काठमाडौं । नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित गर्यो । स्थानीयवासी र आम नेपालीको सेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने नेपाली मोडलले खासमा ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई समेत प्रेरित गर्यो । सोही प्रेरणाले सोही कम्पनीको मातहत रहने गरी अन्य चारवटा आयोजनासमेत अगाडि बढाइयो । त्यसमा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोसी रहेका छन् । जुन लक्ष्य र उद्देश्यका साथ आयोजना अगाडि बढाइयो, त्यसमा लागत र समयका हिसाबले भने हालसम्म सफलता प्राप्त हुन सकेको छैन । चिलिमे कम्पनी मातहत रहेका अधिकांश आयोजना रुग्ण अवस्थामा नै छन्भन्दा फरक पर्दैन ।
तोकिएको समयसीमामा आयोजना निर्माण हुनुको साटो लागत बढ्ने र समय मात्रै थपिने क्रम जारी रहेको छ । कतै निर्माण व्यवसायीको कमजोरी छ भने कतै अन्य प्राविधिक समस्या पनि उत्तिकै छ । यस्तै, समस्यै समस्यामा फसेको आयोजनाका रुपमा रहेको छ मध्यभोटेकोसी । सेयर कारोबार मापक परिसूचक उच्च विन्दुमा पुगेका कारण सो कम्पनीको साधारण सेयरमा आम लगानीकर्ताको आकर्षण भए पनि आयोजनाको काम गर्ने तरिका र शैली भने असाध्यै धिमा गतिमा रहेको छ । यसलाई मानिसहरुले कछुवा गतिको नमूनाका रुपमा चिनाएका पनि छन् ।
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको समग्र निर्माण हालसम्म ७५ प्रतिशत मात्रै सकिएको छ । यो आयोजना दुई वर्ष पहिल्यै सकिनुपर्ने थियो । पछिल्लो समयसीमा अनुसार आयोजना अब २०७९ पुसभित्र सक्ने लक्ष्य राखी अगाडि बढाइएको छ । तर सो समयमा समेत सकिने वा नसकिने भन्नेमा अहिल्यै पूर्वानुमान गर्न भने गाह्रो छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायत मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । विसं २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाखको गोरखा भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी-पहिरोको र कोभिड-१९ को महामारीको चपेटामा आयोजना परेको थियो प्रवद्र्धक कम्पनीको दाबी छ ।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवद्र्धक मध्यभोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार आयोजनास्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको सम्बद्ध कम्पनीले जनाएको छ ।
टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको दाबी गर्नुभयो । “आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महँगो ब्याजदरमा ऋण काढेर भए पनि शेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्”, घिसिङले भन्नुभयो ।
उहाँले भन्नुभयो, “निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैं तयार छौँ, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौँ, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौँ भनेर निर्देशन दिइएको छ ।” प्राधिकरणका उपकार्यकारी निर्देशकसमेत रहनुभएका कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरु बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरु आयोजनास्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरुमा क्षति पुर्याएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु १५ अर्ब तीन करोड दुई लाख ९० पुगेको छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरुमध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावरको समान एक/एक प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कूल ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० र सर्वसाधारणको-१५ प्रतिशत) रहेको छ । कम्पनीले साधारण शेयर निष्कासन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु दुई अर्ब ९० करोड आम्दानी हुनेछ । तर आयोजनाको समय र लागत बढ्दै जाँदा सो आम्दानीसमेत गुम्दै गएको छ । -रासस