×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सरकारद्धारा बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितलाई अनुदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल सरकारद्धारा बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितलाई अनुदान

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
म्याग्दी । गत वर्षको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितले आवास पुनर्निर्माणका लागि सरकारबाट पाँच लाख रुपैयाँका दरले अनुदान पाउने भएका छन् । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले हिमाली जिल्लाका बाढी पहिरो पीडितका लागि निजी आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँका दरले अनुदान दिने व्यवस्थासहितको कार्यविधि पारित गरेको हो । स्थानीय तहमार्फत तीन किस्तामा अनुदान व्यवस्थासहितको कार्यविधि आएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् । उनले भन ‘कार्यविधि अनुसार लाभग्राही छनोट गर्न ६ वटै स्थानीय तहलाई पत्राचार गरेका छौँ’, ‘जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एकमुष्ट आउने अनुदान पालिकामार्फत वितरण हुनेछ ।’ हिमाली जिल्लाको हकमा ५ लाख रुपैयाँ, पहाडी जिल्लाको हकमा ४ लाख रुपैयाँ र तराई जिल्लाको हकमा ३ लाख रुपैयाँ अनुदान दिने कार्यविधि तयार भएको छ ।
विघटित प्रतिनिधि सभाका सदस्य भूपेन्द्रबहादुर थापाले हिमाली जिल्लामा सूचीकृत भएका कारण म्याग्दीवासीले पहाड र तराईकाले भन्दा बढी अनुदान पाउने बताएका छन् । सरकारले २०७५ फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो । एक घर परिवारका सदस्यको देशभर कहीँ कतै जग्गा नभएको, बाढी पहिरोका कारण पुनः घर बनाउनै नसक्ने गरी जग्गा मासिएको परिवारले बढीमा थप ३ लाख रुपैयाँका दरले जग्गा खरीदका लागि पाउने व्यवस्था रहेको छ । गत जेठ ३० यता बाढी पहिरोका कारण पीडित बनेका सबैले अनुदान पाउने प्राधिकरणले जनाएको छ । पीडितले बनाउने घरको नमूनासमेत प्राधिकरणले सार्वजनिक गरेको छ । प्राधिकरणले स्थानीय तहको परिचालन र अनुगमनपछि पुनर्निर्माणको काम थाल्ने भएको हो । अनुदान रकम लाभग्राहीको खातामा जम्मा हुनेछ । स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीले किस्तामा अनुदान पाउँने भएका छन् । पीडितको लागत सङ्कलन र वास्तविक लाभग्राही पहिचानको जिम्मेवारी भने जिल्ला विपद् व्यवस्थापन समितिले पाएको छ ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले ४० वटा निजी आवास पुनर्निर्माण सुरु गरेको छ । मोनाले प्रति परिवार ५ लाख रुपैयाँ खर्च गरेर घर बनाउन लागेको हो । प्राधिकरणले उपलब्ध गराउने अनुदान घरबास गुमेकाले मात्रै पाउने भएका छन् । गत बर्खामा म्याग्दीका ८१ वटा बस्तीका १ हजार ८६ घर प्रभावित भएका थिए । पहिराले भत्किएर पूर्ण क्षति भएका २ सय ४७ घर पुनर्निर्माण र जोखिमयुक्त ८ सय २१ घर स्थानान्तरण गर्नुपर्ने तथ्याङ्क सङ्कलन भएको थियो । धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २ सय ९ घर, मालिकाको २२ वटा बस्तीका ३ सय ७५ घर, अन्नपूर्णका ८ वटा बस्तीका १ सय ३७ घर, मङ्गलाका ९ बस्तीका १००, रघुगङ्गाको १५ बस्तीका १ सय ६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनर्निर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: