×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखेर राख्नूस्, नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तो हुन्छ, १० प्रतिशत सिट कटाउँदैन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लेखेर राख्नूस्, नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तो हुन्छ, १० प्रतिशत सिट कटाउँदैन

२० कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १० मिनेटभन्दा कम

विष्णु रिजाल नेकपा एमालेको तेश्रो पुस्ताका प्रभावशाली युवा नेता हुन् । पत्रकारिता पृष्ठभूमिका रिजाल हाल एमाले प्रचार विभागको सचिव छन् । प्रष्ट वक्ता रिजालको कलम तीखो छ । लेखन र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेका उनी दैलेखबाट प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार हुन् । आसन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, एमाले–माओवादी गठबन्धन र भविष्यमा हुने भनिएको पार्टी एकता लगायत विषयमा रिजालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, रिजालसँगको कुराकानीको सम्पादित अंशः–
एमाले र माओवादी केन्द्रका बीचमा तीव्र सैद्धान्तिक मतभेदहरु थिए । ती मतभेदहरुलाई जस्ताको त्यस्तै राखेर गरिएको गठबन्धन वा पार्टी एकता कसरी सफल होला ?
एकता हुनुभन्दा पहिला तपाईंले उठाएका सवालहरुको निरुपण भइसक्छ । ती सबै विषयमा एकरुपता भइसकेपछि मात्र एकता हुने हो । तथापि कतिपय सन्दर्भ र पृष्ठभूमिहरुका बारेमा हाम्रा बीचमा तत्काल समान धारणा बन्न सकेन भने पनि त्यसलाई बहसका रुपमा लैजान दुवै पार्टीका बीचमा सहमति कायम छ । इतिहासलाई हेर्ने दृष्टिकोण, दुवै पार्टीले विगतमा सञ्चानल गरेका आन्दोलनहरुलाई हेर्ने दृष्टिकोण र केही सैद्धान्तिक प्रश्नहरुमा मतभिन्नता अहिले पनि छन् । उदाहरणका लागि नेकपा माओवादी केन्द्र आफ्नो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद र एक्काइसौं शताब्दीको जनवाद लाई मान्दछ भने नेकपा एमाले माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दछ । यसलाई कसरी मिलाउने भन्ने एउटा प्रश्न छ । अर्को, नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धलाई कसरी हेर्ने भन्नेमा दुई पार्टीबीचमा सैद्धान्तिक मतभेद छ ।
त्यसबाहेकका विषयहरुमा त्यति समस्या छ जस्तो मलाई लाग्दैन । पार्टीको नाम के रहने भन्नेमा पनि विवाद रहँदैन, झण्डा एउटै छ, विवाद हुने कुरै भएन । चुनाव चिन्ह र आर्थिक–सामाजिक रुपान्तरणको कार्यदिशा के होला भन्नेमा पनि विवाद छैन । नेपाली समाजलाई हेर्ने दृष्टिकोणका सवालमा पनि दुई पार्टीबीच मतभेद छैन । एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्रिएर पुँजीवादी चरणमा प्रवेश गरेको छ भन्ने निस्कर्ष निकालेको छ ।
त्यसलगत्तै भएको माओवादीको हेटौंडा महाधिवेशनले पनि त्यही निष्कर्ष निकालेको छ । त्यसले गर्दा धेरै सैद्धान्तिक विषयमा हाम्रा बीचमा एकरुपता छ । नमिलेका विषयमा सहमति कायम गर्ने र सहमति हुन नसकेका विषयमा बहस सञ्चालन गर्दै जाने कार्यविधि निर्धारण गरेर पार्टी एकतालाई टुंगोमा पु¥याउन सकिन्छ । त्यसका लागि कार्यदल र शीर्ष नेताको स्तरबाट ठोस गृहकार्यहरु भइरहेका छन् ।
माओवादीलाई उग्रवामपन्थी देख्ने एमाले, एमालेलाई दक्षिणपन्थी संशोधनवादी देख्ने माओवादी अनि माओवाद र जनताको बहुदलीय जनवादका बीचमा कसरी भेट सम्भव छ ?
कम्युनिष्टहरुको भेटको गन्तव्य भनेको समाजवाद हो । नेकपा माअ‍ेवादी केन्द्र र नेकपा –एमाले) दुवैले समाजवादको दिशामा अघि बढ्ने स्पष्ट नीति लिएका छौं । यो कुनै नयाँ र अहिले आएर भनेको विषय पनि होइन । खाली त्यहाँसम्म कसरी पुग्ने भन्ने बाटोका बारेमा मात्र विवाद वा मतभेद हो । दुवै पार्टीको साझा निष्कर्ष र लक्ष्य भनेको संविधान कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्ने र समाजवादको यात्रामा अघि बढ्ने छ । जब कुनै गन्तव्यमा पुग्ने भनिसकेपछि कुन बाटोबाट जाने भनेर धेरै विवाद गर्नुको कुनै अर्थ छैन ।
कम्युनिष्ट आन्दोलनमा हामीले भन्ने गर्छौं– कार्यनीतिले रणनीतिको सेवा गर्छ । जब हाम्रो रणनीति नै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने छ भने अरु केमा विवाद गरिरहनुपर्छ र ? हामीले यसबीचमा लामै समय फरक–फरक अभ्यास गरिसक्यौं । सशस्त्र जनयुद्धको पनि अभ्यास ग¥यौं, शान्तिपूर्ण जनआन्दोलनको पनि अभ्यास ग¥यौं, संसदीय व्यवस्थाको पनि अभ्यास ग¥यौं । ती सबै अभ्यासहरुको साझा निचोड समाजवादतर्फको यात्रा हो । फेरि हामीले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख भन्ने शब्दावली उल्लेख गरेका छौं ।
हामी अहिले शान्तिपूर्ण प्रतिस्पर्धामा छौं, निर्वाचनमा सहभागी हुन्छौं, श्रेष्ठता हासिल गर्छौं, बहुमत प्राप्त गरे सरकार निर्माण गर्छौं, बहुमत नआए प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं । खासमा गरेको र गर्ने काम यही हो । यसलाई जे नाम दिए पनि हुन्छ । हामीले जनताको बहुदलीय जनवाद भनेका छौं, माओवादी केन्द्रले एक्काइसौं शताब्दीको जनवाद भनेको छ । रणनीति एउटै छ, कार्यनीतिमा समेत फरक नभई सकेपछि अरु धेरै कुरा स्वतः मिल्छन् ।
सबै विषय मिलिसकेका वा मिल्नेवाला भए दुवै पार्टीका महत्वपूर्ण नेताहरुलाई समेत सुइँको नदिई हतार–हतार अपारदर्शी तरिकाले किन तालमेल र एकताको घोषणा गरिएको होला ?
पहिल्यै बाजागाजा बजाएर होहल्ला गरेको भए यस कामले परिणाम ल्याउन नै सक्ने थिएन । त्यसमा कुनै गतिरोध नआओस् भनेर नेतृत्वले सुझचबुझपूर्ण ढंगले लिएको निर्णय हो । अझ दुवै पार्टीको शीर्ष नेतृत्व (एमालेको स्थायी समिति र माओवादीको पोलिटब्यूरो) ले यसलाई अनुमोदन गरेका छन् । यसरी यसले संस्थागत स्वरुप ग्रहण गरेपछि कसलाई थाहा भयो, कसलाई थाहा भएन भन्ने प्रश्न महत्वपूर्ण भएन । कुनै पनि काम गर्दा सुरुमा सानो समूहमा निश्चित जिम्मेवारी बोकेर गरिन्छ र पछि त्यसमा सामूहिक स्वामित्व कायम गरिन्छ । एमालेबाट केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल र माओवादीबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्मा जस्ता शीर्ष नेताहरु सहभागी भएर कुनै निष्कर्षमा पुगेपछि अरुलाई थाहा भएन भन्न मिल्दैन ।
शान्ति प्रक्रियापछि माओवादीको जनयुद्धलाई लिएर कतै पनि जनयुद्ध शब्द प्रयोग गरिएको थिएन । तर, गठबन्धनका क्रममा जारी गरिएको सम्झौता पत्रमा जनयुद्ध शब्द प्रयोग भएको छ । यसबाट एमालेको माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोण सकारात्मक भएछ भन्न मिल्छ ?
जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एमाले र माओवादीबीच सुरुदेखि नै भिन्नता छ । तर, १० वर्ष नेपालमा जनयुद्ध भएको त नांगो यथार्थ हो । यो कसैले अस्वीकार गरेर ढाकछोप हुने विषय होइन । त्यसैले यस यथार्थलाई कुन रुपमा उल्लेख गर्ने भन्ने कुरा ठूलो होइन । शब्दमा जनयुद्ध भनियो वा भनिएन भन्दा पनि त्यसको सैद्धान्तिक विषयले महत्व राख्छ । एमाले जनयुद्धको कार्यदिशासँग सैद्धान्तिक रुपमा असहमत पार्टी हो । १० वर्षअघि नै माओवादी पनि जनयुद्धबाट टुंगोमा पुगिदैन भन्ने निष्कर्षमा पुगेर शान्ति प्रक्रियामा आएको हो । त्यसैले यस कुरालाई मिलाएर लैजाने पक्षमा नेतृत्वले पहल गर्छ ।
माओवादीको एमाले द्वन्द्वकालीन मुद्दाप्रति नकारात्मक छ, यसलाई मिलाउने भन्दा पनि उचाल्ने र आफ्नो राजनीतिक रोटी सेकाउनतिर लागेको छ भन्ने आरोप एमालेमाथि छ । संयुक्त सरकारमा हुँदा पनि यही विषयलाई लिएर दुई पार्टीबीच खटपट भएको थियो । एमालेनिकट कानुन व्यवसायी र एनजिओ सञ्चालकले यस विषयलाई हेगसम्म लानुपर्छ, माफी दिनुहुँदैन भन्ने गरेका छन् । अब त्यसो भए एमालेले माओवादीका नेतालाई हेग लानुपर्छ भन्दैन ?
एमालेका कुनै नेताले माओवादीलाई हेग लानुपर्छ भनेका छैनन् । यदि त्यसो भन्ने भए एमालेका नेताहरुले भारतको सिलगुढी, लखनउ, दिल्ली हुँदै शान्ति प्रक्रियामा सहजीकरण नै गर्ने थिएनन् । कुनै व्यक्तिले अधिकारकर्मी भनेर भनेको कुरालाई एमालेले स्वामित्व ग्रहण गर्न सक्दैन । हामीले युद्धकालमा भएका ज्यादतीको निष्पक्ष छानबिन होस् भन्ने कुरामा मात्र जोड दिएका छौँ । पीडकलाई उन्मुक्ति र पीडितलाई थप पीडा नहोस् भन्ने हाम्रो चाहना हो । एमालेले तिक्त अवस्थामा पनि माओवादीका नेतालाई जेल हाल्नुपर्छ, हेग लैजानुपर्छ, उनीहरुले राजनीति गर्न पाउदैनन् भनेको छैन ।
दुई पार्टीबीच एकता भएमा पार्टीका तल्ला कमिटीहरुसम्मको समायोजन र नेतृत्व बाँडफाँड कसरी हुन्छ भन्ने आम चासोको विषय बनेको छ । यसको कुनै मोडालिटी तयार भएको छ ?
मुल रुपमा केपी ओली र प्रचण्डले एकताको नेतृत्व गर्नुभएको छ । उहाँहरुको बीचमा यस विषयमा केही सहमति भएकै होला । शीर्ष तहका नेताहरु सम्मेलित एकता संयोजन समिति नै एकता प्रक्रियाको निर्णयक नेतृत्व हो । यस निर्णायक नेतृत्व तहमा मोडालिटीका बारेमा कुनै छलफल भएको छैन । यस विषयमा निर्वाचनपछि छलफल हुन्छ ।
यो गठबन्धन चुनावी दाउपेच हो कि एकले अर्कालाई निषेध गर्न नसकेर बाध्यात्मक अवस्थाको उपज हो ? अथवा यसले संयुक्त घोषणामा भनिएजस्तै साम्यवाद ल्याउने नै उद्देश्य बोकेको छ ?
यो सैद्धान्तिक धरातलमा टेकेर गरिएको एकता हो । दुबै पार्टी आ–आफ्नो सैद्धान्तिक धरातलतर्फ फर्किएका हुन् । हामीले दस्तावेजमा जसलाई मुख्य प्रतिद्वन्द्वीका रुपमा किटान गरेका थियौँ, उसैसँग मिल्ने काम पटकपटक भयो । वामपन्थी पार्टी एक हुनुपर्छ भन्ने मनोविज्ञान राजनीतिक तहमा विकास भइरहेको थियो । ठोस परिस्थिति, बस्तु र परिवेशले चेतना निर्माण गर्छ भनेजस्तै अहिले हामीमा त्यसैले चेतना निर्माण गरे जस्तो लाग्छ ।
एकअर्काले नसकेपछि तालमेल भयो भन्ने पनि एउटा यथार्थ हो । सकेसम्म दुवै पार्टीले एकअर्कालाई निषेध गर्न पनि नखोजेका होइनन् । तर, त्यसो गर्न नसकेको पनि यथार्थ हो । यसबाट दुई पार्टीको राजनीतिक आधारलाई निषेध नभइ एकीकृत बनाएर अघि बढ्नुपर्छ भन्ने महसुस भएको हो ।

गठबन्धनलाई लिएर बाह्य शक्तिको भूमिकाको पनि चर्चा हुने गरेको छ । यसमा कत्तिको सत्यता छ ?
यसमा बाह्य शक्तिको भूमिकाको चर्चा नहुनुपर्ने हो । त्यस्तो कुनै भूमिका देखिदैन र छैन पनि । जसरी ठेस लागेपछि मान्छेले आफ्नो खुट्टा छाम्छ, त्यसैगरी हामीले आफ्नो खुट्टा छामेक हौँ, कसैले भनेर होइन ।
तपाईंहरुकै पार्टी सचिवले ताप्लेजुङमा उम्मेदवारी घोषणा गरेपछि भन्नुभएछ– वाम गठबन्धनबाट चिनियाँहरु धेरै खुसी छन् तर भारतीयहरु दुःखी छन् । यसको अर्थ के ?
नेपालमा वामपन्थी शक्तिलाई मिल्न नदिने शक्ति यसबाट दुःखी हुनु र वामपन्थी शक्ति मिल्नुपर्छ भन्ने मान्यता राख्ने शक्ति खुसी हुनु कुनै नौलो कुरा होइन । पोर्चुगलका दुई कम्युनिष्ट पार्टीबीच एकता भएमा हामी यहाँबाट शुभकामना पठाउँछौँ । त्यसैगरी नेपालमा वामपन्थीबीच एकता हुँदा वामपन्थी मुलुकले यसलाई सकारात्मक रुपमा लिनु कुनै आश्चर्य होइन ।
एमाले र माओवादीको चिनियाँ कम्युनिष्ट पार्टीसँग लामो समयदेखि सम्पर्क छ । भ्रमण र नेतृत्व तहमा विचारहरु आदान–प्रसाद भइरहेका छन् । त्यस अर्थमा हामी यसलाई स्वभाविक रुपमा लिन सक्छौँ ।
तपाईंहरुले वाम गठबन्धन गरेपछि लोकतान्त्रि गठबन्धन पनि बनेको छ । दुवै गठबन्धनले हामी बहुमत ल्याउछौँ भन्ने गरेका छन् । तपाईंहरुको आँकलन चाहिँ के छ ?
लेखेर राख्नूस्, नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तो हुन्छ । १० वर्ष लगातार सत्ता चलाएको भारतीय कांग्रेसले सन् २०१४ को लोकसभा निर्वाचनमा १० प्रतिशत सिट पनि जित्न सकेन । ५ सय ४३ सदस्ययीय लोकसभामा जम्मा ४४ सिट पाएका कारण उसले प्रमुख प्रतिपक्षको संवैधानिक हैसियत पाउन सकेन । प्रत्यक्षतर्फ अहिले नेपाली कांग्रेसको त्यही हालत हुन्छ ।
बाबुराम भट्टराईलाई तपाईंहरुले वाम गठबन्धनमा टिक्नै दिनुभएन । उहाँले यसलाई सत्ता स्वार्थको रुपमा भएको गठबन्धन हो र यो चुनावपछि पार्टी एकतासम्म जाँदैन, भंग हुन्छ भन्नुभएको छ नि ?
बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट थाकेर बाहिरिनुभएको नेता हो । वामपन्थी एकतामा उहाँलाई सामेल गर्नु पहिलो भूल थियो । सामेल भइसकेपछि नटिक्नु अर्को भूल हो । हामीसँगको कुराकानीमा उहाँले प्रत्यक्षबाट १५ सिट दाबी गर्नुभएको थियो । अहिले कांग्रेससँग एक सिट केन्द्रमा र एक प्रदेशमा लिएर तलामेल गर्नु जानुभयो । यता हुँदा एकदमै ठूलो भाग खोज्ने र उता जाँदा आफूलाई भए पुग्ने के कारण रहेछ ? हामीले बुझ्न सकेका छैनौँ ।
अर्को कुरा यो गठबन्धन सत्ताका लागि हो भन्ने कुरा उहाँलाई गोरखा पुगेर कांग्रेससँग हातेमालो गरेपछि कसरी थाहा भएछ ? उहाँ पनि उतिबेला भुलचुकमा पक्कै पनि आउनुभएको थिएन होला । त्यसैले उहाँका बारेमा थप चर्चा गरेर समय खेर नफालौँ ।
प्रधानमन्त्रीले बिना विभागीय बनाउँदा पनि माओवादी मन्त्रीहरु सरकारमा छन् । यसरी बेइज्जत सहेर सरकारमा बसिरहँदा गठबन्धन गरेको एमाले किन केही बोल्दैन ?
यो शेरबहादुर देउवाको घोर अलोकतान्त्रिक र अधिनायकवादी कदम हो । जसको प्रस्तावमा उहाँ प्रधानमन्त्री बन्नुभएको छ, त्यही पार्टीका मनत्रीलाईबिना विभागीय बनाउने कार्य अनैतिक मात्र नभएर अधिनायकवादी सोचको उपज हो । संसद हुँदासम्म उहाँले मन्त्रीहरुलाई चलाउन सक्नुभएन । तर, जब संसद रहेन, तब उहाँले आफ्नो असली रुप देखाउनुभयो । यो संसद्बाट बनेको मन्त्रिमण्डल हो न कि देउवाले दयामायामा माओवादीका नेतालाई मन्त्री बनाउनुभएको हो ।
मन्त्रिपरिषद्बाट देशका विरुद्ध हुन सक्ने षड्यन्त्रलाई त्यही बसेर चिर्ने काम अहिले माओवादीका मन्त्रीहरुको हो । यो देशमा शेरबहादुर देउवा मात्र हुनुहुन्न, अरु पनि छन् ।
कांग्रेसले चुनाव सार्ने प्रपञ्च गरेर अदालतलाई दुरुपयोग गरेको र मतपत्रसम्बन्धी मुद्दा पनि प्रायोजित थियो भन्ने चर्चा गठबन्धनमा छ नि ?
कांग्रेस चुनावसँग निकै डराएको छ । ऊ सार्नका लागि निहुँको खोजीमा छ । तर, कांग्रेससँग पराजयबाहेक अन्य कुनै विकल्प नै छैन । कृष्णहरि बरालको ‘मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन’ भन्ने गीतजस्तै कांग्रेस नहार्ने कुनै दिन छैन, चुनाव जुन दिनमा होस् । जति चुनाव सरे पनि वामपन्थी गठबन्धनलाई घाटा हुँदैन । किनभने, त्यसबीचमा एमाले र माओवादीबीच एकता हुन्छ, एउटै पार्टी बन्छ र एउटै निर्वाचन चिन्ह बनिसक्छ । त्यो सामना कांग्रेसलाई झनै भारी पर्छ । शेरबहादुर देउवाले लोकतान्त्रिक प्रक्रिया विथोल्न खोज्नुभयो भने देशमा राष्ट्रपति पनि हुनुहुन्छ, अरु सिस्टम पनि छ भन्ने ख्याल गर्दा राम्रो हुन्छ ।

संविधानले नै सेरेमोनियल भूमिकामा सीमित गरेको राष्ट्रपतिको के भूमिका हुन्छ ?
हिजो डा. रामवरण यादवको के भूमिका थियो ? सरकार संवैधानिक रुपमा चल्दासम्म राष्टपति पनि चल्ने हो, जब प्रधानमन्त्रीले जथाभावी गर्न थाल्छन्, त्यसलाई रोक्ने दायित्व स्वतः राष्ट्रपतिको हुन्छ ।
त्यसो भए संसद् नभएको बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई ‘टेक ओभर’ गर्न मिल्छ भन्न खोज्नुभएको हो ?
‘टेक ओभर गर्नुपर्छ’ भनेको होइन । सबै संस्थाको नियन्त्रण र सन्तुलनको सिद्धान्त हुन्छ । प्रधानमन्त्रीले गरेका निर्णय अन्तिममा राष्ट्रपतिले स्वीकृति नदिएसम्म कार्यान्वयन हुँदैनन् । त्यसका लागि उहाँले राय, सल्लाह र सुझाव लिनुपर्ला । त्यसैले ‘चेक एन्ड ब्यालेन्स’ को प्रणालीमा सबै चल्नुपर्छ । प्रधानमन्त्री देउवाले चाहेर मात्र सबै कुरा हुँदैन भन्न खोजेको हुँ ।
भनेपछि सरकारले दायँबाँया गरेमा तपाईंहरु राष्ट्रपतिको हतियार प्रयोग गर्नुहुन्छ ?
राष्ट्रपति हाम्रो हतियार नभएर देशको सम्मानित संस्था हो । हामीले गर्नैपर्दैन, स्वयंमा उहाँको देशप्रति दायित्व छ, के गर्ने, नगर्ने भन्ने उहाँ स्वयम् जानकार हुनुहुन्छ ।
दुई पार्टीबीच मधेसको मुद्दामा फरक धारणा छ । एमालेकै कारण संविधान संशोधन प्रस्ताव असफल पनि भयो । अब के हुन्छ ?
मधेसको मूलभूत विषयमा एमाले र माओवादीबीच कुनै मतभेद छैन । किनकि यी दुई पार्टीले एउटै मत राखेर संविधान बनाएका हुन् । मधेसी जनतालाई पहिलोपटक पहिचान दिने, मधेसी शब्द संविधानमा उल्लेख गर्ने, दुई नम्बर प्रदेशको व्यवस्था गर्ने काम सबै पार्टी मिलेर गरेका हुन् । पछि केही कुराहरु घुसाइए, उठाइए । त्यसमा एमाले असहमत भयो र संसदले नै अस्वीकार गरेपछि यो टुंगिसकेको छ ।
अर्को कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत गएर फेरि संविधान संशोधन गछौँ भन्ने प्रतिबद्धता जनाएपछि माओवादी अध्यक्ष प्रचण्डले यो जरुरी छैन भनेर त्यो च्याप्टर नै बन्द गरिसक्नुभएको छ । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी