काठमाडौँ । पछिल्लो समय भाषाको विषयलाई लिएर बैंक तथा वित्तीय संस्थाहरुले ‘अत्याचार’ नै गरिरहेको कुरा उठिरहेका बेला विभिन्न बैंकहरुले आफ्ना ‘प्रोडक्ट’का विज्ञापनहरुमा भाषामाथि ‘बलात्कार’ नै गर्न थालेको भाषाविद्हरुले आरोप लगाईरहेका छन् । यसैबीच नेपाल बङ्गलादेश बैंकका सबैजसो विज्ञापन, स्ट्याण्ड एड, बोर्ड लगायतमा भाषागत त्रुटिको हद देखिन थालेको छ।
केहि उदाहरण :
बैंकले आफ्नो २५ बर्षगाँठमा एउटा ‘प्रोडक्ट’ ल्याएको छ । जसको नाम हो, ‘रजतमा नै छ बीमा र बचत’ जसमा ‘रजत’ र ‘मा’ छुट्याईएको छ, जुन सरासर गलत छ । दीर्घ हुनुपर्ने ‘बीमा’ ह्रश्व लेखिएको छ । ‘जोडौँ’ हुनुपर्नेमा ‘जोडौं’ लेखिएको छ । यतिमात्र कहाँ हो र ? नेपाली भाषामा कतै नभएको ; चिन्हसमेत प्रयोग भएको छ विज्ञापनमा । जुन सरासर गलत छ । बैंकले ल्याएको ‘अटो लोन’को प्रोडक्टमा ‘गुड्ने छन्’ लेखिएको छ । खासमा ‘गुड्नेछन्’ जोडेर लेखिन्छ । बैंक परिसरमै राखिएका कतिपय ‘स्ट्याण्ड’हरुमा भाषामाथि चरम अन्याय गरिएको छ । ‘बचतकर्ता’ हुनुपर्ने ठाउँमा ‘बचत कर्ता’ छुट्टै लेखिएको छ । ‘नेपालभरिका’ हुनुपर्ने ठाउँमा ‘नेपाल भरिका’ लेखिएको छ । ‘सूचीकृत’ लेखिनुपर्ने ठाउँमा ‘सूचिकृत’ लेखिएको छ । धितो ‘राखि’ भन्ने शब्द विज्ञापनमा उल्लेख भएको छ । जुन गलत तरिकाले लेखिएको छ । ‘राखेर’ भन्ने अर्थ जाँदा ‘राखी’ दीर्घ हुन्छ ।
कर्पोरेट कार्यालयको लिफ्टदेखि कपाउन्डसम्म गल्ती नै गल्ती, मोफसलको त कुरै नगरौँ !
बैंकको कर्पोरेट कार्यालयको लिफ्टदेखि कम्पाउण्डसम्म टाँगीएका ब्यानरहरुमा लेखिएका शब्दहरुमा त्रुटि नै त्रुटि छन् । मोफसलमा पठाइने ब्यानर लगायतका सामाग्रीमा त भाषामाथि ‘अन्याय’ होइन ‘अत्याचार’ नै भएको छ । उदाहरणका लागि भैरहवा शाखामा राखिएको स्ट्याण्ड विज्ञापनमा अंग्रेजी शब्द ‘ह्यासल’को ‘स्पेलिङ’ नै गलत छ । ‘ब्रोसर’, ‘फ्लायर’ लगायतका सामाग्रीमा भाषामा चरम त्रुटि छ । तर बैंक भने यी सबै काम कारोबार मिडिया नामक विज्ञापन एजेन्सीले गरेका हुनाले आफुहरुलाई यससम्बन्धि ज्ञान नभएको बताउँछ ।
भाषाविद् भन्छन्, ‘बैंकमात्र होइन विज्ञापन एजेन्सी पनि ‘सही रोजौँ’
यता बैंकले प्रयोग गरेको ‘सहि रोजौँ’ भन्ने ‘स्लोगन’माथि ब्यंग्य गर्दै भाषाविद् टंक थापा भन्छन्, ‘आफ्नो बैंकको सबैभन्दा महत्वपूर्ण नारा नै लेख्न नजान्ने विज्ञापन एजेन्सीलाई यस्तो महत्वपूर्ण काम दिएर बैंकले गल्ती गरिरहेको छ । ‘सहि रोजौं’ होइन ‘सहि रोजौँ’ हुन्छ । अव सहि रोजौँ भनेर बैंक सहि रोज्न सल्लाह दिने बैंकलाई म विज्ञापन एजेन्सी पनि सहि रोज्न सल्लाह दिन्छु ।’ उनका अनुसार भाषामा त्रुटि देखिनु भनेको आफ्नो बेइज्जतसमेत गर्नु हो । पत्रिकामा कुनै शब्द त्रुटि हुनु स्वाभाविक हो । तर विज्ञापनमा यस्तो हुनु सानो कुरा होइन । बैंकले यस विषयमा ख्याल गर्न जरुरी छ । भाषा त पोलेरै खान थाले विज्ञापन एजेन्सीहरुले । यस विषयमा सबैजनाले ख्याल गर्न जरुरी छ ।’
के भन्छ भाषामाथि अत्याचार गर्ने कारोबार मिडिया ?
यस विषयमा हामीले बैंकको ‘क्रिएटिभ’ काम गर्ने कारोबार मिडिया प्रालिकाका रेशम बगालेलाई फोन गरेका थियौँ । उनले यस विषयमा आफ्नो ‘प्रुफ रिडर’लाई सोध्नुपर्ने बताए । हामीले ‘एउटा होइन, दुइवटा होइन, सबैजसो काममा किन यस्तो गल्ती ?’ भन्ने प्रश्न गरेपछि हाम्रो कुराकानीलाई मोड्ने प्रयास गर्दै बगालेले भने, ‘एक दिन अफिस आउनुहोस् न, बसेरै गफ गरौँला ।’ यहि विज्ञापन एजेन्सी हो, जसले हास्य सिरियलका नाममा आफ्नो क्लाइन्टका बारेमा गरिएको दुष्प्रचारको वास्ता नगर्दा बैंक ‘रेपुटेसन लस’को सिकार भएको थियो । विगत लामो समयदेखि यहि मिडियाले बैंकका सबैजसो क्रिएटिभ काम हेरिरहेको छ भने अधिकांस काममा भाषागत गल्ती गर्ने गरेको छ । यसरी एक पटक होइन, दुइ पटक होइन, पटक-पटक गल्ती गर्ने मिडियालाई नै किन बैंकले काखी च्यापीरहेको छ भन्ने अर्को प्रश्न टड्कारो रुपमा उठेको छ ।