मेरो पढाइ पनि राम्रो भएर होला, बुवाले मलाई एकैचोटि दुई क्लास टपाएर राखिदिनुभयो । मेरो उमेरको हिसाबले मेरो उमेरका समकक्षीहरु मभन्दा दुई क्लास, तीन क्लास जुनिएर भएर मभन्दा धेरै सिनियर दाजुहरु मेरा समकक्षी भए । कक्षा टपाइदिएका कारण मैले साने उमेरमा एसएलसी गरे । मैले १४ वर्षको उमेरमा एसएलसी गरे । सानैदेखि मेरो स्वाभाव मिलनसार तर मिजास अलि कडा थियो । कामसित मात्र मतलब हुन्थ्यो । अनावश्यक फाल्तु कुराहरु मलाई मन पर्दैनथ्यो । कसैले अनुचित कुराहरु गर्न थाल्यो भने म मन पराउँदैनथे ।
म सानै उमेरदेखि शारीरिकरुपमा अलिक कमजोर थिएँ । बेला बेलामा ज्वरो आउँथ्यो । फोक्सोका कारण मलाई ज्वरो आउने रहेछ, उक्त कमजोरी हट्छ भनेर मैले धेरै वर्षसम्म गाईको गहुत खाएको छु । भारतको बैरगनियाँमा एकजना बनवारीलाल अग्रवाल भन्ने डाक्टर थिए, उनले मेरो लामो समियसम्म उपचार गरे । प्रत्येक वर्ष जसो मलाई ज्वरो आइरहन्थ्यो । एसएलसीपछि उपचारका लागि बुवाले पटनामा लिएर जानुभयो । त्यहाँ गौरका हाम्रा छिमेकी मानन्धरहरुमध्येका एक जना विश्वभक्त मानन्धर हाइकोर्टको एडभोकेट हुनुहुन्थ्यो । उहाँको घरमा बसेर भारतका उपराष्ट्रिपति जाकिर हुसैनका निजी चिकित्सकसँग उपचार गराएँ । उनको उपचारबाट म निकै प्रभावित भएँ । त्यस उपचारबाट मलाई धेरै निको भयो र प्रत्येक वर्ष ज्वरो आइरहनेबाट म धेरै हदसम्म जोगिएँ ।
बिरामी परेका कारण मेरो सीतामढीमा भर्ना गरेको आइएस्सीको पढाइ छुट्यो । अब के गर्ने ? भन्ने सोचाइकै बिचमा केही समय खाली भयो । मलाई अन्तर्राष्ट्रिय राजनीतिमा रुचि बढिरहेको थियो । कलाकुञ्ज पुस्तकालय र पुष्पलाल समूहबाट गुप्त रुपमा सञ्चालित अर्को पुस्तकालयबाट पुस्तकहरु लिएर पढ्न थाले । त्यति बेला पुष्पलाल समूह जिल्ला स्तरीय कमिटी कि्रयाशील थियो । अध्ययनका साथमा उक्त खाली अवधिमा मैले राष्ट्र बैंकले कृषि सम्बन्धी तथ्यांक सङ्कलन गर्नका लागि खटाउने तथ्याङ्क संकलकको काम गरेर केही पैसा कमाएँ ।
पछि मैले भूमि प्रशासन कार्यालयमा काम गर्नका लागि अन्तर्वार्ता दिए । मलाई सम्झना भएसम्म त्यतिखेर अन्तर्वार्तामा तीनजना मानिस बसेका थिए । एकजना डायोडाका प्रमुख (डा अरुण सायमीका कान्छा बुवा आनन्दबहादुर मानन्धर) अर्को बझाङ घर भएका हर्कबहादुर सिंहनामका भूमि प्रशासक र अमर्को एकजना प्रमुख जिल्ला अधिकारी ।
पहिलो प्रश्नका रुपमा मलाई संयुक्त राष्ट्र संघका महासचिवको नाम के हो ?’ भनेर सोधिएको थियो । ।मैले अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिका बारेमा अध्ययनत गरिरहेको हुनाले त्यो प्रश्न मेरा लागि सनमान्य बन्यो । मैले दिएको उत्तरबाट सबै प्रभावित भए र म जागिरका लागि छानिएँ ।
अन्तरवार्ताबाट छानिएपछि म खरिदारको रुपमा जागिरे भएँ, साइकिल सिकेँ र अफिसको कामले गाउँ गाउँमा जान थालें । त्यही क्रममा रौतहटका गाउँहरुमा किसानहरुका समस्याहरुलाई बुझ्न पाएँ । त्यतिबेला मैले नोकरीबाट केही पैसा कमाएँ । मलाई त्यति बेला लाग्यो कि ‘हामी ६ जना छोराछोरी छौँ तर कमाउने बुवा मात्रै हुनुहुन्छ । सबैको शिक्षादीक्षा एवम् घर व्यवहारका निम्ति बुवालाई समस्या छ, त्यसैले मेरो उच्च शिक्षाको खर्च मैले आफैँ जोहो गर्नुपर्छ, जसले गर्दा बुवालाई आर्थिक भार नपरोस् ।’ मैले पढाइका लागि खर्च जम्मा गर्न थालें ।
एक वर्ष पढाइ छुटेपछि आइएस्सी पढ्नका लागि धेरै मिहिनेत चाहिने र मेरो स्वास्थ्य धेरै राम्रो नभएकाले मैले वीरगञ्जमा आइकम पढ्न थालें । आइकमको पढाइसँगै म राजनीतिक गतिविधिमा संलग्न भएँ र पुष्पलाल समूहको पार्टी सदस्य बनेँ । खरिदारको जागिर छोडेँ । राजनीतिक सोचाइका अतिरिक्त फेरि मैले जागिरको खोजी गरेँ र नेपाल बैंक लिमिटेडमा मलाई नोकरी प्राप्त भयो । जागिर पाउनासाथ मलाई बिराटनगरको रानी इलाकाको शाखामा खटाइयो ।
बिराटनगर जाने नेपालको बाटो थिएन, रक्सौलको बाटो हुँदै जोगबनी र त्यहाँबाट बिराटनगर पुगेँ । म थकित थिएँ । हनहनी जरो आउँछजस्तो भएको थियो । मेरा एक जना दाजु दिव्यकुमार उपाध्याय बिराटनगर जुट मिलमा एकाउन्टेन्ट हुनुहुन्थ्यो, उहाँको फेमिली क्वार्टर थियो । अर्का दाजु गोविन्दकुमार उपाध्याय अलग्गै क्वार्टरमा बस्नुहुन्थ्यो । बिराटनगर गएको पहिलो दिन गोविन्द दाजुको कोठमा मैले सामानहरु राखेँ र बाहिर होटलमा खाना आएँ । ज्वरो आउँछजस्तो भएका बेला तातो-तातो खाना खाएको त थकान मेटियो र म स्फूर्तिसहित साबिक अवस्थामा फर्किएँ ।
पछि गोविन्द दाजुको डेरामा बस्ने र दिव्य दाजुको घरमा खाना खाने गर्न थालेँ । म महेन्द्र मोरङ कलेजमा बिहानी सिफ्टमा बीकममा भर्ना भएँ । बिहान सबेरै उठेर कलेज जाने, दिउँसो अफिसमा काम गर्ने । बेलुकी मजदुरकावीचमा राजनीति गर्ने मेरो दैनिकी थियो । मैले राजनीति गर्ने कुरा घरमा थाहा दिएको थिइनँ । बुवाले बेला बेलामा सम्झाउँदै भन्ने गर्नुहुन्थ्यो, ‘बाबु आफ्नो व्यक्तित्व बनाउन सकेनौ भने जिन्दगीमा कुनै अर्थ छैन, कम्तिमा पनि ग्रयाजुएसन गर, आफ्नै व्यक्तित्व निर्माण गर र त्यसपछि मात्र आफू जहाँ, जेमा लाग्नु छ लाग, आफ्नो जीवन आफैँ बनाउनुपर्छ ।’
यो ज्ञान मेरा लागि निकै महत्वपूर्ण थियो । म राजनीतिमा लागेका बेला ‘बुर्जूवा शिक्षा पढ्नु हुँदैन र शिक्षा छाडेर राजनीतिमा हामफाल्नुपर्छ’ भन्ने व्यापक अभियान थियो । मलाई पनि बिराटनगरमा विश्वराज भट्ट भन्ने त्यस बखत मोरङ रानीका मुख्य नेताले पढाइ बहिस्कार गर्न र राजनीतिमा हामफाल्न दबाव दिएका थिए । मैले पढाइ छोड्ने कुरालाई अश्वीकार गरेँ । मेरो तर्क थियो कि ‘कार्ल माक्र्सले पीएचडी गर्दा हुने, अनि हामीले पढ्न किन नहुने ?’ मैले बुवाको पढाइ पूरा गर्ने अभिप्रेरणा अनुरुप बीकमको पढाइ पूरा गरेँ र राजनीति पनि गरिरहेकै थिएँ ।
म राजनीतिमा लागेको कुरा दाजुहरुले बुवालाई खबर गर्नुभएको रहेछ । त्यतिबेला सर्लाही जिल्ला घर भएका भवनाथ उपाध्याय, जो त्यतिबेला नेपाल बैंक लिमिटेडमा अधिकृत पञ्चम तहमा काम गर्नुहुन्थ्यो । उहाँ हाम्रो भिनाजुको कान्छो भाइ हुनुहुन्थ्यो -उहाँ पछि नेपाल बैंकको महाप्रवन्धक पनि हुनुभयो ।) बुवाले मलाई गौरमा सरुवा गर्नका लागि भन्नुभएछ र मेरो गौरमा सरुवा भयो ।
म ०२८ सालमा बिराटनगर गएको थिएँ र ०३१ सालको सुरुमा म गौरमा आएँ । गौरमा एक वर्ष काम नगर्दै म र सीपी मैनालीका बीचमा अब मैले भूमिगत हुनुपर्छ भन्ने सोच आउन थाल्यो । ०३१ सालको सुरुमा पार्टी बनाउनका लागि हामीले कोसिस गर्यौं । तर, त्यो सम्भव भएन । राजीनामा दिने क्रममा मेरो मनमा एकखालको बाढी नै आयो ।
त्यसपछि जागिर छाडेर पूर्णकालीन हुनुपर्यो भनेर सीपी मैनालीले प्रस्ताव राख्नुभयो । उहाँ र म दुईजना व्यक्ति थियौँ-नयाँ पार्टी स्थापना गर्ने व्यक्तिहरु । उहाँ पूर्णकालीक हुनुहुन्थ्यो, तर म जागिरे थिएँ । ‘अब जागिर छोड्नुपर्यो’ भनेर ०३१ सालको फागुन महिनामा हामी काठमाडौं आयौँ । राजा वीरेन्द्रको राज्याभिषेक चलिरहेका बेला हामी कितावसहितका समान लिएर गइरहेका थियौं, पुलिसले चर्को खानतलासी लिइरहेको थियो । तर, हामी कसै गरी जोगिएर आयौं ।
म नोकरी छाड्ने मानसिकतासहित बैंकमा गई निहुँ बनाएर महाप्रवन्धक आनन्दराज राजभण्डारीसँग भनें कि ‘म बीकम पास भएको मान्छे, मलाई बैंकले अधिकृत तहमा बढुवा गरेन, म यो बैंकको काम गर्दिनँ । तर, उहाँ मेरो अनुमान विपरीत तुरुन्त अधिकृत तहमा बढुवा गर्न तयार हुनुभयो । मलाई आफ्टेरो पर्यो । म समाजमा योग्यता अनुसार काम नपाएको भनेर विद्रोह गरेर जागिर छोड्न चाहन्थेँ । उनले भोलि आउनु भनेकाले मलाई भोलिको विश्वास छैन । भनेर ०३१ चैत्रदेखि राजीनामा गरेर हिँडे ।
राजीनामा दिने क्रममा मेरो मनमा एकखालको बाढी नै आयो । मैले आमालाई र बुवालाई निकै धेरै सम्झिएँ, घरको सबै परिस्थिति आँखामा नचिरहृयो । भूमिगत हुँदैछु, नयाँ जीवनको यात्रा आरम्भ गर्दैछु, कस्तो हुने हो, त्यो अनिश्चित भविष्य ? यी र यस्तै कुराहरु मनमा आइरहे । एकातर्फ भविष्यको चिन्ता थियो भने अर्कातर्फ राजनीतिक जिम्मेवारी र कर्तव्यको विषय ।
राजनीतिक जिम्मेवारी अन्तर्गत सीपी मैनालीले पूर्वतर्फको जिम्मा लिने र मैले पश्चिमतर्फको जिम्मा लिने कुरा भएको थियो । यो सबै काम नोकरी गरेर गर्न सम्भव थिएन । विभिन्न समयमा, विभिन्न बाहनामा हप्ता हप्ताका छुट्टी लिँदा यो प्रक्रियालाई लामो समय टिकाउन सकिँदैन भन्ने मेरो निष्कर्ष थियो ।
अन्त्यमा मैले जागिर छोड्ने निर्णय गरेँ र पञ्चायती सत्तालाई ढाल्नका लागि ‘अब म प्राइभेट जागिर गर्छु र पोखरामा अडिटिङको काम गर्दैछु भनेँ ।’ घर बाहिरका मानिसलाई प्राइभेट काम गर्छु भने पनि घरमा मैले पार्टीको काम गर्न थालेको कुरा बताएको थिएँ ।
(पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको यो संस्मरण ‘मंगलकुमार उपाध्याय नेपाल स्मृति ग्रन्थमा प्रकाशित छ । त्यसको सानो अंश सम्पादनसहित यहाँ उधृत गरिएको हो- सम्पादक)