×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शहरीकरण बढेसँगै घडेरी खरीद बिक्री वृद्धि, बसाइँ सरी आउने क्रम पनि ह्वात्तै बढ्यो

PRIME CA
GLOBAL IME BANK

शहरीकरण बढेसँगै घडेरी खरीद बिक्री वृद्धि, बसाइँ सरी आउने क्रम पनि ह्वात्तै बढ्यो

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < ४ मिनेट

इलाम । नयाँ बजार क्षेत्रमा अहिले शहरीकरण बढ्दै गएको छ । साविकको नयाँ बजार, प्याङ, नामसालिङ र सोयाङ गाविस गाभिएर माईजोगमाई गाउँपालिका बनेको थियो । सोही गाउँपालिकाको केन्द्रका रुपमा नयाँबजार रहेको छ । स्थानीय तहको केन्द्र भएपछि नयाँबजार क्षेत्रको आकार बढेको मात्रै छ्रैन, जग्गाको खरीद बिक्री पनि निक्कै चम्किएको छ । सन्त बालागुरुले स्थापना गरेको बजार क्षेत्रको अहिले ढल निकास र पक्की सडक बनाउने काम धमाधमसमेत भएको छ । 
उत्तरी इलामको किनमेलको बजार रहेको नयाँबजार क्षेत्रमा अहिले घर निर्माण बढ्नुका साथै हरेक वर्ष १५ देखि २० परिवार बसाइँ सरी आउने क्रम बढेको छ । नयाँबजारमा जग्गाको भाउ अहिले केन्द्र बन्नुअघिको तुलनामा चारगुणा बढेको बजार व्यवस्थापन समितिका अध्यक्ष आङपासाङ शेर्पाले जानकारी दिनुभयो ।
“पुरानो बजारमा विकास पनि भएको थिएन”, सेर्पाले भन्नुभयो, “हिउँदमा धुलो र वर्षात्मा हिलो भएको नयाँबजार क्षेत्रमा अहिले व्यवस्थित गर्न ढल निकास र कालोपत्र गर्ने काम थालिएपछि जनताले पनि पूर्वाधार विकासको अनुभूति पाएका छन् ।” नयाँबजार क्षेत्रमा स्थानीय तहको केन्द्र घोषणापछि जग्गाको भाउ अकासिएको छ । 
स्थानीय राजनीतिकर्मी विजय राईका अनुसार नयाँबजार क्षेत्र वरिपरि रोपनीमा चल्दै आएको जग्गा अहिले आनामा चल्न थालेको छ । “केन्द्र घोषणा अघि बजार क्षेत्र आसपास प्रतिआना दुई लाखमा बिक्री भए पनि अहिले चार लाख रुपैयाँमा भल्दै आएको छ”, उहाँले भन्नुभयो । वर्षको २० वटासम्म नयाँ घर निर्माणले तीव्रता पाएको छ । नयाँबजार क्षत्रेमा बसाइँ सर्ने अधिकांश गाउँपालिकाभित्रकै रहेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनुभयो ।
“गाउँपालिकाको केन्द्र भएपछि विकासको गति पनि तीव्रता पाएकाले जनता सुविधा खोज्दै शहर पस्दै आएको छन्”, उहाँले भन्नुभयो, “आन्तरिक बसाइँसराइ बढे पनि अन्तर जिल्ला बसाइँसराइ रोकिएको छ ।” उत्तरी क्षेत्रको पर्यटकीय गाउँपालिका सन्दकपुरको केन्द्र रहेको देउराली बजारले अहिले शहरीकरणको रुप लिएको छ । माईपोखरी, सुलुबुङ, जमुना, माईमझुवा, माबु गाविस गाभिएर बनेको सन्दकपुरको केन्द्र देउरालीमा अहिले जग्गा किनबेच बलेको गाउँपालिका अध्यक्ष यदय बहादुर राईले जानकारी दिनुभयो । 
“लेकाली क्षेत्रमा पर्ने सन्दकपुरको केन्द्र रहेको देउराली पुरानै बजार भए पनि पहिला जग्गाको भाउ थिएन”, उहाँले भन्नुभयो, “केन्द्र घोषणा अघि ५० हजार रोपनीमा बिक्री भएको जग्गाको दाम अहिले पाँच लाख बढी छ ।” गाउँपालिकाले देउराली बजारलाई प्रदेश एक सरकारको समन्वयमा स्मार्ट सिटी बनाउने योजना बनाएपछि झनै जग्गाको किनबेच बढेको छ । ‘क’ वर्गको बैंक, १५ श्ययाको अस्पताल, बृहत् खानेपानी योजना र व्यवस्थित ढल निकाससँगै फोहरमैला व्यवस्थापनको काम प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा अघि बढेपछि जनताको देउरालीमा आकर्षण बढेको उपाध्यक्ष शोभा पराजुलीले जानकारी दिनुभयो ।
“स्मार्ट सिटी निर्माणका लागि अहिले गुरुयोजना निर्माणको चरणमा छ”, गाउँपालिका अध्यक्ष राई भन्नुहुन्छ, “हावापानी चिसो भए पनि घडेरी किनेर घर निर्माण गर्नेको सङ्ख्या बढेको छ ।” विकासको तीव्रताले जनतामा गाउँमै पूर्वाधार बन्ने आशमा देशका ठूला शहर सर्ने योजना बनाएका अहिले पालिकाको केन्द्रसम्म पुगेर बसोबास गर्ने योजना बनाएका छन् । स्थानीय पत्रकार युवराज पौडेलले भन्नुभयो, “लेकाली क्षेत्रका खेतबारीमा खाद्यबाली मात्रै उत्पादन हुन्थ्यो आम्दानी थिएन, अहिले जग्गाको भाउ आएपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।”
शहरीकरण बढ्दै गएपछि देउराली बजार क्षेत्रमा २२ करोडको लगानीमा बृहत् खानेपानी आयोजना स्वीकृत भई निर्माणको चरणमा पुगेको छ । सङ्घीय सरकारले निर्माण गर्ने खानेपानी योजना उपभोक्ताले बेहोर्नुपर्ने रकम सङ्कलनको काम हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो ।
दक्षिणी चुरे क्षेत्रको स्थानीय तह माई नगरपालिकाको केन्द्र रहेको सितली क्षेत्रमा जग्गाको भाउ दोब्बर भएको छ । सतिली क्षेत्रमा दुई लाख आना कारोवार हुँदै आएको जग्गा चार लाख पुगेको छ । स्थानीय पत्रकार तेजबहादुर घिमिरेले भन्नुभयो, “२०२८ सालमा स्थापना भएको सितली बजारमा नगरपालिकाको अफिस भएपछि जग्गाको भाउ मात्रै बढेको छैन शहरीकरण बढ्दै गएको छ । घिमिरे भन्नुभयो, “दिन दुई गुणा रात चौगुणा जसरी जग्गाको भाउ बढ्दै गएको र पक्की घर निर्माणले तीव्रता पाएको छ । सतली बजारमै गरुवा बहुमुखी क्याम्पस, नगरपालिकाको केन्द्र रहेको र इलाम सदरमुकामदेखि झापाको खुदुनाबारी जोड्ने छोटो बाटो कालोपत्र शुरुले घर निर्माणमा तीव्रता पाएको छ ।” झापासँग सीमा जोडिएको माई नगरपालिका क्षेत्रका सर्वसाधारण बिर्तामोड झर्दै आएको थिए । कार्यपालिका सदस्य राजकुमार धमलाले भन्नुभयो, “गाउँकै केन्द्रको सम्भावना पहिल्याएर अहिले बसाइँ सरेर झापा जान खोज्नेले सतलीमा घर र घडेरी जोड्दै छन् ।” 
सतलीमा गाउँपालिकाको केन्द्र बसेपछि नजिकैको शुक्रबारे बजारमा पनि पक्की घर र घडेरी जोड्ने सङ्ख्या बढेको स्थानीय सुजन ढकालले बताउनुभयो । शुक्रबारे बजार २०४४ सालमा स्थापना भए पनि शहरीकरण बढ्दै गएको छ । झापा जोड्ने सडक कालोपत्र शुरु भएपछि नगरवासीले एक बसाइँसराइको योजना बनाएको बुझिँदैन । नगर उपप्रमुख विष्णुमाया रिमालले भन्नुभयो, “सडक कालोपत्र भएपछि एक घण्टामा झापाको भद्रपुर विमानस्थल पुगिने भएपछि झापा बसाइँ सर्नेक्रम रोकिएको छ ।” पर्यटकीय नगर सूर्योदयको केन्द्र रहेको फिक्कल बजार आसपासमा घर निर्माण बढेको छ । अन्तु, कन्याम, पशुपतिनगर लगायतका पर्यटकीय क्षेत्र सूर्योदयमै परेपछि जग्गाको भाउ पनि अकासिएको छ । 
मेची राजमार्गको आसपास, फिक्कल पशुपतिनगर सडक क्षेत्रमा व्यापारिक र पर्यटन व्यवसाय गर्ने हिसाबले घडेरी बिक्री तीव्ररुपले हुँदै आएको छ सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका सदस्य सुजन तिमसिनाले भन्नुभयो, “जग्गाको भाउ बलेको मात्रै छैन, घर निर्माण गरी होटल व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या अत्यधिक छ । सूर्योदयको केन्द्र रहेको फिक्कल बजार साँघुरो भएपछि बरबोटे र शान्तिचोक क्षेत्रमा जग्गा किनेर घर बन्नेक्रम बढेको तिमल्सिनाले बताउनुभयो । 
नगरभित्रको कालोपत्र सडकले छोएको स्थानमा प्रतिआन पाँच लाखदेखि आठ लाखसम्ममा बिक्री हुँदै आएको छ । नगरपालिकाको केन्द्र हुनुअघि यहाँ प्रतिआना दुई लाखदेखि तीन लाखसम्ममा बिक्री हुँदै आएको स्थानीय होटल व्यवसायी प्रविन तिमल्सिनाले बताउनुभयो । 
जिल्लाका १० स्थानीय तहमध्ये सदरमुकाम रहेको इलाम नगरपालिकाबाहेकका स्थानीय तहमा पालिकाको केन्द्र घोषणा भएपछि शहरीकरण बढ्नुका साथै घर जग्गा खरीद बिक्री बढेपछि स्थानीय तहको राजश्वमा पनि वृद्धि भएको छ । अन्तर जिल्लाबाट बसाइँसरी आउनेको सङ्ख्या नभए पनि पालिकाभित्रका वडाबाट केन्द्रमा बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला समन्वय प्रमुख गणेश बरालले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: