
काठमाडौं । यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान–मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान–मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीको समेत कमी छैन ।
यसैमध्येमा पर्ने चिया उद्योगी हुनुहुन्छ सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईँ । सधैँ किसान–मजदुरको पक्षमा वकालत गर्ने चापागाईँ चिया उद्यमीमध्ये पनि सबैभन्दा ‘सिनियर’ उद्योगीमा पर्नुहुन्छ । उहाँ चिया क्षेत्रमा रहेदेखि नै सधैँ किसान–मजदुरकै पक्षमा काम गर्दै आएकाले सधैँ उद्योगमा किसान–मजदुर माथिल्लोस्तरमा पर्ने बताउनुहुन्छ । “मलाई उद्योगले किसानलाई हरियो चियापत्तीको मूल्य कम दिए भनेको सुन्दा अचम्म लाग्छ”, चापागाईँ भन्नुहुन्छ, “किसानलाई मारेर कहिल्यै पनि हामी उद्योगी उँभो लाग्दैनौँ ।”
चापागाईँले किसानको चियामा चलनचल्तीमै भएको मूल्य उद्योगले दिनुपर्ने बताउनुहुन्छ । यति मात्र नभई चापागाईँ त उद्योगले चिया किन्दा अग्रिमरूपमै चियाको रकमसमेत भुक्तानी गर्नुपर्ने बताउनुहुन्छ । अहिले बन्दाबन्दीको समयमा चिया बिक्री नभएको भन्दै धेरैजसो उद्योगीले चियाको रकम नदिएको बेला यता चापागाईँ भने किसानलाई ‘भोकभोकै’ राख्न नहुने बताउनुहुन्छ ।
“मेरो उद्योगमा आएर हेर्नुहोस् । मैले त अग्रिमरूपमै चियाको भुक्तानी दिइसकेँ”, चापागाईं भन्नुहुन्छ, “किसानलाई मारमा पारेर कहिल्यै व्यवसाय चलाउन सकिँदैन ।” चापागाईँ त अझै आफ्नोमा आएको हरियो चियापत्ती रु ८० देखि ८५ प्रतिकिलोमा समेत किन्ने दाबी गर्नुहुन्छ जबकि अन्य उद्योगमा यही चिया रु ४० मा बेच्न आन्दोलन गरिरहनुपरेको छ ।
यस्तै किसान र मजदुरलाई सधैँ हितमा राखेर काम गर्ने अर्का उद्योगी हुनुहुन्छ इलाम नगरपालिकास्थित जस्वीरे चिया प्रशोधन केन्द्रका सञ्चालक शरद सुब्बा । लामो समयदेखि यही पेशामा रहनुभएका सुब्बा किसानलाई सधैँ आफूसरहकै व्यवहार गर्ने बताउनुुहुन्छ । किसानबिना उद्योग सञ्चालन नहुने बुझ्नुभएका सुब्बाले अहिले चलनचल्तीमा भन्दा धेरै हरियो चियापत्तीको मूल्य दिइरहेको बताउनुहुन्छ ।
“हो अहिले पनि किसानले उचित दाम पाएका छैनन्”, सुब्बाले भन्नुभयो, “उद्योगीका पनि आ–आफ्नै समस्या छन् तर चियाको दाम भने उचित दिनुपर्छ ।” सबै उद्योग एकै किसिमको नभएको बताउँदै शरदले आफ्नो उद्योगले चियाको न्यूनतम मूल्य रु ६० मा किन्ने गरेको बताउनुभयो । उहाँले आफूले न्यूनतम रु ६० देखि एक हजार ५०० सम्ममा हरियो चियापत्ती किन्ने गरेको बताउनुभयो ।
सुब्बाले चियाको गुणस्तरअनुसार दाम पाइने बताउँदै मोटो सुइरोवाला चियालाई रु एक हजार ५००, मोटो सुइरो र एक पात चिया भएकालाई रु ३५०, सानो दुईपात र एक सुइरो भएकालाई रु २०० मूल्य दिने गरेको बताउनुभयो । यस्तै, सुब्बाले ‘टपकटपक टिपेको ठूलो पात र सानो सुइरो’ भएको चियालाई रु १०० र सुइरो सानो भएको हरियो चियापत्तीलाई प्रतिकिलो रु ६० मा किन्ने गरेको बताउनुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्