
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
हामीले निर्मल प्रधानसँग लिएको एक अन्तर्वार्तापछी धितोपत्र बोर्ड आगो भएछ…
हाम्रो अन्तर्वार्ताका क्रममा निर्मल प्रधानले यी कम्पनी रिस्की छन्, नकिन्नुहोला र यी कम्पनी राम्रा छन् किन्नुहोला भनेर नाम नै किट्नु भएको थियो ! २५ बर्षको अनुभवले खारिएका निर्मल प्रधानले यहाँ फसिन्छ, यहाँ सुरक्षित भईन्छ भनेर आम लगानीकर्ताहरुलाई सुसुचित गराउने उद्देश्यका साथ सार्वजनिक गरिएको उक्त कार्यक्रमपछी धितोपत्र बोर्ड फायर भएको छ ! किनकि सो अन्तर्वार्ताका क्रममा उनले रिस्की भनेका सेयरका मूल्य धेरै माथि गएको छ, र केहि ठुला खेलाडीहरु सो सेयरलाई थप उचालेर साना लगानीकर्ताहरुलाई भिराउन चाहान्थे ! सो उद्देश्यमा ब्रेक लाग्ने भएपछी दबाब गयो र धितोपत्र बोर्डले विज्ञप्ति निकाल्यो भन्ने जानकारहरुको ठम्याई होइन है भन्न सक्ने स्थिति छ त ? र त हामी आज केहि बोल्दैछौं, किनकि हाम्रै कार्यक्रमलाई लक्षित गरेर विज्ञप्ति निकालेको छ धितोपत्र बोर्डले !
धितोपत्र बोर्डका सह प्रवक्ता ज्यू, जसले यस्तो विज्ञप्तिमा हस्ताक्षर गर्नु भयो तपाईंलाई र सिंगो धितोपत्र बोर्डलाई हाम्रो केहि प्रश्नहरु छन् :
१. फलानो कम्पनी कमजोर छ है, ख्याल गर्नु नै, डुबिएला है भनेर अनुभवी लगानीकर्ताले कुरा राख्दा तपाईंको टाउको किन दुख्यो ? कमजोर कम्पनीहरुलाई ठुलाले खेलाएर सानालाई भिडाएर साना डुब्नुपर्ने थियो ? कि ठुला खेलाडीले खेलिरहने, साना फसिरहनुपर्ने थियो यो बजारमा ?
२. सबैलाई थाहा छ धितोपत्र बोर्ड जव बैंकको सेयर मूल्य बढ्न थाल्छ, तव होसियार है ख्याल गरेर लगानी गर्नुस भनेर विज्ञप्ति निकाल्छ, अनि केहि दिन नसक्ने कम्पनीहरुको मूल्य २००० माथि पुग्दा बोल्दैन । किन बोल्नुहुन्न महोदय यस्तो विषयमा ? साना फस्दा टुलुटुलु हेर्ने, ठुलाले कमाउँदा ताली पिटेर बस्ने हो र ? कमजोर कम्पनीलाई २००० माथि पुग्दा त्यसकोचाहिं जिम्मेवारी हुँदैन ? के तपाईंले भन्न खोज्नुभएको स्वतन्त्रता यहि हो ?
३. हुने नहुने वित्तीय विवरण निकालेर झुटको खेती गरेर लगानीकर्ताहरुको आँखामा छारो हालिरहेका छन्, त्यो बेला तपाईं किन बोल्नु भएन ? कुन कानुनले रोक्यो विज्ञप्ति निकालेर लगानीकर्ताहरुलाई सचेत गराउन ? कसको प्रभावले गर्नुभएन कारवाही, ती खुलेआम झुटको खेती गर्नेहरुलाई ?
४. अजोड इन्स्योरेन्समा खुलेआम इन्साइडर ट्रेडिङ भयो, धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सचेत किन गराएन? अझ लाजमर्दो कुरा त यस्तो बेलामा पनि उजुरी कुरेर बस्यो बोर्ड ! त्यो दिन महँगोमा सेयर किन्नेहरु कसरी फसेका छन् बोर्डलाई थाहा छ ? यसको जिम्मेवारीचाहिं बोर्डले लिनुपर्दैन ? अनि आज साना लगानीकर्ताहरुलाई यो कम्पनी ओभरभ्यालुड छ, किन्दा रिस्क हुन्छ भनेर २५ औं बर्ष अनुभव भएका व्यक्तिले भन्दाचाहिं तपाईंको टाउको किन दुख्यो ? बोर्डका उच्च अधिकारीको नियतमा प्रश्न उठाउने ठाउँ देखेका छन् है लगानीकर्ताहरुले ।
५. बजारमा खुलेआम कर्नरीङ हुँदा, इन्साइडर ट्रेडिङ हुँदा तपाईं उजुरी कुरेर बस्ने… अनि हामीले साना लगानीकर्ताहरुलाई केहि टिप्स दिनका लागि अनुभवी अथितिलाई बोलाएर प्रश्न गर्दा तपाईंको टाउको दुख्ने ? यो कुन विधिको शासनभित्रको न्याय हो महोदय ? बताईदिनुपर्यो ।
६. एक पटक छातीमा हात राखेर भन्नुहोस् धितोपत्र बोर्डका सरहरुले, के आजको मूल्यमा कमजोर तर २००० माथि पुगेका सेयरहरु लंग टर्म होल्ड गर्न सक्नुहुन्छ ? अहँ सक्नुहुन्न ! सक्नुहुन्न भने अरु पनि फस्दै छन् है भनेर जानकारी दिंदा किन टाउको दुखाउनुहुन्छ ?
७. भाइबर ग्रुपमार्फत कुन सेयर बढाउने कुन सेयर घटनाउने भन्ने सल्लाह गरेर सेयर कर्नरिङ गरिएको छ, तपाईंहरु बोल्नुहुन् । अझ उजुरी कुरेर बस्नुहुन्छ । गलत नै काम भएपनि स्पष्टीकरण सोध्ने र केस मिलाउने मात्र काम गर्नुहुन्छ । तर महोदय, निर्मल प्रधानले जनतालाई सुसुचित गराउंदा तपाईंलाई उनका विरुद्ध कसले उजुरी दियो ? होइन भने कसैको दबाबमा आएर किन यस्तो विज्ञप्तिबाजीमा उत्रनुभयो ?
८. हिजो पुनर्बीमा कम्पनीको सेयर ५००० पुग्छ भनेर मूल्य कति उचालियो । हाइएस्ट प्राइसमा किन्नेहरु अहिले फसेर बसेका छन् । त्यो बेला तपाईंहरु चुइक्क बोल्नुभयो ? अहँ बोल्नुभएन । किनकि त्यो बेला त साना लगानीकर्ताहरु फसेका थिए । ठुलालाई त मोज नै थियो । होइन र ? होइन भने किन बोल्नुभएन ?
९. बिज्ञप्तिमा बजारको स्वतन्त्रताको कुरा उठाइएको रहेछ, के बजारको स्वतन्त्रता भनेको ठुलाहरुले जे गर्दा पनि धितोपत्र बोर्ड चुप लाग्ने, उजुरी कुरेर बस्ने… ठुलाले महँगो मूल्यमा सेयर पुर्याएर सानालाई घर खेत बारी नै जानेगरी फसाउँदा रमिता हेर्ने अनि साना लगानीकर्ताहरुलाई यो सेयर सुरक्षित छ भनेर जानकारी दिंदा चाहिं स्वतन्त्रता खोसिने हो ?
१०. अजोड इन्स्योरेन्सका खेलाडीहरुलाई कारवाही नगर्ने, झुटो विवरण निकाल्ने कुनै पनि हाइड्रोलाई कारवाही नगर्ने अनि, साना लगानीकर्ताहरुलाई यो सेयर रिस्की छ भनेर बोल्दा तपाईंहरुको टाउको दुख्ने ? यो कुन तरिका हो सरहरु ? अलिकति त सोच्नुपर्ने होइन र ?
११. धितोपत्र बोर्डलाई मेरो आग्रह छ, त्यो पनि दुई हात जोडेर, लगानीकर्ता मुर्ख छन् भन्ने कद्दापी नसोच्नुहोला । कसको दबाब थेग्न नसकेर तपाईंले विज्ञप्ति निकाल्नु भयो सबैले बुझेका छन् । किन ब्रोकर लाइसेन्स दिन ढिलो भएको छ, त्यो पनि बुझेका छन् । खुलेआम इन्साइडर ट्रेडिङ हुँदा तपाईं किन मौन बस्नुहुन्छ सबैले बुझेका छन् । प्लीज यति साह्रो बुझ पचाउने काम नगरिदिनुहोला !
१२. हो सेयर बजार सम्बन्धि स्पष्ट कानुनले सेयर मूल्यलाई असर गर्ने काम कसैले गर्न पाउँदैन भन्ने तथ्य र कानुन हामीले बुझेका छौं र यसलाई उच्च सम्मान पनि गर्छौं । तर यसको अर्थ तपाईं सो कानुनलाई तपाईंले चाहेको विश्लेषण गर्न पाउनुहुन्छ भन्नेचाहिं पक्कै होइन । हिजो खुलेआम बजारमा मनपरी हुँदा सो कानुन हेर्न पाउनुभएन ? कि भ्याउनुभएन ?
१३. अझ विज्ञप्ति लेख्ने रुपेश केसी, धितोपत्र बोर्डका सह प्रवक्ताज्यूलाई एउटा कानुन स्मरण गराउ है !
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को दफा २३ मा निष्काशन हुन लागेको धितोपत्र सम्बन्धी जानकारी मूलक प्रचारप्रसार तथा विज्ञापन बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य किसिमको प्रचारप्रसार तथा विज्ञापन गर्न पाइने छैन र निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र निष्काशन खुला रहेको अवधिमा तथ्यले पुष्टि गर्ने बाहेक धितोपत्रको माग अत्याधिक भएको आशयको प्रचारप्रसार गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको छ ।
तर सर्वोत्तम सिमेन्टले ‘आइपीओ जारी पश्चात पहिलो तीन महिना भित्रै १० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सो बापतको झण्डै १०० प्रति सेयर को आम्दानी तत्कालै हुने’ भनेर प्रचार गरेको थियो । र सो कार्यक्रममा अतिथि बनेर तपाईंले ठुला ठुला भाषण गर्नु भयो ?
हिम्मत छ सो कम्पनीलाई किन यसो गरेको भनेर सोध्न ?
कसरी हुन्थ्यो ठुला विरुद्ध बोल्ने ? बोल्ने त सानाहरु फस्दैछन् भनेर बताईदिनेहरुविरुद्ध न हो होइन ? होइन भने हिम्मत गर्नुस, चुनौती भयो यो आम लगानीकर्ताको
१४. धितोपत्र बोर्डलाई स्मरण गराउ, बुटवल पावर कम्पनीको एफपीओ जारी गर्दा कम्पनीको आह्वान पत्रमा बुटवल पावर कम्पनीको लगानी भएको खिम्ती आयोजना २ बर्ष अवधिमै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणमा जाँदैछ , र बाँकी ५० प्रतिशतमा डलरमा भएको पीपीए नेपाली रुपैयाँमा कन्भर्ट हुने तथ्य लुकाएर ४०१ रुपैयाँ प्रिमियम जारी गरेर कसरी एफपीओ जारी गर्न किन दिइयो ? यसको हिसाबकिताब भोलि लगानीकर्ताले मागे भने के गर्नुहुन्छ ? यो त एउटा उदाहरण भयो, अरु के के भएको छ धितोपत्र बोर्डमा हामीलाई भन्दा तपाईंहरुलाई नै थाहा होला ।
१५. अर्को कुरा संचारमाध्यमलाई सचेत गरिन्छ भनेर विज्ञप्ति निकाल्नुभएछ । अनि हामी संचारमाध्यमलाई धितोपत्र बोर्डले सचेत गर्ने हो भने इन्साइडर ट्रेडिङको छानविन चाहिं अव के प्रेस काउन्सिलले गर्ने ? देशमा सम्बन्धित पक्षलाई सचेत गराउने, कारवाही गर्ने स्पष्ट निकाय र कानुन छ महोदय, यसरी जथाभावी गर्दा तपाईंले यस्तो किन गरेको भन्ने तथ्य सबैले बुझ्छन्, बुझेको दिन गाह्रो पर्ला नि । हामी त हिजो पनि स्वन्तत्न्र प्रेसका विरुद्ध लडेकै हो, आवश्यक परे भोलि पनि लड्छौं, तर जनतालाई, लगानीकर्तालाई सुसुचित गरेकै कारण हातमा हत्कडी लगाउनुपर्छ भने महोदय, अर्थ सरोकार डटकमको फुटरमा हाम्रो कार्यालयको पूरा ठेगाना छ र म सो संचारमाध्यमको सम्पादक विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म त्यहीं हुन्छु, पक्रिन आउनुहोला ! जनतालाई फस्न बाट जोगाएर सुसुचित गरेकै कारण जेल बस्नुपर्छ भने एक दुई महिना होइन, यो बजार बलियो हुन्जेल, लगानीकर्ताहरुले बुझुन्जेल म जेल बस्न तयार छु !
(सुरज प्याकुरेल अर्थ सरोकार डटकमका सम्पादक हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्