×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायमा आत्मनिर्भर बनाउन किसानलाई पालिकाको अनुदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

व्यवसायमा आत्मनिर्भर बनाउन किसानलाई पालिकाको अनुदान

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

कैलाली । कैलालीको जानकी गाउँपालिकाका पशुपालक किसान व्यवसाय बढाउन अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् । किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो । गाउँपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७/७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो ।
यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रमसमेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ । पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा सहयोग पुगेको बताउँछन् । जानकी-१ धर्मापुरका ओमप्रकाश चौधरीले दुई वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गरिरहनुभएको छ । व्यावसाययिक फार्म दर्ता गरी व्यवसाय शुरु गर्नुभएका चौधरीले बाख्रा र हाँस पाल्नुभएको छ । सात वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका चौधरीसँग हाल २५ बाख्रा र २५ हाँस पुगेका छन् ।
उहाँले गाउँपालिकाको पशुसेवा शाखाबाट विभिन्न किसिमका अनुदान सहयोग पाउनुभएको छ । ‘बाख्रालाई औषधोपचार, घाँसको बीउ, उन्नत जातको बोयर बोका, घाँस काट्ने मेसिन सहयोग पाएँ जसले मलाई निकै उत्साहित बनाएको छ’, ओमप्रकाशले भन्नुभयो, ‘व्यवसायमा सहयोग पुगेको छ । मजस्तो सानो व्यवसाय गर्ने मानिसको उन्नत जातको बोका किन्ने, घाँस काट्ने र दाना बनाउने मेसिन किन्ने क्षमता छैन । पालिकाले अनुदानमा दिएर व्यवसायमा निरन्तरता दिन हौसला मिलेको छ ।’
जानकी-९ मूर्तियाका प्रकाश विकले पनि तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएको छ । तीन वर्षअघि पे्रम अमृता बाख्रापालन फार्म दर्ता गरी १७ वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका विकसँग हाल ५६ बाख्रा छन् । तीमध्ये उहाँसँग २८ वटा उन्नत जातका बाख्रा छन् भने ३२ वटा स्थानीय जातका बाख्रा छन् । व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका विकले पनि गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन, बाख्राको औषधि, घाँसको बीउ, पशु प्राविधिको निःशुल्क सहयोग पाइरहनुभएको छ ।
‘गाउँपालिकाबाट जुन सहयोग र अनुदान पाएको छु यसले मलाई थप व्यवस्थापन गर्न सहयोग र हौसला मिलेको छ’, उहाँले भन्नुभयो, ‘अझै बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पनि पाएँ । अब व्यवस्थापनमा समेत सजिलो हुने भएको छ । व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । समय व्यवस्थापनमात्र होइन राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।’ विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशुकर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताउनुभयो ।
युवालाई स्वदेशमै रोजगारमूलक बनाउन कृिषकर्ममा लागेका युवालाई हौसला दिनका लागि स्थानीय सरकारले आगामी दिनमा अझ प्रभावकारीरुपमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएका वडा नं ४ कञ्चनपुरका रेजिना कठरिया पालिकाको सहयोगपछि यो व्यवसाय विस्तार गर्ने योजनामा हुनुहुन्छ । ‘पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ’, कठरियाले भन्नुभयो, ‘यसले हामीलाई थप प्रोत्साहन मिलेको छ । मैले त पशुपालनलाई थप विस्तार गर्ने बारेमा घरमा सल्लाह गर्दैछु ।’
जानकी-८ का दानबहादुर विक पनि दुई वर्ष एकीकृत पशुपक्षी फार्म दर्ता गरी भैँसीपालन गरिरहनुभएको छ । एक भैँसीबाट शुरु भएको उहाँसँग हाल छ भैँसी र चार बाख्रा छन् । विकले गाउँपालिकाबाट पशुलाई रोगविरुद्धको औषधि, मौसमअनुसारको घाँसको बीउ, दाना बनाउने र घाँस काट्ने मेसिन, सिँचाइका बोर्डिङलगायतका सहयोग पाउनुभएको छ । उहाँ गाउँपालिकाबाट पाएको अनुदानबाट आफ्नो व्यवसायमा थप टेवा पुगेको बताउनुहुन्छ । ‘यसलाई सदुपयोग गर्न सके अवश्य पनि व्यवसाय फस्टाउन मद्दत मिल्छ’, उहाँले भन्नुभयो ।
पालिकाले पशु व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने, हौसला दिनेमात्र होइन किसानलाई पोषणको महत्वबारे समेत सिकाउने गरेको छ । घरमै उत्पादन भएका खानेकुरा दही, दूध, माछामासु, अण्डा खाएर पोषणमा सुधार ल्याउने प्रयाससमेत पालिकाले थालेको छ । पालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाबाट सहयोग गर्ने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुन्छ । ‘हामी आगामी दिनमा पनि सहयोग गर्छौं, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ, कृषिमा लागेकाले सहयोग नपाउने कुरै हुँदैन, हामी कृषि र पशुपालन गर्ने किसानलाई यहीँ स्थापित गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘कृषक आत्मनिर्भर भए मात्र गाउँपालिकाको विकास हुने भएकाले हामीले कृषिलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याएका छौँ ।’
गाउँपालिकाले कृषकलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन २९९ बङ्गुुुरका पाठापाठी, एक लाख आठ हजार १८१ माछाका भ्रुण, पाँच वटा बोयरक्रस बोका, १२० बाख्रा, १६ वटा दाना बनाउने र घाँस काट्ने मेसिन, १४१ वटा कुखुरा वितरण गरेको पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले बताउनुभयो । उहाँले कृषकको लागत घटाई उत्पानमा वृद्धि गर्न कृत्रिम गर्भाधानका कार्यक्रम, कृषकको क्षमता विकासका तालीम सञ्चालन, सुनौलो हजार दिनका ४७ आमालाई कुखुरा वितरण, च्याप्कटर वितरणलगायतका कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिनुभयो । ‘हामीले पशुपालक कृषकको लागत घटाई उत्पादनमा वृद्धि गर्न अनुदान वितरणका कार्यक्रम गरेका हौँ’, उहाँले भन्नुभयो, ‘हामीले अनुदानमात्र होइन निःशुल्करुपमा कृषकलाई मौसमअनुसार घाँसको बीउ, प्राविधिक ज्ञान, औषधि वितरणजस्ता कार्यसमेत गरेका छौँ ।’
कार्की पालिकाले पशुतर्फ विभिन्न सहयोगका कार्यक्रम अघि सारेपछि पालिकामा पशुपालनमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । ‘अहिले यो पेशालाई युवाले समेत रोज्न थालेका छन् । विदेश जानु तथा भारतमा कमाउन जानुभन्दा यहीँ घर परिवारसँगै बसेर काम गर्ने रोजाइ युवाले बनाउन थालेका छन्’, कार्कीले भन्नुभयो, ‘आफ्नै ठाउँमा काम गरे पो आर्थिक प्रगति हुन्छ । पशु व्यवसायबाट पनि आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले किसानलाई सघाउन थालेका हौँ ।’ -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: