- अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो
दुई ठुला छिमेकीबीचको हाम्रो देश नेपाल, जसको अर्थतन्त्रमा छिमेकी देशको आ-आफ्नै र महत्वपूर्ण योगदान छ । भूपरिबेष्ठीत देश भएकाले पनि छिमेकी देशसँग जोडिएका विभिन्न नाका हुँदै देशमा भित्रने अधिकांस समानहरु आयात हुन्छन् । दक्षिणी नाकाहरुमा भारत र उत्तरी नाकाहरुमा चीनबाट समान आउँछ हाम्रो देशमा र देशको अर्थतन्त्रमा ती नाकाहरुको भूमिका निकै महत्वपूर्ण छ ।
र त नाकाहरुमा केहि समस्या भए जनता जाग्छन् । नाका केहि समय बन्द भए जनताहरुसंग बिद्रोह गर्नुको कुनै पनि विकल्प बाँकी हुँदैन । यतिसम्म कि देशको दक्षीणी नाकामा केहि समस्या भए काठमाडौँमा समेत विरोध हुन्छ । सदन हल्लाइन्छ, सरकारको खुब विरोध हुन्छ । तर देशको उत्तरी नाकामा बर्षौंदेखि समस्या हुँदा पनि काठमाडौँलाई किन दुख्दैन ? यो सरकारलाई किन दुख्दैन ? भन्ने आवाजहरु बर्षौं भयो उत्तरी नाकाका नेपालीहरुले उठाएको । तर सरकार सुने नसुनेझैं गरिरहेको छ ।
हो, बर्षौं भयो देशका दुई मुख्य उत्तरी नाका तातोपानी-खासा नाका र रसुवागढी-केरुंग नाका बन्द भएको । तर भारतीय नाकामा केहि समस्या हुँदा हल्लिने काठमाडौँ चीन जोड्ने नाकामा बर्षौंदेखि समस्या हुँदा केहि बोलेको छैन । र त्यहाँका स्थानीय, नाकाको व्यापारका भरमा चलेका व्यवसायी, र नाका बन्द हुँदा विदेशीन बाध्य भएका नेपालीहरुको पीडाबारे सुनेपछि हामी यस विषयमा बुझ्न चीन जोड्ने दुई मुख्य नाका तातोपानी-खासा नाका र रसुवागढी केरुंग नाकासम्म पुगेका छौं ।
हो, हामीले गरेको स्थलगत reporting को निष्कर्ष पनि यहि छ- भूकम्पपछी बन्द भएको तातोपानी नाकाले थुप्रै नेपालीहरुको बिल्लीबाठ बनायो । केहि समय पछी बल्ल बल्ल नाका केहि खुलेजस्तो त भयो तर फेरी कोरोनाको त्रासले नाका खुलेपछि व्यवसाय उकास्ने नेपालीहरुको सपनामामाथि कुठाराघात भयो । र त बर्षौं देखि नाका बन्द हुँदा धेरै नेपाली बिदेशिएका छन् । नाका वरपरका नेपालीहरुको व्यवसाय चौपट भएको छ भने थुप्रै नागरिकका घरबारी लिलाम हुने अवस्थामा छन् ।
सिन्धुपाल्चोकस्थित तातोपानी-खासा नाका वरपर कुनैबेला व्यवसायी र पर्यटकको थामी नसक्नुको भीड हुन्थ्यो । खासाबाट सस्तोमा सामान पनि किन्ने र तातोपानी पनि नुहाएर फर्कने भन्दै नेपालका कुना-कुनाबाट पर्यटकहरु ओहिरिन्थे । व्यवसायीहरुलाई फुर्सद नै हुँदैनथियो भने होटलहरु खचाखच भरिएका हुन्थे । चीनबाट ठुलो संख्यामा कन्टेनरहरु नेपाल भित्रिन्थे । भन्सारका कर्मचारीहरुलाई भ्याई-नभ्याई हुन्थ्यो । तर २०७२ सालमा आएको बिनासकारी भूकम्पपछी उक्त नाका बन्द भयो । जसका कारण धेरै व्यवसायीहरु विस्तापित भए । भत्केका घरहरु बनेनन् भने लामो समय नाका पूर्ण रुपमा बन्द भयो । लामो समयको पहलपछी नाका केहि समयका लागि त खुल्यो तर पछी पुन: कोरोनाको प्रकोप देखिएपछी उक्त नाका फेरी बन्द भयो । जसको सबैभन्दा ठुलो चपेटामा नेपाली स्थानीय व्यवसायीहरु छन् । र उनीहरु अहिले पनि कहिले नाका खुल्ला र काम पाइएला भनेर पर्खेर बसेका छन् । तर नाका खुल्ला गर्न न स्थानीय सरकारको पहल प्रभावकारी देखिएको छ, न केन्द्रीय सरकारको । जसका कारण त्यहाँका स्थानीय जनता, र व्यापारीहरु अहिले डुब्ने अवस्थामा छन् ।
यसो त तातोपानी-खासा नाकामा मात्र होइन उता रसुवागढी-केरुंग नाकामा पनि स्थिति उस्तै पीडादायी छ । कुनै बेला राष्ट्रियतासँग जोडेर खुब चर्चामा आएको यो नाका अहिले सुनसान प्राय छ । नाका बन्द हुँदा उक्त नाका हुँदै मानसरोबर जाने पर्यटकहरुको संख्या सुन्य प्राय: हुँदा त्यहाँका होटल व्यवसायीहरु मारमा परेका छन् । अहिले रसुवागढी नाका वरपरका होटलहरु कहिलेकाहीं आउने व्यवसायीहरुको भरमा मात्र छैनन्, कुन बेला बैंकले सम्पत्ति लिलाम गरिदिने हो भन्ने डरमा पनि छन् ।
अहिले चीन र नेपालबीचको यो नाका बन्द छ भनौं भने दिनमा केहि सामानहरु नेपाल भित्रिरहेका छन् । दिनमै १०० बढी कन्टेनरहरु भित्रिने र सोहि अनुरुपको भन्सार जाँच[पास गर्ने क्षमता भएपनि अहिले दिनमा २-३ गाडीमात्र समान नेपाल भित्रिएको छ । नाका खुला छ भनौं भने निकै नगन्य मात्रामा मात्र चीनबाट नेपाल सामान आउँदा व्यवसायीहरु मारमा परेका छन् । त्यसमाथि नाकाबाट आउने समानमा सिमित व्यापारीहरुको मात्र पहुँच हुँदा चीन-नेपालबीचको नाकाको व्यापारबाट नै जीवन चलाएकाहरु समस्यामा परेको दुखेसो स्थानीयहरुको छ ।
अझ चीनबाट सामान आउनुपर्नेजति नआउँदा र होटल व्यवसाय चौपट हुँदा यो मारमा सबैभन्दा बढी परेका छन्, तातोपानी नाका वरपरका होटलहरु । कुनै बेला खचाखच हुने होटलहरुमा अहिले सुनसान प्राय छन् । अझ खासामा समान किन्न जान नपाएपछी तातो पानीमा नुहाउन आउनेहरु पनि घटेका छन् । जसका कारण तातोपानी नाका वरपरका होटल र पर्यटन व्यवसायीहरु निकै मारमा परेका छन् । नाका खुल्ला र आफ्नो व्यवसायलाई फेरी राम्रो बनाउला भन्ने आशमा बसेका उनीहरु चीनले नगन्य मात्र समान पठाएर अघोषित नाकाबन्दी गर्दा व्यवसायीहरुको चहलपहल घट्दा त्यसको असर आफ्नो व्यवसायलाई परेको भन्दै यतिबेला तनावमा छन् । चीन र नेपालबीचको नाका व्यापारिक दृष्टिकोणले सुनसान हुँदा अहिले नाका वारपरका होटल तथा पर्यटन व्यवसाय चौपट मात्र भएको छैन बरु नाकामा व्यापार नहुँदा धेरै व्यवसायीहरु बिदेशिन बाध्य भएका छन् भने कति विदेशीने तयारीमा छन् ।
अहिले देशमा स्थानीय सरकारहरु छन् । देश संघीय संरचनामा गएसँगै गाउँ-गाउँमा सिंहदरबार पुगेका नाराहरु पनि लाग्ने गरेका छन् । तर चिनियाँ पक्षले एकोहोरो रुपमा नाका लगभग बन्द गरिदिंदा नेपालतर्फका नागरिकहरु सरकार खोजीरहेका छन्, तातोपानी-खासा नाकातिर । स्थानीय सरकारमै पनि कांग्रस- कम्युनिष्टको लडाई छ । गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष कै कुरा नमिल्ने जटिलस्थितिका बीच त्यहाँका नागरिकहरु साँढेको जुधाई बाचाको मिचाईमा परेका छन् । जनप्रतिनिधिहरु स्वयम् नाका बन्द हुँदा नागरिकहरुलाई पीडा परेको बताउँछन् । तर समस्याको हल खोज्न अझै पनि सकिएको छैन । स्थानीय भोटेकोशी गाउँपालिका वडा नम्बर ४का अध्यक्ष शांग दोर्जे शेर्पा पनि तातोपानी-खासा नाका बन्द हुँदा स्थानीयहरुको पीडा भोगिरहेको बताउँछन् ।
छिमेकी भएपछी छिमेकको सुख दुखमा साथ दिने छिमेकीमात्र असल छिमेकी हो । बर्षौंसम्म असल छिमेकी वा मित्रराष्ट्रको परिभाषाभित्र पर्ने चीन नेपाललाई दुख पर्दा किन नाका बन्द गरेर नेपालीहरुको पीडा टुलुटुलु हेरिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्दैछन्, जनप्रतिनिधि र स्थानीय जनताहरु । तर जनप्रतिनिधि स्वयम् भन्छन्- चिनियाँ पक्षले हामीलाई हेपेको छ, हाम्रो स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरु पनि लाचार बनेर यो हेपाइ सहेर बसिरहेका छन् । भोटेकोशी गाउँपालिका वडा नम्बर ४का अध्यक्ष शांग दोर्जे शेर्पा भन्छन नाकालाई राजनीतिक रंग दिएर चिनियाँ पक्षले खासाको बस्ती उठाएको छ, जसका कारण नेपाल र चीनबीच नाकाको व्यापार ठप्प प्राय: बनेको छ ।
छिमेकी देशमा नेपालीहरुको खुब आउजाउ हुन्थ्यो कुनै बेला । तर नाकालाई राजनीतिक रंग दिएर चिनियाँ पक्षले नाका खुलाएको छैन । भुकम्पले बर्बाद बनाएको गाउँमा बेला बेला आउने बाढी पहिरोले झन् दुख दिएको छ । गाउँको अर्थतन्त्र उठ्नै सकेको छैन । यहि बेला चीनले आफ्नो देशबाट नेपाल समान पठाएको छैन । गाउँमा रोजगारी भनेकै नाकाको व्यापार थियो । अन्नबाली खास नहुने गाउँ, अहिले नाका बन्द हुँदा ठुलो पीडामा छ । तर अहँ चिनियाँ पक्ष नाका खोल्न तयार नै छैन ।
शेर्पा भनिरहेका छन्, चीनले नाका बन्द गरेको छ तर नाका बन्द हुँदाको नागरिकको दर्द सरकारले बुझ्न सकेन । यहि ठाउँबाट कति साम्सद बने । कति मन्त्री बने । तर चीनले नाका बन्द गरेर स्थानीयको हातमुख जोड्ने आधारनै बन्द हुने अवस्था हुँदा पनि अहँ कसैले पनि आवाज उठाएको छैन । र केन्द्रले आवाज नउठाएपछि स्थानीयको आवाजमात्रले केहि जोड चलेको छैन ।
चिनियाँ पक्षले नाका बन्द गर्दा व्यवसायीहरु समस्यामा परेका छन् । कन्टेनर व्यवसायीहरु मारमा परेका छन् । होटल व्यवसाय चौपट बनेको छ । नाकामै निर्भर रहेर करोडौं लगानी भएको छ । तर त्यहि नाका बन्द हुँदा अहिले व्यवसायीहरु बर्बार्द भएका छन् । करोडमा खल्नेहरु रोडमा पुग्ने स्थिति बनिसकेको छ । तर अहँ यहाँको समस्या बुझ्नुपर्नेले बुझेका छैनन् । सुन्नुपर्ने सरकारले सुनेकै छैन ।
समस्यामा पर्दा छिमेकीले सहयोग गर्नुपर्ने हो । तर नेपालीलाई त हेप्नेमात्र काम भएको छ नाकामा भन्छन शेर्पा ।आफूखुसी नेपाली भूमिमा टेकेर मनपरी गरिरहेका छन् चिनियाँहरुले, नेपालीहरुलाई पेलिरहेका छन्, पटक पटक नेपालीहरुले प्रतिकार पनि गरे, तर लाचार बन्ने गरेको प्रशासनका कारण चिनियाँहरुको दादागिरी बढिरहेको छ ।एकातर्फ व्यापार ठप्प छ, अर्कोतर्फ हेपाइले सिमा नाघेको छ । अनि विवस भएर नागरिकहरु देश छोड्न बाध्य छन् । जसका कारण देशको उत्तरी अर्थतन्त्र डामाडोल भएको छ।
नाका खुल्दा पनि चिनियाँहरुको धङधगी बढी नै थियो । र पनि व्यापार चलिरहेकै छ भनेर नागरिकहरुले धेरै सहे, कतिपयक अति भएपछी प्रतिकार पनि गरे । तर जे जसो भएपनि नाका खुल्ला हुँदा हातमुख जोड्न गाह्रो थिएन ।परिवार पालिएकै थियो । तर अहिले नाका बन्द भएपछी त सव सर्वनास भएको छ, बर्बाद भएको छ । तर अहँ यो पीडा सरकारले नसुनेपछि नागरिक बोल्नुको अर्थ छैन, रहेन ।
यो ठाउँको भूगोल नै यस्तो छ, खेतीयोग्य जमिन छैन । अर्थोपार्जनको एकमात्र विकल्प नाका थियो । तर त्यहि नाका बन्द भएपछी स्थानीयलाई अहिले न दिनमा भोक छ, न रातमा निन्द्रा । तर सरकारले नागरिकको यो पीडाका प्रति केहि गरेको छैन । नेपाली कांग्रेस का क्षेत्र नम्बर १ का सम्भापति बाल कृष्ण बस्नेत यसलाई सरकारको निरिहता भन्छन ।
चुनावमा नेताहरु आए, भोट मागे, जितेर गए । तर अहँ जनताको पीर मर्का बुझेनन् उनीहरुले । नाका खोल्न रतिभर पनि पहल गरेनन् उनीहरुले । यहाँका जनताका लागि त रोजगारी भनेपनि, व्यापार भनेपनि यहि नाका थियो र छ तर यहि नाका बन्द भएपछी यहाँका जनतासँग अर्थोपार्जनको अरु कुनै विकल्प छैन । र पनि मत जितेर जानेहरुले मन जित्न सकिरहेका छैनन् जनताको, र नागरिकहरु नाका नखुल्दाको पीडामा छन्।
यसो त तातोपानी नाकामात्र होइन, उता रसुवागढी नाकाका व्यवसायी र स्थानीयका पीडा पनि उस्तै छन् ।रसुवा गढी-केरुङ्ग नाका नखुल्दा जनता समस्यामा छन् । तर समस्याको समाधान अझै पनि भेटिएको छैन ।
रसुवागढ़ी-सिमापार व्यवसायी संघका अध्यक्ष नुर्पु शेर्पा भन्छन ठप्प भएको सीमा खोलेको जस्तो त गरिएको छ, तर जनता पीडामा छन् । व्यवसायीहरु मर्कामा छन् । कुनै बेला पर्यटकहरुको खुब भीड हुने रसुवामा अहिले पर्यटक छैनन्, आउनुपर्ने जति समान आएका छैनन्, जसका कारण सबैतिर समस्या छ । आएका समानमा पनि कतिपय समान हराएका छन्, कतिपय दुब्लिकेट समानहरु राखिदिने समस्या छ, नाका पूर्ण रुपमा नखुल्दा गाडीभाडामा पनापरी छ । समग्रमा जनता पीडामा छन् ।
यता गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष दावा दोर्जे तामाङ पनि नाका बन्द हुँदा स्थानीय सार्है मर्कामा परेको बताउँछन् । नाका बन्द छ भनौं भने सार्है कम समान आएको छ, जुन समान व्यवसायीका लागि हात्तीको मुखमा जिराजस्तै बनेको छ । नाका बन्द छैन भनौं भने अहँ आएको समानले नाकाको अर्थतन्त्रलाई खास योगदान पुगेको छैन, जनताहरु पीडामा छन् र नाका वरपर व्यवसायीहरु निकै ठुलो मारमा परेका छन् ।