×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारका लगानीकर्ताहरु नआत्तिनुस् ! बजार बढ्नसक्ने ५ स्पष्ट कारण यस्ता छन् !

काठमाडौँ । झन्डै ३२०० पुगेको बजारमा लगानीकर्ताहरुको ‘सेन्टिमेन्ट’ बिग्रंदा नेप्से परिसूचक झन्डै २४०० कै लाइनमा छुने स्थिति आयो । नियामकको निरन्तरको प्रहारले सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा लगानीकर्ताहरुको सेन्टिमेन्ट नमज्जासँग  बिर्ग्रिएको हो । जसका कारण बजार निरन्तर ओरालो लाग्न पुग्यो । ठुला लगानीकर्तालाई सेयर बेच्न बाध्य पार्नेगरी नेपाल राष्ट्र बैंकले ल्याएको ४-१२ को नीति होस्, वा लगानीकर्ताहरुको मनोविज्ञानमा खेल्नेगरी धितोपत्र बोर्डले निकालेको ५१ वटा सूची, अर्थमन्त्रीको बजार लक्षित मनपरी बोली होस्, वा तरलता संकट देखाएर बैंकहरुले गरेको ब्याजको राजनीति, यी सबै विषय नेपालको सेयर बजारका लागि घातक बने । तर अव विस्तारै सेयर बजार आफ्नो बुलिस लयमा फर्कने देखिएको छ । जसका स्पष्ट संकेतहरु बजारमा देखिएका छन् ।

कारण नम्बर १ : बैंकहरुको बढेको ब्याजदर घटेको छ

पछिल्लो समय तरलता संकटलाई देखाएर बैंकहरुले ब्याज बढाएका थिए । जसको सीधा असर सेयर बजारमा परेको थियो । कार्तिक १ गतेदेखि लागु हुने भन्दै बैंकहरुले मनपरी ब्याज बढाएपछी सेयर बजारमा ठुलो पहिरो गएको थियो । तर नियामक नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंकहरुलाई तत्काल सो बढाइएको ब्याजदर  फिर्ता लिन निर्देशन दिइसकेको छ । यसले बजारमा सकारात्मक सन्देशमात्र गएको छैन, बरु लगानीकर्ताहरुलाई ठुलो राहत पनि महसुस भएको छ । अव ब्याजदर बढेकै कारणले सेयर बजार घट्छ कि भन्ने डर पाल्नुपर्ने स्थिति छैन । यसले सेयर बजारमा पनि सकारात्मक नै असर गर्ने देखिन्छ । यसो त ब्याजदर घटे पनि तरलता संकट हटला त भन्ने प्रश्न पनि छ । यद्यपी नेपाल राष्ट्र बैंककै जिम्मेवार अधिकारीहरुले बैंकहरुमा तरलता संकट भएको भन्दा पनि ब्याज बढाउने बहानामा तरलता संकटको हौवा पिटाइएको दाबी सार्वजनिक रुपमा गरिसकेका छन् । यसले बजारमा बाहिर हल्ला चलेजस्तो तरलता संकट छैन भन्ने प्रष्ट हुन्छ । ब्याजदर बढाउने बैंकहरुलाई एक्सन लिएजस्तै तरलता संकट हुन नदिने नेपाल राष्ट्र बैंकले ठुलै मेहेनत गरिरहेको बुझिएको छ । यसले पनि बजारलाई सकारात्मक नै सन्देश दिनेछ ।

कारण नम्बर २ : ४-१२ को नीति परिमार्जन हुँदैछ 

ब्याजदरमा बैंकहरुले मनपरी गर्न थालेपछि रातारात सर्कुलरमार्फत बैंकहरुमाथि कडा एक्सन लिँदै बढाइएको ब्याजदर फिर्ता लिनेगरी निर्देशन जारी गरेको नेपाल राष्ट्र बैंकले ४-१२ को नीतिसमेत परिमार्जनको तयारी गरेको छ । यसअघि नियामक राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड सेयर कर्जा र सबै बैंकगरी बढीमा १२ करोड  सेयर कर्जा लिन नपाइने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले ४-१२ को कसिलो नीति ल्याएपछि सेयर बजारका ठुला लगानीकर्ताहरु सेयर बेच्ने प्रेसरमा पर्दा सेयर बजार सुस्ताएको थियो । तर अव यो व्यवस्था पनि परिमार्जन हुने भएको हो । नेपाल राष्ट्र  बैंकले यो व्यवस्था परिमार्जनका लागि विभिन्न विकल्पमा छलफल अगाडी बढाएको छ । संस्थागत लगानीकर्तालाई  छुट दिएर ४-१२ लाई १०-२५ बनाउने, वा संस्थागत लगानीकर्तालाई छुट दिएर ४-१२ लाई नै निरन्तरता दिने, वा तोकिएको समयावाधिलाई परिमार्जन गर्ने, वा ४-१२ लाई निरन्तरता दिएर त्यसको कार्यान्वयन मिति सार्ने, वा पहिलाकै स्थितिमा रहनेगरी पछिल्लो समय गरेका ४-१२ सम्बन्धि नीति नै खारेज गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंक गहन छलफलमा रहेको बैंकका एक संचालकले बताएका छन् । यो नीति परिमार्जन भएसँगै  ठुला खेलाडीहरु बजारमा प्रवेश गर्नेछन् । यसले पनि सेयर बजारलाई आफ्नो बुलिस लयमा फर्काउनेछ ।

कारण नम्बर ३ : अर्थमन्त्री सचेत भएका छन्, सके बजारमैत्री अभिव्यक्ति आउनेछन्, नभए बजार विरोधी उनले केहि बोल्ने छैनन् 

बजारमा लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बनाउन अर्थमन्त्रीका केहि अभिव्यक्तिले पनि भूमिका खेलेको थियो । तर अर्थमन्त्रीले सेयर बजारलाई संकेत गर्दै मनपरी बोल्दा त्यसको चौतर्फी विरोध भयो । फलस्वरूप अहिले उनी सकेसम्म बजारका बारेमा सकारात्मक बोल्ने, नसकेपनि बजारमा विरोध हुनेगरी केहि नबोल्ने रणनीतिमा छन् । ढिलो चाँडो चुनावमा जानुपर्ने भएकाले उनी लगानीकर्ताहरुलाई चिडयाउने पक्षमा छैनन् । उनी सकेसम्म लगानीकर्ताको पक्षमै काम गर्ने रणनीतिमा छन् । यसले पनि बजारमा राम्रो सन्देश जाने स्पष्ट छ । उनका सल्लाहकारहरुले पनि अहिलेको स्थितिमा सेयर बजारलाई राम्रो हुने केहि निर्णय गरेर बजारका लगानीकर्ताको मनमा परेको चिसोको परिपूर्ति गर्न सुझाव दिएका छन् । उनले यस विषयमा केहि विज्ञहरुसँग  सल्लाहसमेत गरेको बुझिएको छ ।

कारण नम्बर ४ : बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया सुरु भएको छ

अर्कोतर्फ बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया पनि सुस्त रुपमै भएपनि अगाडी बढेको छ । बोर्डमा आउने नयाँ नेतृत्वले यो निर्णय गराउन सक्ने सम्भावना ठुलो छ । यसले पनि सेयर बजारको दायरा फराकिलो पार्नेछ । यसले सेयर बजारलाई बुलिस चक्रमा लैजान थप मद्धत पुग्ने देखिन्छ ।

कारण नम्बर ५ : धितोपत्र बोर्ड र नेप्सेमा पोजेटिभ माइन्डसेटका मान्छे नेतृत्वमा ल्याइदैछ 

अहिलेको बजारमा नियामक धितोपत्र बोर्डको बेतुकको निर्णयले पनि असर गरेको हो । बोर्डले हावादारी रुपमा ५१ वटा कम्पनीको सूची निकालेर सेयर बजारमा रहेका लगानीकर्ताहरुको मनोविज्ञानमा खेल्ने दुष्प्रयास गरेको थियो । अव सरकारले जस पाउनकै लागि भएपनि धितोपत्र बोर्डमा पोजेटिभ माइन्ड सेट भएका व्यक्ति ल्याउँदै छ भने अर्कोतर्फ बोर्ड वा नेप्सेमा जाने जो कोहिले पनि तत्काल अप्रिय निर्णय गर्ने देखिएको छैन । यसले पनि बजारमा राम्रो संकेत देखिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: