×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : चोर एजेन्सीको यस्तो चर्तिकला, १०००० रुपैयाँको लोभ गर्दा नेपाली बैंक, नेपाल र नेपालीकै बेइज्जत !

अर्थ सरोकार

प्रकाशित मिति : २८ माघ २०७४, आईतवार

PRIME CA

EXCLUSIVE : चोर एजेन्सीको यस्तो चर्तिकला, १०००० रुपैयाँको लोभ गर्दा नेपाली बैंक, नेपाल र नेपालीकै बेइज्जत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली बैंकिङ क्षेत्रमा अरुको बौद्धिक सम्पत्ति चोरेर बैंककोसमेत बदनाम गराउने तर आफुलाई ‘क्रिएटिभ’ भन्न रुचाउने चोर एजेन्सीहरु सल्बलाउन थालेका छन् । गुगलमा भेटिने अरु कम्पनीका इन्फोग्राफिक्स लगायतका बौद्धिक सम्पत्ति चोरेर बैंकका विभिन्न बिज्ञापनमा प्रयोग गर्ने, सार्है मेहेनतका साथ काम गरेको भन्दै बैंकलाई चर्को रकम तिराउने र आफुलाई अग्रणी र क्रिएटिभ एजेन्सी भन्दै जनताको आँखामा छारो हालेर बैंक र समग्र नेपाल र नेपालीहरुको बेइज्जत गराउने एजेन्सीहरुले नेपाली बैंकिङ क्षेत्रमा दबदबा कायम गरिरहेको खुलासा भएको छ । यस्ता चोर एजेन्सीको दरिद्र चोरीका कारण एकातर्फ नेपालको बेइज्जत भइरहेको छ भने अर्कोतर्फ नेपालमा राम्रो काम गर्नेहरुलाई ‘गाह्रो’ भइरहेको छ ।      
हेर्नुहोस् चोर कम्पनी ‘म्याक्स लगेन्स’को कर्तुत !
आफुलाई नेपालको अग्रणी र क्रिएटिभ कम्पनी भन्न रुचाउने म्याक्स लगेन्सले केहि समयअघि ग्लोबल आइएमइ बैंकको ११औं बार्षिक उत्सवको अवसरमा एउटा बिज्ञापन डिजाइन गर्यो । मान्छे नै मान्छे मिसिएर हात मिलाएको देखाइएको उक्त ग्राफिक्स निकै चर्चितपनि बन्यो । कम्पनीले यति राम्रो ग्राफिक्स बनाएको भन्दै ग्लोबल आइएमइ बैंकसँग राम्रो पैसा पनि लियो । तर उसले यो डिजाइन एक विदेशी कम्पनीबाट चोरेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । तलको चित्रमा हेर्नुहोस् ।
बेलायती कम्पनी कस्टुमर एक्स्पीरियन्स नेटवर्क नामक कम्पनीले आफ्नो वेव साइटमा राखेको चित्रलाई डाउनलोड गरेर ‘अलि-अलि मिलाएर’ कम्पनीले ग्लोबल आइएमइ बैंकको बिज्ञापनमा उक्त डिजाइन राख्यो । र यसवापत कम्पनीले बैंकसँग राम्रो शुल्क पनि लियो । तस्विरमा स्पष्ट देख्न सकिन्छ, ग्राफिक्स हुबहु चोरिएको छ । यसो त उक्त कम्पनीले डिजाइन गरेको भनिएको ग्राफिक्स ग्लोबल आइएमइ बैंकको बिज्ञापनमा छापिएपछी यो ग्राफिक्स कसरी बन्यो, ग्राफिक्समा प्रयोग गरिएका मानिसहरु कसरी खिचियो, यसरी तयार गरिएको तस्विरको कन्सेप्ट कसले ल्यायो, नेपालको कुन स्टुडियोमा यो खिचियो वा कुनै विदेशी एजेन्सीबाट यो तस्विर खरिद गरियो भन्ने चर्चा अन्य विभिन्न विज्ञापन एजेन्सीहरुमा पनि चलेको थियो । तर उक्त कम्पनीले किनेको समेत नभई यो तस्विर हुबहु चोरेर ग्लोबल आइएमइ बैंकमात्र होइन, समग्र नेपाली बिज्ञापनकर्मी नै चोर रहेछन् भन्ने गलत सन्देश विश्वमाझ फैलाएको छ ।
के भन्छ चोर एजेन्सी  ‘म्याक्स लगेन्स’का प्रतिनिधि ?
यस विषयमा बुझ्न हामीले म्याक्स लगेन्समा फोन गरेका थियौं । हामीसँग कुराकानी गर्दै कम्पनीका प्रतिनिधि सन्तोष बुढाथोकीले आफुहरुले कुनै पनि बिज्ञापन डिजाइन नचोरेको दावी गरे । ‘हामी नेपालको नम्बर वान क्रिएटिभ कम्पनी हौँ । हामी कसैको बिज्ञापन चोर्दैनौं । तपाईंलाई कसले कुन जानकारी दियो, त्यो झुट हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बुढाथोकीले भने । ‘ग्लोबल आइएमइ बैंकको ११ औं बार्षिकउत्सवको अवसरमा बनाइएको हात मिलाइएको डिजाइन त चोरीको भएको प्रमाण फेला पर्यो नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘प्रुफ लिएर अफिस आउनुहोस्, अनि कुराकानी गरौंला ।’ 
हामीले उनको कार्यालय आउनुपर्ने कारण नभएको र यस चोरीको विषयमा बुझ्नमात्र खोजेको बताएपछी केहि समयअघिसम्म राम्रैसँग कुराकानी गरिरहेका उनले भने, ‘म अहिले बाहिर छु । भोलि अफिस आउनुहोस्, अनि बसेर कुरा गरौंला ।’ कुराकानीका क्रममा उनले सो तस्विर आफ्नै टिमले बनाएको समेत दावी गरे । ‘त्यो (ग्लोबल आइएमइ बैंकको डिजाइन) हामीले नै बनाएको हो । बरु अरु कम्पनीले चोर्यो होला ।’ हामीले आफुहरुले बेलायती कम्पनी, जहाँबाट यो डिजाइन चोरी भएको छ, त्यहाँ बुझिसकेको बताएपछि उनले फोन काटे । 
तर केहि समयपछी अचम्म भयो । केहि समयपछि उनले हामीलाई फोन गरे । करिव १५ मिनेटअघिसम्म आफुले उक्त डिजाइन आफैंले बनाएको दावी गरेका उनले करिव १५ मिनेटपछी फोन गरेर, उक्त तस्विर गुगलबाट चोरेर बनाएको स्वीकारे । ‘त्यो गुगलमा भेटिएको ‘इमेज’ हो । हामीले अलिअलि मिलाएर हालेको हो ।’ हामीलाई पुन: अफिसमा आएर कुरा गर्न अनुरोध गरेका उनलाई हामीले कार्यालयमा आउनुपर्ने कारण नभएको पुन: स्पष्ट परेपछि उनले थपे, ‘हेर्नुहोस् सर, अव मैले त यो सबै काम हेर्ने होइन । अर्को एक जना दाइ हुनुहुन्छ । उहाँसँग कुरा गर्नुहोस् न ।’ ‘उहाँको नाम के हो, नम्बर दिनुहोस् न’ भन्ने हाम्रो अनुरोधपछी केहि समय अक्मकिदै उनले भने, ‘उहाँको नाम अशिम हो । नम्बर म टेक्स्ट गरिदिन्छु ।’ तर हाम्रो फलोअपपछी पनि उनले फोन नम्बर पठाएनन् ।          
के भन्छ बेलायती कम्पनी कस्टुमर एक्स्पीरियन्स नेटवर्क ?
यसो त यस विषयमा हामीले बेलायती कम्पनीमा समेत सम्पर्क गरेर बुझिसकेका थियौं । हामीले उक्त कम्पनीमा फोन गर्दा कम्पनीका प्रतिनिधिले उक्त डिजाइन चोरीका बारेमा आफुहरुलाई थाहा नभएको र चोरीको प्रमाणसहित मेल गर्न भन्दै मेल आइडी टिपाएका छन् ।  यद्यपी उनीहरुले आफुले उक्त डिजाइन करिव २ बर्ष अघि बनाएको र उक्त डिजाइन बनाइएका सबै ‘प्रोडक्सन मेटेरियल’हरु सुरक्षित रहेको दावी गरेको छ । हामीले आफ्नै देशको बेइज्जत हुन्छ भनेर मेल पठाएका छैनौं । किनकि म्याक्स लगेन्सले उक्त डिजाइन चोरी गरेको स्पष्ट भइसकेको छ । ढिलै भएपनि कम्पनीका प्रतिनिधिले आफुले उक्त डिजाइन चोरेको स्वीकारीसकेका छन् । 
यसो त म्याक्स लगेन्स नामक कम्पनीले चोरी गरेको यो पहिलो डिजाइन भने होइन । उसले अन्य कम्पनीका बौद्धिक सम्पत्ति चोरेर आफ्नो बनाउने काम थुप्रै बिज्ञापनहरुमा गरेको छ । त्यससम्बन्धि हामी थप अनुसन्धान गरिरहेका छौं । यस्ता कम्पनीहरुलाई बैंकहरुलेसमेत संरक्षण गरेको देखिन्छ । मार्केटिङ विभागमा काम गर्नेहरुले यस्ता त्रुटीहरुलाई गुगलमा सामान्य रुपमा खोज्दा पनि भेटिने डिजाइनहरुमा ‘क्रस भेरिफाइ’ नगरेको देखिन्छ । बैंकको उपल्लो तहमा त यस्तो चोरीको बारेमा थाहा हुने कुरै भएन । यो कम्पनीलाई बैंकले निरुत्साहित नगरेको खण्डमा हामी सम्बन्धित संस्था, जहाँबाट यस्ता बौद्धिक सम्पत्ति चोरी हुन्छ, उक्त संस्थाको सहयोगमा कानुनी प्रक्रिया अगाडी बढाउने तयारीमा छौं ।
१०००० रुपैयाँको लोभमा पर्दा समग्रमा नेपालकै बेइज्जत !
यता चोर कम्पनी म्याक्स लगेन्सका प्रतिनिधि सन्तोष बुढाथोकीलाई हामीले तपाईंहरुजस्ता ठुला भनिएका कम्पनीले यसरी अरुको सम्पत्ति चोरेपछी नेपालको बेइज्जत भएन र ? भनेर सोध्दा बुढाथोकी भन्छन्, ‘अँ बेइज्जत त हुन्छ । भोलि अफिस आउनुहोस् न बसेर कुरा गरौंला ।’ यसो त यस्तो चोरी नेपालमा पहिलोपटक पनि भएको होइन । अन्य केहि एजेन्सीहरुले पनि विभिन्न कम्पनीबाट चोरेर बिज्ञापन बनाउने गरेका छन् । यस विषयमा हामीले बिगतमा पनि विभिन्न विशेष सामाग्रीहरु प्रस्तुत गरेका थियौं ।
अझ अचम्मलाग्दो कुरा त के हो भने इन्टरनेटमा थोरै पैसा तिरेर यस्ता डिजाइनहरुको ‘राइट’ लिन मिल्छ । अडियो जंगल नामक अनलाइनमा अडियोहरु किन्न मिल्छ भने सटरस्टक नामक अनलाइनबाट फोटो किन्न पनि मिल्छ । यस्तै भिडियोहाइभ नामक अनलाइनबाट भिडियो ग्राफिक्सहरु किनेर प्रयोग गर्न पाइन्छ । यसरी किनिएको खण्डमा उक्त फाइलको राइट आफुसँग हुन्छ । नेपालका विभिन्न टेलिभिजन, रेडियो तथा अन्य विज्ञापन एजेन्सीहरुले त्यहाँबाट सामाग्रीहरु किनेर समेत त्यसको ‘राइट’  लिएर सामाग्रीहरु प्रयोग गरिरहेका छन्।
९० डलर अर्थात झन्डै नेपाली दश हजार रुपैयाँ  तिरेको खण्डमा त भनेको जस्तै डिजाइन पाइन्छ । कम्पनीले अरुको डिजाइन चोरेर जो हालेको छ, यस्ता डिजाइन त ५ हजार नेपाली रुपैयाँ देखि ८ हजार नेपाली रुपैयाँसम्मका डिजाइन ‘सटरस्टक’मा पाइन्छ । तर १०००० रुपैयाँ पनि खर्च नगर्ने, अरुका डिजाइन चोरेर खान पल्केका यस्ता चोर एजेन्सीका कारण समग्र नेपाल, नेपाली बिज्ञापन क्षेत्र र राम्रो काम गर्ने कम्पनीहरुकै बेइज्जत भएको छ । आफ्नो बैंक र नेपालको बेइज्जत हुनबाट रोक्न पनि नेपाली बैंकहरुले यस्ता चोर कम्पनीहरुलाई निरुत्साहित गर्न आवश्यक देखिन्छ । 
(हामी निरन्तर यो चोर एजेन्सीको फलोअपमा छौं ।) 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: