×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओभर द मार्केट : सेयर बजारमा अचाक्ली भएकै हो त ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

ओभर द मार्केट : सेयर बजारमा अचाक्ली भएकै हो त ?

  • दिनेश आचार्य
पछिल्लो समय हरेक दिनजसो सेयर बजारमा नयां नया रेकर्डहरु बन्दै गएका छन । यसले मान्छेहरुमा अनेक भ्रम, खुशी र कन्फ्यूजनहरु पनि पैदा गरेको छ ।
— कतिलाई लाग्छ, यो अति भो । अब बेचेर बाहिरिनुपर्यो ।
— कतिलाई लाग्छ, बल्ल अलिअलि कमाईयो । अब अलिक थप्न पाए हुने ।
— कतिलाई लाग्छ, जति रेकर्ड हाने नि आफ्नो अझै सावा“ उठेको छैन ।
— नेप्सेले रेकर्ड हानिरहेको दिन पनि व्यक्तिगत पोर्टफोलियो रातो हुनेहरु धेरै नै छन ।
तितो भाषामा भन्नुपर्दा, अहिलेको मुख्य समस्या भनेको क्षणिक कारोवारी (लगानीकर्ता ?)को मनोदशा हो । सेयर किनेकै दिनमा बढिहाल्नुपर्ने र भोलि नै सर्किट हान्नुपर्ने मान्यताका साथ सेयर किन्नेहरु धेरै भए । खातामा सेयर आउने दिनसम्म ३० प्रतिशत बढे मात्र सहि मान्नेहरु धेरै छन । यो नै घातक हो ।
जसका कारण केही झण्डिमार भनिने साना कम्पनीहरुमा कर्नरिङ्ग गरेर भए पनि भनेजस्तै नाफा खाने प्रचलन शुरु भएको छ । दशर्कौसम्म केही नदिएका, समस्याग्रस्त र अझै केहीबर्ष केही नदिने कम्पनीहरुमा देखिएको आकर्षण र यसमा लगानी गर्दा पाउने गरेको अप्रत्याशित मुनाफाका कारण सेयर बजारलाई जुवाघर बनाउने प्रयास हुदैछ ।
मैले जहिले पनि भन्ने गरेको छु । सेयर बजार बढ्दा कसैले पनि हार्दैन । सबैले जित्ने खेल भनौ या कारोवार यही सेयर बजार नै हो । अन्यमा एउटाले गुमाए मात्र अर्कोले कमाउंछ । तर सेयर बजारमा सबैले कमाउंछन् ।
तर यो सबैले सधै कमाउन सम्भव छ त ? अवस्य पनि छैन । मार्केट घट्ने भनेको बढ्नको लागि हो र बढ्ले भनेको पनि घट्नको लागि हो ।
नेपालको नेप्सेको सबै सुचक उपसुचकहरुको गणना ठिक छैन । गणनाविधी नै अबैज्ञानिक छ । अझ पछिल्लो समय आएको फेरबदल गरिएको विकास बैंक, फाइनान्स र लघुवित्त समुहको सुचकमा त लाजमर्दो भएको छ । यसबारे छुट्टै चर्चा गरौंला ।
नेप्से बढ्दैमा कमाइन्छ भन्ने छैन । बैंकका सेयरमा लगानी गरेका लगानीकर्ताहरुको पीडा अहिले पनि सामाजिक सन्जालमा पोखिइरहेको भेटिन्छ । फण्डामेन्टल फिगरहरु हेरेर बलिया र राम्रो कम्पनीमा लगानी गर्दा पनि कमाइन्छ भन्ने छैन । यो त बजारको लहर र चलखेल अनुसार हुन्छ ।
अहिलेको मुख्य समस्या इन्साइडर ट्रेडिङ (भित्री कारोवार) हो । अन्य मुलुकमा गम्भीर वित्तिय अपराधको रुपमा लिइने भित्री कारोवार नेपालमा भने मजाकको बिषय बनेको छ । कुनै कम्पनीको बैठक बस्नुअघि नै भाइबर ग्रुपमा ब्रोकरले यो यो निर्णय हुदैछ किन्नुहोला भनेर मेसेज पठाउदा पनि नियामकहरुले हासेर टार्ने मुलुक हो यो ।
अझ नेपालमा त ठुला लगानीकर्ताहरु भनेका नै तिनै कम्पनीका प्रबद्र्धक वा निर्णयकर्ताहरु नै छन ।
अर्को भनेको कर्नरिगको खेल पनि हो । यसलाई रोक्न सकिन्न तर नियन्त्रण गर्न सकिन्छ ।
यो सिजनको बहार भनेको जलबिद्युत कम्पनीहरु हो । भन्न थालिएको छ, यसपालीको बुल हाइडोपावरको लागि मात्र आएको रहेछ । तर भन्नेहरुले बुझनुपरयो की, यसअघि सबैभन्दा पीडित पनि हाइडोपावरकै लगानीकर्ताहरु थिए । ८०० मा किनेको हाइडोपावरको सेयर ९० रुपैयासम्म आउदा पनि हरेस नखाइकन होल्ड गर्ने लगानीकर्ताहरुले अहिले जितेका छन ।
तर अहिले जसरी हाइडोपावरमा मान्छेहरु अन्धाधुन्द धुइरिएका छ, त्यो अत्यधिक जोखिममा छन । लगानीको निर्णय गर्दा भविष्यको प्रतिफल र कम्पनीको ग्रोथ अनि संभवनालाई मुख्य हेरिनुपर्दछ । तर हाइडोका बिषयमा अहिले यस्ता लजिकहरु मौन भएका छन । सबैको भनाई केछ भने, दिर्घकालका लागि र प्रतिफल खान किनेको हो र ? यो त खातामा सेयर आएकै दिन बेच्न पो किनेको ।
हो, यस्तै क्षणिक लगानीको तर्कहरुकै कारण बजार गाइड भैरहेको छ । तर कुनै पिक यस्तो हुन्छ आज किनेर पर्सि बेच्न किनेको सेयरले अलि अलि गरेर अहिलेसम्म कमाएको सबै पैसा खाइदिन सक्छ ।
झण्डीमार भनिएका कम्पनीहरुबाट नै अहिले बजारमा राम्रो प्रतिफल दिइरहेका छन । १०० भन्दा तल कारोवार हुने गुर्खा फाइनान्स, बेस्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, समृद्धी फाइनान्सहरु ३ गुणादेखि ५ गुणा बढ्यो । ५० रुपैया हाराहारी कारोवार भएका खानिखोला, आखुखोला, नेशनल हाइडोपावरजस्ता कम्पनी धेरै बढे । ६० रसुवागढ देखि ७० रुपैया हाराहारीको छ्याग्दी, हुर्जा, पाचथर पावर, सिनर्जी, न्यादी पावरहरु कैयन गुणा बढे । सबैमा यस्तो छ । तर राम्रो भनिएका र नियमित राम्रो प्रतिफल दिने चिलिमे र बुटवल पावर कम्पनीचाही उस्तै छ । यो भनेको स्वभाविक गतिमा नभई लिकबाहिर जबरजस्ती कुदाइएको रेलजस्तै हो ।
बजारमा सबैले कमाएका छन । बैंकका लगानीकर्ताबाहेक । खासगरी एसबिआई बैंक, स्टाण्डर्ड चाटर्ड र एभरेष्टजस्ता ब्लुचिप भनिने बैंकका सेयरधनीहरु चारबर्ष अगाडी किनेको सेयरमा अहिले पनि तिन चौथाई घाटामा छन । तर समस्याग्रस्त भएर दशकौ थन्किएका फाइनान्स कम्पनीहरु ३ गुणा बढेको छ ।
सेयर बजारबाट कमाउनु नै सबैको लक्ष्य हुन्छ । कतिपयको चाही तत्काल कमाउनुभन्दा नि भविष्यका लागि लगानी गर्ने उद्देश्य पनि हुन्छ । (८, १० बर्षका लागि दिर्घकालिन लगानी गर्छु भन्नेहरुका लागि प्रबद्र्धक सेयर धेरै राम्रो विकल्प हो ।)
अधिकांश लगानीकर्ताको उद्देश्य तत्काल मुनाफा गरिहाल्ने नै हुन्छ । यसर्थ तुरुन्तै उड्ने खालका कम्पनी भन्दै सस्ता र साना कम्पनीहरुमा नयां लगानीकर्ताहरु धुइरिएका छन । अनि यही प्रवृत्तिलाई उपयोग गर्दै आफु कमाउनका लागि पुराना र ठुला लगानीकर्ताहरुले चलखेल गरेका छन । बजारमा यस्तो सामान्य हो । सबैले आफुले होल्ड गरेको कम्पनीलाई जसरी हुन्छ बढाउन नै चाहन्छ र कमाउन चाहन्छ ।
तर नया र साना लगानीकर्ताहरु जो ऋणको रकम भन्दा आफ्नै बचतको रकम लिएर बजारमा आएका हुन्छन । उनीहरुचाही यस्ता क्षणि कम्पनीका पछी दौडनु हानिकारक हुन सक्छ ।
अब के गर्ने ?
भनाई छ, गरिब भएर जन्मनु तपाइको गल्ती होइन तर गरिब भएर नै मर्नुचाहि तपाईकै गल्ती हो ।
यस्तै झण्डीमार कम्पनीबाटै सही, पैसा कमाउनु राम्रो हो । तर त्यो कमाएको पैसा अर्को झण्डिमार कम्पनीमा हालेर डुब्नु अनि पछुताउनुचाही गलत हो ।
मान्छेहरुको बानि के हुन्छ भने जुनमा कमायो, त्यही मात्र हेर्ने हुन्छ । बजारमा ९९ प्रतिशत लगानीकर्ता अध्ययन गरेर बुझेर हैन की साथीले कमायो भन्ने सुनेकै भरमा हुर्रिएर आएका हुन्छन । यसर्थ उनीहरु एउटा झण्डिमारबाट अर्को झण्डिमारतिर भागादौड गरिरहेका भेटिन्छन । तर पछिल्ला केही दिनमा यस्तै प्रवृत्तिले मुनाफा पनि राम्रो गरेका छन । तर उनीहरुले त्यो मुनाफा जोगाउने संभावना भने कम रहन्छ ।
अहिलेको बजारमा फण्डामेन्टल थिएरीको दोहोलो काटिएको छ । हुन त यसअघि पनि टेक्निकल भनिने धर्केहरुले यसको दोहोलो काट्ने गरेकै हो । तर यसपटक धर्केहरुको धर्काले पनि त्यति काम गरेको छैन । यसको मतलब बजारको गति कसैको अनुमानमा चलेको छैन ।
अब गर्ने भनेको फण्डामेन्टल एनलाइसिस नै हो । बुल मार्केटले उचाई लिएपछी कम्पनीका वित्तिय सुचकहरु हेरेर लगानी गर्नेहरु कालान्तरमा पछुताउनु पर्दैन ।
यसमा मेरा केही सुझावहरु नयां लगानीकर्ताका लागि ः
१, पछिल्ला ३ बर्ष नियमित राम्रो प्रतिफल दिइरहेका कम्पनी छान्नुस ।
२, बिजनेस ग्रोथ राम्रो भएको र प्रबद्र्धक तथा व्यवस्थापन समुह असल रहेको कम्पनी छान्नुस ।
३, बजारमा बोनस र हकप्रदका कारण प्रभाव पर्ने भएकाले पुंजीकोष कम भएका साना पुजीका कम्पनी छान्नुस । कर्नरिङ गरेर भाउ बढाउनेहरुले पनि यस्तै साना कम्पनी नै छान्छन । पुजीकोष कम भएका कम्पनीले नगद लाभांश हैन की बोनस र हकप्रद दिनुपर्ने बाध्यता हुन्छ ।
४, मर्जरको प्रभाव बिश्लेषण गर्नुस । किनकी मर्जरका क्रममा लामो समय कारोवार रोकिन्छ । कतिपय अवस्थामा मर्जरले कारोवार रोकिदा फाइदा पनि हुन्छ भने कतिपय अवस्थामा चाही निकै घाटा नि हुन सक्छ । यसबाहेक मर्जरमा आउने स्वाप रेसियोको प्रभावबारे पनि बिश्लेषण गर्नुस ।
५, लघुवित्त कम्पनीको हकमा मर्जर भैसकेका कम्पनीहरु छान्नु राम्रो हुन्छ , किनकी राष्ट बैंकले लघुवित्तलाई मर्जरको दवाब दिएको छ र मर्जर गरेर आउनेलाई सहुलियत दिने भनेको छ । जसमा प्रोभिजन छुटदेखि रोकिएको हकप्रद दिइनेसम्मका कुराहरु पनि हुन सक्छन । यसबाहेक मर्जरका क्रममा आएको स्वाप रेसियोको नाफा पनि बोनसका रुपमा पाउन सकिन्छ । साथै मर्जरले लगानी फ्रिज हुन्छ की भन्ने अन्योल पनि रहेन ।
६, झण्डीमार भनिएका कम्पनीको नाफा सिफ्ट गर्ने यो सुनौलो मौका पनि हो । खराब कम्पनीमा कमाएको रकम राम्रो नियमित प्रतिफल आउने कम्पनीमा लगानी गरेर सुरक्षित रहनु बुद्धिमानि हुन्छ ।
७, कुनै पनि बुल खराब कम्पनीको चमत्कारबाट सकिदैन । यसर्थ फण्डामेन्टल राम्रो भएका कम्पनीहरु कालान्तरमा नसोचेको रेसियोमा बढ्न सक्छन । यदी बढेनन भने पनि नियमित प्रतिफलबाट घाटा पुर्ति हुन्छ ।
८, यदी बजार घटि नै हाल्यो र तपाइले किनेको सेयर लामो समय होल्ड गर्नुपर्यो भने तपाइले किनेको कम्पनीले कम्तिमा पनि मुद्रास्फिती, लगानीको व्याजदर थेग्ने गरी लाभांश देओस । यस्तो कम्पनी छान्नुस ।
९, अरु थप सुझाव र टिप्पणीका लागि अर्को स्तम्भ कुर्नुस ।
नेपालमा सेयर बजारलाई आम जनमानसमा पुराउने व्यक्तिको रुपमा दिनेश आचार्यलाई चिनिन्छ । अहिले सेयर बजारसम्बन्धि मिडिया धेरै भए पनि १५ बर्षअघि सेयर बजार नामक टेलिभिजन कार्यक्रम र त्यसपछी सेयर बजार साप्ताहिकको शुरुवात गरेर आचार्यले आम सर्वसाधारणलाई सेयर बजारबारे बुझाएका थिए । सेयर बजार साप्ताहिकमा आचार्यले लेख्ने ओभर द मार्केट स्तम्भ कुनै जमानाको निकै चर्चित स्तम्भ हो । लकडाउनका कारण केही सातादेखि सेयर बजार पत्रिकाको प्रकाशन स्थगित भएको छ । यसर्थ सेयर बिश्लेषक आचार्यले आफ्नो स्तम्भ अर्थ सरोकारमार्फत पस्कने निर्णय गर्नुभएकोमा अर्थसरोकार टिम आभार व्यक्त गर्दछौं । — सम्पादक
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: