बिशाल श्रीपाइली । सामान्यतया दिर्घकालिन कोषको आवश्यकता भएका क्षेत्रहरुको निमित्त पूँजी उपलब्धता गर्ने उद्देश्यले स्थापित वित्तीय बजार पूँजी बजार हो । अर्को शब्द भन्नु पर्दा एक बर्ष भन्दा बढी अवधि भएका वित्तीय उपकरण तथा वित्तीय औजारहरुको खरिद बिक्रि हुने बजारलाइ पूँजी बजार भन्ने गरिन्छ । वित्तीय औजार र उपकरण भन्नाले सेयर, वण्ड, डिबेन्चर, ऋणपत्र, सरकारी सुरक्षण बिलहरु, म्युचुअल फण्डका एकाइहरु आदिलाई बुझिन्छ । पूँजी बजार धितोपत्र बजार र गैर धितोपत्र बजार गरि दुइ किसिमको हुन्छ, धितोपत्र बजारलाइ नै पूँजी बजार भन्ने गरिन्छ । नेपालको धितोपत्र बजारलाइ नियन्त्रक र व्यवस्थापनको रुपमा नेपाल धितोपत्र बोर्ड रहेको छ।
नेपालको पूँजी बजारको संरचना
नेपालको पूँजी बजारको संरचना हेर्दा देहाय बमोजिमका क्षेत्रहरुबाट संचालित भएको देखिन्छ जुन यस प्रकार छन् :
१) नियामक निकाय : नेपालको पूँजी बजारको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्ड रहेको छ । बोर्डले बि.स. २०५०/०२/२५ गतेबाट बजारलाइ सन्चालन, व्यवस्थापन, नियमन, सुपरिवेक्षण र अनुगमन गर्दै आएको छ।
२) प्राथमिक बजार : पहिलो पटक सार्बजनिक निष्काशन हुने धितोपत्र बजारलाइ प्राथमिक बजारले चिनिन्छ । यस बजारमा मर्चेन्ट बैंकर र अस्वा सदस्यहरु पर्ने गर्दछन् ।
३) दोस्रो बजार : प्राथमिक बजारबाट खरिद गरिएका धितोपत्रहरु लाइ पुन: खरिद बिक्रि गर्न सकिने उद्देश्यले स्थापित बजार धितोपत्रको दोस्रो बजार भनिन्छ। यस बजारमा नेप्से र धितोपत्र दलाल व्यवसायीहरु संलग्न रहेका छन्।
४) पूँजी बजारको थप कार्य संचालन प्रणालीलाई आधुनिक र प्रविधिमैत्रीका निमित्त हाल नेपालमा केन्द्रिय निक्षेप प्रणाली र निक्षेपसदस्यहरुसमेत सेवा प्रवाह गरिरहेको छ । जसले गर्दा धितोपत्र को राफसाफ तथा फर्चौट प्रणाली प्रबिधिमैत्री भएको छ ।
५) धितोपत्रहरु सार्बजनिक निष्काशन गर्ने सुचिकृत कम्पनीहरु पनि यस बजारका प्रमुख अंग हुन् ।
६) क्रेडिट रेटिंग : सार्बजनिक भएका धितोपत्रहरुको साखको गुणस्तरता मुल्यांकन गर्ने तथा राय प्रकट गर्नका निमित्त स्थापित एजेन्सीहरु लाइ क्रेडिट रेटिंग एजेन्सी भनिन्छ । हाल नेपालमा इक्रा नेपाल र केयर रेटिंग नेपाल गरि दुइ वटा एजेन्सीहरु रहेका छन।
७) सामुहिक लगानी कोष पनि पूँजी बजारको एक प्रमुख अंगको रुपमा रहेको छ जसले साना साना लगानीकर्ताहरुलाइ लागनी मैत्री वातावरणको अवसर प्रदान गरेको छ । हाल नेपालमा खुल्ला मुखी र बन्द मुखी दुवै किसिमका योजनाहरु संचालित छन।
अन्त्यमा…
मुलुकमा आवश्यक दिर्घकालिन पूँजी स्रोतको प्रभावकारी परिचान, देश विकास निर्माणमा सरकारलाई कोष सजिलै उपलब्धता, औधोकिकरण, पूर्वाधार, निर्माण, लगानीमैत्री वातावरण सिर्जना गरि सर्वसाधारणहरुलाइ लगानीको हिस्सेदार गराई प्रतिफल समान रुपले वितरण गर्ने जस्ता अन्य यावत कुराहरुबाट पूँजी बजारको महत्व रहेको हुन्छ । त्यसैले पूँजी बजारलाइ प्रभाकारी र आधुनिक बनाउन आवश्यक नीति नियम, रणनीति, मार्गदर्शन, नियमनकारी निकायको कार्यप्रणाली थप प्रभाकरिता, पूँजी बजारको साक्षरता र समवेशिकरनता अभिवृद्धिसंगै यस बजारको प्रबर्धन र सम्बर्धन गर्न सम्बन्धित पक्षहरुको प्रमुख जिम्मेवारी हुन्छ । (लेखक श्रीपाइली सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत छन्)