×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका, वन संरक्षणमा टेवा पुर्याउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका, वन संरक्षणमा टेवा पुर्याउने उद्देश्य

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । वातावरण सन्तुलन राख्न मद्दत पुर्याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ । परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पुर्याउन वायोग्यास, सुधारिएको चुलो र विद्युत्को विकल्पका रुपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ ।

विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाससँगै स्थानीय बासिन्दामा स्वाशप्रश्वाससम्बन्धी रोगको सङ्क्रमण बढ्दो रुपमा रहेकाले त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर वायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पुर्याउने कार्यलाई निरन्तर रुपमा अगाडि बढाइदै आएको नगरपालिकाको ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताउनुभयो ।

“वायोग्याससहित शौचालय निर्माण गर्नेलाई ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौं”, उहाँले भन्नुभयो । नगरपालिकाको अनुदानमा आव २०७६/७७ मा १५ र आव २०७७/७८ मा १८ गरी ३३ वायोग्यास प्लान्ट निर्माण भइसकेका छन् । चालू आवमासमेत २० भन्दा बढी वायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ । विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर वायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ । नगरपालिकाका १२ वटै वडाका २५० घरघुरीलाई सुधारिएको चुलोसमेत वितरण गरिएको छ ।

सुधारिएको चुलोका लागि ८० प्रतिशत रकम सङ्घीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको छ । नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन् । सौर्य बत्तीका लागि लाग्ने सबैखर्च नगरपालिकाले व्यहोरेको छ । सर्वसाधारणलाई सडक क्षेत्रमा हिँडडुल गर्न सहजताका लागि सौर्य बत्ती जडान गरिएको बताइएको छ । सौर्य सडक बत्तीका लागि मात्रै आव २०७७/७८ मा २५ लाख रकम खर्च गरिएको छ । विद्युतीकरण भएका वडा नं ४, ११, १०, ९, ५, ७, ८ र ६ मा सेन्सरयुक्त सडक बत्तीसमेत जडान गरिएका छन् ।

नगरपालिकाका भौगोलिक रुपमा विकट ग्रामीण क्षेत्रमा रहेका बस्तीमा वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो, सौर्य ऊर्जा, वायोग्यास, सोलार सिँचाइ, सोलार खानेपानी र सोलार पम्पिङ जस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्नका लागि लक्षित समुदायलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी दिने कार्यसमेत हुँदै आएका छन् ।

“स्वास्थ्य स्वयंसेविका, किसान समूह, आमा समूह, महिला शिक्षक, माध्यमिक तहका विद्यार्थीलाई ऊर्जा कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम गरी जानकारी दिने कार्यसमेत गर्दै आएका छौं”, नगर प्रवक्ता कमल गिरीले भन्नुभयो, “जसबाट वैकल्पिक ऊर्जाको महत्व स्थानीय बासिन्दाले बुझेर प्रयोगमा ल्याउन सक्छन् ।”-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी