RBB AD

कालिका लघुवित्तमा सीइओका काण्डै काण्ड, खराब कर्जा लुकाए, दोहोरो भत्ता पचाए, छोरालाई जागिर खुवाए (प्रमाणसहित)

GARIMA BANK

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ । धेरैअघिदेखि नै नक्कली भ्याट बिल काण्डदेखि अनेक घोटाला काण्डसम्म मुछिएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ सीइओ आएपछि झन् बेथिति बढेको पाइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले संस्थामा आफ्नो पदको दुरुपयोग गरी अनेक काण्ड मच्चाउने गरेको पाइएको हो । सीइओ अधिकारीले एकातर्फ खराब कर्जा लुकाएको भन्दै बोर्ड बैठकमा चर्को बहस भएको छ भने अर्कोतर्फ उनले दोहोरो भत्ता लिएर प्रचलित नियम विपरितको सेवा सुविधा लिएको खुलासा भएको छ । अधिकारीकै निर्देशनमा संस्थाको केन्द्रीय कार्यालय पोखराले २०७७ चैत्रको प्रतिवेदन प्रकाशित गर्दा नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डलाईसमेत गुमराहमा राखी खराब कर्जाको रुपमा रहेको झन्डै १८ करोड रुपैयाँ बराबरको कर्जालाई लुकाई प्रतिवेदन प्रकाशित गरेको भन्दै अहिले बोर्डका केहि सदस्यहरुको विशेष पहलमा उनले गरेका अनेक हर्कतलाई लिपिबद्ध गरी उनलाई बर्खास्त गर्ने तयारीका साथ संस्थामा आन्तरिक लेखापरिक्षण सुरु भएको छ। 
दशैं भत्ता समय अगावै खाए, अरु बेला पनि दोहोरो सुविधा पचाए !
सीइओले संस्थामा आउनेबित्तिकै मनोमानी गर्न सुरु गरिसकेका थिए । दशैंभन्दा केहि समय अघिमात्र संस्थामा प्रमुख कार्यकारी अधिकृत भएर आएका अधिकारीले कर्मचारी विनियमावलीमा रहेको व्यवस्था मिचेर समय अगावै दशैं भत्तासमेत लिएका थिए । कर्मचारी विनियमावलीमा वित्तीय सिंस्थाका कर्मचारीहरुलाई चाडपर्वको उपलक्ष्यमा चाड पर्व शुरु हुनुभन्दा पन्ध्र दिन अगावै एक महिनाको खाइपाई आएको तलव भत्ता चाडपर्व खर्च वापत दिइनेछ भन्ने उल्लेख छ । यसरी चाडपर्व खर्च दिंदा ३६ स्थापनाको अघिल्लो दिन ५ महिना सेवा अवधि पुगेको कर्मचारीलाई पूरा तथा सो भन्दा कम सेवा अवधि पुगेको कर्मचारीलाई समानुपातिक रुपले प्रदान गरिने छ भन्ने व्यवस्था छ । तर सो व्यवस्थाको ब्रखिलाप गर्दै उनले आएको एक महिनामात्र हुँदा पनि पूरा दशैं भत्ता लिएको देखिएको छ ।
यता यस विषयमा अधिकारीलाई सोध्दा उनी करारमा बर्षको एक पटक भत्ता पाउने लेखेकाले आफुले आएकै समयपछाडीको दशैंमा भत्ता लिएको बताएका छन् । ‘जागिर खाने भनेकै सेवा सुविधा लिन हो।  करारमा बर्षको एक पटक दशैं भत्ता पाउने उल्लेख छ। त्यहि भएर लिएको हो। ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘नमिल्ने भए म फिर्ता गर्छु।  तर यो विवादको विषय हो जस्तो लाग्दैन ?’ ‘अनि समय नै नपुगी दशैं भत्ता लिन मिल्छ त ? विनियमावली हेर्नुभएन ?’ हाम्रो प्रश्नमा उनले भने, ‘ठिकै छ त।  नमिल्ने भए म फिर्ता गरिदीइहाल्छु नि।  मिल्छ भनेरै खाएको हो।  अस्ति भ्रमण भत्ता पनि दोहोरो लिइयो भनेर कुरा उठेपछि मैले फिर्ता गरेकै हो त ।    
यसो त सीइओले अन्य भत्ता खाने कुरामा पनि मनोमानी गरेका छन् । उनले भ्रमणवापतको भत्ता पनि दोहोरो लिने गरेको खुलासा भएपछी बोर्डमा यसको चर्को विरोध भएको थियो । सबैको विरोधपछि उनले दोहोरो भत्ता फिर्तासमेत गरिसकेका छन् । कुरा नउठुन्जेल खाने, पचाउन खोज्ने अनि कुरा उठेपछि बरु फिर्ता गर्न खोज्ने उनको पाराले अहिले संचालक समितिका सदस्यहरु पनि हैरान हुन थालिसकेका छन् । यस विषयमा सीइओले पनि भत्ता लिने क्रममा गल्ती भएको कुरा आफुले स्वीकारेको बताएका छन्  । ‘भत्ता दोहोरो भएछ।  दोहोरो भयो भन्ने थाहा पाउने बित्तिकै संचालक समितिका सदस्यहरुले भन्नुभयो अनि मैले फिर्ता गरिदिएँ। ‘ उनले भने।  
अर्कोतर्फ उनले अन्य थुप्रैखाले भत्ता पनि नियम विपरित लिएका छन् । नियमले १ बर्ष पुगेपश्चात मात्र पाउने औषधि उपचार खर्च नियुक्ति भएको १ बर्ष नपुग्दै उनले लिएका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त गोप्य प्रमाणअनुसार   २०७७-८-०७ गते संचालक समितिमा जानकारीसमेत नगराई  उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि  २९४०० रुपैयाँ बराबरको मोबाइल खरिद गरेको पाइएको छ । 
यसो त सीइओ अधिकारीको मनोमानी यतिमा मात्र सिमित छैन । २०७८ साल बैसाखको दोश्रो हप्ताबाट कोरोना महामारीको दोश्रो लहर सुरु भएपछी २०७८-०१-१७ देखि २०७८-०२-१५  गते सम्म सीइओ कार्यालयमा हाजिर नै भएका छैनन् । अनि जेठ १६ गते कार्यालय आएर उनले एक महिनाकै हाजिर गरेका छन् ।  जवकि सो समयमा वित्तीय संस्थाहरुलाई अत्यावश्यक सेवा भन्दै खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो  ।  यहाँ पनि उनले नमज्जाको बदमासी गरेका छन्।  
प्लस टु पढेको छोरालाई सुटुक्क जागिर !
संस्थामा सीइओको मनोमानी यतिमा मात्र समिति छैन । उनले प्लस टु सकेर बसेको छोरालाई बिदाका बेलामा जागिर खुवाउनु पर्यो भनेर आवश्यकता नै नभएको पदमा जागिर खडा गरेर २ महिनासम्म अर्थात छोराको विदाको समय मिलाएर जागिर खुवाएका छन्  । यसो त सुरुमा उनले छोराको जागिर होइन, यसो विदाको समयमा काम सिक्न बोलाएको भन्ने गरेका थिए  । तर उनले आफ्नो छोरालाई पूरा तलव अर्थात २४००० पाउनेगरी नियुक्ति पत्रसमेत दिएको पाइएपछि उनले २ महिनापछि काम सकियो भन्दै छोरालाई जागिरबाट बिदा गरेका थिए । सोहि काम गर्नका लागि थुप्रै स्नातक पास गरेका स्थानीयहरु जागिरको खोजीमा छन्।  तर मेरै हात जगन्नाथ भन्ने शैलीमा उनले छोराको छुट्टीका समयमा नै जागिर खुवाएको पाइएको छ ।  यतिमात्र होइन आइटी विभागमा पनि उनले सीआइबीको काम गर्ने भनी अनावश्यक रुपमा आफ्नो आफन्त नातेदार विशाल अधिकारीलाई पनि चैत्र महिनादेखि दैनिक ज्यालादारीमा राखेका थिए ।
‘कर्मचारी आवश्यक परेको भए अन्य शाखाबाट बोलाउन सकिन्थ्यो।  तर आफ्नो छोरा र नातेदारलाई केहि काम  दिउँ  भन्ने शैलीमा उनले मनपरी गरेका छन्। ‘ संस्थाका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग  भने,  ‘हाम्रो संस्थामा सीइओको लागि कुनै कानुनले काम गरिरहेको छैन।  उहाँलाई जे ठिक लाग्छ, त्यो नियम बनाइदिनुहुन्छ।’
यता सीइओ अधिकारीले भने आफु नआउँदा संस्थाको अवस्था भताभुङ्ग भएको, सीआइवी पनि अपडेट नभएकाले आफ्नो छोरालाई जागिर खुवाएको बताएका छन्  । ‘अनि संस्थाले कोहि पाएन र छोरालाई नै जागिर खुवाउनुपर्ने ?’ हाम्रो  प्रश्नमा उनले भने,  ‘मैले खुवाएको होइन।  उहाँलाई डेपुटी सीइओले नियुक्ति दिनुभएको हो । मैले त राख्न मिल्ने भए राख्नु नत्र नराख्नु भनेको थिएँ । यता उनलाई नियुक्ति गरेका कमल बहादुर खत्रीले भने केहि महिनाका लागि सीइओका छोरालाई जागिर दिएको र काम सकेर उनलाई बिदाई गरिसकिएको बताएका छन् । उहाँबाबु प्लस टु  सकेर बस्नुभएको थियो।  यहाँ केहि काम रहेकाले उहाँलाई नियुक्ति दिइएको हो।  अव योग्यता पुगेकाले जागिर त खान पाउनुपर्यो नि । ‘अनि जागिर खुवाउँदा अरु कोहि पाइएन र ? सीइओकै छोरालाई खुवाउनुपर्ने ?’ हाम्रो प्रश्नमा कालिकाका नायब प्रमुख कार्यकारी अधिकृत खत्रीले भने,  ‘ तपाईंको कुरा पनि ठिकै हो, त्यो खासै ठुलो पद पनि होइन, मात्र दुई महिनाका लागि हो भनेर खुवाईयो ।   
खराज कर्जा लुकाइयो !
संस्थाका सीइओलाई खराब कर्जा लुकाएर झन्डै १८ करोडको हिसाब किताब गडबढ गरेकोसमेत आरोप लागेको छ ।  सँस्थाको चैत मसान्तको वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलाई बुझाएको विवरणमा उल्लेख खराब कर्जा अनुपात फरक एकातर्फ देखिएको छ भने अर्कोतर्फ सो हिसाबकिताब सफ्टवेरको हिसाबकिताबमा पनि फरक देखिएको छ  । सफ्टवेरमा पनि अनियमितता गर्न उनले आफ्ना मान्छेलाई आइटीमा जागिर खुवाएर करोडौं रुपैयाँ घोटाला गर्न खोजेको आरोप उच्च तहका कर्मचारीकै छ । एक त नेपाल राष्ट्र बैंकमा बुझाइएको प्रतिबेदनमा खराब कर्जा अनुपात ४.१६ प्रतिशत उल्लेख गरिएको छ भने चैत मसान्तको वित्तीय विवरणमा खराब कर्जाको अनुपात ४.७४ उल्लेख गरिएको छ । तर यो भन्दा फरक चीज सफ्टवेरमा छ । सफ्टवेयरमा देखाएको २ अर्ब ९९ करोड ४६ लाख ५५ हजार ९०२ रुपैयाँ मध्ये ५.९७ प्रतिशत अर्थात १७ करोड ८९ लाख ८९ हजार ३१ रुपैयाँ भाखा नाघेको रकम भएको तर उक्त रकमलाई कभरेज गर्ने गरि प्रोभिजन समेत नगरिएकाले खराब कर्जा कम गराइएको आरोप सीइओमाथि लागेको छ  । अर्थ सरोकार डटकमलाई गोप्य रुपमा प्राप्त सफ्टवेरका विवरणले पनि खराब कर्जा लुकाइएको आरोपलाई थप प्रष्ट पारेको छ । 

यस विषयमा बुझ्न खोज्दा सीइओ अधिकारीले खराब कर्जा लुकाउने आफ्नो कुनै नियत नरहेको दाबी गरेका छन् । ‘सफ्टवेरमै कसैलाई लगाएर तलमाथि गरियो भन्ने आरोप जुन छ, त्यो गलत छ।  त्यसको युजरनेम र पासवर्ड मसंग मात्र हुन्छ।  मैले कसैलाई दिएको छैन ।’ उनले भने । ‘तपाईंले खराब कर्जा लुकाउनुभयो भनेर बोर्डको पहलमा इन्टरनल अडिटसमेत आएको रहेछ नि संस्थामा ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने,  ‘हो ! आजबाट इन्टरनल अडिट  सुरु भएको छ। मैले घोटाला गरेको भए अडिटमा देखिएला।  तर मैले त्यस्तो गरेको छु जस्तो लाग्दैन।  
‘सबैभन्दा बदमासी कर्जा नोक्सानी व्यवस्था गर्दा गरेको पाइएको छ ।’ आइटी विभागमै कार्यरत एक कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमसँग भने,  ‘ २०७७ चैत्रको कर्जा नोक्सानी व्यवस्थामा अत्यधिक ठुलो रकम लुकाएर कर्जा नोक्सानी व्यवस्थामा कायम गरी नेपाल राष्ट्र बैंकलाइ पेश गरेको प्रतिवेदनमा खराव कर्जा ४. ७ र र प्रकाशित त्रयमासिक प्रतिवेदनमा ४. प्रतिशत देखाइएको छ र सफ्टवेरमा   देखाइएको २९९४६ ५५९०२ मध्ये १७८९८९३४१ अर्थात ५. प्रतिशत भाखा नाघेको देखिन्छ।  उक्त फरक रकम त देखिन्छ नै, सीइओ सापकै निर्देशनमा करिब ५ करोड रुपैयाँ खराब कर्जा व्यवस्था गर्नुपर्नेमा लुकाइएको छ ।’ 
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाकाअनुसार (क) असल कर्जाको लागि बाँकी रहेको रकमको १ प्रतिशत, (भाखा नननाघेका र १ महिनासम्म भाखा नाघेका कर्जासापट) (ख) सुक्ष्म निगरानीको लागि बाँकी रहेको रकमको ५ प्रतिशत, (१ महिनादेखि बढीमा ३ महिनासम्म भाखा नाघेका कर्जासापट) (ग) कमसलको लागि बाँकी रहेको रकमको २५ प्रतिशत, (३ महिनादेखि बढीमा ६ महिनासम्म भाखा नाघेका कर्जासापट। (घ) शंकास्पदको लागि बाँकी रहेको रकमको ५० प्रतिशत (६ महिनादेखि बढीमा १ बर्षसम्म भाखा नाघेका कर्जा सापट। र (ङ) खराब कर्जाका लागि १०० प्रतिशत (१ बर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा सापट) व्यवस्था गरेर राख्नु पर्ने हुन्छ। तर उनले यसो नगरी आफ्नो काम देखाउने भनेर बदनियतपूर्वक खराज कर्जा लुकाएको आरोप उनीमाथि लागेको छ ।
https://arthasarokar.com/2018/11/kalika-laghubitta.html
https://arthasarokar.com/2018/11/kalika-Exclusive-.html
https://arthasarokar.com/2019/01/kalika-laghubitta-3.html
SHAURYA
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal