काठमाडौँ । हुन त यतिबेला देशमा सबै तिर गाइजात्रा नै गाइजात्रा छ । राजनीतिदेखि न्यायलयसम्म सबैतिर भद्रगोल छ । र त उत्तरी छिमेकी नाका तातोपानी-खासा नाकामा देखिएको महिनौंदेखिको समस्या अझै समाधान भएको छैन । फलस्वरूप नेपाल आउनुपर्ने सामानमाथि निरन्तर रोक लागेको छ । अझ केहि समय अगाडी त कोभिडको बहाना थियो । तर विस्तारै कोभिड साम्य हुँदैजाँदा पनि अझै नेपाल आइपुग्नुपर्ने सामान आउनुपर्नेजति आएको छैन । आएका समानहरु पनि छिट्टै नष्ट हुने खालका सामानहरुमात्र छन् । चिनियाँ नाका हुँदै नेपाल आउनुपर्ने सामान समयमा नै आइनपुग्दा एकातर्फ व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कोतर्फ नेपालका विभिन्न शहरहरुमा भनेजति सामान नआउँदा कालोबजारी र महंगी बढेको छ ।
दशैंमा आउनुपर्ने सामान छठपछी बल्ल अलिअलि…
तातोपानी- खासा नाकामा यतिसम्म ‘गाइजात्रा’ छ कि दशैंमा नेपाल आउनुपर्ने सामान बल्ल अलिअलि आउन थालेको छ । दशैंका लागि नेपाल ल्याउनुपर्ने कपडा, विभिन्न इलेक्ट्रोनिक्स सामान लगायतका सामानहरु बल्ल छठपछी नेपाल आउन थालेको छ । जसका कारण व्यापारीले एक सिजनको व्यापार नै गुमाएका छन् । यतिसम्मकि व्यापारीहरुलाई छठपछी आएका सामान ‘निल्नु न ओकल्नु’ भएको छ । सामान राखौं भने अव अर्को सिजनसम्म कुर्नुपर्ने स्थिति छ, नराखौं भने एकातर्फ अन्त राख्ने ठाउँ पनि छैन र अर्कोतर्फ सो सामानमा ठुलो लगानी परेको छ ।
‘अहिले आएको सामान अव अर्को दशैंमा बेच्ने हो । यसपालीको दशैंमा पनि पूरानै स्टक बेचेको हो । चिनियाँ पक्षसँग नेपाली पक्षले गतिलो कुरा गर्न नसक्दा नाममात्रको खुल्ला भएको नाकाका कारण यतिबेला हामी व्यापारीहरु एकदम मर्कामा परेका छौं।’ न्युरोडमा होलसेल गर्ने एक व्यापारी भन्छन्, ‘दशैंको कपडा अव छठपछी कसले किन्ने ? दशैंमा जे कुराको माग थियो, त्यो बेच्न पाइएन । अहिले बेच्न पाइएको छ तर माग नै छैन ।’ उनका अनुसार चीनबाट आउनुपर्ने सामान नआउँदा व्यापारीक माहोल नै बिग्रिएको छ ।
कोटेश्वरमा व्यापार गर्ने अर्का एक व्यापारीको दुख पनि उस्तै छ । ‘यो कोरोना पनि कस्तो रहेछ, दशैंमा आउनुपर्ने सामान कोरोनाका कारण नआउने रे अनि छठपछी त्यहि सामान आउने रे !’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी भन्छन्-‘यो त सरासर हामीमाथि अन्याय भयो । व्यापारमाथि प्रहार भयो । एक दिन होइन, दुइ दिन होइन, बर्षौंसम्म यसरी नाकाबाट आउनुपर्ने सामान नआउँदा हामी विस्तापित हुने स्थिति आएको छ । छिट्टै सरकारले चिनियाँ पक्षसँग कुरा गरेर नाका सहज नबनाउने हो भने हामी व्यापारीहरुको बिल्लीबाठ हुन्छ ।’

जाडोको कपडा, गर्मी लागेपछि आउने !
चिनियाँ नाकामा यतिसम्म तमासा छ कि जाडोको कपडा बजारमा आइपुगेको छैन । धेरै व्यापारीहरुले पोहोरको स्टक सामान अहिलेको जाडोमा बेचिरहेका छन् । जसका कारण गोदाममा राख्नुपर्ने अनेक शुल्क जोड्दा अहिले सो सामानको मूल्य छोईनसक्नु बढेको छ । ‘सबैभन्दा बढी कपडाको भाउ बढेको छ । पोहोर ३ हजारमा बेच्न सकिने ज्याकेट गोदाममा लामो समय बस्दा अहिले ५००० सम्म पुगिसकेको छ । समयमा नै सो सामान आइदिएको भए सो सामान पोहोर नै बेच्न सकिन्थ्यो । अव न नयाँ डिजाइनका कपडा आएका छन्, न पुरानो सामान पूरानै मूल्यमा बेच्न सकिने भएको छ ।’ न्युरोडमा होलसेल गर्ने एक अर्का व्यापारी भन्छन्, ‘अहिलेको जाडोमा पूरानै स्टक महँगोमा बेच्नुपर्ने हाम्रो बाध्यता हो । अव गर्मी लागेपछि जाडोको कपडा आउँछ, सो जाडोको कपडा अर्को जाडोमा बेच्ने हो । दशैं अघि बल्ल गर्मीको कपडा आएको छ, सो कपडा अव अर्को गर्मीमा बेच्ने हो ।’
द्विदेशीय र कुटनीतिक मामिला भएकाले रसुवागढी, तातोपानी नाका निर्वाध सञ्चालनका लागि परराष्ट्र मन्त्रालय सक्रिय हुनु पर्ने हो । तर, पराष्ट्र मन्त्रालयको चरम हेलचेक्र्याइँ र उदासीनताका कारण नाका खोल्ने विषय अर्थ मन्त्रालयले ‘डिल’ गरि रहनु परेको छ । यो डिलपनि खासै गतिलो छैन । केहि दिन अगाडी अर्थमन्त्री स्वयम् तातोपानी नाका पुगेर नाकाको अवलोकन गरेका थिए । तर त्यसले पनि नाकामा खासै गतिलो प्रभाव केहि पनि पारेन । अहिले पनि आउनुपर्ने सामान आइसकेको छैन ।
स्थानीय व्यापारीका अनुसार तातोपानी पारी खासामा नेपाली व्यवसायीका सयौं कन्टेनरमा सामान थन्केर बसेको छ । नेपालका शहरहरुको पूरै व्यापारीक अर्थतन्त्र प्रणालीमै समस्या आउनेगरी नाकामा समस्या हुँदा पनि अहिले कोहि पनि बोलेको छैन । नाका अघोषित रुपमा बन्द हुँदा छिट्टै कुहिने फलफूल लगायतका सामान त करोडौंको कुहिसकेको छ भने यसको ठुलो मारमा व्यापारीहरु परेका छन् । तर पनि सरकारले यो समस्या समाधानका लागि कुनै पनि पहल गरेको छैन । चीनबाट स्याउ, लसुन, प्लाष्टिकका जुत्ता चप्पल, प्लास्टिकका खेलौनालगायत सामग्रीहरू, तयारी कपडा, रबर, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, आयात हुने गरेको छ ।

रसुवागढीमा पनि उस्तै बिजोग !
यसो त तातोपानी-खासा नाकामात्र होइन, उता रसुवागढी नाकामा पनि व्यापारीहरुको त्यस्तै बिजोग छ । समयमा सामान नआउँदा व्यापारीहरु मर्कामा परेका छन् भने सिजनमा बेच्नुपर्ने सामान बेच्न नपाउँदा व्यापारीहरुलाई ठुलो घाटा परेको छ । यसले एकातर्फ व्यापारीहरु नै विस्तापित हुने डर बढेको छ भने यसले नेपालमा महंगीसमेत बढाएको छ । चीनले रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेको छ । तर सुरुमा भूकम्पको बहानामा र त्यसपछि, कोरोना महामारीको बाहानामा रसुवागढीमा पनि व्यापारीहरुलाई गाह्रो पार्ने काम मात्र भईरहेको छ । यतिसम्मकि केहि निश्चित व्यक्तिहरुले मात्र सामान आयात गर्ने र समग्र गरीखाने व्यापारहरु मर्नुपर्ने स्थिति रसुवागढीमा छ । तर यति हुँदा पनि यसतर्फ सरकारको ध्यान गएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्