ महिनासम्म अल्झाउनु सामान्य हो । कान्तिपुर जस्ता केहि मिडियाहरुमा समयमै भुक्तानी हुन्छ । अरुको पैसा त मीटर व्याजमा लगाउने हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भि-चित्रमै काम गरिरहेका एक कर्मचारीले खुलासा गरे ।
एजेन्सीकै रबैयाका कारण ‘जरिवाना’मा पर्छन् साना मिडिया
भी-चित्र र एनएमबी बैंकको त एक उदाहरण मात्र हो । यो एजेन्सीले अरु थुप्रै क्लाइन्टको हकमा पनि यस्तै गर्ने रहेछ । ‘एनएमबी बैंकको कुरा त सामान्य हो । यो २५-३० हजारको मामला मात्र हो । एजेन्सीले त करोडौं रुपैयाँ होल्ड गरेर मीटर ब्याजमा लगाउंछ । ‘क्लाइन्टले गरेको पेमेन्ट र मिडियालाई गरीएको पेमेन्ट बीचको अवधिमा बैंक खाताबाट कति रकम कुन मितिमा झिकियो भन्ने कुरा हेर्दा पनि यो कुरा स्पष्ट हुन्छ । एजेन्सीको यस्तै रबैयाका कारण कतिपय मिडियाले भ्याट समयमा बुझाउन नपाउँदा जरिवाना तिर्नुपर्छ । भ्याट ऐन अनुसार मासिक भ्याट बुझाउनेले अर्को महिनाको २५ गतेसम्म भ्याट बराबरको रकम नबुझाए २५% का दरले ब्याज तिर्नुपर्छ । एजेन्सीले जति समय लगाइदियो, मिडियालाई त्यति नै असर पर्छ ।
बोल्न मान्दैन भि-चित्र
यसबारे बुझ्न हामीले पटक पटक भी-चित्रमा फोन गर्यौं । २ पटक त हामी उक्त कम्पनी पुग्यौं पनि । । हामीले पटक पटक यसबारे जानकारी लिन भीचित्रमा सम्पर्क गरी हामी फलानो मिडियाबाट त्यहाँ को हुनुहुन्छ ? केहि कुरा बुझ्नुछ भन्ने खबर गर्ने बितिकै अहिले कोहि पनि हुनुहुन्न, तपाईंको फोन नम्बर छाड्नुहोस् भन्ने मात्र जानकारी आयो । ‘मिडियाबाट भनेपछी हत्तपत्त भेट्ने कुरा पनि भएन । नाम नै नसुनेका मिडियाहरुले पनि विज्ञापनका लागि भन्दै कुराकानी गरेर वाक्क बनाउने गर्छन् ।’ अर्थ सरोकारलाई गोप्य रुपमा भीचित्र बारे जानकारी दिने कर्मचारी भन्छन्, ‘तपाईंहरुलाई पनि त्यहि भएर कसैसंग भेट्न दिइएन होला ।
साना मिडियाका पक्षमा बोल्नेहरु के भन्छन् ?
यसै क्रममा यस्तो समस्याबारे हामीले साना मिडियाका पक्षमा बोल्ने नेपाल पत्रकार महासंघका अध्यक्ष शान्तराम वीडारीसंग राय मागेका थियौं । ‘साना मिडिया बच्नुपर्छ । एजेन्सीले विज्ञापनदातासंग पैसा उठाउने तर मिडियालाई नदिने, अन्त लगानी गर्ने कुरा हाम्रो जानकारीमा छ । हामीले लवीङ गर्ने भनेको विज्ञापन एजेन्सी संघसंग हो । हामी समय-परिस्थति मिलाएर यो कुरा राख्छौं र आबश्यक कदम चाल्छौं । साना मिडिया जसरी पनि चल्नुपर्छ ।’ विडारीले अर्थ सरोकार डटकमसंग भने । यता प्रेस काउन्सिल नेपालका अधिकारीहरु भने एजेन्सीको कुरालाई लिएर काम कारवाही अगाडी बढाउने नीति नभएकाले समस्या परेको बताउँछन् । त्यसमाथि ठुला मिडियाहरुलाई एजेन्सीले पोसाउने र सानालाई सकेसम्म पेल्ने गरेकाले पनि यस्तो समस्या परेको जानकारहरु बताउँछन् ।
(चोरीका विज्ञापन लगायत भी-चित्रका केहि अन्य कर्तुतबारे हामी धारावाहीक रुपमा प्रस्तुत हुँदैछौं । साथै अन्य केहि विज्ञापन एजेन्सीको बदमासीबारे पनि हामी आगामी अंकमा प्रस्तुत हुनेछौं ।- सम्पादक)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्