झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन ।सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए । त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन । एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र चार सयभन्दा साना ठूला होटेल सञ्चालनमा छन् । यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा सङ्कट झेलिरहेको छ ।
होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दी यता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका छन् । कतिले घरधनीको भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय त्यागेका छन् । “नाका बन्द भएपछि आउजाउ ठप्प भयो, पर्यटक आउने क्रम रोकियो”, उहाँले होटेल व्यवसायी पलायन हुनुका कारण खुलाउँदै भन्नुभयो, “घरभाडा र बैंकको साँवाब्याज तिर्न नसकेर कैयौँ साथीले व्यवसाय नै छाडिदिनुभयो ।”
होटेल व्यवसायीहरुले नाका खुलाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाईसमेत गुहारे । काँकडभिट्टामा व्यवसायीहरुले सङ्घर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे । नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का नसुनेको अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । धर्नाका क्रममा प्रहरीसँग व्यवसायीको झडप भएको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताउनुभयो । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उहाँले बताउनुभयो । “पहिलेको भन्दा अहिले नाकालाई सहज तुल्याइएको छ”, प्रहरी नायब उपरीक्षक दाहाल भन्नुहुन्छ, “कोरोनाको जोखिम अझै सकिएको छैन भन्ने कुरा आम जनसमुदायले बिर्सनु हुँदैन ।”
भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौँ भारतीय नागरिक नेपाल आउने गर्छन् । उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा हाल नाकामा आवतजावत खुकुलो बनाइए तापनि पर्याप्त नभएको व्यवसायीहरुको भनाइ छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले महामारीको त्रास कम भएको र कोभिडको खोपसमेत सर्वसाधारणले लगाउन थालिसकेको अवस्थामा सीमाका नाकाहरु पूरै खुला गरिनुपर्ने माग गर्नुभयो । काँकडभिट्टा नाकाबाट आउजाउ गर्नका लागि मोटरसाइकल र सिटी रिक्साहरुलाई पुलसम्म जान दिइएको छ । बिरामी बोकेका एम्बुलेन्सहरु नाका पार भएर जाने गरेका छन् । पैदल यात्रीको भीड चाहिँ बढिरहेको छ ।
भारतीय नाका पानीट्याङ्कीमा नेपालीहरुलाई सीमा पार गर्न नागरिकता देखाउनपर्ने हुन्छ । नाका खटिएका सुरक्षाकर्मीले नागरिकता हेरेर नाका पार गर्न अनुमति दिँदै आएका छन् । नाकामा मालवाहक ठूला गाडीहरु भारतबाट एकतर्फीरुपमा नेपाल भित्रिरहेका छन् । सरकारले नाका खुलाउन पहल गरिरहेको धेरै पहिलेदेखि हल्ला आउने गरेको छ । शिक्षण संस्था, अस्पताल, सुपरमार्केट, यातायातलगायत सबै क्षेत्र खुला भइसकेको अवस्थामा सीमा नाकामात्र बन्द गरिनु असङ्गत भएको व्यवसायीको भनाइ छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्