×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पेपर आएको आधा घण्टामा क्लेम दिइरहेका छौँ, पीडीतको घरसम्म चेक पुर्याउँछौँ’ युनियन लाइफका सिइओको अन्तर्वार्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘पेपर आएको आधा घण्टामा क्लेम दिइरहेका छौँ, पीडीतको घरसम्म चेक पुर्याउँछौँ’ युनियन लाइफका सिइओको अन्तर्वार्ता

२० मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । लामो समय बीमा कम्पनीहरुको कार्यानुभव भएका कर्णले छोटो समयमा नै युनियन लाइफ इन्स्योरेन्सलाई एउटा उचाईंमा पुर्याउन सफल भएका छन् । जीवन बीमा र निर्जीवन बीमा दुवैमा लामो अनुभव रहेका कर्ण बीमा बजारलाई ‘भित्रैदेखि बुझेका’ सिइओका रुपमा चिनिन्छन् । स्थापनाको छोटो समयमा नै बजारमा अकुपेन्सीका हिसावले निकै राम्रो व्यापार गर्न सफल भएको कम्पनी हाँकीरहेका उनलाई ‘फाष्ट ग्रोअर सिइओ’का रुपमा पनि बजारमा चिन्नेहरू धेरै छन् । बजारमा आएका नयाँ कम्पनीहरुमध्ये धेरैलाई पछि पार्न सफल भएको युनियन लाइफ इन्स्योरेन्सका सिइओ उनै कर्णसँग हामीले समग्र नेपाली बीमा बजारका बारेमा कुरा गरेका छौँ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंश :
१. अहिलेको समग्र बीमा बजारलाई कसरी हेरिरहनुभएको छ ? 
पूरै मार्केट खाली छ । कुनै पनि इन्स्योरेन्स कम्पनीहरुलाई बीमा व्यवसाय गर्न गाह्रो छैन । त्यसमा पनि जीवन बीमा कम्पनीहरुलाई बिजनेश पाउन झनै गाह्रो छैन । कसले कसरी मार्केटिङ गर्छ वा कसले कस्तो प्रोडक्ट ल्याउँछ भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसमा पनि  १९ वटा कम्पनी बजारमा आएपछि वीमा चेतना बढेको छ । पहिला पहिलाजस्तो बीमाका बारेमा सुन्यदेखि बुझाउनुपर्ने स्थिति छैन । कतिपयले कार्यालय खोजी खोजी बीमा गर्न आइरहनुभएको छ । अभिकर्ताहरुले पनि राम्रो गरिरहेका छन्, सबै बीमा कमपनीहरुले आ-आफ्नो ठाउँमा राम्रो बिजनेश गरिरहेका छन् । समग्रमा बीमा बजार अहिले निकै राम्रो स्थितिमा छ ।
२. पछिल्लो समय आएका बीमा कम्पनीहरुलाई युनियनलाइफले पछि पार्यो भन्ने चर्चा छ । यो कसरी सम्भव भयो ? यो सफलताको पछाडीका केहि सेक्रेट ?
अगाडी पछाडीको कुरा नगरौं, हामीले हाम्रो ‘मोटो’ अनुसार काम गरेका छौँ । हामीलाई सबैको साथ छ । प्रमोटरहरुले राम्रो साथ दिनुभएको छ । छोटो समयमा नै हामीले ठुलो संख्यामा अभिकर्ताहरुको साथ पाएका छौँ । युनियन  लाइफ इन्स्योरेन्सका अभिकर्ता भनेपछि सबैले विश्वास गरिदिनुभएको छ । सबैजनाको सहयोगले हामी यो स्थानमा आइपुगेका छौँ । युनियनलाइफले यति फड्को मार्नुको पछाडीको ‘सेक्रेट’ भनेकै सबैको साथ र विश्वास हो ।
३. ठुला घरानाका व्यापारी प्रमोटरहरु छन्, कहिलेकाहिँ बढी प्रेसर हुँदैन ?
त्यस्तो भएको छैन । सबै प्रमोटरहरु निकै कुरा बुझ्ने र इन्योरेन्स बुझ्नेहरु हुनुहुन्छ । मलाई आफ्नो हिसावले काम गर्न कुनै पनि रोकतोक छैन । बीमा बुझेका प्रमोटरहरु भएकाले के काम कसरी गर्नुपर्छ भन्ने उहाँहरुले बुझ्नुभएको छ । त्यसमाथि धेरै राम्रा राम्रा व्यापारीहरु हाम्रा प्रमोटरहरु भएकाले व्यापार राम्रो गर्न के गर्नुपर्छ र युनियनले गरिरहेको काम ठिक छ कि छैन भन्ने कुरा उहाँहरुलाई राम्रोसँग थाहा छ । त्यसैले मलाई कुनै पनि प्रेसर छैन । मैले आफ्नो गतिमा काम गरिरहेको छु र नतिजा पनि दिइरहेको छु । उहाँहरुलाई नतिजा चाहिने हो र नतिजामा उहाँहरु सन्तुष्ट हुनुहुन्छ ।
४. बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा बढेको जनगुनासो छ नि, यो कुरालाई कसरी हेर्नुहुन्छ ?
यस्तो अस्वस्थ प्रतिष्पर्धा निर्जीवन बीमा कम्पनीमा मात्र हुन्छ । जीवन बीमा कम्पनीहरुमा त्यस्तो हुँदैन । म लामो समय निर्जीवन बीमामा पनि लामो समय काम गरेको व्यक्ति हुँ । त्यहाँका समस्या मलाई राम्रो सँग थाहा छ । त्यहाँ ग्राहक तानातानको बढी समस्या छ, क्लेममा अपेक्षा र कम्पनीको भ्यालुएसनमा पनि फरक देखिन्छ । जीवन बीमामा त्यस्तो छैन । यहाँ क्षति भयो भने पूर्ण क्षति हुन्छ, त्यसैले क्लेममा समस्या छैन । बीमा गराउने कमपनीहरु धेरै छन्, तर ग्राहक पनि धेरै सचेत हुन थालेका छन् । 
५. कति कमाउनेले कतिको बीमा गर्ने ? तपाईंका केहि टिप्स ?
सालभरि तपाईंले जति कमाउनुहुन्छ, त्यसको ब्याजसमेत हिसाब गरेर त्यसको १० गुणा बढी रिस्क कभर गर्नेगरी बीमा गरिनुपर्छ । ‘नन रिफन्डेबल’ र ‘रिबन्डेबल’ पोलिसी गरेर १० गुणाको रिस्क कभर हुनु भनेको सबैभन्दा राम्रो तरिकाको बीमा हो । यस्तो गर्दा रिटर्न पनि राम्रो आउँछ, रिस्क पनि कभर हुन्छ ।
६. अभिकर्ताहरुले जवर्जस्ती बीमा गराइदिएको गुनासो पनि छ नि ? 
जवर्जस्ती भन्ने चीज बीमामा हुँदैन । मैले ५ लाख रुपैयाँको बीमा गर्न खोजेको, अभिकर्ताले १० लाखको गरिदियो भन्ने यदाकदा सुनिन्छ, त्यो भनेको खास गर्नुपर्ने बीमा नै १० लाख रुपैयाँको हो । यहि कुरालाई कतिपयले फकाएर बीमा गराईदियो भन्ने पनि कुरा गर्छन्, तर त्यस्तो होइन । बीमा अभिकर्ताको काम एउटा कमिसन पाउने काम मात्र होइन, यो धर्मको काम हो । धर्म गर्नेहरुले केहि अपवाद घटना बाहेक अरुलाई नराम्रो हुने गरी वा गाह्रो पर्नेगरी कुनै पनि काम गर्दैनन् । युनियन लाइफ इन्स्योरेन्सको हकमा त झन् त्यस्तो हुँदै हुँदैन । तर कुनै अभिकर्ताले ओभर इन्स्योरेन्स गराईरहेको छ भनेको चाहिं गलत नै हो । यस्तो काम बन्द गरिनुपर्छ । ओभर इन्स्योरेन्सले कम्पनी र बीमित दुबैलाई घाटा हुन्छ । अन्डर इन्स्योरेन्स पनि हुनु हुँदैन । अन्डर इन्स्योरेन्सले पछि रिस्क कभर हुने गरी पैसा आउँदैन । त्यसैले बीमा गर्दा बुझेर गर्नुपर्छ भनिएको हो ।
७. पछिल्लो समय बैंकहरुले गर्ने संस्थागत एजेन्टको काम बन्द भयो . यसलाई कसरी हेरिरहनु भएको छ ?
धानमा किरा लाग्यो भनेर किरा मार्ने कि धान नै नछर्नु भन्ने ? यहाँ त धानमा किरा लाग्यो भनेर धान नै नछर्नु भनेको जस्तो भयो । जुन गलत हो । यो संसारभरी चलिआएको चलन हो । हो, केहि विकृतिहरु छन्, त्यसलाई समाधान गर्ने ठाउँ थियो । संस्थागत एजेन्टलाई हुँदै नभएको बैंकास्योरेन्स भनिनु गलत थियो । बजारमा केहि खराब खालका प्रवृतिहरु पनि देखिएका थिए, त्यसलाई समाधान गर्नुपर्थ्यो । यसरी संस्थागत एजेन्ट दिन बन्द नै गर्नुचाहिं हुँदैनथियो ।
८. बीमा गर्दा ख्याल गर्नुपर्ने कुरा के के हुन् ?
पहिला ‘फुल समअस्योर्ड’को बीमा गर्नुपर्छ । अभिकर्ता वा कर्मचारीको मात्र कुरा सुनेर होइन, लेखेको कुरा पढेरमात्र बीमा गर्नुपर्छ । कतिपयले कसैलाई नभनी बीमा गरेका हुन्छन्, त्यस्तो गर्नु हुँदैन, भोलि केहि भइहाल्यो भने उसले क्लेम नै नपाउने सम्भावना हुन्छ । त्यसैले परिवारलाई जानकारी गराएर मात्र बीमा गर्नुपर्छ । यस्तो गर्दा कहिलेकाहीं प्रिमियम तिर्न छुट्यो भनेपनि परिवारले सम्झाईदिन सक्छ ।
९. परिवार मा पहिला कसको बीमा गर्ने ?
जोमाथि परिवार निर्भर छ, उसको बीमा पहिला गर्ने हो । कतिपयले पहिला आफ्नी श्रीमती वा बच्चाको बीमा गरिरहेका हुन्छन् । खासमा त्यस्तो गर्नु ठिक होइन । पहिलो बीमा परिवार आश्रित व्यक्तिको गरिनुपर्छ । आज मैले खुसीले मेरी श्रीमतीको बीमा गरिदिन्छु, तर भोलि मलाई केहि भइहाल्यो भने न उसले प्रिमियम तिर्न सक्छ, न मलाई केहि भएको क्षतिपूर्ति आउँछ । उल्टै पोलिसी ल्याप्स हुने सम्भावना हुन्छ । उसलाई त्यो बीमा के काम भयो र ? 

१०. युनियन लाइफ इन्स्योरेन्समा नै बीमा गर्नुपर्ने कारण के हो ?
हामी मुख्य कुरा ‘क्लेम’मा ख्याल गर्छौँ । पेपर आएको आधा घण्टामा क्लेम दिनुपर्छ भन्ने मेरो धारणा हो । अर्को कुरा क्लेमको चेक लिन कार्यालय नबोलाउनु भन्ने मेरो निर्देशन छ । घरमै गएर चेक दिनुपर्छ । ब्रान्चमा बोलाउँदा उसलाई भाडा लाग्छ, काठमाडौँ बोलाउँदा उ होटलमा बस्नुपर्छ । क्लेममा सहजता नै हाम्रो विशेषता हो । हाम्रा प्रोडक्टहरु पनि त्यस्तै राम्रा छन् । त्यसैले हामीले सबैको मन जित्न सफल भएका छौँ।
११. कमाएको पैसाले घर धान्न नै गाह्रो छ भन्ने गुनासो छ नि धेरैको, यस्ता आम मानिसले कसरी बीमा गर्ने ?
त्यो ‘एटिट्युड’को समस्या हो । घर धान्न गाह्रो छ भने उ किन चुरोट खान्छ ? पकाएको खाना किन फाल्छ ? हामी खाना खेर नफालौं, र त्यो पैसाले बीमा गरौँ न । आज त बीमा गाँस, बास कपास जस्तै ‘बेसिक निड’ भइसक्यो । हामीले यो कुरामा एकदम ख्याल गर्नुपर्छ । कति पैसाको बीमा गर्ने भन्ने कुरा हो, बीमा नै गर्न नसक्ने भन्ने कोहि पनि हुँदैनन् जस्तो लाग्छ । ठेला चलाएकाहरुले पनि त बीमा गराईरहेका छन् नि ।
१२. बीमा कम्पनीमा कर्मचारीमाथि श्रम शोषण छ भन्ने गुनासो पनि छ नि ?
यो हल्ला मात्र हो । यहाँ एउटा अफिसरलाई अर्को कम्कपनीले मेनेजर दिन्छ, उ भागिहाल्छ, अनि कसरी श्रम शोषण भयो त्यो ? स्टाफलाई अलिकति कम तलव दियो भने अर्को कम्पनीले बढी पैसा दिएर लागिहाल्छ । श्रम गर्ने मान्छे नपाइ रहेको बेलामा श्रम शोषण गर्ने भन्ने कुरा नै हुँदैन । त्यसमाथि बीमा कम्पनीहरु भनेका पब्लिक कम्पनी हुन् । यहाँ कसैले चाहेर कम वा बढी तलव दिने भन्ने कुरा हुँदैन । त्यसका पनि आ-आफ्ना नियम छन् । हामीले नियम मिचेर कम तलव दिएका छैनौँ । यो कुरामा बीमा समिति पनि त चनाखो छ । त्यसैले बीमा कम्पनीहरुमा श्रम शोषण हुन्छ जस्तो मलाईचाहिं लाग्दैन । 

१३. अहिले बीमा कम्पनीहरु बढी भए, अब मर्जरमा जानुपर्छ कम्पनीहरु भन्ने पनि चर्चा छ नि ? युनियनको तयारी के छ ?
अहिले त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था छैन । ५-६ बर्ष कुनै कम्पनी पनि मर्जरमा जानुपर्ने कारण छैन । सबैले राम्रोसँग व्यापार गरिरहेका छन् । कुनै पनि बीमा कम्पनी अहिले घाटामा छैनन् । तर केहि समयपछि त्यो अवस्था आउन सक्छ । बीमा समितिले मर्जरका लागि बाटो खोलिदिइसकेकाले खास समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।

(पूर्ण अन्तर्वार्ताको भिडियो संस्करण आउँदो मंगलबार प्रशारण हुनेछ । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला – सम्पादक) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: