
- अर्थ सरोकार सम्बाददाता
ताप्लेजुङ । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । अहिले ताप्लेजुङमा प्रतिमन १५ हजार रुपैयाँका दरले चिराइतोको कारोबार भइरहेको छ । ‘गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य १० हजार रुपैयाँ थियो, अहिले १५ हजार रुपैयाँले कारोबार गरिरहेका छौँ’, व्यवसायी रुद्र अधिकारीले भन्नुभयो ।
हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ । अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन् तर यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जङ्गलमा सङ्कलन गरेका किसान निरास थिए । न्युन बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भएपछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए । ‘अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जङ्गल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्य रूपमा फाइदा पुगेको छ’, चिराइतो खेती गर्दै आएका सिरिजङ्घा गाउँपालिकाका किसान खड्क गुरुङले भन्नुभयो ।
जिल्लाको सिरिजङ्घा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन् । कतिपयले जङ्गलमा गएर सङ्कलन गरी बिक्री वितरण गर्दै आएका छन् । ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ तर यो वर्ष कोभिड-१९ अर्थात् कोरोना सङ्क्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय बजारमा भने झापाको विर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्