×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एक घर, एक धारा’को लक्ष्यसहित निमार्ण भयो २१ करोड ५२ लाखको लागतमा खानेपानी आयोजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘एक घर, एक धारा’को लक्ष्यसहित निमार्ण भयो २१ करोड ५२ लाखको लागतमा खानेपानी आयोजना

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ । एक समय थियो तिर्खा मेट्न थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे । अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका-२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक धारा’ को लक्ष्यसहित चार वर्षअघि सुरु भएको ‘जसपुर-घामपानी-मसरा’ खानेपानी तथा सरसफाइ आयोजनाले नरेठाँटीको खानेपानी समस्या सँधैँका लागि अन्त्य गर्ने भएको हो ।
घरघरै खानेपानी आएपछि सुविस्ता भएको थुम्काकी दुर्गादेवी भण्डारीले बताउनुभयो । ‘पानीको साह्रै दुःख थियो, अहिले त धेरै सहज भएको छ’, उहाँले भन्नुभयो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीअन्तर्गत २१ करोड ५२ लाखको लागतमा उक्त आयोजनाको काम भइरहेको छ । आयोजना कार्यालयका इञ्जिनीयर प्रदीप रेग्मीले आउदो आवभित्र काम सक्ने लक्ष्य लिइएको बताउनुभयो । ‘आयोजनाको भौतिक प्रगति राम्रो छ, सरासर काम भए एक वर्षमा सबै घरधुरीमा खानेपानी पुग्छ’, उहाँले भन्नुभयो ।
ट्याङ्की निर्माणको काम लगभग सकिएकाले अहिले पाइप विछ्याने र खानेपानी वितरणमा आयोजनाको काम केन्द्रित छ । आयोजनाका सुपरभाइजर मणि कँडेलले ठूलासाना गरी २६ वटा ट्याङ्की निर्माण भइसकेको जानकारी दिनुभयो । १० देखि ५० घनमिटरसम्मका ट्याङ्की बनाएर खानेपानी वितरणको प्रबन्ध मिलाइएको छ । नरेठाँटी बजार र आकाशे पानीमा ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ । भूगोल र जनसङ्ख्याको अवस्थिति हेरेर ट्याङ्की निर्माण गरिएको हो ।
आयोजनाबाट लाभ पाउने ६५० घरधुरीमध्ये दुई सय बढीमा खानेपानी वितरण भइसकेको सुपरभाइजर कँडेलले बताउनुभयो । ‘अब पाँच/सातवटा ट्याङ्की निर्माण गर्न बाँकी छ, अहिले मुख्य रुपमा पाइप विछ्याउने र खानेपानी वितरणको काम भइरहेको छ’, उहाँले भन्नुभयो । उपभोक्ताले मिटर प्रणालीबाट खानेपानीको उपभोग गरिहेको आयोजनाले जनाएको छ । छिट्टै ठाना, बहेली र घरघरमा खानेपानी वितरणको काम शुरु हुँदैछ । यसअघि नरेठाँटी बजार, पैँयूडाँडा, थुम्का, जस्कुरलगायतका बस्तीमा खानेपानी पुगिसकेको छ ।
हालसम्म झण्डै दश करोड बराबरको काम सकिएको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बाँस्तोला निर्माण सेवाले कामको जिम्मा लिएको छ । सिङ्गो वडाभरि रहेका मुहानलाई केन्द्रित गरी आयोजनामार्फत घरघरमा खानेपानी वितरण गर्न लागिएको समितिका अध्यक्ष रुमबहादुर कुँवरले बताउनुभयो । खानेपानीको सहज सुविधाका लागि यति ठूलो लगानीको आयोजना गलकोटकै पहिलो रहेको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो ।
‘आयाजनाबाट सिङ्गै वडाभरिका घरधुरीमा धारा पुग्छ, यसबाट स्थानीयवासीलाई ठूलो सुविधा हुनेछ’, उहाँले भन्नुभयो, ‘सङ्घीय सरकारको बहुवर्षीय योजना रहेकाले निर्धारित समयमै आयोजनाको काम सकिने विश्वास छ ।’ आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्षको खर्चको बजेट आउन बाँकी छ । यो वर्षदेखि केन्द्रीय खानेपानी शीर्षकमा बजेट छुट्टिने भएकाले स्रोत व्यवस्थापनमा कमी नहुने इञ्जिनीयर रेग्मीले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: