
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले ठूलो क्षमताको आरटी पिसिआर मेसिन खरिद गर्ने भएको छ । देशभर रहेका २० वटा प्रयोगशालाले कोरोनाको परीक्षण धान्न नसकेपछि मेसिन खरिद गर्ने भएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कस्ता र कति वटा मेसिन थप्ने हो भनेर सिफारिस गर्न भनेको छ। प्रयोगशालाकी निर्देशक डा.रूना झाले दुई दिनभित्र कस्तो र कति क्षमताको मेसिन ल्याउने भन्ने मन्त्रालयलाई सिफारिस गरिने जानकारी दिइन् । ‘हामी त्यसमा काम गर्दैछौं । यो मेसिन आयो भने परीक्षण क्षमता पनि बढ्छ,’ उनले भनिन् ।
निर्देशक झाले मन्त्रालयलाई पाँच वटा ठूला आरटी पिसिआर मेसिन खरिद गर्न सुझाउन लागेको बताइन् । उनले प्रयोगशालाले सुझाउने नयाँ पिसिआर मेसिनले दैनिक १५ सय परीक्षण गर्नसक्ने जनाइन् । त्यसरी कम्तीमा १५ सय क्षमताको पाँच वटा पिसिआर मेसिन आए त्यसले दैनिक ७ हजार ५ सय जनाको परीक्षण गर्नसक्छ। अहिले देशभर रहेका २० वटा प्रयोगशालाले दैनिक २५ सय देखि ३ हजार जनाको परीक्षण गर्दै आएको छ। यसरी थप पाँच वटा ठूला क्षमताको मेसिन आए दैनिक १० हजार जनामा परीक्षण गर्न सकिन्छ । अहिले सञ्चालनमा रहेका २० वटा प्रयोगशालामध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र दैनिक एक हजार जनाको परीक्षण गर्न सक्छ। बाँकी १९ वटा प्रयोगशालाको दैनिक क्षमता भनेको २ देखि ३ सय जनाको परीक्षण गर्ने हो।
पछिल्लो समय भारतबाट हजारौं संख्यामा मानिसहरू नेपाल आउन थालेपछि परीक्षण गर्नेको संख्या ह्वात्तै बढेको छ। प्रयोगशालाहरूको क्षमताभन्दा दोब्बर संख्यामा नमूना संकलन भएपछि नमूनाहरूको चाङ लागेको छ।जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशालामा मात्र ११ सय नमूना लाइनमा रहेको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले सेतोपाटीलाई जानकारी दिए। जबकि प्रयोगशालाले दैनिक दुई देखि तीन सयको परीक्षण गर्नसक्छ। पछिल्लो समय नमूनाहरूको चाङ लाग्न थालेपछि निजी क्षेत्रका प्रयोगशालाहरूले पनि कोरोनाको परीक्षण गर्न चासो देखाएका छन्। तर सरकारले यसबारे कुनै निर्णय गर्न सकेको छैन।
नेपालमा सरकारको अनुमति पाए निजी क्षेत्रका ६ वटा प्रयोगशालाले कोरोना परीक्षण गर्न सक्छन् । ती सबै ‘ग्रेड ए’ का प्रयोगशाला हुन्। सरकारले मूल्य र निश्चित मापदण्ड तयार गरेर निजी क्षेत्रका प्रयोगशालालाई पनि परीक्षण अनुमति दिए दैनिक थप १५ सय जनाको परीक्षण गर्न सकिने अनुमान गरिएको छ। अहिले पिसिआर मेसिनले परीक्षण धान्न नसकेपछि जोखिमयुक्त ठाउँबाट आएकाहरूको समेत परीक्षण हुन सकेको छैन। सदूरपश्चिममा भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरूको पनि आरडिटी टेस्ट गर्दै घर पठाइँदैछ । विज्ञहरूले भने भारतबाट आएकाहरूको अनिवार्य पिसिआर गर्न सुझाउँदै आएका छन् ।
सरकारले तेस्रो मुलुकबाट दैनिक ३५ सय मानिस स्वदेश फर्काउने तयारी गर्दा ती संख्यालाई धान्ने प्रयोगशाला तयार छैनन् । तत्काल प्रयोगशालाहरूको व्यवस्थापन गर्न नसके अहिले भएको प्रयोगशालाहरूले परीक्षण नधान्ने निश्चित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्