×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी बिकास बैंकको ‘सुनकाण्ड’को नालेबेली : बैंकका कर्मचारीको ‘खुरापात’ देखेर प्रहरी नै छक्क ! (भिडियो)

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो
काठमाडौँ । महालक्ष्मी बिकास बैंक । बेला-बेलामा अनेक विवादमा परिरहने यो बैंकभित्र ठुलै सुन काण्ड घटेको रहस्य बाहिरिएको छ । बैंक स्वयमले आफ्नो बैंकभित्र कर्जामा घोटाला भएको भन्दै सीआइबीलाई गुहारेपछि बैंकभित्रको सुनकाण्ड बाहिरएको हो । हो, महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट एकाएक १२ किलो सुन गायब भएको छ । ऋणको तमासुखमा १७ किलो सुन धितो राखेर कर्जा प्रवाह गरिएको भनिएको छ । तर भल्टमा मात्र ५ किलो सुन छ । अर्थात हुँदै नभएको १२ किलो सुन बढी देखाएर बैंककै कर्मचारीको मिलेमतोमा करोडौं ऋण लिइएको छ, र ऋण लिनेले सोको ब्याज, सावाँ केहि पनि तिरेका छैनन् । यसरी बैंकको करोडौं रुपैयाँ डुब्ने भएपछी बैंकले सीआइबी गुहारेको छ र यस प्रकरणमा अनुसन्धान थालेको सीआइबीले बैंकका तत्कालीन शाखा प्रबन्धकहरु, बैंकका पूर्व कर्मचारीहरु, सो ऋणका ऋणीहरुलगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 
के हो त महालक्ष्मी बिकास बैंकको सुनकाण्ड ? 
हो, बैंकबाट हुँदै नभएको सुन तमसुखमा चढाएर पूर्ण राइ र देवानन्द राइले २०७४ साल यता महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट झन्डै ७ करोड ४२ लाख रुपैयाँ ऋण लिए । राइद्वयले आफ्नो नाममा मात्र होइन, आफुकहाँ काम गर्ने कुल ११ जना कर्मचारीहरुको नाममा पनि पटक पटक गरी ऋण लिए । तर नियतमै खोट भएका राइद्वयले सो ऋणको न सावाँ तिरे, न ब्याज तिरे। 
नेपाल राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा ऋणीहरुले सो ऋणको सावाँ र ब्याज नतिरेको पाइएपछी राष्ट्र बैंकले महालक्ष्मी बिकास बैंकसँग यस विषयमा स्पष्टीकरण सोध्यो । राष्ट्र बैंकले स्पष्टीकरण सोधेपछि बैंकले पनि यस विषयमा आन्तरिक अनुसन्धान गर्यो । किनकि प्रकरण २-४ हजारको थिएन, बरु बैंकबाट १२ किलो सुन गायब भएको थियो । बैंकले गरेको आन्तरिक छानविनमा पनि धितो राखिएको सुन र तमासुखमा भनिएको सुनको हिसाबकिताब मिलेन । र बैंकको आन्तरिक अनुसन्धानले पनि धितो राखिएको सुनबाट राइद्वय र तिनका कर्मचारीहरुका नाममा दिइएको कर्जा चुक्ता नहुने देखिएपछि बैंकले अन्तत: आफ्नो बैंकमा कर्जामा ठुलो घोटाला भएको निस्कर्ष निकाल्यो र केन्द्रिय अनुसन्धान ब्युरो सीआइबी गुहार्यो । 
यस प्रकरणमा मुछिएका ऋणीहरु पूर्ण राइ र देवानन्द राइ र उनीहरुका एक कामदार सन्दिप लिम्बुलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनीहरुले बैंकका कर्मचारीहरुकै मिलेमतोमा सो काम भएको आशय प्रस्तुत गरेपछि प्रहरीले बैंकका तत्कालीन शाखा प्रबन्धकसहितका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको छ । तत्कालीन महालक्ष्मी बिकास बैंकमा कार्यरत स्मृति राना, पिन्कु पालिखे र अनिश सिंह सिजापतिलाईसमेत पक्राउ गरी अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
प्रहरीले ऋणीद्वय, तिनका १ कर्मचारी र बैंकका तत्कालीन कर्मचारीहरुलाई पक्राउ गरेपनि घटनाका मुख्य अभियुक्तझैं मानिएका बैंकका तत्कालीन खाजान्ची पदम ज्ञवाली भने अहिले फरार छन् । लामो समय महालक्ष्मी बिकास बैंकमा काम गरेका ज्ञवालीको जिम्मेवारी हेरफेर हुँदा तमसुखमा उल्लेख भएझैं सुन नभेटिएपछि यो प्रकरण बाहिर आएको थियो । र त प्रहरीले पनि ज्ञवालीको मिलेमतोबिना यो प्रकरण नघटेको प्रारम्भिक निष्कर्ष निकालेको छ, र सोहि निष्कर्षलाई आधार बनाएर थप अनुसन्धान गरिरहेको छ । 
ज्ञवाली ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा रहंदा राइद्वयलाई पाँच हजार २२८ ग्राम सुन धितो राखेर झन्डै ७ करोड ४२ लाख ऋण प्रवाह गरिएको थियो । तर सो रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो । तर बैंकबाट राइद्वयले राख्नुपर्ने सुन नै नराखी करोडौं रुपैयाँ निकाल्न सफल भए, र उनीहरुले सो ऋणको सावाँ ब्याज केहि पनि बुझाएनन् । तर पाप धुरीबाट कराउँछ भनेजस्तै उनीहरुको पाप अन्तत कराएको छ र राइद्वय, तिनका कर्मचारी र बैंकका पूर्वकर्मचारीहरु पनि अहिले प्रहरीको नियन्त्रणमा छन् । 
को हुन् सुन व्यवसायीद्वय राइ, सन्दिप लिम्बु र खाजान्ची पदम ज्ञवाली ? 
पूर्ण राइ र देवानन्द राइ यो प्रकरणमा मुख्य खेलाडीका रुपमा देखिएका छन् । उनीहरुले बैंकबाट करोडौं रुपैयाँ ऋण लिएका छन्, तर तमसुखमा भनेजति सुन भल्टमा छैन । अहिले तत्कालीन अवस्थाभन्दा सुनको भाउ झन्डै ४० प्रतिशतले बढेको त छ तर अहिलेकै भाउमा सो सुन बेच्ने हो भने पनि बैंकको ४० प्रतिशत ऋणसमेत उठ्ने अवस्था छैन । पक्राउ परेका अर्का व्यक्ति सन्दिप लिम्बु राइद्वयकै कर्मचारी हुन् । कुल ११ जना कर्मचारीका नाममा ऋण निकालिएकोमा लिम्बुमात्र पक्राउ परेका छन् । अन्य कर्मचारीहरु अहिले फरार छन् । तर राइद्वय र तिनका कर्मचारीमात्र होइन यो प्रकरणका बिग प्लेयर अर्थात बैंककै कर्मचारी पदम ज्ञवाली यस प्रकरणका मुख्य अभियुक्तझैं छन्, र उनी अहिले फरार छन् । 
लामो समय बैंकमा खाजान्चीका रुपमा रहेका ज्ञवालीको गत चैत्रमा उनको जिम्मेवारी हेरफेर भयो । जिम्मेवारी हेरफेरका क्रममा उनले हरहिसाब बुझाउने क्रममा थाहा भयो कि बैंकमा छ भनिएको झन्डै १२ किलो सुन बैंकमा छैन । त्यसपछि यो प्रकरणले उर्ग्र रुप लिएको हो । तमसुखमा भनिएझैं सुन नभेटिएपछि ज्ञवालीले आफुलाई चोखो सावित गर्न अदालतको ढोकासमेत ढकढक्याए । तर अदालतले उनको मुद्धा खारेज गरेपछि उनी अहिले फरार छन् । 
देखिएका पात्र र खास दलाल को हुन् ? 
बैंकबाट करोडौं रुपैयाँ कर्जा प्रवाह हुँदा बैंकका उच्च अधिकारीहरुसम्म सो ऋणको फाइल पक्कै पुगेको हुनुपर्छ । तर बैंकमा यो प्रकरण हुँदै गर्दा बैंकका तत्कालीन सीइओ कृष्णराज लामिछानेले बैंक छोडेको देखिन्छ । उनले घटनाबारे थाहा पाएर बैंक छोडे, वा बैंक छोडीसकेपछि घटनाबारे थाहा पाए, सो तथ्य अनुसन्धानपछि पक्कै बाहिर आउला, तर बैंकमा घटेको यति ठुलो प्रकरण बैंकका तल्ला तहका कर्मचारीहरुको मात्र मिलेमतोमा भयो भन्ने विश्वास गर्ने ठाउँ भने निकै कम छन् । 
अर्कोतर्फ तलबाट आएको फाइल अनुसन्धान नै नगरी झ्याप झ्याप सहि गर्ने बैंकका उच्च तहका कर्मचारीहरुको बानीले पनि यो प्रकरणमा प्रक्रियागत रुपमा ठुलाहरु फसेको तर सानाबाट नै काम भएको हुनसक्ने पनि देखिन्छ । तर जे होस्, जनताले लगानी गरेको बैंकलाई करोडौं घाटा भएको छ, यो प्रकरणमा जो जो दोषी देखिए पनि उनीहरुले सजाय पाउनुपर्ने कुरामा दुइमत पक्कै छैन । बैंकका तल्लो तहका कर्मचारी हुन् वा माथिल्लो तहका, कर्मचारीहरु जुन हैसियतमा भएको भएपनि गलत गर्नेहरु कानुनी कठघरामा नआइ सुखै छैन । 
अनुसन्धानका क्रममा प्रहरीको प्रारम्भिक निष्कर्ष यहि छ कि बैंकका कर्मचारी र राइद्वयकै डिजाइनमा यो प्रकरण घटेको छ भने राइद्वयका कर्मचारीहरु कागजी प्रक्रियामा तानिएका छन् । बुझ्न गाह्रो छैन, राइद्वयले भनेपछि उनका कर्मचारीहरुले जहाँ जहाँ सहिछाप गर भने उनका कर्मचारीहरुले त्यहीं त्यहीं सहि छाप गराए होलान । तर कानुनले त प्रमाण हेर्छ । सहिछाप गरेका व्यक्ति व्यावहारिक रुपमा निर्दोष छन् भन्ने देखाउने ठाउँ नै हुँदैन । र त अहिले कानुनी नजरमा राइद्वयका सबै कर्मचारीहरु पनि यो सुन काण्डका अभियुक्त छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले उनीहरुलाईसमेत पक्राउ गरेको छ । 
यता आफ्नो बैंकमा घटेको सुनकाण्ड बाहिरिएपछी बैंकले भने आफ्ना कर्मचारीहरुलाई बचाउने प्रयास गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै घटना अनुसन्धानकै क्रममा रहेकाले आफ्ना कर्मचारीहरुबारे बाहिर आएका तथ्यहरुलाई घुमाउरो पाराले खण्डन गरेको छ । बैंकमा सुन हराएपछि बैंकमाथिको विश्वास नै हराउनेदेखेपछि आत्तिएर बैंकले विज्ञप्ति जारी गरेको बुझ्न गाह्रो छैन । तर जनताले डिपोजिट राख्ने बैंकमा यस्तो काण्ड हुनु, करोडौं रुपैयाँ कर्जा प्रवाह भएर भनेजति धितो नै नहुनु, र यस विषयमा बैंकका जिम्मेवार अधिकारी नबोल्नु, बरु उल्टै आफ्ना कर्मचारीहरुलाई बचाउन खोज्नुले बैंककै नेतृत्वमाथि आम ग्राहकलेसमात प्रश्न उठाएका छन् । 
तर तथ्य यो पनि हो, गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ । नेपालको प्रचलित बैंकिङ कसुरले व्यवहार हेर्दैन । कागजमा जसजसको सहिछाप छ उनीहरुलाई नै च्याप च्याप समात्छ र जेल कोच्छ । हजार दोषीहरु भागुन तर एउटा निर्दोष नफसोस भन्ने कानुनी सिद्धान्तलाई पनि अनुसरण गर्न नसक्दा यसअघि पनि व्यावहारिक रुपमा निर्दोष बनेकाहरु कानुनी कठघरामा उभिएका प्रशस्तै उदाहरणहरु छन् हाम्रो देशमा र हाम्रो कामना यो प्रकरणमा यस्तो नहोस् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: