कञ्चनपुर । बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान स्थानीय जातको ‘घरैया’ आलु (थारु आलु)को व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय किसान प्रतापसिंह राना र असारे वडाकले छ बिघा जग्गामा घरैया आलुको व्यावसायिक खेती गर्नुभएको छ ।
कृषि ज्ञानकेन्द्रको थारु आलु विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत बीउ अनुदानमा स्थानीय जातको आलु खेतीलाई ती दुवै किसानले अगाडि बढाउनुभएको हो । “खानमा स्वादिलो र थोरै मेहनतमै धेरै फल्ने वर्षौंदेखि लगाउँदै आएको घरैया आलुको बढ्दो बजार मागलाई मध्यनजर गर्दै व्यावसायिकरुपमा खेतीमा लागेका छौँ”, असारे वडाकले भन्नुभयो, “डेढ बिघा खेतमा उखुबालीसँगै अन्तरबालीका रुपमा लगाएको छु ।
बाँकी डेढ बिघामा आलु मात्रै रोपेको छु । तीन बिघा जग्गामा ३० क्विन्टल आलुको बीउ खरिद गरी लगाएको उहाँको भनाइ छ । प्रताप सिंहले भने एक बिघा उखुबालीसँगै अन्तरबालीका रुपमा र बाँकी दुई बिघा खेतमा आलुमात्रै रोप्नुभएको छ । आलुको बीउ खरिददेखि खेतमा रोप्दासम्मको मात्रै दुवै जना किसानले सात लाख बढी खर्च गर्नुभएको छ । बर्णशङ्कर(हाइब्रेड) जातका आलुको तुलनामा स्थानीय जातको घरैया आलुको उत्पादन बढ्ने अनुमान दुवै किसानले गरेका छन् । “आलुको उत्पादनका लागि मेहनत साथ काम गरेका छौँ । कोशिस राम्रो छ । बाली सप्रीदो छ”, प्रतापसिंह रानाले भन्नुभयो, “उत्पादन चाहेअनुरुपकै हुनेमा ढुक्क छौँ ।” आलु उत्पादनमा लागेका किसानका अनुसार खेतमा रोपिएको आलुको उत्पादन प्रतिबिघा १५० बढी हुने अनुमान गरेका छन् ।
हाइब्रिड आलुको तुलनामा कम फल्ने भएकाले धेरै किसानले घरैया आलु लगाउन छाड्दै जान थालेका थिए । पछिल्लो समय घरैया आलुको माग बढेपछि दुवै किसान आलुखेती गर्न उत्साहित भएका हुन् । “हाइब्रिड आलुको तुलनामा मूल्यसमेत राम्रो छ”, असारले भन्नुभयो, “बजारमा लग्नै पर्दैन । आलु खेतमा फल्न सुरु हुन लागेका बेला नै व्यापारीले आलुका लागि माग गर्न थालि सकेका छन् ।”
उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको बजारमा २० देखि ३० प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । थारु समुदायका व्यक्तिले पुर्खौंदेखि रोप्दै आएको घरैया आलु प्रतिकिलो ५५ देखि ६० मा सहजै बिक्री हुने गरेको छ । थारु समुदायले लगाउने भएकाले यस आलुलाई थारु आलुका नामले पनि चिनिने गरिन्छ । परम्परागतरुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवद्र्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतको रोग सहनसक्ने क्षमता भएकाले भएकाले यस आलुको माग बढ्दो रुपमा रहेको छ ।
विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ । हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि दाना विगतको तुलनामा ठूलोसमेत हुने गरेको छ । आलु लगाउने परम्परागत तरिकालाई परिमार्जित गर्दै दुवै जना किसानले आधुनिक तौरतरिका अपनाई आलुखेती गरेका छन् । जसका कारण आलु खेतीमा सिँचाइ गर्नसमेत सहज भएको छ ।
आलुखेतीका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले प्राविधिक सहयोग गरेको दुवै जना किसानको भनाइ रहेको छ । नगरपालिकाको कृषि शाखाका प्राविधिक हरिस सेठी परम्परागतरुपमा लगाइँदै आएको आलुखेती गर्ने तरिकालाई वैज्ञानिक बनाइएकाले उत्पादन विगतको तुलनामा दोब्बरले बढी हुने बताउनुहुन्छ । “घरैया आलु रोग प्रतिरोधी भएकालेसमेत किसानले डढुवाका कारण क्षति व्यहोर्नु नपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नगरपालिका क्षेत्रका अन्य किसानलाईसमेत यस जातको आलुखेती गर्नका लागि अर्को वर्षदेखि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गर्छौं ।” -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्