×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive : महालक्ष्मी बिकास बैंकमा डरलाग्दो ‘ऋण काण्ड’ ! बैंक नै नदेखेका सोझालाई यसरी करोडौंमा फसाइयो…

PRIME CA

Exclusive : महालक्ष्मी बिकास बैंकमा डरलाग्दो ‘ऋण काण्ड’ ! बैंक नै नदेखेका सोझालाई यसरी करोडौंमा फसाइयो…

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । कुमारी बैंक लिमिटेडको किर्ते काण्ड अहिले चर्चामा छ । गायक योगेश्वर अमात्यको जग्गाको लालपूर्जा किर्ते गरी अरु नै समूहले १९ करोड ऋण लिएका छन् । यो प्रकरणमा बैंकका सोझा कर्मचारी सोनु ठाकुर फसेका छन् । तर यो प्रकरणमा बैंकलाई कतै घाटा भएको छैन । अपराध त भयो, तर बैंकले आफ्नो लोन सेटल गरिसकेको छ । तर केहि समय अगाडी महालक्ष्मी बिकास बैंकमा भएको एउटा डरलाग्दो सुन काण्डमा बैंकको मिलेमतोमा यसरी सोझा फसाइएको छ कि मानौं, अव फस्नेहरुको जिन्दगी नै सकिएको छ ।   बेला-बेलामा अनेक विवादमा परिरहने यो बैंकभित्र ठुलै सुन काण्डको ठुलै दस्ताबेज अर्थ सरोकारले हात पारेको छ । जहाँ घटनाका बारे बैंकका कर्मचारीहरुलेसमेत बयान दिएका छन् । महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट एकाएक १२ किलो सुन गायब भएको थियो । ऋणको तमासुखमा १७ किलो सुन धितो राखेर कर्जा प्रवाह गरिएको भनिएको थियो । तर भल्टमा मात्र ५ किलो सुन थियो । अर्थात हुँदै नभएको १२ किलो सुन बढी देखाएर बैंककै कर्मचारीको मिलेमतोमा करोडौं ऋण लिइयो तर तिरिएन । त्यसपछि यो प्रकरण अगाडी बढ्यो, र सीआइबीले अनुसन्धान थाल्यो । तर खास कुरा के छ भने यो प्रकरणमा महालक्ष्मी बिकास बैंकका कर्मचारीको मिलेमतोमा सुन साहु देवानान्द राईका कमजोर र सोझा कर्मचारीहरु फसाईएको छ ।

हो, बैंकबाट हुँदै नभएको सुन तमसुखमा चढाएर पूर्ण राइ र देवानन्द राइले २०७४ साल यता महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट झन्डै ७ करोड ४२ लाख रुपैयाँ ऋण लिए । राइद्वयले आफ्नो नाममा मात्र होइन, आफुकहाँ काम गर्ने कुल ११ जना कर्मचारीहरुको नाममा पनि पटक पटक गरी ऋण लिए । तर नियतमै खोट भएका राइद्वयले सो ऋणको न सावाँ तिरे, न ब्याज तिरे । नेपाल राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा ऋणीहरुले सो ऋणको सावाँ र ब्याज नतिरेको पाइएपछी राष्ट्र बैंकले महालक्ष्मी बिकास बैंकसँग यस विषयमा स्पष्टीकरण सोध्यो । राष्ट्र बैंकले स्पष्टीकरण सोधेपछि बैंकले पनि यस विषयमा आन्तरिक अनुसन्धान गर्यो । किनकि प्रकरण २-४ हजारको थिएन, बरु बैंकबाट १२ किलो सुन गायब भएको थियो । बैंकले गरेको आन्तरिक छानविनमा पनि धितो राखिएको सुन र तमासुखमा भनिएको सुनको हिसाबकिताब मिलेन । त्यसपछी सीआइबीले केहि मान्छेहरुलाई पक्राउ पनि गर्यो । तर यहाँ पनि कुमारी बैंककै जस्तो केस कहाँ भयो भने, महालक्ष्मीमा पनि ठुलालाई जोगाएर सानालाई फसाउने काम त भएन ? भन्ने शंका हुनेगरी काम भयो ।

ज्ञवाली ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा रहंदा राइद्वयलाई पाँच हजार २२८ ग्राम सुन धितो राखेर झन्डै ७ करोड ४२ लाख ऋण प्रवाह गरिएको थियो । तर सो रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो । तर बैंकबाट राइद्वयले राख्नुपर्ने सुन नै नराखी करोडौं रुपैयाँ निकाल्न सफल भए । तर सो ऋण देवानन्द राईले आफ्ना कर्मचारीका नामबाट निकालेका थिए । सोझा कर्मचारीहरुको हस्ताक्षर, औठाछाप सबै किर्ते गरेर ऋण निकालियो र तिरिएन । अहिले देवानन्दको सुन पसलमा काम गर्ने ती कर्मचारीहरु यो प्रकरणमा फसेका छन् ।  अहिले पीडीत कर्मचारीहरुमध्ये केहि अर्थ सरोकारको सम्पर्कमा आएका छन् । र उनीहरु उनीहरुलाई दिइएको मुद्धाको फाइल बोकेर भनिरहेका छन् -‘सुरुमा नागरिकता मागे साहुले, दिएर गल्ती गरियो । पछी निकाल्छौं यहाँ-यहाँ सहि गर भने, त्यहि गरेर गल्ती गरियो । अव सबै कुरा स्पष्ट भन्न जरुरी छ । हाम्रो केहि कुरामा गल्ती छैन । हामीले बैंक पनि देखेका थिएनौं । अहिले आएर हामीलाई फसाउने काम भएको छ ।

यो मुद्धासँग सम्बन्धित डकुमेन्ट हेर्ने हो भने पनि काण्ड कसरी घटेको छ र यो प्रक्ररणमा कसरी साना सोझालाई फसाइएको छ भन्ने स्पष्ट देखिन्छ ।  हेर्नुहोस् झन्डै १०० पानाको यो अभियोगपत्र:

सुनकाण्ड मिलाउन देवकोटा बने सीइओ ?

यसो त सिटिजन्स बैंकमा हुँदा त्यहाँ भएको सुनकाण्डको फाइल ‘मिलाएको’ जस पाएका बोदराज देवकोटा अहिले महालक्ष्मीमा सीइओ छन् । उनलाई महालक्ष्मीको सुनकाण्ड मिलाएर पुन सिटिजन्ससँग मर्जर गर्नेगरी नै त्यहाँ सीइओ बनाएर पठाइएको चर्चा स्वयम् महालक्ष्मीका कर्मचारीहरु बताउँछन् । तर यो प्रकरणमा पनि ठुलालाई कतै समातिएको छैन । बैंकका साना कर्मचारी र ऋणीले पनि आफ्ना कामदारलाई फसाएर केस मोड्न खोजिएको छ । यो काण्डमा फाइल ‘माथि’ बाट नै अप्रुभ भएको छ । तर तलकालाई समातेर माथिकालाई छुट दिइएको छ । अर्थ सरोकारले प्राप्त गरेका यी दस्ताबेजहरु हेर्ने हो भने सबै माथिका कर्मचारीहरु पानीमाथिको ओभानो बन्न खोजेका छन् । र तीनै सोझामाथि मुद्धा चलाइएको छ । कागजातहरु हेर्दा पीडीतका नाममा खातासमेत किर्ते गरेर खोलिएको छ । यसो त महालक्ष्मी बिकास बैंकमा अहिले कुमारी बैंकमा घटेको जस्तै घटना पनि थुप्रै छन् । स्रोतका अनुसार नक्कली धितोउपर ऋण दिएका फाइल झन्डै आधा दर्जन छन् । ती लफडाहरुमा पनि साना मान्छे फस्ने पक्का छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: