×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिए. बिबेक झाको करियर यात्रा : ‘व्यवस्थापनको कला घरबाटै सिकेँ, रत्नराज बज्राचार्यले ताते-ताते गराउँदै बाटो देखाउनुभयो…’

काठमाडौं । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए । प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उनकै नाम लिन्थे । सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन’ का रुपमा लिन्थे । हजुरबाको परिवार कृषिमा आधारित थियो ।
पाँच दाजुभाइमध्ये जेठा झाको व्यवस्थापन कला आफैंमा प्रसिद्ध थियो । कसैलाई भेदभाव नगर्ने, सबैसँग समान व्यवहार गर्ने, आर्थिकदेखि कूटनीतिक रूपमा पनि चातुर्य हजुरबाको स्वभाव अनि १०० जनाको परिवार व्यवस्थापन गर्ने हजुरआमाको खुबी साँच्चै अनुकरणीय थियो । आखिर के चीज रहेछ, सबैले मान्ने र पुज्ने ? मेरो बाल मस्तिष्कले केही भेउ पाएको थिएन । रुपैठागाउँमा असाध्यै चोरी हुन्थ्यो । दक्षिणबाट आएका डाँकाले गाउँबस्ती सखापै हुने गरी लुटपाट गर्थे । त्यसबाट जोगिन सात–आठ जना स्वयमसेवक अघिपछि लगाएर हिंड्ने हजुर बा एकातिर, अर्कोतिर संयुक्त परिवारको व्यवस्थापन गर्ने हजुरआमाको कला के हो ? मेरो कलिलो मनले धेरै भेउ पाएको थिएन ।
त्यसमाथि तराईको ब्राह्मण समुदाय झा । जनकपुरमा त झा भनेपछि दिइने सम्मान पनि अजिबको नै छ प्रसिद्ध पण्डितको परिवार । हुने खाने पनि आउँथे, नहुने पनि आउँथे । कोही खाली हात फर्कंदैनथे । होइन, यो उल्का के होला भनेर मेरो मनमा बिझाइरहन्थ्यो तर त्यो एउटा व्यवस्थापनको ठूलो कला रहेछ । ठूलो परिवार मिलाउनेदेखि गाउँ नै मिलाउने कुरा फरक क्षमता भएकाले मात्रै सक्दा रहेछन् ।
हजुरआमा निरक्षर थिइन् तर, रामायण महाभारत सबै पढ्न सक्ने । सबैले आदर गरेर ‘माई’ सम्बोधन गर्ने उनै हजुरआमा, सबैले पुज्ने र सम्मान दिने उनै हजुरबाका नाति विवेक यतिखेर देशकै ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । नजीकै पाठशाला थियो । हालको जनकपुर कलेजनजिकै ।
राजनीतिका कुरा पनि हुन्थे, समाज सुधारको चर्चा पनि चल्यो । विवेकका हजुरबा त्यसका साक्षी थिए । पढे लेखेको नभए पनि व्यवस्थापनको कुरा मैले उनैबाटै सिकेको हो । कुनै समय कान्छा प्रमुख कार्यकारी अधिकृतको परिचय बनाएका विवेक विगतमा फर्किन्छन् र त्यसलाई वर्तमानसँग जोड्छन् । बुबा वीरगञ्जमा रहेको कृषि औजार कारखानाको महाप्रबन्धक भएर अवकाश पछिको जीवनमा छन् । कालीकान्त झा वास्तविक नाम भए पनि साहित्यमा समेत जमेका उनलाई केहीले ‘तृषित’ का नामले समेत चिन्छन् ।
तराई त्यसमाथि पनि जनकपुरमा बिहान, दिउँसो, साँझ र रातको समयमा गाउने फरक फरक खालका गीत छन् । यस्तै विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक कर्म गर्दा पनि त्यस्तै गीत गाइन्छ । ती सबै गीत जान्ने र लेख्ने क्षमता कालीकान्तमा थियो र छ । त्यस्तै जन्मकुण्डली बनाउने, राशि लेख्नेदेखि ज्योतिष कर्ममा समेत कहलाएका विवेकका बाबा पनि उस्तै परिचित व्यक्तित्व हुन् ।
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण झालाई व्यवस्थापन क्षेत्रमा छिर्नु नै थियो । विगत सम्झँदै उनले भने, ‘१८ वर्ष भयो सिए पास गरेको मात्रै, नेपालको बैंकिङ क्षेत्रमा कुनै समयका स्थापित एवम् लोकप्रिय नाम रत्नराज बज्राचार्यले तातेताते गराएर हिंडाएको आजै जस्तो लाग्छ ।’ ‘सिए पास गरेर आएपछि आठ वर्ष जति आर बज्राचार्य एन्ड कम्पनीमा काम गरे, म फर्मको पार्टनर समेत भइसकेको थिए, जुन बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दर्ता हुँदै थियो, त्यतिबेला मैले यही कम्पनीको कन्सल्ट्यान्ट अडिटरका रुपमा काम गरेको थिए, कुनै समय आफैले लेखापरीक्षण गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्छु भन्ने मलाई लागेको थिएन’, उनले भने, ‘म यो कम्पनीमा आउँछु भन्ने त झन् छँदै थिएन ।’
हालको प्रभु (साबिक एलाइन्स), एलआइसी, युनिलिभर, नेपाल आयल निगम, उदयपुर सिमेन्ट तथा विभिन्न बैंकको समेत अडिट गरेको फेहरिस्त नै उनले सुनाए । उनले भने, ‘एनबी इन्सुरेन्समा त १० महिना जागिर नै खाएँ, मेरो कर्पोरेट तर्फको यात्राको पहिलो खुड्किलो थियो माछापुच्छ्रे बैंक, दुई वर्ष जति सो बैंकका काम गरे ।’
विवेकले अझै पुराना दिन स्मरण गर्न थाले । ‘कृषि औजार कारखानाको महाप्रबन्धक बुबाको घुम्ने कुर्सीले पनि मलाई तान्थ्यो, म गएर बाबाको कुर्सीमा बसिदिन्थे, घुम्ने कुर्सी त्यसमाथि ‘टावेल’ राखेको कसरी पाइएला यो कुर्सीमा बस्न भनेर मेरो मनमा एक प्रकारको खुल्दुली चलिरहन्थ्यो’, उनले थपे, ‘म खुर्रर दौडेर जान्थे र बसिहाल्थे, त्यो मेरो व्यवहार देखेर बुबा हाँस्नु हुन्थ्यो, त्यो मेरो कुर्सी मोह त थिएन नै तर कसरी पाइएला त यत्रो ठूलो कुर्सी ।’ हजुरबा, हजुरआमाको जस्तै पिताजीको पनि व्यवस्थापन कला असाध्यै अनुकरणीय रहेको झाको स्मरण छ । हाकिम साब आउनु भयो भन्दै कत्रो मानसम्मान थियो । साहित्यिक नाम तृषित जस्तै सबैका प्रिय पनि थिए बुबा । कार्यालय व्यवस्थापनको कौशल मैले पिताजीबाट सिकेको हो, विवेकले भन्दै गए ।
कमलादीस्थित नेपाल लाइफ इन्सुरेन्सको प्रधान कार्यालयमा हामी पुग्दा प्रमुख कार्यकारी अधिकृत झा कुनै व्यवस्थापनसम्बन्धी काममा व्यस्त थिए । केही समय हामीलाई कुराएर उनले आफ्नो वातनुकूलित कार्यकक्षमा बोलाए । उनले भने, ‘कुनै समय लेखापरीक्षण गरेको कम्पनीको नै प्रमुख हुन्छु भन्ने त लागेको थिएन तर समयले मलाई यो स्थानमा ल्याई दियो ।’
विसं २०३० मा जन्मिएका झा आफूलाई अरूका लागि बाँच्ने एउटा सामान्य व्यक्तिका रुपमा चिनाउँछन् । जीवनलाई सरल बनाउन खोज्ने उनको विशेषता छ । माछापुच्छे्रेमा आन्तरिक अडिटरकै रुपमा रहँदै गर्दा नेपाल लाइफको तत्कालीन व्यवस्थापनले झाको योग्यता र क्षमता अनुमान लगाइसकेको थियो । त्यसमाथि आफ्नै कम्पनीको ‘अडिट’ गरेको व्यक्ति । मनोज भट्टराई प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल लाइफको व्यवस्थापले झालाई सिनियर डिजिएम भएर आइदिन पटक पटक आग्रह गर्‍यो ।
जसले प्रयास गर्छ, त्यो सफल हुन्छ, प्रयास नै नगर्नेले त सफलता र असफलताको स्वाद नै चाख्न पाउँदैन । कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पूरा भयो । व्यावसायिकजगत्मा हेर्दा आठ वर्षको अवधि ठूलो हो तर झा सन्तुष्ट देखिन्छन् ।
शुरुमा त केहीले बच्चा सिइओ भनेर पनि उडाए । संस्थागत हितका लागि खरो उत्रेको उनलाई लाग्छ । कम्पनी सफल हुँदै गएको र नेपालको नम्बर एक बीमा कम्पनी हो भनेर कसैले भनिदिँदा छाती फुलेर चौडा हुन्छ । झा त्यहाँ जाँदा रु ५३ करोडको व्यवसाय हुने गरेको नेपाल लाइफले गत आर्थिक वर्षमा मात्रै रु नौ अर्बको व्यवसाय गरेको छ । बीमा बजारमा १८ प्रतिशतको हिस्सामा रहेको नेपाल लाइफ आजको दिनमा आइपुग्दा ३० प्रतिशतको हाराहारीमा छ । जीवन बीमा कम्पनीको हकमा एक तिहाइ हिस्सा त नेपाल लाइफकै छ ।
हरेक कम्पनीका आफ्नै काम गर्ने शैली र रणनीति हुन्छ । जीवन बीमाको नाम लिने बित्तिकै सबैको मुखमा नाम आइहाल्छ, नेपाल लाइफ । नेपालका बीमा कम्पनी बलिया छैनन्, यिनीहरुले भुक्तानी दिँदैनन्, एकाध वर्ष चलाउँछन् र भाग्छन् भन्ने बजारमा मनोविज्ञान थियो । धेरैले क्षणिक लाभ–हानीको मात्रै हिसाबकिताब गरेर बसेका थिए । बीमाबारे बुझेका भनिएकाहरु पनि सीमापारी जान्थे बीमा गर्न तर आज अवस्था फेरिएको छ । रु २० करोड सञ्चालकको लगानी र रु पाँच करोड नागरिकको लगानीबाट शुरु भएको नेपाल लाइफले बीमा क्षेत्रको इतिहास नै बदलिदिएको छ ।
बीमामा विशेषगरी विश्वास बेचिन्छ । नेपाल लाइफको मन्त्र पनि त्यही हो । उसले विश्वास बेचेको छ । एक पटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै ‘वेस्ट’ । अवधि पुगेकाले समेत बीमा रकम लिएर पुनः बीमा गर्न आउँछन् । शुरुवाती दिनमा ‘नेक टू नेक’ व्यापार गर्ने अन्य बीमा कम्पनीलाई धेरै पछाडि छाडेर लामो दौडको घोडाका रुपमा आफूहरु अगाडि बढेको झाको दाबी छ ।
उनको आफ्नै सिद्धान्त छ ‘बिल्ड टू लास्ट’ । जति पनि रणनीति लिइन्छ, त्यो लामो समयका लागि हो । विश्वका उत्कृष्ट दशमा पर्ने बीमा कम्पनीको इतिहास हेर्ने हो भने पनि उनीहरुले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन फाइदाका लागि काम गरेका छन् । विशेषतः बिमितको विश्वास खण्डित हुन दिनु हुँदैन, परेको बेलामा प्राप्त हुने सहयोग नै जीवनभरका लागि स्मरण बन्न सक्छ ।
नेपालमा बीमाको हिस्सा करीब २५ प्रतिशतको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जानेका लागि गरिने म्यादी जीवन बीमाको तथ्याङ्क यसमा छैन । भारतको भन्दा नेपालको बीमा विस्तार राम्रो छ । कतिपय कम्पनी समस्यामा परेको बेलामा पनि नेपाल लाइफको गति भने एउटै छ । दश लाखभन्दा बढी त बीमा गर्ने नै पुगिसके । सबै कोषको हिसाब गर्ने हो भने करीब एक खर्बको हाराहारीमा पुगिसकेको छ । शेयरधनीले पनि राम्रै लाभांश पाएका छन् । बीमा गर्नेले पनि राम्रै मुनाफा लिँदै आएका छन् ।
जतिबेला विश्वासको परीक्षण हुन्छ नि त्यो बेला उसले आफ्नो जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने विषय महत्वपूर्ण हुन्छ । ४० हजारको हाराहारीमा अभिकर्ता बनाएको नेपाल लाइफका प्रमुख झाको भनाइ छ । ‘परेको बेलामा म यस्तो गर्छु है भन्नेले जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने कुरा नै महत्वपूर्ण हुन्छ’, उनले भने, ‘बिमितलाई पर्ने विश्वास नै हाम्रो प्रमुख सम्पत्ति हो, त्यो नै हाम्रो परीक्षण हो, हामीले भनेको कुरा पूरा ग¥यौ भने त्यो सही ठहरियो, गर्न सकेनौँ भने त्यो असफल भयो ।’
बिमितलाई दिएको विश्वास र प्रतिबद्धता पूरा गरेकै कारण नेपाल लाइफ लोकप्रिय भएको झा बताउँछन् । आज कुनै काम गरिँदैछ भने त्यो आजका लागि मात्रै नभई भोलिका लागि हो भन्नेमा स्पष्ट हुनुपर्ने फराकिलो सोच छ उनीमा । गाउँमा सबैको एउटै पण्डित हुन्छ, हजुरबा, बाबा र छोराका पनि । किन त्यस्तो भयो होला, उदाहरण पेश गर्दै झा भन्छन्, ‘त्यो विश्वास होइन र ? बीमा पनि त्यस्तै हो, जहाँ राम्रो हुन्छ र अपनत्व महसुस हुन्छ, त्यही न मान्छे आउने हुन् ।’
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । हिमाल पग्लिैछ, भूकम्पको त्रास पनि उस्तै छ । विपद्ले ल्याउने जोखिमबाट जुध्न पनि बीमा जरुरी छ । समयले मान्छेलाई सिकाउँदै लगेको छ । फजुल खर्च जोगाउने हो भने सहजै बीमा गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । भौतिक सुख सुविधा बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । सबैभन्दा ठूलो समस्या देखिँदैछ त्यो हो जलवायु परिवर्तन । त्यसले महामारी ल्याउँदैछ । छिमेकी देश चीन यतिखेर नोबल कोराना भाइरसको महामारीमा छ ।
वातावरणीय सन्तुलनमा आएको बदलावका कारण महामारी मात्रै नभई नयाँ प्रकारका रोगसमेत देखा परेको छ । झाको बुझाइ छ, ‘तपाईं र तपाईंको परिवारलाई सुरक्षित राख्ने र उनीहरुलाई साँच्चै माया गर्ने भए एक मात्र विकल्प भनेकै बीमा हो ।’ विगतका केही बुझाइ कारण बीमामा केही विकृति पनि देखिए । जुन कारणले बीमा गर्नुपर्ने थियो, त्योभन्दा बाहिर गएर प्रचार गरियो । बचत मात्रै गर्ने भए बैंक तथा वित्तीय संस्था छन् । जोखिम व्यवस्थापन र बचत दुवै गर्ने भए बीमा उपयुक्त माध्यम हो भन्ने कुरालाई नेपाल लाइफले स्थापित गरेको छ ।
परिवारका लागि गरिने अरू खर्चको स्थानमा बीमा पनि राखेर हेर्नुपर्ने उनको सुझाव छ । आफूलाई कुन उपयुक्त लाग्छ, सोही ‘पोलिसी’ लिन सकिन्छ । बचत लिने कि जोखिम बहन गर्ने पनि लिने, त्यो बीमा गर्नेको इच्छा भयो तर समयमा बीमा नगर्दा कुनै भवितव्यमा परेर कोही कसैको निधन भयो भने त्यसले आफू त जान्छ नै कमाउने माध्यम पनि लिएर जान्छ तर परिवारलाई ऋण मात्रै छाडिदिन्छ । त्यसकारण बीमा जरुरी छ । समान्य भाषामा आफ्नो धारणा राख्दै झाले भने, ‘सुरक्षाका लागि योभन्दा उपयुक्त विधि अरू के हुन सक्ला ?’
विगतमा बीमा कम्पनीप्रतिको विश्वास नै कम थियो । कम्पनी रहन्छ कि रहँदैन, १५ वर्षपछि पैसा कसरी लिने भन्ने थियो तर नेपाल लाइफले बिमितलाई तपाईंको अवधि पूरा भयो, रकम लिन आउनुस् भनेर फोन नै गर्न थालेको पनि धेरै भयो । ‘बिमितले बिर्सेको भए पनि हामीले फोन गरेर नै रकम लिन आउनुस् भन्न थालेका छौँ, पैसा तिर्नमात्र होइन, लिन आउनुस् भनेर हामीले शुरु गर्दै गर्दा विश्वासको मात्रामा यत्ति धेरै बढोत्तरी भएको छ कि नेपाल लाइफको ‘माउथ पब्लिसिटी’ नै भएको छ’, उनले सुनाए । कम्पनीको सुरक्षित जीवन बीमा बढी प्रचलित छ ।
यस्तै ‘मनी ब्याक’ योजना पनि उस्तै लोकप्रिय छ । कुनै दीर्घरोग लाग्यो वा ‘क्रिटिकल इलनेस’ भयो भने कुनै पनि गुनासो नराखी बीमा रकम उपलब्ध गराएको झाको दाबी छ । दुर्घटनामा कोही पर्‍यो भने उसलाई एकाध दिनमा नै रकम दिने व्यवस्था गरिएको भन्दै प्रमुख कार्यकारी अधिकृत झा नेपाल लाइफको टेलिभिजनमा बज्ने विज्ञापनले भन्ने जस्तै सबैलाई सहज रुपमा जोखिम बहन गरिरहेको बताउँछन् ।
केहीले बीमा रकम लिन लामो समय लगाएको गुनासो पनि आएको छ । बीमा गर्दा दिइने कागजातमा उल्लेख गरिएका शर्तहरु लागू हुनेछन् भन्ने कुराले समस्या पनि पारेको छ । मसिनो अक्षरमा लेखिने सर्तहरु आम मान्छेले पढ्दैनन् पनि । सोही कारण दुःख पाएको गुनासो पनि आएकै छ ।
यस्तै अभिकर्ताबाट विदेश जाने, सम्पर्कबाट हराउँदा पनि समस्या देखिएको छ । हाम्रो जिज्ञासा पनि त्यही थियो, बीमा गर्दा अनेकन प्रलोभन देखाउने तर पैसा फिर्ता दिने बेलामा यो भएन, त्यो भएन भन्ने प्रचलनका विषयमा प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘हाम्रोमा खासै समस्या छैन, हामीले सूचना पाएसम्म हाम्रा कर्मचारी नै पुगेर बीमा रकम दिने गर्नुभएको छ ।’ उनले एकाध विषयमा एकाध ठाउँमा समस्या आयो भनेर सयौं राम्रा कामलाई ओझेलमा पनि पार्न नहुने कूटनीतिक जवाफ पनि दिए ।
उनले मृत्युतर्फको १५० वटा दाबीको भुक्तानी बाँकी रहेको तथ्याङ्क दिए । गलत व्यक्तिले दाबी भुक्तानी पाउनु पनि गलत हुने भन्दै उनले समस्यारहित ढङ्गले काम गरिरहेको बताए । शेयर बजार धेरै तल जाँदा समेत नेपाल लाइफको शेयरमा धेरै उतार–चढावका सन्दर्भमा उनले सहजै भने, ‘त्यो हामीप्रतिको विश्वास नै थियो, केही वर्षपहिले कम्पनीले थप सार्वजनिक निष्कासन (एफपिओ) ल्यायो, त्यसबाट थप एक लाख ५० हजार शेयर सदस्य थपिए, हरेक साताको शेयर बजारको विवरणमा सर्वाधिक कारोवार गर्ने दश कम्पनीमा नेपाल लाइफ सधैँ पर्ने गरेको छ ।’
नेपाल लाइफको ‘पेड अफ क्यापिटल’ रु पाँच अर्ब ४९ करोड, रिजर्भमा रु दुई अर्ब ५० करोड छ । यस्तै जीवन बीमा कोषमा रु ७८ अर्ब छ । यस्तै लगानी झण्डै रु ८५ अर्ब छ । चालु आवको ६ महिना मात्रै रु चार अर्बभन्दा बढी नयाँ बीमा गरेको छ । यस्तै कूल प्रिमियम मात्रै रु १४ अर्ब बराबर भएको छ । गत वर्षभन्दा वृद्धि दर असाध्यै राम्रो छ । यस्तै किस्ता बुझाउने दर पनि राम्रो छ ।
यस्तै बिमितले रु १५ अर्ब ७३ करोड ऋण लिएका छन् । कम्पनीका २०० शाखा सञ्चालनमा छन् । नेपालको विश्वस्तरीय दर्जाको कम्पनीका रुपमा नेपाल लाइफ स्थापित छ । सरकारको ‘सेक्युरिटी’ मा लगानी गरेको छ । यस्तै बैंकका मुद्दति खाता मात्रै कम्पनीले ७५ प्रतिशतभन्दा बढी रकम जम्मा गरेको छ । शेयर बजार, पूर्वाधार विकास बैंकमा नौ प्रतिशत लगानी छ भने कम्पनीले आफ्नै लगानीमा कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ ।
यस्तै अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर प्रविधिको क्षेत्रमा पनि केही गर्ने सोच बनाएको छ । ‘हाउजिङ’ व्यवसायमा पनि हात हाल्ने सोच छ । आजका दिनमा एउटै खालका ‘प्रोडक्ट’ बेचिरहेका बीमा कम्पनीको दायरा क्रमशः फराकिलो हुँदै जाने झाको विश्वास छ । उनले भने, ‘सम्पत्ति शुद्धीकरणमा पनि उत्तिकै ध्यान दिएको छ कम्पनीले, यो नेपालको मात्रै समस्या होइन, विश्वव्यापी समस्या हो, हामीले छुट्टै युनिट नै बनाएर काम गरेका छौँ, बीमा समितिको सबै निर्देशन पालना गरेका छौं ।’ शेयरधनीलाई औसतमा ४०० प्रतिशतको हाराहारीमा लाभांश दिएको उनको दाबी छ ।
नेपालबाट एक्चुरीका लागि बाहिरिने मोटो रकम नेपालमा नै रोक्न एक्चुरी साइन्सको पढाइ शुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयले त्यो कोर्षको पढाइ नै शुरु गरेको छ । एक्चुरी पाउन नै मुस्किल परिरहेका बेला त्रिभुवन विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिले काम गर्ने उनको भनाइ छ । ‘हामी भारतमा निर्भर थियौँ, किनकि हामीसँग विशेषज्ञ थिएनन्, चार्टर्ड एकाउटेन्ट भन्दा बढी गाह्रो पढ्न तर बिस्तारै जनशक्ति तयार हुँदैछ’, उनी भन्छन् । उनले आफू पनि त्यो पढाउने सन्दर्भमा विश्वविद्यालयसँग जोडिएको बताए ।
यस्तो छ कम्पनीको पछिल्लो विवरण
कम्पनी चालु आवको छ महिनामा २५.०९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रु ३५ करोड नौ लाख १७ हजार खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा रु २८ करोड पाँच लाख २६ हजार खुद नाफा कमाएको थियो ।
गत आवको पुस मसान्तसम्म रु १० अर्ब ४७ करोड ५४ लाख बीमा शुल्क आर्जनमा ३२.७९ प्रतिशतले वृद्धि गरेर चालु आवको सोही अवधिमा रु १३ अर्ब ९१ करोड १० लाख ६३ हजार पुगेको छ । सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशन रु एक अर्ब ६१ करोड ११ लाख ८२ हजार वितरण गरेको छ । कम्पनीले रु तीन अर्ब १९ करोड कुल दाबी भुक्तानी गरेको छ । त्यस्तै रु एक अर्ब २० करोड भुक्तानी हुन बाँकी दाबी रकम छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब ४९ करोड ६१ लाख छ भने जगेडा कोषमा दुई अर्ब ६१ करोड ५५ लाख र महाविपत्ति कोष जगेडामा रु ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७८.३१ गुणा, प्रतिशेयर नेटवर्थ १५६.२४ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति मूल्य रु एक हजार ६२४ छ ।
प्रस्तुती : रमेश लम्साल
फोटो : रेखा चन्द
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: