
चितवन – तनहुँ जलविद्युत्लाई १०४ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको लाइसेन्स दिइएको छ । एक सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको हो ।
कम्पनीलाई एक सय चार मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको लाइसेन्स दिइएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्पनीलाई दिने निर्णय भएको छ’, सिंहले भने, ‘लाइसेन्सको अवधि दुई वर्षको रहनेछ ।’ गत वर्षको चैतमा तनहुँ जलविद्युत्को स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको तल्लो तटमा पर्ने अर्को आयोजनाको लाइसेन्स लिने प्रक्रिया अगाडि बढाउन कम्पनीका प्रबन्ध सञ्चालक प्रदिपकुमार थिकेलाई निर्देशन दिएका थिए ।
निर्देशनअनुसार कम्पनीले लाइसेन्सका लागि विभागमा दरखास्त हालेको थियो । सरकारको आरक्षण सूचीमा (बास्केट) रहेकाले कम्पनीले आयोजनाको लाइसेन्स लिन दुई वर्षको एकमुष्ट दुई करोड रुपैयाँ दस्तुर बुझाएको विभागले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा सञ्चित भएको पानीलाई हिउँदमा विद्युत् उत्पादन प्रयोग गरिने हुँदा तल्लो सेती आयोजना हिउँदको विद्युत् व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ । तनहुँ जलविद्युत् आयोजनाको सञ्चित पानीको फाइदा तल्लो सेतीले समेत पाउने देखिन्छ । तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको बाँध अहिले निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहबाट करिब २० किलोमिटर तल्लो तटमा पर्ने केशरटारमा पर्छ ।
जुन स्थान त्रिशूली र सेती नदीको दोभानभन्दा करिब १९ किलोमिटर माथिल्लो तटमा र चितवको नारायणघाटबाट करिब ३३ किलोमिटरमा पर्छ । आयोजनाबाट वार्षिक करिब ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको अनुमानित लागत करिब २२ करोड अमेरिकी डलर रहेको छ । – आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्