कपिलबस्तुकी कल्पना थारु आफूले बनाएका हस्तकलाका सामग्री बिक्री गर्न काठमाडौं आएकी छन् । थारुले काँसबाट तयार गरेका उपहारका सामग्री बिक्री गर्नको लागि राजधानीको भृकुटीमण्डपमा जारी हस्तकला मेलामा स्टलनै राखेकी हुन् ।
कल्पनासहित कपिलवस्तुका आएका चार जना थारु महिलाले आफ्नो सीपको प्रचार गर्न राजधानी आएको बताउँछन् । ‘आफ्नै हातले बनाएका सामान बेच्न आएका हौं,’ मेलाको स्टलमा भेटिएकी थारुले भनिन्, ‘सजावटका सामग्री राम्रो बिक्री भएका छन् ।’
कल्पनासँगै आएकी अर्की मनरसा थारुले स्टलमै टोकरी बुनिरहेकी थिइन् । सजावटको लागि फूल राख्न मिल्ने टोकरी बुन्दै गरेकी मनसरा यसबाटै आफ्नो घरखर्च चलाएको बताइन् । ‘पहिला मजदुरी गरेर छोराछोरी पठाउथें,’ उनले भनिन्, ‘सीप सिकेपछि नयाँ व्यवसाय सुरु गरेकी छु ।’ ती महिलाले हस्तकलामा सामान बेचेर मासिक २५ हजार कमाउने गरेको बताए ।
राजधानीमा हस्तकला महासंघले आयोजना गरेको मेलामा विभिन्न जिल्लाबाट आएका महिला उद्यमीले आफ्ना उत्पादन प्रदर्शन गरिरहेका छन् । त्यहाँ रहेका एक सय ८० वटा स्टलमा महिलाले तयार गरेका हेन्डीक्राफ्टका सामानमा सबैको आकर्षण छ ।
सानो लगानीमा आफ्नै सीप प्रयोग गरेर तयार गरिएका सामग्रीबाट महिलाले राम्रो आम्दानी गरिरहेका छन् । महिलाले २० हजारदेखि लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
हस्तकालमा करिब १२ लाख प्रत्यक्ष आबद्ध रहेको नेपाल हस्तकला महासंघले जनाएको छ । हस्तकला गर्नेमध्ये करिब ७० प्रतिशत महिला रहेको महासंघका महानिर्देशक गोविन्दप्रसाद रेग्मीले बताए । ‘हस्तकला उद्योगले धेरै महिलालाई उद्यमी बनाएको छ,’ रेग्मीले भने, ‘सानो लगानीमा उद्योग चलाएर फाइदा लिइरहेका छन् । महिलाको आर्थिक अवस्थामा सुधारमा सहयोग पुगेको छ ।
कपडा, बुटिक, नेपाली कागजका सामग्री, चाँदीका गहना, धातुजन्य सामान, ह्यान्ड मेड पेपर, काष्ठकला सामान, थान्का, प्लास्टिकका सामान, क्रिस्टलका सामान बनाउन महिला तल्लिन छन् । ती उत्पादन स्वदेशी तथा विदेशी बजारमा बिक्री हुन्छ । अधिकांशले आफैँ उद्योग संचालन गरेका छन् भने केही उद्योगीले लगानी गरेर रोजगारीसमेत दिएका छन् ।
यस्तै रोजगारी दिनेमध्येकी एक हुन्, स्वयम्भूकी गीता महर्जन । उनले ट्रेडिस्नल पेपर क्राफ्ट उद्योग सञ्चालन गरेर १० जनालाई रोजगारी दिएकी छन् । कागजबाट सजावटका सामान बनाउने महर्जनले माग पूरा गर्न हम्मे पर्ने गरेको बताइन् । ‘नेपाली हेन्डिक्राफ्टको विदेशी बजारमा उच्च माग छ,’ महर्जनले भनिन्, ‘हेन्डिक्राफ्टबाट मनग्य आम्दानी गरेको छु ।’
अहिले नेपालको हस्तकला व्यापारको वार्षिक आम्दानी १३ अर्ब पुगेको छ । सोमध्ये करिब छ अर्ब रुपैयाँ विदेशी बजारमा निर्यात हुन्छ भने सात अर्बका सामान आन्तरिक बजारमा खपत हुन्छ । महासंघका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी मुलुकमा हस्तकलाका सामान बिक्री हुन्छ । मुलुकमा हस्तकलाका एक दर्जन बढी जिल्लागत र वस्तुगत संघ रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा लगायतका जिल्लामा बढिमात्रमा हस्तकलाका समान तयार हुन्छ । ती जिल्लामा हस्तकलाका जिल्ला संघ पनि रहेका छन् ।
कतिपय महिलाले परम्परागत रुपमा नै यो व्यवसाय अंगालेका छन् । राडीपाखी बेच्न काठमाडौं आएकी गोरखाकी सृजना गुरुङले महिलाहरुलाई सरकारले सीप सिकाउनु पर्ने बताउँछिन् । ‘परम्परागत रुपमा सिकेको सीपबाट राडी बुन्दै आएका छौं,’ गुरुङले भनिन्, ‘तालिमको व्यवस्था गरे बजारको माग अनुसार उत्पादन गर्न सजिलो हुन्थ्यो ।’
महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धन गर्न महिला उद्यमी महासंघले पनि विभिन्न समयमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलासमेत आयोजना गर्ने गरेको छ । हस्तकला अन्तर्गत पहिरनका सामान, कृषि उत्पादन, अर्गानिक उत्पादन, खानेकुराका परिकार, गरगहना, सजावटका सामान उत्पादनमा प्रोत्साहन गर्दै आएको महासंघले जनाएको छ ।
महिला उद्यमीको श्रम, सीप र लगानीको पहिचान गरेर सघाउनु पर्ने महिला उद्यमी महासंघले जनाएको छ । हस्तकला स्वरोजगारमूलक उद्योग भएकाले राज्यले पनि प्रोत्साहन गर्नुपर्ने महासंघको माग छ । कतिपयले सीप नपाएको कारण चाहेर पनि यो व्यसायमा आउन सकेका छैनन् । राज्यले आवश्यक अनुसार निःशुल्क तालिम सञ्चालन गरे यो क्षेत्रमा रोजगारी पनि बढ्ने अपेक्षा गरिएको छ । महिला उद्यमीले उत्पादन गरेका सामानको बजारिकरणलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । मार्केटिङ क्षमता विकासका लागि तालिम दिने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्