×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रोकर कमिसनका नाममा ‘ब्रह्मलुट’ : ‘लगानीकर्तामाथि चरम अत्याचार हुँदा पनि सेबोन ब्रोकरहरुकै पक्षमा’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुनै बेला नेप्से अनलाइन प्रणालीमा जानुअगाडि लगानीकर्ताको कारोबारका लागि ब्रोकर कम्पनी धाउनुपर्ने अवस्था थियो । जसले गर्दा ब्रोकरहरुमा कामको ठुलो भर थियो । लगानीकर्ताको सम्पूर्ण कारोबार ब्रोकरले नै गरिदिनुपर्नेजस्तो अवस्था थियो । ब्रोकरको खर्च पनि धेरै थियो । लगानीकर्ताको काम गरिदिंदा लाग्ने जनशक्ति ठुलो थियो । 
तर केहि समययता नेप्से अनलाइन प्रणालीमा गएसँगै लगानीकर्ताले शेयर किनबेचसम्बन्धी सम्पूर्ण काम आफैँ गर्न थालेका छन् । अहिले सबै काम अनलाइनबाटै हुने भएका कारण लगानीकर्ताले ब्रोकर अफिस धाउनुपर्ने परिस्थिति छैन । अहिले त सार्है समस्यामा पर्दा बाहेक लगानीकर्ता ब्रोकरसम्म धाउनुपर्ने स्थिति छैन । ब्रोकरहरुको खर्च ह्वात्तै घटेको छ । पहिलाको तुलनामा जनशक्ति आधा पनि लाग्दैन ब्रोकर हाउसहरुमा ।
अर्कोतर्फ कुनै बेला दिनमा १ अर्वको कारोबार हुँदा लगानीकर्ताहरु खुसीले मिठाइ बाँड्थे । दिनमा औसत ४०-५० करोड कारोबार हुँदा पनि त्यो ठुलै कारोबार गनिन्थ्यो । तर अहिले दिनमा नै १२-१३ अर्व कारोबार हुन्छ । यसले ब्रोकरको कमिसन आम्दानी सगरमाथा झैं चुलिएको छ । एउटा ब्रोकरले महिनामा करोडौं रुपैयाँ कमाउँछ। अझ ब्रोकर नम्बर ५८ जस्ता ठुला ब्रोकरहरुले त यतिसम्म कमिसन असुल्छन् कि लाग्छ सेयर बजारमा सबै भन्दा बढी कमाउने भनेकै ब्रोकरहरु हुन् ।
लगानीकर्ताहरुले सेयर घाटामा बेच्दा पनि कमिसन बुझाउनुपर्छ । तर ब्रोकरहरुले जति कारोबार भयो, त्यहि अनुसार कमिसन असुल्छन्, त्यो पनि सार्है महँगो दरमा । हुन त यसअघि ब्रोकरहरुको कमिसन झन् बढी थियो । गत माघ २०७७ देखि कमिसन् केहि कम भएको हो । तर ब्रोकरहरुको कमाई जुन अनुपातमा बढेको छ, त्यो अनुपातमा कमिसनको घटेको प्रतिशत सार्है कम छ । जसका कारण आज पनि नेपाली लगानीकर्ताहरु ठुलो रकम कमिसनका रुपमा बुझाउन बाध्य छन् ।
ब्रोकर कमिसन घटाएको जस्तो गरेर थोरै घटाएर धितोपत्र बोर्डले ब्रोकरहरुकै संरक्षण गरेको आरोप यतिबेला चौतर्फी रुपमा लागिरहेको छ । यता चर्को कमिसन खाईपाई गर्दै आएका ब्रोकरहरु अव ब्रोकर कमिसन नघटाउन र बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिनका लागि धितोपत्र बोर्डमा ठुलै लवीङ गरिरहेको चर्चा पनि चौतर्फी रुपमा छ । बोर्डलाई यतिसम्मको आरोप लाग्ने गरेको छ कि सिमित ब्रोकरहरुले धितोपत्र बोर्डलाई मुठीमा राखेका छन् ।
माघ १ २०७७ पछाडी ५० हजार सम्मको कारोबारमा लगानीकर्ताले ०.४०२ प्रतिशतब्रोकर कमिसन तिर्ने गरेका छन् भने ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३६८५ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ । ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने व्यववस्था छ ।
करोड भन्दा माथिको कारोबारको हकमा लगानीकर्ताले ०.२६८ प्रतिशत तिर्नुपर्छ । लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने व्यवस्था छ ।
यसरि हेर्दा झन्डै १२-१३ अर्वको दैनिक सेयर कारोबार हुँदा मोटो रकम कमिसनका रुपमा ब्रोकरहरुलाई जाने गरेको छ भने धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लैजाने रकम पनि ठुलो छ । लगानीकर्ताहरु जसैगरी पनि मारमा परिरहेका छन् । ब्रोकर कमिसन घटाईदिएको जस्तो गरेर थोरै घटाउँदा यतिबेला धेरै लगानीकर्ता संगठनहरुको बोली बन्द भएको छ भने ब्रोकरहरुले भने चर्को असुली गरिरहेका छन् ।
यसो त ब्रोकरहरु सार्क राष्ट्रहरुको तुलना गर्ने हो भने नेपालको ब्रोकर कमिसन कम छ भन्ने तर्क गर्छन । तर विश्वकै तथ्यांक हेर्ने हो र नेपालको अहिलेको कारोबार रकम र केहि बर्ष अगाडीको कारोबार रकम तुलना गर्ने हो भने अहिलेको नेपालको ब्रोकर कमिसन बढीमात्र होइन, अत्याधिक बढी हो ।
धितोपत्र बोर्डले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिइरहेको छैन । जसका कारण प्रतिस्पर्धा हुन सकेको छैन । अर्कोतर्फ महँगो ब्रोकर कमिसन लिएर पनि ब्रोकरहरुले लगानीकर्ताको काम झन्झट नहुनेगरी गर्न सकिरहेका छैनन् । अहिलेको स्थितिमा ब्रोकरहरुमा जनशक्तिको व्यापक कटौती भएको छ । ब्रोकरहरुको खर्च सार्है नगन्य मात्र छ । तर ब्रोकरहरुले असुल्ने कमिसन भने सार्है ठुलो छ ।
अझ लकडाउनका बेला त ब्रोकरहरुकहाँ लगानीकर्ता जाने कुरा पनि भएन । ब्रोकरहरुमा सार्है कम मात्र कर्मचारीले काम गरिरहेका छन् । तर यहि बेला कारोबार रकमले दिनानुदिन रेकर्ड बनाइरहेको छ । जसका कारण ब्रोकरहरुको कमिसन यसरी थुप्रिरहेको छ कि लाग्छ यो देशमा सबै भन्दा बढी पैसा लकडाउनमा कसैले कमाइरहेको छ भने कि त्यो स्वास्थ्य सामाग्रीका व्यापारी हुन्, कि ति सेयर ब्रोकरहरु हुन् । अझ अरु व्यापारीले त रिस्क लिएर कामसमेत गरिरहेका छन् । तर सेयर ब्रोकरहरु त घरमै बसी बसी करोडौं रकम ब्रोकर कमिसनका रुपमा लिइरहेका छन् ।
यसै विषयमा विभिन्न सरोकारवालाहरुसँगको कुराकानीमा आधारित अर्थ सरोकारले तयार गरेको यो विशेष टेलिभिजन कार्यक्रम हेर्नुहोस्  :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: