×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि र कञ्चनबीचको प्राप्ति प्रक्रियामा ‘एडजस्टमेन्ट’को लफडा, कर्मचारीलाई यसरी हदैसम्म झुक्याईएछ… (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

एनएमबि र कञ्चनबीचको प्राप्ति प्रक्रियामा ‘एडजस्टमेन्ट’को लफडा, कर्मचारीलाई यसरी हदैसम्म झुक्याईएछ… (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साबिकको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै गर्दा एनएमबि बैंकमा ‘स्टाफ एडजस्टमेन्ट’को लफडा निस्किएको छ । सुदूरपश्चिम प्रदेश केन्द्रित बैंक साबिकको कञ्चन डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारीहरुलाई बैंकले छानी-छानी निकालेको भन्दै विवाद भएपछी यस्तो लफडा निस्किएको हो । साबिकको कञ्चनमा कार्यरत करारका कर्मचारी कसैलाई राख्ने, कसैलाई निकाल्ने गरिएपछि लफडा सतहमा आएको हो । ‘जागिरमा निरन्तरता हुन्छ’ भन्दै जागिर निरन्तरता दिने सम्बन्धको पत्रमासमेत हस्ताक्षर गर्न लगाएर फकाई- फकाई भीआरएस पत्रमासमेत हस्ताक्षर गरेर आफुहरुलाई निकालेको भन्दै झन्डै आधा दर्जन कर्मचारीले विरोध गरेपछि बैंकभित्रको लफडा छरपष्ट भएको हो । स्टाफ एडजस्टमेन्ट कति राम्रो भयो भन्ने विषयले प्राप्ति वा मर्जरको तयारी कस्तो थियो वा पोष्ट मर्जर कतिको सफल भयो भन्ने संकेत दिन्छ । साबिकको कञ्चनका स्टाफहरुले हाकिमहरुले आफ्ना मान्छेलाई छानी-छानी राखिएको र आफ्नो भावनामाथिसमेत खेलबाड गरेको भन्दै आवाज उठाएपछि बैंकको प्राप्तिको तयारी रहेनछ भन्ने विश्लेषण हुन थालेको छ ।
भएको के हो ?
साबिकको कञ्चन डेभलपमेन्ट बैंकले दर्जनौं कर्मचारीहरु बर्षौंदेखि करारमा राख्दै आएको थियो । केहि समय करारमा राख्ने, केहि समय ‘ग्याप’ राखेर पुन: करारको नवीकरण गर्ने गरेर चोरबाटोबाट थुप्रै कर्मचारीहरुलाई बर्षौंदेखि बैंकले करारमा काम गराईरहेको थियो । जव बैंक एनएमबिमा बिलय हुन लाग्यो, तव ती कर्मचारीहरुले ‘हाम्रो जागिर के हुन्छ ?’ भनेर सोधे । नेपाल राष्ट्र बैंकलेसमेत कोभिडका बेला कुनैपनि बहानामा कुनैपनि कर्मचारी ननिकाल्नु भनेकाले सबैको जागिर सुरक्षित छ भन्ने आश्वासन पाएको उनीहरुको भनाइ छ ।
‘हामीलाई तपाईंहरुको जागिर कन्टिन्यु हुन्छ भनियो । सोहि अनुसार जागिरमा निरन्तरता विषयमा पत्रमा हस्ताक्षर पनि गराइयो, एनएमबि बैंकको ब्याच, टिशर्ट पनि दिइयो, आइडी कार्डका लागि भनेर फोटो पनि खिचाइयो, एनएमबिले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि कसरी काम गर्ने भन्ने विषयमा अघिल्लो दिनसम्म तालिम पनि दिइएको थियो । तर भोलिपल्ट हाम्रा केहि साथीहरुको जागिर कन्टिन्यु गरेर हामीलाई निकालिएको जानकारी आयो ।’ पीडीत आधा दर्जन कर्मचारीमध्येका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘करारका कर्मचारी नराख्ने भन्ने हो भने किन ४ जनालाई राख्ने हामीलाई नराख्ने गरियो त ? सबैको उही क्वालिफिकेसन, उही समयको करार हो ।’
‘हाम्रो करियरमाथिमात्र होइन, भावनामाथि पनि खेलबाड भयो’
यता एनएमबिमा बिलय भएको कञ्चनले आफुलाई पीडीत बनाएको बताउने अर्का एक कर्मचारी बैंकले आफ्नो भावनामाथि नै खेलबाड गरेको बताउँछन् । ‘हामीलाई भीआरएस पत्रमा हस्ताक्षर गर्न लगाइयो । हामीले मानेनौं । ४-४ बर्ष श्रम शोषण गरेर करारमै राख्ने, अनि अहिले बैंकबाट निस्क भनेर भीआरएस दिन खोज्ने ? भन्दै हामीले ‘बरु भीआरएस लिन्नौं, हामीलाई करार अवधि थापिदिनू’ भनेर आग्रह गर्यौं । हाकिम सापले अर्को पत्र ल्याएर ‘ल तपाईंहरुको जागिर कन्टिन्यु हुन्छ’ भनेर जागिरको निरन्तरता पत्रमासमेत सहि छाप गराएपछि हामी ढुक्क भयौं । ४-४ बर्षसम्म करारमा काम गर्दा कतिपय कुरा कागजी रुपमा औपचारिकतामात्र निभाउने बानी परिसकेका हामीलाई भीआरएस पत्र पनि त्यस्तै हो भनियो । जागिरको निरन्तरता पत्रमा पनि हस्ताक्षर गराएपछि हामी थप ढुक्क भयौं । अझ हामीलाई बधाई भन्दै एनएमबिको टि-शर्ट पनि दिइयो, आइडी कार्डका लागि भनेर फोटो पनि खिचाईयो, पुलिस रिपोर्ट बनाउन लगाइयो, सबै काम गराइयो तर अन्तिम समयमा जागिरबाट निकालिएको खबर आयो ।’ उनले भने ।
‘अनि भीआरएसपत्र त स्वेक्षिक अवकासको पत्र हो नि ?’ किन सहि गर्नुभयो त ?’ हाम्रो प्रश्नमा पीडीत कर्मचारीहरु भन्छन्, ‘कञ्चन डेभलपमेन्ट बैंक धेरै कुरा कागजी रुपमा मिलाइन्थ्यो । नियमकै कुरा गर्ने हो भने त एउटा कर्मचारी ४-४ बर्षसम्म कहाँ करारमा राख्न मिल्छ र ? तर कागज एकातिर मिलाउने, काम अर्कोतिर गर्ने गरिन्थ्यो । यो पनि यस्तै हो भनेर प्रलोभन देखाईयो । बैंकमा कुन हदसम्म कागज मिलाएर के के हुन्थ्यो भन्ने कुराका प्रमाण हामी हाम्रो लफडा टुंगिएन भने तपाईंहरुलाई जरुर दिन्छौँ’ 
कोभिडको प्रसङ्ग निकाल्दै उनीहरु यस्तो बेलामा जागिर जाँदा आफुहरुलाई निकै समस्या परेको बताउँछन् । ‘हामीलाई पहिला नै तपाईंहरुको जागिर रहन्न भनेको भए हामी अन्त जागिर खोज्थ्यौं होला । तर कोभिड बेला अहिले अव कतै जागिर सम्भव छैन । कसैलाई काखा , कसैलाई पाखा किन गरेको भनेर सोध्दा उहाँहरुलाई पनि असोजसम्म मात्र हो जागिर भन्ने कुरा पनि आयो । ठिक छ त, त्यसो भए हामीलाई पनि असोजसम्म एनएमबिमा राखे भइहाल्यो त । त्यसपछि कोभिड पनि साम्य होला, अन्त जागिर खोजौंला । तर अहिले त बन्द्नियत नै राखेर हामीलाई घरको न घाटको बनाउने दुष्प्रयास गरिएको छ ।’
के भन्छन् साबिकको कञ्चन डेभलपमेन्ट बैंकका सीइओ ?
झन्डै आधा दर्जन कर्मचारीको गुनासो र आफ्नो भावनामाथिसमेत खेलबाड गरेको भन्ने आरोप सुनेपछि हामीले यस विषयमा साबिकको कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीलाई सम्पर्क गर्यौं । उनले करारका कर्मचारीहरु कसैलाई पनि एनएमबिमा नराख्ने भन्ने निर्णय अनुरुपनै आफुहरुले भीआरएस दिएर ती कर्मचारीहरुलाई विदा गरेको दाबी गरे । साथै उनले कोभिडका बेला जागिरबाट ननिकाल्नु भन्ने राष्ट्र बैंकको निर्देशन पनि प्राप्ति र मर्जरको हकमा लागु नहुने तर्क गरे ।
‘हामीले भीआरएस दिएर पठाएका हौँ । भीआरएस भनेको स्वेक्षिक अवकास हो । उहाँहरुले नै सहि गरेका आधारमा उहाँहरुलाई विदा गरिएको हो ।’ उनले भने । ‘अनि जागिरको निरन्तरता भनेरचाहिं किन हस्ताक्षर गरिएको त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘त्यो फर्म हामीले स्थायी कर्मचारीहरुलाई मात्र भर्न भनेका थियौं । सबैले भर्नुभएको रहेछ । हामीले कुनै पनि प्रलोभन देखाउनका लागि उक्त फर्म भराएको भन्ने कुरा गलत हो । करारका कर्मचारीहरुले आफैंले भर्नुभएको हो ।
‘अनि करारमै पनि कसैलाई राख्ने कसैलाई फाल्ने किन गरेको त ?’ हाम्रो प्रश्नमा जैशी भन्छन्, ‘करारका कसैलाई पनि राखिन्न ।४ जनालाई राखिएको हो, उहाँहरु पनि असोजसम्ममात्रै यहाँ रहनुहुन्छ ।’ अनि त्यसो भए सबैलाई असोजसम्म किन नराखेको त ? किन कसैलाई एक्स्पोजर दिने, कसैलाई फाल्ने गरेको त ?’ हाम्रो अर्को प्रश्नमा उनले भने, ‘त्यसो गरिएको होइन, उहाँहरुको अवधि बाँकी भएको र काम गर्ने मान्छे पनि चाहिने भएकाले उहाँहरु केहिलाई राखिएको छ । असोजपछि उहाँहरु स्वत: विदा हुनुहुनेछ ।’ ‘नेपाल राष्ट्र बैंकले त कुनै पनि कर्मचारी कोभीडका बेला ननिकाल्नु भनेको छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले तर्क गरे, ‘त्यो नियम मर्जरको प्राप्तिको केसमा लागु हुँदैन ।’
कर्मचारीको भावनाम,माथि नै ठेस पुग्ने गरी टि-शर्ट, ब्याच किन दिइयो, आइडीकार्डका लागि फोटो किन खिचियो भन्ने विषयमा भने उनी केहि बोलेनन् ।
‘ओम डेभलपमेन्ट बैंक प्राप्ति गर्दा पनि यस्तै समस्या थियो’
यता एनएमबि बैंक भने कञ्चन डेभलपमेन्ट बैंकको केसको आफुलाई सरोकार नहुने बताउँछ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एनएमबिका एक उच्च अधिकारी भन्छन्, ‘मर्जर वा प्राप्तिका बेला यस्ता साना- ठुला लफडा आउनु सामान्य हो । ओमलाई प्राप्ति गर्दा पनि यस्तो समस्या आएको थियो । सामुहिक राजिनामा दिनेदेखि राजनीतिक पावर लगाएर आफ्नालाई राख्नै पर्ने दाबाब पनि आएको थियो । कञ्चन डेभलपमेन्ट बैंकका साथीहरुले कोअर्डिनेट गर्न सक्नुभएन जस्तो छ । केहि आफ्ना मान्छे राख्ने, नचाहिनेलाई फाल्ने, वा इमान्दार भएर मेरो नाम उल्लेख नगर्ने सर्तमा भन्नुपर्दा, अलि अलि मन नपरेका मान्छेलाई फाल्ने र आफ्नालाई खुसुक्क हाल्ने काम पनि प्राप्तिका समयमा सामान्य हो।’
यता नेपाल राष्ट्र बैंकले भने यस विषयमा गुनासो व्यवस्थापन इकाईमा उजुरी गरे आफुहरुले के हो भन्ने कुरा बुझेर प्रक्रिया अगाडी बढाउने बताउँछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: