×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘नियामक निकायकै कारण लगानीकर्ताको खरबौंको सम्पत्ति खरानी भयो’ : राजेश कार्कीको लेख

राजेश कार्की । राष्ट्र बैंक तथा धितोपत्र बोर्डको कै कारणले अहिले हाम्रो पूँजी बजारमा एक किसिमको त्रासको अवस्था सिर्जना भएको छ । माग र आपूर्तिका बिश्वव्यापी मान्यताबाट निरन्तर बढिरहेको बजारमा विभिन्न नियामक निकायहरुले नियमनको नाममा बजार माथि नियन्त्रण गर्न विभिन्न बहानामा सार्वजनिक गर्ने विज्ञप्ति र स्वार्थपूर्ण नीतिगत परिमार्जनले बेलाबेलामा प्रहार गर्दा नेपालको सेयर बजार नराम्रोसँग प्रभावित हुने गरेको छ । पछिल्लो समय पनि शेयर बजारमा करीब आधा दर्जन यस्तै प्रहारहरु भएका छन् । छोटो अवधिमै करिब ८ खर्ब रुपैयाँ बजार पुँजीकरण घटिसकेको छ । नेप्से सूचक करिब ७ सय अंक घट्न लागिसकेको छ तर नियामक निकायले भने यस विषयलाई कत्ति पनि गम्भीर रुपमा लिएको पाइएको छैन । विशेषगरी पछिल्लो समय राष्ट्र बैंकले लिएको नीतिका कारण बजार बेस्सरी पेनिक हुने अवस्थामा आएको हो । बजार निरन्तर घट्दा पनि सरकार र सरोकारावाला नियामक निकाय मूकदर्शक बन्दा बजारले एकपछि अर्को समस्या व्यहोर्नुपरेको हो ।
जब जब बजार बढिरहेको हुन्छ, तब तब विभिन्न वहानामा विभिन्न निकायहरुले सेयर बजारमाथि प्रहार गर्ने गरेको देखिन्छ । राष्ट्र बैंक तथा अन्य निकायका नेतृत्वले पुँजी बजार नै खलबलाउने गरी लिएका निर्णयहरु सही छन् वा गलत भनेर एकपटक पनि समीक्षा गर्न नचाहाने अर्थमन्त्रि, अर्थ समिति अध्यक्ष तथा नियामक निकायका प्रमुखहरु यति बेला आम लगानीकर्ताहरुको आखामा बस्ताबमै खलनायकका रुपमा चित्रित भएका छन् । नियामक निकायले निति नियम तर्जुमा गर्दा समग्र देशको अर्थतन्त्र हेरेर गरिनु पर्दछ तर लगानी प्रोत्साहनलाई भन्दा सेयर बजारलाई नै नियन्त्रण गर्ने खालका नीति तर्जुमा गर्ने गरिन्छ । उनीहरूले लिएको नीतिले सेयर बजार बढ्ला कि भन्ने चिन्ता प्रस्ट रुपमा देख्न सकिन्छ ।
अर्थतन्त्रलाई निर्देशन गर्नुपर्ने मुख्य निकाय अर्थमन्त्रालय पनि तै चुप मै चुप भएको छ। अरुको काम के हो भन्ने खुब जानकारी राख्ने तर आफ्नो काम के हो भन्ने हेक्का नभएका तथा कहाँ के बोल्ने र कहाँ के नबोल्ने भन्ने सामान्य सामान्य जानकारीसमेत नराख्ने नेतृत्वले पनि यसमा उतिकै भुमिका खेलेको देखिन्छ । समग्र देशको अर्थतन्त्रको अभिभावकको भुमिका निभाऊनु पर्ने अर्थमन्त्रिले सार्वजनिक कार्यक्रममै सेयर बजार हावा भरिएर फुलेका हो भनेर दिएको अभिव्यक्ति का साथै धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जमा यतिका दिनसम्म प्रमुख नियुक्त गर्न नसकी प्रमुख बिहिन टुहुरो बनाएर राख्नुले पनि देशको समग्र अर्थतन्त्रको प्रमुख निकाय नै सेयर बजार तथा समग्र पुँजी बजारप्रति कति गैर जिम्मेवार र नकारात्मक छ भन्ने कुरा प्रष्ट हुन्छ ।
सेयर बजारमा हुने स्वभाविक उतारचढाव भनेको सामान्य नै हो। बजारको उतार चढाव नै बजारको सुन्दरता हो तर उतारचढाव भने प्राकृतिक हुनु पर्यो। यदि बजारको विकासको जिम्मा लिएका विभिन्न निकायहरुले नै विभिन्न बहानामा बजारलाई घटाउने कुनियतले प्रहार गर्छन भने यसलाई कसरी स्वभाविक रुपमा लिने ? अहिले बजार घट्नु मा सरकार नियामक निकाय, ब्रोकर र सेयरबजारका माफियाको हात रहेको प्रस्ट नै देखिएको छ। अहिले जुन परिस्थिति निम्त्याइएको छ, त्यो परिस्थिति भनेको सेयर बजारको स्वाभाविक परिस्थिति नभइ सिर्जना गरिएको परिस्थिति हो । भोलि का दिनमा यसबाट जुन भयानक अबस्था सिर्जना हुन्छ त्यसको परिणाम कसैले कल्पनासम्म गरेको छैन ।
अब यहाँभन्दा पनि बजार तल झार्ने र पेनिक बनाउने प्रयत्न भयो भने कयौं ले सुसाइड गर्ने छन भने लाखौं लगानिकर्ता जीवनमा कहिलेपनि सेयर बजार प्रबेस नगर्ने गरि बाहिरिने छन् । यस्तो अवस्थाको सिर्जना भएमा यसको प्रत्यक्ष असर चलखेल गर्ने ब्रोकर र सेयर माफियालाई मात्र नभई राज्य लाई पनि पर्ने नै छ, किनकि राज्यलाई सबैभन्दा बढी करबाट योगदान गर्ने क्षेत्र मध्ये एउटा सेयर बजार नै हो । यस्तै, धितोपत्र बोर्ड, नेप्से तथा सीडीएस पनि सेयर बजार बाटै पालिएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउने यो क्षेत्रलाई राज्यले कुनै पनि हालतमा नजर अन्दाज गर्नु हुँदैन । नत्र राज्यले राजस्वको ठुलो श्रोत गुमाउने पर्ने छ जसको जिम्मेवारि केवल अर्थ मन्त्रिले लिनुपर्ने हुनेछ ।
नियामक निकायले समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खरबौंको बजारलाईसमेत चौक चौकमा खेलिने लंगुरबुर्जा खेलको जस्तो ब्यवहार गरेको लाग्न थालेको छ । राष्ट्र बैंक त हरेक पाइलामा बजार नियन्त्रण गर्न कम्मर कसेरै लागेको छ, बजारको विकास गर्ने उद्देश्यले स्थापना भएको धितोपत्र बोर्ड नामको संस्थाले पनि बजार बढेको बेला घटाउन र आफु तथा आफ्नो आसेपासेहरु पोस्न चलखेल गर्ने तर बजार घट्दा भने लगानीकर्ताहरुको मनोबल बढाउने उद्देश्यले कुनै पनि काम नगर्नुले उक्त संस्थाको भूमिकामा प्रश्न गर्न सकिने आधार प्रसस्त रहेको छ।
गत असार १ गते बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको भन्दै बिज्ञप्ति निकाल्यो। बोर्डको बिज्ञप्तिपछि बजार निरन्तर ओरालो लाग्यो तर पनि बोर्डले गलत या सहि को एक समिक्षा समेत गर्न चाहेन। न त अहिले सम्म ति कम्पनीहरुको कुनै सत्य तथ्य जानकारी नै बाहिर ल्यायो। के त्यो समय बजारमा बोर्डले बिज्ञप्तिमा उल्लेख गरेका मात्र कम्पनीहरुको सेयर मूल्य मात्र घटेको थियो तरु हरेक पटक बजार बढ्ने बित्तिकै विज्ञप्ति निकाल्न हतारिने विभिन्न नियामक निकायहरु अहिले निरन्तर बजार ओरालो लाग्दा किन मौन बसिरहेको छरु यो मौनताले नै ति नियामकहरुको बजार घटाउने कुनियत प्रस्ट पारेको छ। अहिले चलखेल गरि बजार घट्नु र सरकारले गत भदौ २५ गते संसदमा पेस गरेको अर्थसम्बन्धी विधेयकमा उल्लेख ‘२०८० सालसम्म गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्थाबीच कुनै साइनो त छैन ? कि यो मौनताको पछाडी कालो धन सेतो बनाउने एक ठुलो सड्यन्त्र लुकेको छरु बस्ताब मै यो एक सोचनीय बिषय बनेको छ।
राष्ट्र बैंक तथा नियामकहरुले चालेको पछिल्लो कदमले आम लगानीकर्ताले खरबौं रकम गुमाई सकेका हुनाले अझै पनि राष्ट्र बैंक तथा नियामकहरु रमिते मात्रै भएर बस्नेकी आम लगानीकर्ताको चहर्याई रहेको घाउमा मलम पट्टी गर्न तिर लाग्ने ? यदी राष्ट्र बैंक तथा नियामकहरु रमिते मात्रै भएर बस्ने हो भने यो बजार घटाईको संघिन आरोप खेप्ने मात्रै होईन चर्को मूल्य समेत चुकाउनु पर्ने छ।
जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अवसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन । अहिलेका अर्थ मन्त्रि सामु अवसर र चुनौती दुवै छन् । चाहे जुनसुकै क्षेत्रमा लगानी गर्दा होस् लगानीकर्ताहरुले आफ्नो लगानी कति सुरक्षित छ भन्ने कुरा नै हेर्ने हो जहाँ लगानी गर्दा आफ्नो लगानी सुरक्षित देख्दैनन् त्यस्तो ठाँउमा लगानी गर्दैनन् र सुरक्षित लगानी को बाताबरण तयार गर्ने काम सरकार को हो। जबसम्म बजारमा देखिएको आर्थिक तरलता र सेयर कर्जामा लागेको सिमा पुनरावलोकन हुँदैन र बजार घटाउन कै लागि निरन्तर रुपमा हुने प्रहारहरु बन्द हुदैन तबसम्म बजारमा त्यति ठुलै उमंग आउने देखिँदैन । त्यसैले जसरी नियामकहरुले सेयर बजारमा गरेको निरन्तर प्रहारले बजार घाईते अवस्थामा पुगेको छ। त्यसको समाधान वा उपचारका लागि एकदमै सकारात्मक र सेयर बजारमैत्री निति सरकारले अवलम्बन नगरेसम्म लगानीकर्ताहरुको मनोबल बढ्न नसक्ने देखिन्छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: