
काठमाडौं – विभिन्न आधिकारिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क (लोगो) चोरी गरी नक्कली बनाई सामानमा टाँसेर बिक्रीवितरण गर्ने कार्य पछिल्लो समय तीव्र भएको छ । विभिन्न उत्पादक कम्पनीले बहुराष्ट्रिय कम्पनीदेखि आधिकारिक रुपमा दर्ता भएका कम्पनीको लोगोलाई नक्कली बनाएर गुणस्तरहीन सामानमा टाँसी बिक्रीवितरण भएको भन्दै दर्जनौँ उजुरी सम्बन्धित निकायमा परे पनि त्यसप्रति अहिलेसम्म कसैलाई पनि कारबाही गर्न सरकारले सकेको छैन ।
पछिल्लो एक वर्षदेखि ‘ट्रेडमार्क’ चोरी गरी अनधिकृतरुपमा सामान बेचेको भन्दै कारबाहीका लागि उद्योग विभागमा परेका उजुरीको थुप्रो लाग्दासमेत सोबारे अहिलेसम्म छानबिनसमेत गर्न विभागले नसकेको हो । अरुको ट्रेडमार्कको नक्कल गरेर सामान उत्पादन, बेचबिखन गर्नेलाई ट्रेडमार्क चोरीको आरोपमा कारबाही हुने प्रावधान भए पनि सोबारे सरकारले कुनै कारबाही गर्न नसक्दा अवैध कामले तीव्रता पाउँदै गएको छ । त्यसलाई रोक्ने जिम्मेवारी पाएको उद्योग विभागको उदासीनताकै कारण सक्कली उत्पादक र उपभोक्ता दुवै मारमा परेका छन् ।
विभागले यसबारे उजुरी परेपछि बजार अनुगमनका लागि छुट्टै शाखा नभएको र अहिलेको क्षमताले त्यसो गर्न नसकिने भन्दै परेको उजुरीलाई समेत खोल्नसकेको छैन । सो उजुरीका बारेमा अध्ययन अनुसन्धान भइरहेको दाबी गरे पनि विभागले विगत एक वर्षयता चोरी गर्नेमाथि छानबिनसमेत नहुनुलाई कर्मचारीकै मिलेमतोमा यसखालका काम भएको आशंका गरिएको छ ।
उजुरीमा स–साना उद्योगदेखि बहुराष्ट्रिय कम्पनीसम्म ट्रेडमार्क चोरीमा गाँसिएका छन् । अर्को उत्पादकको जस्तै चिह्न र नाम राखी ग्राहकलाई झुक्याएर सामान बेच्ने प्रवृत्ति बजारमा बढ्दै गएको हो । उद्योग विभागमा दर्ता भएको उजुरीले गुट्खा, खैनी, सुर्ती, रक्सी, खाद्यान्न, यातायातदेखि कस्मेटिक र पानी तान्ने पम्पसम्मको ट्रेडमार्क चोरी भएको स्पष्ट गरेको छ ।
उजुरीमा कम्पनीको ट्रेडमार्क, वस्तुको नाम मिल्दोजुल्दो वा उस्तै राखेर सामान बेचेको उल्लेख छ । केही उजुरीमा भारतीय कम्पनीका नाम र चिह्नसँग धेरै नेपाली कम्पनीको नाम उस्तै रहेको पाइएको छ । टेलिभिजनमा विज्ञापन हेरेर यहाँ आफ्ना ब्रान्डका नाम राख्ने कार्यसमेत बढ्दै गएको छ । ट्रेडमार्क चोरी रोक्न भारत, अमेरिका, बेलायत, जापानलगायतका चर्चित कम्पनीले विभागमा उजुरी हालेका छन् । यसरी उजुरी हाल्नेमा धेरैजसो मदिरा कम्पनी रहेको विभागको तथ्यांकले देखाउँछ । विराटनगरमा गुट्खा उद्योगमा दर्ताभन्दा फरक लेबलमा सामान उत्पादन गरेको पाइएको छ ।
ट्रेडमार्कलाई २०२२ सालको ऐनले अर्को व्यवस्था नहुन्जेल भनेर उद्योग विभागअन्तर्गत राखेकाले पनि यो विषय अलपत्र पर्न गएको हो । यही समस्या समाधान गर्न बौद्धिक सम्पत्तिसम्बन्धी (कपी राइट र औद्योगिक सम्पत्ति) नीतिको मस्यौदा भए पनि पूर्णरुपमा कार्यान्वयन नहुँदा चोरी कार्यले तीव्रता लिएको हो ।
कपी राइट र औद्योगिक सम्पत्ति हर्ने निकाय छुट्टाछुट्टै भएकाले यसलाई एउटै निकायले हेर्ने गरी विभागस्तरको नेपाल औद्योगिक सम्पत्ति कार्यालय बनाउनेबारे अध्ययन भए पनि सो कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । पछिल्लो तथ्यांकअनुसार उद्योग विभागमा स्वदेशी र विदेशी गरी ३५ हजार पाँच सयभन्दा बढीले ट्रेडमार्क दर्ता गराएका छन् ।
बजारमा अहिले ‘ब्रान्डेड’ भनेर बेचिने अधिकांश कस्मेटिक सामान नक्कली बेचिँदै आएको छ । बजारमा ओले, क्लिन एन्ड क्लियर, हेड एन्ड सोल्जर, जोनसन, गार्नियरजस्ता ब्रान्डमा नक्कली सामान बिक्री भइरहेको पाइएको छ । चीनबाट आयातित ती सामान नेपाली बजारमा सक्कली मूल्यमै बिक्री भइरहेका छन् । बजारमा पाइने यी ब्रान्डका नक्कली सामान ९० प्रतिशत पसलहरुमा बिक्री हुँदै आएको छ ।
यसैगरी, नक्कली ‘स्टिकर’ प्रयोग गरी बुटवलस्थित टाइगर ब्रुअरीले मदिरा बिक्री गरेको पाइएको छ । सो कम्पनीले अन्तःशुल्कको नक्कली ‘स्टिकर’ टाँसेर आफ्नो ब्रान्ड टेन्सबर्ग बियर बिक्री गरेको आशंकामा आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ । कम्पनीले लन्डन आइस स्ट्रोङ प्रिमियम, टाइगर स्ट्रोङ र टेन्सबर्ग प्रिमियम बियर उत्पादन गर्दै आएको छ ।
तेजेन्द्र खड्काद्वारा सञ्चालित उक्त उद्योगले आफ्ना बियरहरुमा नक्कली ‘स्टिकर’ लगाउने गरेका समाचारहरु आएकाले निगरानी बढाइएको विभागले जनाएको छ । टेन्सबर्गलगायत केही मदिराहरुमा विभागले निगरानीमा थप कडाइ गर्दै अनुसन्धान सुरु गरेको समेत जनाएको छ । छ सय ५० एमएलको उक्त बियरमा ३७५ एमएल परिमाणको ‘स्टिकर’ टाँसेर बिक्री गरिँदै आएको, जसबाट राज्यलाई राजस्वमा नोक्सान भइरहेको, उद्योग खोल्न भन्दै खड्काले बैंकबाट ऋण लिन नक्कली डकुमेन्ट बनाएको, ट्रेडमार्गको दुरुपयोग गरेको जस्ता आरोपहरु लागेका छन् । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्