काठमाडौँ । केहि समयअघि सिटिजन्स बैंकले आफ्नो विज्ञापन हालिरहेका अनलाइन पोर्टलहरुलाई खबर गर्यो, ‘हामी तपाईंहरुको साइटमा हाम्रो एडको इम्प्रेसन कति छ भनेर बुझ्न खोज्दैछौँ । प्रिक्जाबाट एउटा कोड आउँछ, हालीदिनुहोला ।’ सोहि खबर अर्थ सरोकार डटकममा पनि आयो । यो खबर आउनेबित्तिकै हामीले कोड हेर्यौं । उक्त कोड प्रिक्जा भन्ने कम्पनीले तयार गरेको रहेछ । सर्भर पनि उसैकोमा रहेछ । उसले एउटा ‘एडलाइटिक्स’ भन्ने सफ्टवेर बनाएको रहेछ र यो ‘प्रोडक्ट’ उसले सिटिजन्स बैंकलाई दिएको रहेछ । हामीले शंका गर्यौं, ‘हाम्रो अनलाइनमा उक्त कोड राखेपछि कतै हाम्रो अनलाइन सम्बन्धि थप जानकारी प्रिक्जासम्म त पुग्दैन ?’ त्यसपछि हामीले विभिन्न प्रविधि विज्ञलाई यस विषयमा सम्पर्क गर्यौं । नभन्दै हो रहेछ, ‘यो सार्है रिस्कको काम रहेछ ।’
प्रविधिविज्ञसँगको छलफलमा हामीले बुझेको तथ्य र उदाहरण !
त्यसपछि हामीले सिटिजन्स बैंकमा यस्तो कोड प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग नगर्न सल्लाह दिन भन्दै हामीले खबर गर्यौं । ‘मानौं अर्थ सरोकारमा कोड हालियो । उक्त कोड भनेको अर्थ सरोकारमा सिटिजन्स बैंकको कति ‘इम्प्रेसन’ कुन बेला भयो भन्ने जानकारी लिन हो । र सो जानकारी भनेको कुन समयमा अर्थ सरोकार कतिले हेरे, कहाँका पाठकले हेरे, भन्ने जानकारी सिधै प्रिक्जासम्म पुग्नु हो । अनि अर्थ सरोकारको कुनै प्रतिस्पर्धीलाई उक्त जानकरी वा डाटा प्रिक्जाले दिंदैन भन्ने के ग्यारेन्टी ? अव यो प्रकरणमा अर्थ सरोकारले सिटिजन्स बैंकसमेतलाई प्रतिवादी बनाएर मुद्धा हाल्यो भने के हुन्छ ? नेपालको साइबर एक्टमा स्पष्ट डाटा चोरी साइबर क्राइम भनेर उल्लेख छ ।
हाम्रा यी प्रश्नपछी सिटिजन्स बैंक उक्त कोड अनलाइनमा नहाल्ने कुरामा ‘कन्भिन्स भयो ।’ हामीले प्रविधिविज्ञहरुसँगको छलफलमा यो तथ्य केलाएका थियौं । हुन पनि हो, अर्थ सरोकारभित्रै इम्प्रेसन तान्ने कोड हालेपछि उसले इम्प्रेसनमात्रै लिन्छ भन्ने कसरी पत्याउने ? इम्प्रेसन भनेकै कति भिजिटर हुन्छ सोहि अनुसार लिने डाटा हो । भनेपछि कुन समयमा अर्थ सरोकार कति भिजिट हुन्छ भन्ने डाटा हामीले प्रिक्जा भन्ने हाम्रो कुनै सम्बन्ध नभएको कम्पनीलाई किन दिने ? उसले यसको दुरुपयोग गर्दैन भन्ने ग्यारेन्टी कसले लिने ? विश्वमा यस्ता थुप्रै उदाहारण छन्, जसले तपाईंको अनलाइनमा कोड पठाएर डाटा चोर्ने गरेका छन् ।’
प्रविधिविज्ञ भन्छन्, ‘यो त सरासर तपाईंको बेड रुममा सिसिटिभी राखेकोजस्तो भयो’
यस विषयमा हामीले विभिन्न प्रविधिविज्ञहरुसँग कुराकानी गरेका थियौं । ‘प्रिक्जा मेरै साथीको कम्पनी हो । त्यसैले मेरो नाम उल्लेख नगर्नुहोला । तर यो त सिधा सिधै ‘अपराध’ हो । विज्ञापनदाताको आडमा आफ्नो सर्भरमा अरु अनलाइनको डाटा राख्ने वा हेर्ने काम कुनै एंगलबाट पनि सहि होइन । सिटिजन्स बैंकले आफ्नै सर्भरमा डाटा राख्ने भए कुरा छुट्टै हुन्थ्यो । तर यहाँ त प्रिक्जा भन्ने कम्पनीको सर्भरमा सबै डाटा हुन्छ । उसले सुटुक्क त्यो डाटा अरुलाई दिंदैन भन्ने कुरा कसरी मान्न सकिन्छ ? कसले नियमन गर्छ प्रिक्जालाई ? अझ प्रिक्जाले सबैको डाटा लिएर त्यसैलाई आधार बनाएर प्रतिस्प्पर्धीको सिष्टम राम्रो बनाउन सक्छ । मानौं अर्थ सरोकारमा हालिएको कोडले अर्थ सरोकार राती ८ बजे सबैभन्दा धेरैले हेर्दा रहेछन् भन्ने थाहा भयो भने उसले आफुले बनाएको आर्थिक अनलाइनलाई त्यहि बेलामा न्यूजहरु बढी हाल्नु भनेर भन्यो भने अर्थ सरोकारको शक्ति चोरियो नि !’ अझ यस्ता कोडबाट त इम्प्रेसनमात्र होइन धेरै कुरा प्रिक्जाले तान्न सक्छ ।’ उनले समग्रमा भने, ‘यो तपाईंको बेड रुपमा कसैले सिसिटिभी राख्छु तर दिउँसोमात्र बेड राख्छु, राती के गर्नुहुन्छ हेर्दिन भनेजस्तै भयो। ‘
पछिल्लो समय सिटि एक्सप्रेसको एडमा हुँदैछ यस्तो बदमासी ! के भन्छ प्रिक्जा ?
सिटिजन्सलाई त अर्थ सरोकार टिमले कन्भिन्स गर्यो, तर सिटि एक्सप्रेसमा पनि यहि हतकण्डा अपनाईएको छ । सिटि एक्सप्रेसबाट अनलाइनमा रकहिएको विज्ञापनको इम्प्रेसन हेर्ने भन्दै कोड पठाईएको छ । जुन कोडले इम्प्रेसनमात्र होइन धेरैथरीका डाटा प्रिक्जाको सफ्टवेरसम्म पुग्दैछ । विज्ञापनदाताले भनेपछि जे पनि गरिहाल्ने बानीले आफ्ना धेरै कुरा अरु कसैको सार्भरमा पठाउँदैछन् विभिन्न मिडियाहरुले ।
सिटि एक्सप्रेसले सगुन खड्का भन्ने व्यक्तिको नम्बर दिएर कुनै द्विविधा भए उनलाई कल गर्नु भनेको छ । हामीले उनलाई फोन गरेर यसबारेमा बुझ्ने प्रयास गर्यौं । आफुलाई प्रिक्जाको हाकिम बताउने खड्काले उक्त सर्भर प्रिक्जाकै भएको स्वीकारे । अनि आफ्नो सर्भरमा आउने डाटा तपाईंले मिसयुज गर्नुहुन्न भन्ने के ग्यारेन्टी ? तपाईंले बनाएको साइटमा मालिकहरुलाई हाम्रो डाटा दिनुहुन्न भन्ने के ग्यारेन्टी ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हामीले त्यस्तो गर्दैनौं । तपाईंकै अनलाइनको डाटा लिने प्रोडक्ट बेचेर बिजनेश गरिरहेका हामीले किन त्यस्तो नचाहिने काम गर्छौं र ?’ उनले निकै हल्का जवाफ दिए । ‘तपाईंको यो कोडमा केहि खराबी छैन भन्ने कसैले टेष्ट गरेको छ ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो कसैले चेक गर्ने भन्ने त छैन तर सबै ठिक छ ।’