×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै विराटनगरवासी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै विराटनगरवासी

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

विराटनगर । विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । बोइलर कुखुराको माग अझै बढी छ । तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु खान बाध्य छन् भने अर्कोतिर पशु बधशाला निर्माण शुरु भएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । 
विराटनगर–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा विसं २०६६ बाट निर्माण शुरु गरिएको बधशाला अहिले जीर्ण अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बधशाला निर्माणका लागि अहिलेसम्म रु एक करोड १९ लाख खर्च गरिसकेको महानगरपालिकाका भेटेरिनरी शाखाप्रमुख हीरालाल कामतले बताउनुभयो । निर्माणाधीन बधशालाका लागि विस्तृत निर्माण परियोजना लगायतका संरचना निर्माणका लागि रु २१ करोड २५ लाख ८० हजार बजेट लाग्ने संशोधनसहितको डिपिआर स्वीकृतिका लागि पशु सेवा विभागमा पठाइएको उहाँले जानकारी दिनुभयो । हेफर इन्टरनेशनलले तयार पारेको सो डिपिआर संशोधनका लागि पशु सेवा विभागमा पठाइएको र त्यहाँबाट आएपछि निर्माणले कार्यले गति लिने उहाँको भनाइ छ । ुःखद हो । 
विराटनगरमा सुविधासम्पन्न पशु बधशाला निर्माणका लागि प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करीब रु आठ करोड बजेट विनियोजन गरेको थियो । आव २०७५/७६ मा करीब रु तीन करोड विनियोजन गरिएकामा खर्च नभएर फिर्ता भयो भने दोस्रोपटक २०७६/७७ मा रु पाँच करोड विनियोजन गरेको थियो । प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गएको वर्षमा विनियोजन गरेको बजेट फ्रिज भएपछि चालू आवमा बजेट विनियोजनको व्यवस्था नभएको जानकारी दियो । 
विराटनगरमा व्यवस्थित पशु बधशाला नहुँदा जथाभावीरुपमा पशु बध गरिने गरेको छ । विराटनगरको मुख्य सडक, सार्वजनिकस्थल, धार्मिक क्षेत्र, नदी, सडकको किनारा तथा नालामाथि जथाभावी बध गरी मासु बिक्री गर्नाले सर्वसाधारण जनताको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ । पशुको स्वास्थ्य परीक्षण बिना जथाभावी जहाँ मन लाग्यो त्यहाँ मासु काट्ने तथा फोहोर जथाभावी फाल्ने प्रवृत्ति बढ्दो छ । लापरबाही र गैरजिम्मेवारीपूर्वक माछामासु बिक्री भइरहँदा समेत महानगरपालिका चुपचाप बसेको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।
अस्वस्थकर माछामासु खानाले गम्भीर प्रकृतिका रोग लागेर नागरिकले औषधि उपचारमा ठूलो धनराशी खर्च गर्नु परिरहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । ठूलो क्षेत्र भएको र सबै क्षेत्रका मानिसहरु एकै ठाउँमा मासु खरीद गर्न पनि गाह्रो हुने भएकाले बधशाला नगरवासीको सहुलियत एवं सुविधाको दृष्टिकोणले तीन वा चार ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता देखिएको अधिकारकर्मीको भनाइ छ । बधशालाको अभावमा नगरको विभिन्न स्थानमा अहिले मासु पसल राखेको पाइन्छ । ती पसलहरु निश्चित मापदण्ड पनि पूरा गर्न सकिरहेका छैनन् । जसले गर्दा मानिसहरु अस्वस्थकर मासु खान बाध्य हुन्छ । ती मासु पसलेहरुले काटेर राखेका खसी बोकामा झिँगा लागि रहने, बाहिरबाट आउने धुलो पनि लाग्ने समस्यालाई उचित बधशालाले नै निराकरण गर्न सकिने उपभोक्ताको भनाइ छ । 
विराटनगरको सीमावर्ती बजार रानीदेखि शिरानतर्फ वा विराटनगर महानगरपालिकाको उत्तरी सीमा पहडगछसम्ममा १००औँको सङ्ख्यामा त्यस्ता मासु पसलहरु छन् । ती सबै मासु पसलेहरुले आफ्ना इच्छाअनुसार खसीबोका काट्ने र बिक्री गर्ने गरेको तथा यसबाट निस्कने फोहर पदार्थहरुको उचित व्यस्थापन गर्न नसक्दा दुर्गन्ध हुने समस्या देखिएको छ । मासु पसल वरपरका अन्य पसले वा घरधनीहरु पनि यस्तो समस्याबाट बाहिर निस्कन सकेको छैन् । मासु पसलमा सरकारी निगरानीको अभावले गर्दा खसीको मासु हो कि बाख्राका मासु हो त्यो पनि छुट्याउन उपभोक्तालाई समस्या हुने गरेको छ ।
यी सबै समस्याको समाधान निश्चित ठाउँमा पशु बधशालाको व्यवस्था भएमा मात्र गर्न सकिने स्थानीयवासी राजेश श्रेष्ठले जानकारी दिनुभयो । हुन त विराटनगर महानगरपालिकाले पशु बधशालाको धारणा नल्याएको पनि होइन तर यो काम कछुवातालमा हुने भइरहेकाले नगरवासी यसबाट हैरान छन् । दैनिक ५०० भन्दा बढी खसी विराटनगर क्षेत्रमा काटिने गरेको विराटनगर बसपार्कस्थित करिया मासु पसलेले जानकारी दिनुभयो । उहाँले अहिले पनि दिनमा पाँचदेखि छवटा खसी काट्ने गरेको र मानिसहरुलाई स्वस्थकर मासु खुवाउन पसलमा सिसाले घेराबेरा गरेको बताउनुभयो । 
यस्तै घेराबेरा अरू पसलेले गर्न सकेका छैनन् । जसले गर्दा समस्या हुनु स्वाभाविक हो, उहाँको भनाइ छ । होटेल व्यवसायी सङ्घका प्रदेश अध्यक्ष राजन श्रेष्ठले प्रदेशको राजधानीमा एउटा व्यवस्थित बधशाला निर्माण नहुँदा पाहुनालाई स्वस्थ्यकर मासु पस्कन समस्या भएको बताउनुभयो । उहाँले विदेशीलाई स्वस्थकर एवं छालारहित मासु खुवाउनुपर्ने आवश्यकतालाई यहाँका केही मासु पसलेले मात्र पूरा गरेको छ । कुनै पनि चौपायाको छालायुक्त मासु खानु स्वास्थ्यका लागि निकै हानि हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 
जथाभावी गरिने बधका कारण वातावरणमा समेत असर भएकाले हामीले कैयौँ पटक आवाज उठाउँदा पनि समस्या जहीँको त्यहीँ छ, स्थानीयवासी केवल कार्कीले जानकारी दिनुभयो । विराटनगर–९ का गहिणी सरस्वती श्रेष्ठले सार्वजनिक स्थानमा पशु बध गर्दा त्यसका हाड, छाला जताततै फालिने गर्दा समाजमा दुर्गन्ध फैलिने गरेको बताउनुभयो । सार्वजनिक स्थानमा बधका कारण भुस्याहा कुकुरको सङख्यामा वृद्धि भई रेबिज रोग लाग्ने डर नगरवासीमा देखिएको विराटनगर–११ का अर्जुन सुवेदीको भनाइ छ ।
सार्वजनिकस्थल, चोक, सडकमा मासु काट्ने गरिँदा बालबालिकामा मनोवैज्ञानिक असर परिरहेको विराटनगर–१० का राजेश सिंह डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा शाकाहारीको दिन प्रतिदिन वृद्धि भइरहेको अवस्थामा सार्वजनिकस्थलमा गरिने पशुजन्य बध रोक्नु आवश्यक छ । होटेल व्यवसायी भविष श्रेष्ठ प्रदेशको राजधानी रहेको विराटनगरमा अविलम्ब व्यवस्थित बधशाला निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पशु बधशाला निर्माणको कुरा समावेश गरे पनि कार्यान्वयन हुन सकेको छैन । 
महानगरले चालू आव २०७७/७८ को नीति तथा कार्यक्रममा भने खुल्लारुपमा पशुहरुको बध गर्ने कार्यलाई नियन्त्रण गरी व्यवस्थितरुपमा प्रदेश सरकारसँगको साझेदारीमा आधुनिक तथा सुविधासम्पन्न पशु बधशालाको निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: