×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आत्तिएका’ आमलगानीकर्ता ! विकास केसीको लेख 

PRIME CA

‘आत्तिएका’ आमलगानीकर्ता ! विकास केसीको लेख 

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । नेपालको पूँजीबजार ओपन क्राई सिस्टमबाट शुरु भएर ब्रोकरको अफिसमा उपस्थित भई वा फोनमार्फत खरिद बिक्री आदेश दिने प्रणाली पार गर्दै हाल आफैले टिएमए मार्फत कारोबार गर्ने चरणसम्म पुगेको छ । समयक्रमसँगै भएको यो उपलब्धिलाई पूँजीबजारले एक किसिमको फड्को मारेको भन्न सकिन्छ । पूँजीबजारको यो विकासक्रमलाई नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज तथा लगानीकर्ताको हक हित संरक्षण गछौं भन्ने संघ संगठन लगायतले निकै गौरवका साथ लिने गरेका छन् । पक्कै पनि हामी प्रविधिमैत्री पूँजीबजार उन्मुख हुँदैछौं । आजका दिनमा आउँदै गर्दा ४० लाखभन्दा बढी डिम्याट खाता खोलिएको, नौ लाख बढीले अनलाईन कारोबार अनुमति लिएको र करिब दुई लाख बढी लगानीकर्ता दैनिक दोस्रो बजार कारोबारमा सक्रिय हुने गरेको तथ्याङ्क प्रस्तुत गर्ने गरिन्छ ।
तर बिडम्बना के छ भने पूँजीबजारको विकास र विस्तारको दुहाई दिईँदै गर्दा आमलगानीकर्ता भने पटक पटक दोस्रो बजारमा नियामक निकाय र यिनै ठूला भनिएका संस्थागत र सम्भ्रान्त लगानीकर्ताका मोहरा बन्ने गरेका छन् । यस कार्यमा केहि मिडियाकर्मी मित्रहरु र बजार विश्लेषक भनिएकाहरुपनि त्यक्तिकै जिम्मेवार देखिन्छन् । आ–आफ्नो व्यवसाय, रोजगारी र पठनपाठन गरिरहेका सानो पूँजी भएका लगानीकर्ताहरुलाई यस “खेल” मा आमन्त्रित गर्ने चलन रहेको छ । उदाहरणको लागि नेप्से ईन्डेक्सले सन् २०१६ मा उच्चतम विन्दू १८८३ बनाएर तल ओर्लिएपछि करिब तीन बर्षसम्म पूँजीबजार आमलगानीकर्ताको नजरबाट ओझेलमा पर्यो । त्यसपस्चात, करिब एक वर्ष अगाडी ईन्डेक्स एक्कासी बढ्न थाल्यो । शुरुवाती चरणमा आमलगानीकर्ताहरुले त्यति चासो दिएनन् ।
विस्तारै ईन्डेक्स २००० विन्दु माथि उक्लेपछि शुरु भयो मिडियाबाजी र विश्लेषकहरुको आवगमन । नियामक निकायहरु पनि उदार हँुदै गए । पूँजीबजार सुधार र विस्तारकालागि विस्तृत कदम चालिएको भनि प्रचारबाजी गरियो । नेपाल राष्ट्र बैंकले समेत पूँजीबजार प्रतिकुल हुने कुनै पनि नीति निकट भविष्यमै नल्याउने भन्दै आश्वस्त बनायो । वित्तिय संस्थाहरुले पनि बोलाई बोलाई न्यून ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरे । पूँजीबजारलाई नजिकबाट नियालिरहेका नियामक निकायहरुले बजार उच्चतम बिन्दुतर्फ लम्कदै गर्दा कानमा तेल हालेर बसे । केही बजार विश्लेषकहरुले ईन्डेक्स ४००० देखि ६००० बिन्दु पुग्छ भन्दै आमगानीकर्तालाई आश्वस्त बनाउन खोजे । स्वयं नवनियुक्त अर्थमन्त्रीले समेत आफू पूँजीबजारमैत्री भएको आभास आमलगानीकर्तालाई दिलाए ।
जब लाखौं आमलगानीकर्ताले पूँजीबजारबाट सुनौलो भविष्य बनाउँछु भनी सपना देखेर लगानी गर्न शुरुमात्र के गरेका थिए तिनै सुनौलो सपना देखाउने व्यक्ति, संघसंस्था तथा नियामक निकायहरुबाट पूँजीबजारमाथि बज्र प्रहार हुन थाल्यो । अहिले आमलगानीकर्ता तिनै सिमित स्वार्थ बोकेका अमूक पात्र र प्रबृत्तीका शिकार भईरहेका छन् ।
आम लगानीकर्ता हौसिएका बेला पृष्ठभूमीमा भने टिएमएस सेवा बेलाबेलामा अवरुद्घ पार्ने, बुक विल्डिङ प्रविधिमा नीतिगत भ्रस्टाचार गर्ने, ईन्साईडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ तथा सेयर कर्नरिङ जस्ता आपराधिक कार्य गर्ने र क्लबहाउसमा “बुमबुम” बहस चलाउने प्रबृत्ति मौलाउँदै गयो । यसरी दोस्रो बजारमा लगानीको आधारभूत ज्ञान र सीप नभएका सोझा लगानीकर्ता हरुलाई फसाउने षडयन्त्र रचियो ।
त्यसो त आफूले गरेको लगानीको जस अपजस स्वयं लगानीकर्ता आफैले लिनुपर्छ । तर पूँजीबजार लगानीकर्ताको भनोभावद्वारा निर्देशित हुन्छ भन्ने तथ्य बुझेकाहरुले अघिल्लो समय बजार बढाउन र अहिले घटाउन कुनै कसर बाँकी छाडकाछैनन् । माग र आपूर्तिको सामान्य सिद्घान्तमा चल्ने पूँजीबजारमा त्यही सिद्घान्तको प्राकृतिक स्वरुपलाई जबरजस्ति छेडछाड गरिँदैछ । पहिले मूल्य बढाउन कृतिम अभाव सिर्जना गर्ने काम भयो । अहिले घटाउन आमलगानीकर्तालाई प्यानिक बनाईँदैछ । यहाँ बुझ्नु के पर्छ भने जब अभिभावक, अगुवा र जान्नेसुन्नेले नै घात गर्ने नियत बनाएपछि एउटा भर्खरै बामेसर्न लागेको वालकको अवस्था कठैबरा हुने गर्दछ ।
आमलगानीकर्ताले तिरेको करमा रजाईँ गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नीतिगत भ्रष्टाचारमा लिप्त छन् । संस्थागत लगानीकर्ता जुको ढाडिएर बसेझैं बसेका छन् । हिजो बजार बढ्दैगर्दा नेप्से ४००० पुग्छ भन्ने केही बजार विश्लेषक आज बजार घट्दा टेवा विन्दु परिक्षणमा ब्यस्त देखिन्छन् । प्राविधिक विश्लेषणलाई तत्काल नियमनको दायरामा ल्याउनुपर्ने देखिन्छ । विश्लेषकको योग्यता परिक्षा लिई अनुमतिपत्र जारी गरेपछिमात्र त्यस्ता विश्लेषण सार्वजनिक गर्नपाउने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
सम्भवतः केही समयको उतारचढावपछि बजार पक्कै पनि आफ्नो लयमा फर्किनेनै छ । यही नै पूँजीबजारको नियति र प्रकृति पनि हो । अहिलेको ओरालो यात्रा तय गर्दैगर्दा आमलगानीकर्ता आत्तिएर र अबको बजार बढाईमा मात्तिएर पक्कैपनि कठैबरा बन्नुहँदैन । आमलगानीकर्ताले पूँजीबजारमा पुनराबृत्ति भइरहने यस्ता पात्र, प्रबृत्ति र घटनाक्रमको विश्लेषण तत्कालै शुरु गर्नुपर्ने देखिन्छ । सुचिकृत कम्पनीहरुकाबारेमा सुक्ष्म अध्ययन गर्ने र लगानी ज्ञान हासिल गरि प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्ने सम्भवतः यहि नै बेला हो । आमलगानीकर्ता सूसुचित हुनुपर्ने र नियामकले सूसुचित गर्नुपर्ने सहि समय पनि यही नै हो । (लेखक विकास के.सी. लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: